– जसराज किराती

उताबाट ट्याम्केलाई तिमीले हेरिरहेछौ
मैले यताबाट हेरिरहेछु
परशु !
निःसन्देह हामी एउटै कुरालाई दुईतिरबाट हेरिरहेछौँ ।

आकाशलाई अलिकता ढाकेर
यसो भनौँ- आपस्तमा हामीलाई ढाकिदिएर
त्यो आफू अग्लो हुनुको अभिमान बोकिरहेछ
र हामी
आ-आफ्नै बिन्दुको आकाश ओढेर उभेका छौँ
शायद म
त्यसैको छेउतिर उभेको वा उभ्न नसकेको    आकृतिमा छु।

यो चाहिँ सत्य हो कि
त्यो ट्याम्के
एउटा आकाशलाई दुई फब्ल्याँटा पारेर
हामी  बीचमा उभिएको छ ।

ट्याम्के-
एकातिर उकालाहरू चढेर त्यो अग्लो पनि छ
अर्कातिर ओरालाहरू झरेर त्यो होचो पनि छ
तिमी उकालाहरू चढ्छौ
म ओरालाहरू झर्छु
परशु !
निःसन्देह एउटै ट्याम्केमा हामी दुइटा यात्रा हिँडिरहेछौँ

त्यहाँ ट्याम्केमा
देख्नेहरूले इन्द्रेणी टाँगिएको पनि देखेका छन्
त्यहाँ डढेलो पनि भेटेका छन्
र त्यो इन्द्रेणी
त्यो डढेलो
यता मेरो यात्राको पदचापमा दुख्छ
मेरो सपनाको आगोमा त्यो फुस्स खरानी खस्छ
र परशु !
मरेका मेरा सपनाका आगाहरू टाँगेर आकाशमा
म ट्याम्केलाई छोप्न खोज्छु
शायद
यो बिडम्बना हो कि-
आफ्ना नियतिहरू उचालेर म ट्याम्के उभिन खोज्छु
मैले आफ्नो उचाईमा
ट्याम्केको घाम झुल्का र भुवादार मौसमलाई
बोकी हिँड्न खोइ कहाँ सक्छु र ?
खोइ- कहाँ क्षितिजको अडेस गरेर म विश्राम लिन सक्छु र ?
मैले ट्याम्केमा देखेको इन्द्रेणी
आफ्नै रङ्गहरूमा मेटिएको रिक्तता देख्छु
मैले हेरेको क्षितिज पनि
आफ्नै शून्यतामा क्षतिग्रस्त देख्छु
र हरेक पटक
मेरो ट्याम्केमा
केही न केही दुर्घटना हुन्छ
केही न केही विघटन र विध्वंश भै रहन्छ
अर्थात्
हरेक पटक म आफ्नो आकृतिमा कहीँ न कहीँ मरिरहेको हुन्छु।

परशु !
तिमीले ट्याम्केको लालीगुराँसका रङ्गहरू
तिम्रो फूलबारीमा सारेका छौ
कमसेकम केही पुतली र भँमराहरू
त्यहाँ उडेका/गुनगुनाएका
सुन्दै/हेर्दै गरेका पनि छौ
तिम्रो आँखामा
ट्याम्केको जून रेशाजस्तो गाजल  छ
तिमीलाई त्यो खुलेको छ
राम्रो छ
तिमीले हेर्दा ट्याम्केमा वसन्त हेर्छौ
लालुपाते फूलहरू हेर्छौ
सायद म
त्यहाँ ठिहीले लछारेको जिङ्रीङ्ग थुप्रै जिर्ण रुखहरु हेर्छु
र शायद
म बाँचीरहेको यो विदीर्ण आफ्नै रूप हेर्छु।

  1. उकालाहरू चढ्दै उक्लिनु यौटा यात्रा
    ओरालाहरू ओर्लदै झर्नु यौटा यात्रा
    परशु !
    हामी एउटै ट्याम्केमा दुईटा यात्री हिँडिरहेछौँ
    यो शाश्वत सत्य हो कि
    हामी एउटै समयमा दुइटा मृत्यु मरिरहेछौँ ।
    ***

प्रतिक्रिया

सम्बन्धित खवर