– ठाकुर बेलवासे

“मान्छेसँग जोगिन सकियो भने
विपत्ति आफैँ हार्छन्
मान्छेजस्तो भयानक विपत्ति
मान्छेका लागि अर्को केही छैन”,
तिमीले यसो भनिरहँदा
म भुइँचालो पीडित आँखाले
एकटक तिम्रो अनुहार हेरिरहन्थेँ

मान्छेमै त अडेको छ
आकाश
मान्छेमै त झुण्डिएको छ
पृथ्र्वी
मान्छेमै बाँचेको छ ,मान्छे
फेरि पनि
“मान्छेबाट जोगिन सकियो भने
जिन्दगी आफैं आकाश बन्छ”,
तिमीले यसो भनिरहँदा
म तिम्रा इन्दे्रनी आँखामा
आफ्नो श्यामश्वेत अनुहार खोजिरहन्थेँ

घामले डढेर चिरिएको
सयपत्रीजस्तो अनुहार
तिम्रा आँखाका तलाउमा
तैरिएको पाउँदा
हर्षले लामो सास तान्दै
मनमनै भनेथेँ
तिमी मसँगै रहुञ्जेल
म बाँच्छु

“जिन्दगीलाई
अनेक रङ्गमा घोलेर हेर्नुपर्छ
रङ्गलाई माया गर्न सकियो भने
जीवन रङ्गीन हुन्छ”
तिमीले जीवनमा रङ्ग जोडेपछि
मैले त्यसैगरी रङ्गहरू खोज्ने
थुप्रै प्रयास गरिरहँदा
तिम्रो रङ्गीन हाँसोमा
म घाइते बन्थेँ

एक साँझ
फक्रँदै गरेको मखमलीको
थुँगा बिस्तारै चुँडेर
तिम्रा आँखाको तलाउमा डुलिरहेका
मेरा आँखालाई
हातको मखमली थुँगामा उनेर
झरनाको आवाजजस्तो स्वरमा
मैले भनेको थिएँ,
“तिमी मेरा लागि
न कहिल्यै भयानक बन्न सक्छ्यौ
न म तिम्रा लागि”

संसारभर मान्छेको अनुहार एउटै देखिए
साँच्चै कति विरक्त लाग्दो हो !
तिमीजस्ता नारी
यस धरतीमा जीवित छन्
र, म जस्ता पुरुष
बाँचिरहेका छन्

मैले गर्वका साथ
भनेको थिएँ,
“तिम्रा अगाडि ईश्वरको
शास्त्रीय बन्धन
खिया लागेको फलामझैँ भाँचिन्छ
समाजको पाखण्ड
आगोको कागजजस्तो हुन्छ”
यस्ता कुरा गर्दा
तिमी आफ्नो अनुहारमा हुँदैनथ्यौँ
तिम्रो अनुहारभरि बादल जमेको देख्थेँ
मैले बादल पुछ्न
गुलाफ टिपेर
स्पर्श खोज्दा
तिम्रो अनुहार
समुद्रको सूर्यजस्तो
हल्लिएको हुन्थ्यो

तिमीले भनेकी थियौ,
“सम्बन्धहरू
भ्रममा कस्सिएका हुन्छन्
भ्रमले जति आनन्द दिन्छ
त्यति नै दुःख दिन्छ यथार्थले”

म स्मृतिदंशले
थलिन्छु बेलाबेला

सोचमग्न हुन्छु
तिमी मेरा लागि
भयानक भयौ या भइनौँ
या म तिम्रा लागि !

***

प्रतिक्रिया

सम्बन्धित खवर