
– अन्जु स्मारिका
भेटिएर छुटिन मन थिएन
टाढा भैदिन मन थिएन
म मान्छु प्यारा म बाट भुल भयो
तिमी आत्मिय छौ, सरर्वप्रिय छौ, मायालु छौ
भन्न ढिला भयो !
तिमी मेरो म तिम्रो बन्न ढिला भयो !
भेट हुनका लागि अतृप्त प्यास लागिरहोस्
तिमी मेरै भैइदिए हुन्थ्यो भन्ने आस लागिरहोस्
पहिलो भेटको तृष्णा मेटिन नपाउदै
अर्को भेट भैजाओस तिमीसँग
नजरहरु कहिलै नथाकुन हेरेर एक अर्कालाई
हामी सँगै हुँदा,
नमिठो चिया पनि मीठो बन्दै जान्छ
सबैकुरा ठिक ठाक जस्तो लाग्छ
मीठो आभास बोकेर
तिमीसँगै बस्नुको आनन्द अन्त कहाँ ?
बेनाम सम्बन्धको रङ्ग यति सुन्दर
यति ओझिलो, यति प्यारो हुन्छ भन्ने
ओझिलो अनुभव बोकेर हिँडिरहन पाईयोस!
म पनि आम मान्छे हुँ
ममा पनि केही कमजोरी छन्
हाम्फाल्न सक्छु तिम्रो आँचलमा
रोइदिन सक्छु तिम्रो छातीमा टाँसिएर
हाँसिदिन सक्छु तिमीलाई सम्झेर
तिम्रो काँध र तिम्रो साथको अभाव बोकेर
कहिलेसम्म बाचुँला म !
तिम्रो स-साना हर्कत सम्झेर कहिलेसम्म हाँसुला म ?
म आम मान्छे हुँ
ममा पनि धेरै कमजोरी छन् ।
हद पार गरेर माया लाग्ने मान्छेको आदत छुटाउन नसकिने रहेछ
तिमी बेहद मन परेको मान्छे हौ
तिमीलाई कसरी अरुजस्तै सम्झूँ?
तिमिसङको दुरी कसरी सहन गरुँ ?
सम्हालेर राखेको मन तिम्रै हो
यो धड्कन तिम्रै हो
जीवन तिम्रै हो
म तिम्रै हु !
जीवनमा प्रिय कुरा ढिलोगरि आउँदा रहेछन्
तिमी पनि ढिलोगरी आयौ
मैले तिम्रो आगमनलाई सामान्यिकरण गर्न सकिन
र असामान्य याद साँच्न सुरु गरेँ
असामान्य भएर बाच्न सुरु गरेँ
बेहिसाब प्रेम गर्न सुरु गरेँ
फलस्वरूप,
तिमीसँग हिँडेका हरेक पाईलाको माया लाग्छ
तिम्रो हरेक हर्कतको माया लाग्छ
दिल छुने तिम्रा शब्दको माया लाग्छ
हो प्यारा मलाई तिम्रो औधी माया लाग्छ ।
फेरि कुनैदिन
तिमिसँग लामो यात्रामा निस्कन मन छ
बेफिक्री भएर जिस्किन मन छ
दुनिया भुलेर
एक युग बाँच्न मन छ
प्रेमिल सहयात्री भएर !
के तिमीलाई मेरो प्रस्ताव मन्जुर छ?
***
प्रतिक्रिया
-
४