– योगेन्द्र तिमिल्सिना

रमेश विकल सामाजिक यथार्थवादी धारका प्रगतिशील कथाकार हुन् । उनका कथाले समाजका धनीमानी र प्रभावशाली व्यक्तिको थिचोमिचोमा परेका तल्लो वर्गका हेपिएका, थिचिएका निमुखा ग्रामीण मानिसहरुको पीडा बोल्छ, तिनकै मायापिर्ती, उनीहरुमाथि तल्लो वर्गबाट हुने शोषण र दुःख सुख बोल्छ । उनको कथा सङ्ग्रह “नयाँ सडकको गीत” (पहिलो संस्करण २०१९ फागुन)मा  नौवटा कथाहरु सङ्ग्रहित छन् ।

किताबको पहिलो कथा हो “भन्याङ्को चौतासी” । यस कथामा आफू लाहुर हिँडेपछि अर्कैसँग पोइल गएकी आफ्नी पूर्व पत्नी पातलीसँग अकस्मात “भन्ज्याङ्को चौतारी”मा बलेको भेट हुन्छ । त्यहाँ दुबैले आ–आफ्नो विगत सम्झन्छन् । चौतारीमा अकस्मात भेट हुँदा पनि ती दुबैले आपसमा आत्मियता प्रदर्शन गर्छन् । त्यहाँ उनीहरु पूर्व जीवनका आ–आफ्ना वाध्यताका कुरा गर्छन् । ती दुबैमा प्रतिशोधको भावना नभै एक आपसमा अझै आत्मियता जीवन्त रहेकोप्रति पाठकको मन द्रविभूत हुन्छ । पातलीको वर्तमान लोग्ने अकस्मात चौतारीमा आइपुग्ने बित्तिकै चौतारो छोडी पातलीलाई सम्झँदै वले आफ्नो बाटो लाग्छ ।

दोस्रो कथा “प्रतिहिंसा” मा शारिरीक श्रम गरी जीविका चलाउने तल्लो वर्गको हर्केकी स्वास्नी पुतली पाँच वर्षको छोरालाई घरमा एकलै छोडेर चाउरे मगरसँग पोइल जान्छे । स्वास्नी घर छोडेर हिँडेपछि वालक छोरालाई एकलै देखेर स्वास्नीप्रति हर्केको प्रतिहिंसाको भावना उर्लेर आउँछ । जब पुतलीका गरगहना लिएर उसको जार भाग्छ, उ रुँदै पुनः आफ्नो पुरानै लोग्नेसँग फर्कन्छे । उसको प्रतिहिंसात्मक भावना यसरी गर्जन्छ, “कल्ले भनेर, के आँटले मरिस् फेरि यो घरमा ….तँलाई गिंडिद्यू म एकै छप्कामा ?” अन्त्यमा हर्केले ताप्केमा ढिँडो पस्की दिन्छ र पुतलीलाई “ताप्केमा ढिँडो सिउरेको छ, गएर घिच्” भनेपछि उसको स्वास्नीप्रतिको प्रतिहिँसाको भावना सेलाएर मायाप्रेममा बदलिएको प्रतीकात्मक सन्देश सहित कथा अन्त्य हुन्छ ।

यस सङ्ग्रहको तेस्रो कथा हो, “लाहुरी भैँसी” । लुखुरेले आफ्नो परिवारको खुशीको लागि पत्नीका गरगहना बेची रिनपान गरेर किनेर ल्याएको लाहुरी भैंसीमा खोट देखाई सामान्ती द्वारेले आफ्ना आसेपासेको सहयोगमा भैँसी आफूले हत्याएको पीडादायक कथा छ । सामान्ती व्यवस्थामा सिधासादा जनताको खुशी देख्न नचाहने गाउँका सामन्तहरु कसरी अनेक षडयन्त्र गरी एउटा सोझो गरीब गाउँलेलाई शोषण गर्न सफल हुन्छन् भन्ने उदाहरण यस कथामा यथार्थवादी ढङ्गले प्रस्तुत गरिएको छ । चौथो कथा “नयाँ सडकको गीत”मा नयाँ सडकको पेटीमा बसेर सहयोग माग्ने अन्धोको अभिशप्त जीवनलाई प्रस्तुत गरिएको छ । उसकी सवलाङ्ग सुन्दर पत्नी सानीप्रति कुदृष्टी लगाउने केही बटुवाको घोर अपमान सहेर वाध्यतावस उ सडक पेटीमा बस्छ र निरन्तर माग्ने काम गरिरहन्छ । एउटा अपाङ्ग मगन्तेको कारुणिक अवस्था यस कथामा प्रस्तुत गरिएको छ ।

यस सङ्ग्रहको पाँचौ कथा हो, “विहानीपखको वत्ती” । विकलले एउटी युवतीको विवाह भएको तीन वर्षभित्रै रोग लागेर थलिएको उसको जीर्ण पतिलाई प्रतीकात्मक रुपमा विहानी पखको निभ्न लागेको वत्तीको संज्ञा दिएका छन् । कथामा एउटी युवतीले जीर्ण शरीर भएको आफ्नो पतिको निरन्तर हेरचाह गरेर बसेको कारुणिक दृश्य प्रस्तुत छ । युवतीको मनोविज्ञान अव्यक्त रुपमा पल्लो घरमा पढिरहेको एउटा युवक विद्यार्थीको गतिविधितर्फ केन्द्रित हुन थाल्छ । अनुकूल अवस्थामा उसको दृष्टि पल्लो घरको झ्यालतिर तेर्सिन्छ र उ कोठाभित्र पढिरहेको त्यस सुन्दर युवकको गतिविधि नियाल्न थाल्छे । यस कथामा युवतीको यौन मनोविज्ञानको स्वाभाविक अवस्थाको चित्रण गरिएको छ ।

छैटौँ कथा हो “विरेकी आमा” । गाउँभरका मानिसको चाकरी गरी उनीहरुको जुठो, पुरो खाएर जीवन विताएकी विरेकी आमाको देहान्त हुँदा उसको लास उठाउने मानिस सम्म गाउँमा पाइँदैन । छोरो विरे समेत घरबाट बेपत्ता भैसकेको हुन्छ । कथाकारले कथाको प्लट सोच्तै गर्दा आफ्नी पत्नीले विरेकी आमा मरेकोे खवर सुनाउँदा दिक्क मानेको तर जब कथाकारले श्रीमतीबाट विरेकी आमाको पूर्व दिनचर्या सुन्दै जान्छन्, उनी गम्भीर हुन थाल्छन् र विरेकी आमाको जीवनको वास्तविक कथा नै कथाको महत्वपूर्ण विषयवस्तु बन्न जान्छ । कथाकारले समेत विरेकी आमाको दुध खाएको प्रसङ्ग सम्झेपछि यो नै उनको कथाको महत्वपूर्ण प्लट बन्न जान्छ ।

सातौँ कथा “दुई रुपियाँ नोट” मा गाउँका सामन्तको शोषणबाट मानिस कसरी शहर पस्न वाध्य हुन्छ, ग्रामीण जीवनको माया, प्रेम र सद्भाव शहरको कोलाहलमा कसरी पलायन हुन्छ, बाँच्नकै लागि कसरी लोग्ने स्वास्नीको पवित्र सम्बन्ध पनि स्खलित हुन्छ र अनैतिक जीवन जिउन मानिस वाध्य हुन्छ भन्ने दृष्टान्त दिइएको छ । यसमा एउटा भारी बोकी गुजारा चलाउने ज्यामीले कसरी आफ्नै स्वास्नीलाई दुई रुपैयाँको नोटमा शरीर बेच्न वाध्य पार्छ भन्ने कारुणिक कथा छ । पति र पत्नीको बिचको सङ्लो प्रेम सम्बन्ध पनि शहरभित्र जीवन जिउन भोग्नुपर्ने विवशताबाट यसरी धमिलो फोहोर पानीमा परिणत हुनसक्छ भन्ने सन्देश यस कथाले दिएको छ ।

आठौँ कथा हो, “सिँगारी बाख्रा” । पण्डित्नी बज्यैले माइतबाट दाइजो ल्याएको सिँगारी बाख्रोमा मानवीय सम्वेदना भरेर कथाकारले कथालाई जीवन्त बनाएका छन् । सिँगारी बाख्रीले बुढी भएपछि आफ्नो आत्मा र शरीर दुबै शिथिल हुँदै गएको र असक्त भएपछि मान्छेले वास्ता गर्न छोडेको अनुभव गर्न थालेकी थिई । उमेर छउन्जेल र चौधवटा सन्तान जन्माउन्जेल बाजे बज्यैकी मायाकी खानी सिँगारी बाख्री बुढी भएपछि सबैकी हेलाँ हुन्छे र दस रुपैयाँमा बगरेका हातमा बिक्री हुन्छे ।

नवौँ तथा अन्तिम कथा हो, “सुवेदार रणे बूढो” । विहा गर्ने बित्तिकै घरमा दुलही छोडी रणे ब्रिटिश आर्मीमा भर्ना हुन्छ । पल्टनबाट घर फर्कँदा रणेले आफ्नो एउटा खुट्टाको घुँडामुनिको भाग गुमाएको हुन्छ । पेन्सन पकाएर घर फर्केपछि सुवेदार रणे बुढो पुरानो व्यवस्थाको समर्थन गर्छ र राजा फाल्ने आन्दोलनको विरोध गर्छ । उसकी स्वास्नी पोइल गैसकेकी हुन्छे । बुढेसकालमा उसले फेरि विहे गर्छ, तर मर्ने वेलामा उसलाई एकलै छोडी भएको सिरीखुरी बोकी स्वास्नी पोइल जान्छे । पुरानो व्यवस्था र सुवेदार रणे बुढो दुबैको अन्त्य एकै समयमा हुन्छ । यस कथामा सुवेदार रणे बुढालाई सामन्ती व्यवस्थाको प्रतीकको रुपमा प्रस्तुत गरिएको छ ।

रमेश विकलका कथामा समकालीन नेपाली समाजमा सम्पन्न मानिसहरुबाट विपन्न वर्गमाथि हुने शोषण, उत्पीडन, सामाजिक विभेदको सुन्दर चित्र सरल भाषामा प्रस्तुत गरेको पाइन्छ । उनका कथामा सोझा गाउँलेहरुको पीडा, विवशता, वाध्यता, मनोवैज्ञानिक अन्तद्र्वन्द्वको सहज र सरल विश्लेषण गरिएको हुन्छ । यी कथामा नेपालको तत्कालीन सामाजिक व्यवस्थाको यथार्थ र मार्मिक चित्रण पाइन्छ । भन्ज्याङ्को चौतारी, लाहुरी भैँसी, नयाँ सडकको गीत, दुई रुपैयाँ नोट र सिँगारी बाख्रा रमेश विकलका यस सङ्ग्रहका सर्वोत्कृष्ट कथाहरु हुन् ।

***

प्रतिक्रिया

सम्बन्धित खवर