-सावित्रा पाण्डे 

एउटा लेखक आफ्ना लेखहरूमा कति पोखिन सक्छ, कति बग्न सक्छ, कति डुब्न सक्छ, कति पग्लन सक्छ, कति फैलन सक्छ ? यस्ता धेरै कतिहरूको उत्तर भेटिन्छ ज्ञानु अधिकारीको निबन्धसङ्ग्रह संवेदनाको समायोगमा । असम्यक स्पर्श, कीर्तिपुर डायरी, भावका अनुगुञ्जन, हृदयको क्यानभासबाट, छोडेर आएका पाइला, सीमाभन्दा पर फैलँदै र शब्द र अक्षरहरूमा गरी सात खण्डमा बाँडिएका संवेदनाको समायोगभित्रका निबन्धहरू निजात्मक शैलीमा लेखिएका छन् । सङ्ग्रहभित्रका अधिकांश निबन्ध पढ्दा पाठकलाई लाग्छ, लेखकले मेरा नितान्त निजी अनुभूतिलाई निबन्धमा ढालेर सबैका सामु सार्वजनिक गरिदिइन् ।

‘असम्यक स्पर्श’ मूल शीर्षकअन्तर्गतको ‘के म सफल आमा बन्न सकेँ ?’ शीर्षकको पहिलो निबन्धमा समाज र परम्पराले भिराइदिएका अनेकौँ परिचयबाट भिन्न ‘म’ को परिचय खोजिएको छ । यो निबन्ध पढ्दा आफू उभिने धरातल निर्माण गर्न एउटी आमाले गर्नुपरेको सङ्घर्ष र सन्तानप्रति पोखिएको अजस्र प्रेमको भावनाले जो कोही पाठकलाई भावुक बनाउँछ । हुर्कँदै गरेको अबोध सन्तानलाई चटक्क छोडेर सङ्घर्षको मैदानमा होमिएकी एउटी आमाले सन्तानको आत्मीय सामीप्य गुमाउनु परेको पीडा निबन्धमा यसरी व्यक्त भएको छ,…….म चाहन्थेँ, म संसारकै सबैभन्दा महान् आमा बनूँ । तिमीलाई आफ्नो काखको विशाल छहारीमा नै राखेर हुर्काऊँ । तिम्रा हरेक व्रिmयाकलापहरूलाई नजिकै बसेर नियालूँ । तिम्रा कलिला हात समातेर घर,आँगन, बगैँचा डुलूँ । प्रत्येक साँझबिहान कुनै खुला चउरमा तिमी उन्मुक्त भएर दौडन सिकेको हेरूँ र परको क्षितिजलाई देखाएर तिम्रो गन्तव्य त्यहीँ हो भनेर सिकाऊँ (पृ. ११) । दुधे बालकलाई घरमा छाडेर दिनभरि घर बाहिरको काममा खटिनुपर्दा सन्तानको स्मृतिले आँखा र छाती सँगै रसाउने मातृ अनुभूति लेखकका मात्रै नभएर तमाम सङ्घर्षशील आमाहरूका साझा भोगाइ र अनुभूति हुन् ।

‘श्रृङ्गार, सौन्दर्य र नारी’ ‘मानव सभ्यताको यात्रामा नारी’ जस्ता निबन्धहरूमा मानव सभ्यताको विकासव्रmममा नारीहरूको अवस्थालाई सूक्ष्म रूपले वर्णन गर्दै आजको एक्काइसौँ शताब्दीमा आइपुग्दा व्यक्तिगत स्वतन्त्रता र समानताका लागि गर्नुपरेको सङ्घर्षलाई सूक्ष्म रूपले विश्लेषण गरिएको छ । अनेक त्याग र बलिदानीबाट नारी समानताको यात्रामा यात्रारत रहे पनि अझै महिलाहरूमा अस्तित्वचेत नआएको, अर्कैका लागि सजिइने वस्तुमा परिणत हुँदा पनि नारीमा अस्तित्वबोध नभएको प्रति यस निबन्धमा दुःख व्यक्त गरिएको छ ।  पितृसत्ताले नारीको शरीरमाथि गर्ने नियन्त्रण तथा पुँजीवादी अर्थव्यवस्थाले नारी शरीरको कमोडिफिकेसन गरेको प्रति गम्भीर आव्रmोश पोखिएको छ । यी निबन्धका माध्यमबाट नारी शसक्तीकरणका आवाज बुलन्द पारिएको मात्रै छैन नारीहरूलाई स्वअस्तित्वको खोजीतर्पm अभिप्रेरित पनि गरिएको छ ।

‘कीर्तिपुर डायरी’ भित्रका निबन्धहरूमा कीर्तिपुरको इतिहासको उत्खनन् गर्दै वर्तमानको यथार्थ चित्रण गरिएको छ । सिङ्गो कीर्तिपुरलाई नै विश्वविद्यालय देख्ने निबन्धकारले कीर्तिपुरको एउटा साधारण कोठामा अभाव र सुदूर गाउँको याद सँगै बोकेर सुनौलो भविष्यको खाका कोर्न प्रयत्नरत विद्यार्थीले बाँचेको जीवनको चित्र उतारेकी छन् । कीर्तिपुरमा डेरा गरेर त्रिभुवन विश्वविद्यालयमा पढ्दैगरेका हरेक पाठकलाई निबन्धमा वर्णित वसन्तमा पलाएको नयाँ पात झैँ निर्दोष अनुहार बोकेर गाउँबाट कीर्तिपुर आउने त्यो विद्यार्थी म नै हुँ भन्ने अनुभूति हुन्छ । छ दशक लामो गौरवमय इतिहास बोकेको देशका नेता, प्राध्यापक, डाक्टर, न्यायधीस, प्रशासक आदि जन्माउने विश्वविद्यालयले सरोगेट मदरको जस्तो जीवन बाँच्न बाध्य भएको प्रति निबन्धकारले यसरी गहिरो चिन्ता व्यक्त गरेकी छन्, वसन्तऋतुको आगमनसँगै वर्षमा एकपटक फुल्ने फूलले निलाम्यै पारेको बखतमा बाहेक अरू बेला यो विद्यार्थी पर्खेर चुपचाप बसिरहेको वृद्घ प्राध्यापकजस्तो देखिन्छ । पछिल्लो समय दिनप्रतिदिन सुनसान बन्दैगइरहेको विश्वविद्यालयको परिसरले यसको गौरवमय इतिहासमाथि नै प्रश्न गरिरहेजस्तो लाग्छ मलाई (पृ. ४८) ।

‘भावका अनुगुञ्जन’ भित्रका अधिकांश निबन्धहरूमा लेखकले आफ्ना स्वानुभूतिलाई खुला रूपमा पोखेकी छन् । आफ्नो अस्तित्वमाथि नियन्त्रण गर्ने कुरा त्यो प्रेम नै भए पनि आफूलाई स्वीकार नहुने भाव निबन्धमा यसरी व्यक्त भएको छ, ठुलो पर्खालभित्रको सुविधासम्पन्न भवनभित्र थुनिएर बस्दा साँच्चै म म नै हुन्थेँ होला कि तिम्री बन्दिनी मात्र बन्थेँ होला ? के यस्तो जीवन मलाई स्वीकार्य हुन्थ्यो ? मलाई बोलाउने नाम तिमीसँग जोडिएर आउँदा, म रेसमी लेहँगामा सजिएर भित्रबाहिर गरिररहँदा मेरो अन्तर्यको स्वअस्तित्वचेतले मलाई कसरी भतभती पोल्थ्यो होला (पृ. ६८) । सौन्दर्यलाई हेर्ने, बुझ्ने र पर्गेल्ने लेखकको आफ्नै दृष्टिकोण छ । प्रकृतिले दिने सौन्दर्यलाई जीवनको पहिलो सौन्दर्यबोधका रूपमा निबन्धकारले अथ्र्याएकी छन् । आफूले बाँचेको समय र संघर्षमय अतीत पार गर्दै चालिसको दशकमा टेकेपछि एउटी नारीले कतै पुग्ने यात्राको सही मार्ग भेट्टाउने लेखकीय दृष्टिकोण बडो कलात्मक रूपले वर्णन गरिएको छ ।

आफूले चाहेका कति कुरा गुमाइसकेपछि, आफूले नचाहेका कतिपय कुराहरूलाई आफैमा समाहित गरिसकेपछिका यी दिनहरू बडो स्निग्ध र शान्त लागिरहेका छन् । केही अनिश्चितताका बादलहरू फाटिसकेका छन् ।  केही अन्योलका जँघारहरू तरिसकिएका छन् । कैयौँ अँधेरी रात र जुनेली रातहरूका यात्रा कटिसकेका छन् । अब त केबल मुक्त आकाश देखिएको छ अगाडि । दुःख र सङ्घर्षका कैयौँ पहाड नाघेर आइसकेपछिको खुला मैदानजस्तो । (पृ.८०) हरेक व्यक्तिलाई स्वतन्त्रता सबैभन्दा प्रिय हुन्छ, चाहे त्यसले निम्त्याउने परिणाम जस्तोसुकै किन नहोस् । असफलता, निराशा र हन्डरहरूले पनि जीवनमा पाठ सिकाएर जान्छन् ।  लेखकले आफ्नो जीवनलाई उबडखाबडमा जिउन चाहने, असफलतासँग ठोक्किन चाहने र जीवनका हरेक रङलाई भोग्न र देख्न चाहने लेखकीय संवेदनासँग पाठकीय संवेदनाको समायोग हुन्छ ।
‘हृदयको क्यानभासबाट’ मूल शीर्षकअन्तर्गतका निबन्धमा दिवगंत अग्रज स्रष्टाप्रति सम्मान गर्दै उनीहरूका रचना र योगदानको उत्खनन् गरिएको छ ।  यस्ता महान् स्रष्टाको व्यक्तित्व र कृतित्वलाई आजका पुस्ताले बिर्सदै गएको, सरकार तथा साहित्यिक संघसंस्थाले पनि बेवास्ता गरेको प्रति लेखकले व्यक्त गरेको चिन्ताले पाठकलाई समेत गम्भीर बनाउँछ ।  यस खण्डमा आफ्नो जीवनमा गहिरो प्रभाव पार्ने व्यक्ति तथा व्यक्तित्वबाट प्रभावित लेखकीय अभिव्यक्तिले पाठकलाई गहिरो गरी छुन्छ । ‘छाडेर आएका पाइलाहरू’ मूल शीर्षकअन्तर्गत लेखकले बाँचेका बाल्य जीवनका स्मृतिले पाठकलाई आफ्नै बाल्यकालमा पु¥याउँछ । ‘नदी किनारमा बसेर कविता लेख्दै गरेकी केटी’मा निबन्धकारले आफ्नो बाल्य अनुभूतिलाई प्रकृतिसँग तादात्म्य गरी यसरी प्रस्तुत गरेकी छन्, ….तर म भने अर्कै संसारमा डुल्थेँ । डुब्न लागेको घाम, शीतल हावा, फाँटभरिको हरियाली, चराचुरुङ्गीको चिर्बिराहट, गाईवस्तुको हुल, घरतिर फर्कँदै गरेका मान्छे, बिस्तारै अँध्यारोले छोपिन लागेको वातावरण, हावाले बोकिल्याएका किसिमकिसिमका सुगन्ध र घाँसको परिचित स्पर्शमा लठ्ठिएकी हुन्थेँ म । (पृ. १३७)

हाम्रो वरिपरि बग्ने नदी फरक होला, फाँटका ठाउँमा भीरपाखा होला, हावाले बोकी ल्याएका फूलका सुगन्ध भिन्न होलान् तर हामीले बाँचेको बाल्यकाल, हाम्रो भोगाइ र अनुभूतिहरू समान छन् । श्रमले सिकाएको पाठ, कर्मठ किसानको सङ्घर्ष, शिक्षण पेसाप्रतिको गौरवबोध जस्ता विषय व्यक्त भएका निबन्धमा विचरण गरिरहँदा पाठकले आफैँले टेकेर आएका पैतालाका डोबहरू भेट्टाउँछ ।

‘सीमाभन्दा पर फैलँदै’ शीर्षक निबन्धहरूमा यात्राका अनुभव र संस्मरणलाई कलात्मक ढङ्गले प्रस्तुत भएका छन् । लेखकले समुद्रसँग गरेको एकालापले पाठकलाई पनि पु¥याउँछ समुद्रकै किनारमा र भुलाउँछ समुद्रका छालहरूसितै । ‘आँखामा कञ्चनजङ्घा’ र ‘टिस्टा नदी मात्र होइन रहेछ’ जस्ता नियात्राहरूमा नेपालबाहिर रहेर हृदयमा नेपाल सजाएर र कर्ममा नेपाल बँचाएर बाँचिरहेका मान्छेहरूको विगत र वर्तमान खोतलिएको छ । हाम्रा पुर्खाहरूको पैतालाको पदचाप पछ्याउँदै यात्रारत लेखकले हृदयमा नेपाल सजाएर र कलासंस्कृति, भाषा वाङ्मयमा नेपाल बँचाएर बाँचेका नेपालीहरूको गौरव गायन गरेका प्रसङ्गहरू पढिरहँदा हरकोही पाठक संवेदित बन्दछ ।
निबन्ध सङ्ग्रहको अन्तिम खण्ड ‘शब्द र अक्षरहरूमा’ भित्रका निबन्धहरूमा विचरण गर्दा पाठक निबन्धकारको प्राध्यापक तथा समालोचक व्यक्तित्वसँग साक्षात्कार गर्दछ । यस खण्डभित्रका निबन्धहरूमा लेखकको निबन्धकार व्यक्तित्वलाई प्राध्यापकीय तथा समालोचकीय व्यक्तित्वले ओझेलमा पारेको स्पष्ट बुझिन्छ । साहित्यको गुणवत्ताभन्दा विमोचनको तामझाम मौलाउँदो संस्कृति तथा समालोचना लेखनका चुनौतिहरूले बौद्धिक पाठकवर्गलाई घच्घच्याइरहन्छ ।

‘संवेदनाको समायोग’ भित्रका निबन्धमा विचरण गर्दैगर्दा पाठक कहीँ दर्शनको गहिराईमा चुर्लुम्म डुब्दछ भने कहीँ आफ्नै जीवनबाट छुटेर आएको बाल्यस्मृतिमा डुबुल्की मार्दछ । एउटी नारीले, एउटी आमाले पूर्वस्थापित अनेकौँ परिचयबाट भिन्न रहेर आफ्नै स्वपरिचय तथा स्वअस्तित्व निर्माण गर्न गरेको सङ्घर्ष केवल लेखकको सङ्घर्ष मात्रै होइन् । निबन्धमा कहीँकतै जोडिन आउने आख्यानले पाठकलाई लेखकको संवेदनासँग समायोग गराउँछ । समुद्रको यात्रामा होस् वा टिस्टा नदीको किनारैकिनार निबन्धले पाठकलाई सँगसँगै यात्रा गराउँछ । निबन्धमा अभिव्यक्त स्वतन्त्रता तथा स्वत्वको खोजी जीवन भोगाइका अजस्र पोखाइ, भावनाको अनुगुञ्जन आदि इत्यादि विषयले लेखकीय संवेदनासँग पाठकीय संवेदनाको समानुभूत गराउँछ ।

***

प्रतिक्रिया

सम्बन्धित खवर