– अमृत योन्जन-तामाङ

मौलिक र मौलिकताको सन्दर्भमा सर्वप्रथम म यहाँ तीनजना ख्यातिप्राप्त प्रतिभाहरू- प्राज्ञ बैरागी काँइला, सङ्गीतकार झुमा लिम्बु र गायक दीपक बज्राचार्यका उद्‌वोधनहरूलाई प्रस्तुत गर्न चाहन्छु :

प्रसङ्ग १ : आजभन्दा तीन दसक अगाडिको कुरो हो। कोलकत्तामा सम्पन्न एउटा विश्व सङ्गीत समारोहको प्रशङ्ग जोड्दै प्राज्ञ वैरागी काइँला भन्नु हुन्थ्यो- ‘सङ्‌गीत’ लाई विश्व भाषा भनिन्छ, संसारभिरका जोसुकैले बुझ्ने। तर यसको पनि जरा हुँदो रहेछ। यो पनि कुनै जाति विशेषसँग सम्बन्धित हुँदो रहेछ। च्याब्रुङको सङ्‌गीतले विश्वजनको कान ठाडो होला तर यसको जरो त लिम्बु हो नि। र, डम्फु सङ्गीतको जरो तामाङ अनि र्र्यापको अफ्रिका।

प्रसङ्ग २ : छ-सात वर्ष अगाडिको कुरो हो। सङ्‌गीतकार झुमा लिम्बु कुनै एउटा अन्तर्वार्तामा बोल्दै थिइन्- म एउटा विश्व सङ्‌गीत महोत्सवमा भाग लिन पुगेँ। त्यहाँ मैले नेपाली सङ्‌गीत प्रस्तुत गरेँ- सङ्‌गीतका विज्ञहरूले भारतीय सङ्गीत भने। उनीहरूले नेपाली मौलिक सङ्‌गीत प्रस्तुत गर्न आग्रह गरे। मैँले पुनः एउटा मौलिक सङ्गीत प्रस्तुत गरेँ। त्यसलाई पनि उनीहरूले भारतीय नै भने। तेस्रोलाई पनि भारतीय नै भने पछि म त दोधारमा परेँ। फर्केपछि मेरा गुरू सङ्‌गीतकार अम्बर गुरुङसँग कुरा राखेँ। उनले म नेपाल पस्दा दार्जिलिङे र बङ्‌गाली सङ्‌गीत मिसमास गरेर नेपाली सङ्‌गीत कम्पोज गरे भनेपछि म छाँगाबाट खसे जस्तै भएँ। त्यसपछि निकै चिन्तनमन्न गरेर नेपालको मौलिक सङ्‌गीत भनेको जातीय गीतसङ्‌गीत हो भन्ने निष्कर्ष निकालेर म नेपालका गाउँघर चहार्न थालेँ।

प्रसङ्ग ३ : केही वर्ष अगाडिको मात्र कुरो हो। म एक दिन टिभी हेर्दै थिएँ- गाजाबाजासहित गाउन तम्तयार पप गायक दीपक बज्राचार्य देखियो। उक्त गीतको भूमिकामा उनी भन्दै थिएँ- म युरोपको सङ्‌गीत यात्रामा थिएँ। मैले पप सङ्‌गीत प्रस्तुत गरिरहदा स्रोताहरूले नेपाली मौलिक गीत गाउन आग्रह गरे। पप त हामीलाई थाहा छ, हामीबाटै उता पुगेको हो। ‘हामीलाई त नेपालको सङ्‌गीत सुनाउनोस्’ भने पछि आफ्नो कन्सर्ट बन्द गरेर उनी सोझै नेपाल फर्केछन्। र उनले नेपालमा पाइँने भएभरका बाजा जम्मा गरेर गीत गाउन थालेका रहेछन् जुन गीत दक्षिण एशियाली खेलकुदको समापन समारोह पनि प्रस्तुत गरिएको थियो।
माथिका तीन वटा प्रसङ्गले मौलिक र मौलिकतालाई प्रष्ट पार्दछ। जसले जे भने पनि वा सङ्‌गीत विश्वको भाषा भनेर जतिसुकै धाक लगाए पनि यसको मुल जरा कुनै जाति वा समुदाय विशेष नै हो। कुनै ‘पाखे’ भनिने जाति विशेष नै मौलिक सङ्‌गीतको स्रष्टा हुन्छ र संवाहक हुन्छ। जति सुकै अत्याधुनिक भनेर स्वाँग रचे पनि त्यो लोकसङ्‌गीत मै टिकेको हुन्छ। स्थानीयतालाई नै भजाइ रहेको हुन्छ।
यसरी हेर्दा ‘मौलिक’ भनेको जरोसित सम्बन्धित विशेष गुण हो, जो कसैको आधारबिनै आफैंबाट उत्पन्न हुन्छ अनि ‘मौलिकता’ भनेको विशेष गुण हो, विशेषता हो र पहिचानको आधार पनि हो। व्यक्ति व्यक्तिको बिचको विशेषता, जाति जाति बिचको विशेषता, देश देश बीचको विशेषता फरक हुन्छ, मौलिकता फरक हुन्छ र पहिचान पनि।
मौलिकताले फरकपनालाई हेर्छ। यो अरूसँग नमिल्ने हुन्छ। एकको विशेषता अर्को सँग मिल्दैन। मगर र बाहुनको जातिगत विशेषता फरक हुन्छ र छ। तामाङ जाति र लिम्बु जातिको विशेषता फरक छ। तामाङको विशेषता लिम्बुसँग मिल्दैन। तामाङ र शेर्पा वा गुरुङको विशेषता पनि एकार्कामा फरक छ। विशेषता वा मौलिकता भनेको नै जाति विशेषको पहिचान हो। यसले पहिचान स्थापित गर्छ। अनि पहिचान अभ्यासबाट स्थापित हुन्छ।
मौलिकताले सार्वभौमलाई हेर्दैन र टेर्दैन पनि। मौलिकताको आधारमा पहिचान स्थापित हुन्छ। यसैको आधारमा ‘यो मेरो पहिचान हो’, ‘यो हाम्रो पहिचान हो’ भनेर दावी गर्ने गर्दछ।
मौलिकताले स्थानीयतालाई सङ्‌केत गरेको हुन्छ। मौलिकता भौगोलिक विशेषतामा आधारित हुन्छ। सार्वभौम विशेषतालाई मौलिकताले स्वीकार गर्दैन। अङ्गीकार गर्ने त कुरै भएन। मौलिकता स्थानीयतासँग टास्सिएको हुन्छ, आफ्नै जराबाट हुर्किरहेको हुन्छ। यसले सक्कलीपना तिरको पनि सङ्‌केत गर्दछ, जहाँ मिलावट वा मिसावट हुँदैन। माथिको दोस्रो प्रशङ्गले यसैतिर सङ्केत गरेको छ।
ज्ञान‍-विज्ञानको वर्गीकरणको आधार पनि फरकपना नै हो, जस्तै जीव र निर्जिव; जीवमा पनि जन्तु र वन्स्पति। वनस्पतिमा पनि उभिन सक्ने र नसक्ने। उभिन सक्नेमा पनि फूल फुल्ने र नफुल्ने। फुल फुल्नेमा पनि हाँगाविगा हुने र नहुने अनि एकदलीय र दुइ दलीय आदि। यसरी फरकपनाको आधारमा वस्तुको वर्गीकरण गरेर ज्ञानमा पहुँच स्थापित हुन्छ। वर्गीकरणविना कुनै विज्ञान वा शास्त्र वा दर्शनको अध्ययन सम्भव हुँदैन। फरकपना नै विशेषता हो, मौलिकता हो र मौलिकता नै दर्शन पनि हो।
माथिको विश्लेषणबाट स्थानीयता, विशेषता र फरकपना नै मौलिकता हो भन्ने सिद्ध हुन्छ। सार्वभौम वा व्यापकतामा मौलिकता हुँदैन र त्यहाँ मौलिकता खोजिदैन पनि। सौर्वभौम सत्य र मौलिक सत्य समदूरीमा हेरिदैन। ‘सङ्गीत विश्व भाषा’ होइन भन्ने भाष्य कोलकत्ता सङ्गीत सम्मेलनबाट नै सिद्ध भइसकेको कुरो हो। यसरी नै मौलिकता पहिचान हो भन्ने तथ्य पनि स्वयसिद्ध हो। मौलिकता जाति वा समुदाय विशेषको मात्र हुँदैन, गाउँ, सहर, देश र महादेशको पनि हुन्छ। कुनै पनि व्यक्ति, जात-जाति, सिर्जना, दर्शन वा गीत-सङ्‌गीतलाई पनि यसरी नै हेर्न सकिन्छ।
र, तामाङ गीत-सङ्गीतलाई पनि यसरी नै हेर्नु पर्ने हुन्छ। उदाहरणको लागि डम्फु वा च्याब्रुङलाई लिन सकिन्छ। डम्फुले तामाङ र च्याब्रुङले लिम्बु जातिलाई सङ्केत गर्दछ अर्थात् डम्फु तामाङ जातिको बाजा हो र च्याब्रुङ लिम्बु जातिको। डम्फु र च्याब्रुङको विशेषता एकार्कामा फरक छ र यी दुबैको बनोट, भौगोलिकता र स्थानीयता पनि फरक छ र जातिगत विशेषता पनि फरक देखिन्छ। ताल फरक छ अनि लय फरक छ। यसमा मौलिकता झल्कन्छ।
मादल वा टुङ्ना वा गीतारलाई यसरी हेर्न सकिन्छ र? यी बाजा कुन जाति विशेषको हो भनेर ठ्याक्क भन्न सकिन्छ? तपाईले तत्काल भन्नु सक्नु हुन्न भने यो एकभन्दा धेरै जातिसँग सम्बन्धित रहेछ भन्नु आवश्यक छ। एकभन्दा धेरै जातिले प्रयोग गर्दा रहेछन् भन्ने निष्कर्ष निकाल्न धेरै बेर कुर्नु पर्दैन्। यस्तै सन्दर्भ ‘मारूनी नाँच’ बारे पनि हो। एकभन्दा धेरैले दावी गर्छन् भने त्यो सार्वभौमिकतातिर उन्मुख हुन्छ।
यसरी कोट्याएर हेर्दा ‘डम्फु’ तामाङ जातिको मौलिक बाजा हो। ‘सेलो’ सङ्‌गीत तामाङ जातिको मौलिक सङ्‌गीत हो। ‘कोकोम्हेन्दो’ (टटोलाको फूल) तामाङ जातिको सांस्कृतिक फूल हो। ‘ताम्बा’ तामाङ समाजका सामाजिक नायक हुन्। ‘तामाङ भाषा’ तामाङ संस्कृतिका वाहक हुन्। ‘ताम्बा दर्शन’ तामाङ जातिको मौलिक दर्शन हो। र, तामाङ जातिको पहिचान निर्क्यौल गर्ने आधार तत्व यिनै हुन्। मौलिकताको आधारमा नै कुनै जाति वा समुदायको पहिचान स्थापित हुन्छ। अनि विचार, दृष्टिकोण र दर्शनहरू पनि स्थापित हुन्छन्।
माथि उल्लेखित आधारहरू तामाङ जातिको खुद आफ्नो हो, आफ्नो पहिचानको मुल जरा हुन्। यी आधारमाथि अरू कसैले हक दाबी गर्न सक्दैनन्। साझा वस्तुमा कुनै जाति विशेष वा माटो विशेषको मौलिकता स्थापित हुँदैन।
यसलाई अझ मिहिन ढङ्गले हेर्न सकिन्छ । कुनै वस्तु कुन जातिको हो भनेर जाँच्ने कसी भाषा हो। कुनै वस्तुको नाम तामाङ भाषामा छैन भने त्यो वस्तु तामाङको हुनुमा शङ्का गर्नु पर्ने हुन्छ। हिमाल वारिपारि कुनै पनि जातिले आफ्नो भाषामा रहेको ‘रक्सी’ शब्दलाई आफ्नो भनेर दावी गर्न सक्दैन। रक्सीको पर्याय ‘आइरोक’ शब्द इराकी भाषाबाट आएको हो- तामाङमा ‘आइरक’ भयो, नेवारमा ‘आइला’ र यस्तै अन्य भाषाहरूमा। यसै गरी एशियाका कुनै पनि भाषामा ‘मकै’ शब्द पाउन सकिदैन। किनकि यो शब्द अमेरिकाका ‘एन्डिज पर्वतका आदिवासीहरूको शब्द ‘मेज’ बाट विकास भएको हो। ‘भाषा संस्कृतिका वाहक’ हुनाले भाषाबाट र भाषाको इतिहासबाट कुनै जातिको मौलिकता पत्ता लगाउन सकिन्छ।
एउटा थप उदाहरण दिदैँ म आफ्नो लेखन टुङ्ग्याउँछु। लोकप्रिय खाद्य वस्तु धानको उत्पत्ति पूर्वी चीनमा भएको हो। तसर्थ चीनसँग यस सम्बन्धी २७ भन्दा धेरै शब्द रहेका छन्। यो चिनको सम्पदा हो। हिन्दी वक्ताले काँचो चामल र पाकेको चामल छुट्याउन सक्दैन। दुबैलाई ‘चावल’ नै भन्छ। नेपालीमा धेरै शब्द छैनन्। तामाङ भाषामा त चामलको पिठोको लागि पनि फरक शब्द छ- ‘कुदुङ’। ‘कुदुङ’ भने पछि चामलको पिठो भनिरहनु पर्दैन। अनि चामलको लागि तामाङ शब्द हो- ‘म़्ला’, धानको लागि ‘सुन’ र कनिकाको लागि ‘कुर्ङा’। हो, ‘धान’ शब्दबाट तामाङ जातिको ऐतिहासिक सम्बन्धहरू कोट्याउन सकिन्छ। बस् ।

प्रतिक्रिया

सम्बन्धित खवर