– वासुपुष्पा अधिकारी

१,
सागर भेटेर सकिन्छ बग्ने नदी पनि
तिमी भेटें र सकियो मेरो जिन्दगी पनि

एक पागल म छु मायामा जिन्दगी सकेको
उस्तै पागल छन् महफिलका साथी पनि

देखेकै भरमा कसरी रोज्छन् मान्छेले मान्छे?
उस्तै सिसीमा हुन्छ जहर पनि ओखती पनि

कहिल्यै लागेन झुटको खेति गर्छौ तिमीले
सरकार जस्तै निस्कियौ यार तिमी पनि

एउटा सराबी मन्दिर पसेर गुनासो गर्छ
हे प्रभु! लाग्दै लाग्दैन अचेल रक्सी पनि

२,
पासपोर्ट बोकेर हातमा, गुन्द्रुक बोकेर झोलामा
चढियो जहाज प्रियाको, ढुकढुक बोकेर झोलामा

आमा, अभाव पछि, भोक पछि के आउँछ अब ?
बाबु, साहु आउँछ घरमै तमसुक बोकेर झोलामा

छुरा बोकेर आएथ्यो दुश्मन, धर्म निभायो, गयो
आफ्ना पनि आउँछन् नुन-चुक बोकेर झोलामा

तैंले क्रान्ति भनिस्, मैले जिन्दावाद भनेर हिड्यौं,
फालेर किताब लडाईका बन्दुक बोकेर झोलामा !

पुग्लान् अर्कै बिरानो मुलुक मान्छेहरु त एकदिन
सोंच्छु कहाँ पुग्लान् बुद्ध मुलुक बोकेर झोलामा |

***

प्रतिक्रिया

सम्बन्धित खवर