-के आर पाण्डुलिपि

ए! साथी
ए! दौतरी
ए! यायावर
किन सोच मग्न छौ?
किन हरवार उडिरहेको जहाज हेरेर कल्पिन्छौ?
किन तिमी पनि उड्न चाहान्छौ,
चील जसरी ?
किन चाहान्छौ छोड्न तिम्रा पुर्खाले फाँडेको खोरिया?

रगतका आलहरूले कोरिएका सिमाना छ्न्
बन्दुकका नालहरूले लेखिएका इतिहास छन्
पहरा जस्ता छातीका ढालले बाँधिएको मानचित्र छ
तर, पनि किन तिमी
पुग्न खोजिरहेछौ समुन्द्र पार,
छोडेर गुराँसको बस्ती ?

बिर्सिदेउ एक फेर चिलगाडीको सपना

आउ लागौं पुर्खाकै पाखातिर
फुलाऔँ क्रान्तिको गुराँस
छरिदिउँ सुवास पाखुराको गुलाबको
फलाइदिउँ पसिनाको मोति
रङ्गाइदिउँ पखेरालाई
जाँगरको क्यानभासमा

फुलाइदिउ सुन्दर सपनाको युगिन क्रान्ती बारीभरि
फर्काइदिउँ समुन्द्रपार पुगेका खुशी खोज्ने सपनालाई
उन्मुक्त गरिदिउँ बिवषताको खुडीबाट बिरक्तताको मनोभाव
आफ्नै मानचित्रको भूगोलभरि फूलेर गोदावरी जस्तै
गरौँ पसिनाको क्रान्तिको उद्घोष

लेखिदिउन नवीन स्वर्णिम ईतिहास
पसिनाको क्रान्तिकारी बुद्ध बनेर ।

***

प्रतिक्रिया

सम्बन्धित खवर