रमेश क्षितिज

सम्झ कि – अँधेरीमा हिँडिरहेको बटुवा थिएँ
कस्तै हुरीमा पनि
विश्वासको दियो जोगाउँदै आएको
बरालिन / बतासिन खोज्थ्यो मन – सम्हाल्दै / सम्झाउँदै आएको,

म हिँड्दा – इन्द्रेणीको लाठी बोकेर
को हिडेको थियो डाँडामाथि ?
किन उभिएकी थिई नववधुझैं गुलमोहर त्यहाँ

किन उडिरहेथे पृथ्वीका तारा – जुनकिरीहरू आँगनमा ?
त्यो सब केही नसोधी – तिमीतिरै हिँडी आएको

अनेक / अनेक लयहरू
शुभेच्छा / प्रार्थनाहरू
र हृदयमा प्रेम बोकेर हिँडिरहेको मैले
हरिया ध्वजापताका फर्फराइहेका वृक्षहरूलाई समेत
अहिले त बिसाउन भ्याउँदिन है भनेर आएको

कसैको आँखामा डुबेको थियो सुन्दर सपना – खोज्नु थियो
हुरीको पातझैं उडेको थियो आत्मीय साथ – भेट्नु थियो

म चङ्गा – लट्टाइतिर तानिँदै / तानिँदै
म पक्षी – गुँडतिर उड्दै / उड्दै
म यात्री – गन्तव्यतिर हिड्दै / हिड्दै
म झरी – धर्तितिर बर्सिदै / बर्सिदै आएको

तिम्रो ढोकाको सामुन्नेमा आइपुगेको छु
बस्नलाई बास देऊ है – तिमी भनेर आएको !

***

प्रतिक्रिया

सम्बन्धित खवर