– पुष्पा नेपाल

मेरो मायामा विश्वासको धागो बेरे पनि नबेरे पनि
छैन कुनै गुनासो फर्केर तिमीले हेरे पनि नहेरे पनि
गङ्गा हुँ म बगीरहन्छु निरन्तर उर्लंदो खहरे नसम्झ
फेर्दिनँ म बाटो, तिमीले मन फेरे पनि नफेरे पनि

२,
खोज्छौ औँसीको  रातमा चाँद भेट्छौ कसरी?
आफैँ रोप्छौ गुलाफ ,आफैँ जरा रेट्छौ कसरी?
जून छुन सगर,मोती टिप्न गहिराईमा डुब्नुपर्छ
प्यास लाग्यो भन्छौ,बगरमा उभिएर मेट्छौ कसरी?

३,
मेटाएर आफूलाई अरूकै निम्ति जिउँदा पनि
धुजा धुजा यो जिन्दगी धैर्यताले सिउँदा पनि
कोही खुशी हुन्न  रहेछ दुनियाँमा ,यति बुझेँ
अरूलाई अमृत दिई,आफूले आँसु पिउँदा पनि

४,
अयोध्या, अयोध्या हुन्छ राम हुँदा पो
जिन्दगी हराभरा हुन्छ काम हुँदा पो
तिमी नै घाम मेरो, तिमी नै छाँया पनि
दिन पनि दिनजस्तो हुन्छ घाम हुँदा पो ।

५,
आफैँलाई चिन्न पनि कर्णजस्तै लुटिनु पर्छ
घामपानी सहनु पर्छ,असिनाले चुटिनु पर्छ
सहयात्री र साथ जति प्रेमिले किन नहोस्
दोबाटोमा दुर्योधन र कर्णजस्तै छुटिनु पर्छ

**

प्रतिक्रिया

सम्बन्धित खवर