डिइबी सिकारु

हो, कुनै दिन
खिया लागेको फलामको टुक्राझैं
रछ्यानमा असरल्ल उसै मिल्किएको थिएं

सोचेथें
कोहि आएर टल्काउला मेरो जिन्दगी
सोचेथें
कोहि आएर मायाले सुम्सुमाउला मलाई
सोचेथें
कोहि आएर देख्ला मुटुको घाउ र मल्हम् लगाउला

ठिक त्यही बेला
भेट भो हजुरसंग

थप्नु भो चोटहरू त्यहीँमाथि
लग्नु भो जिन्दगीको आरनमा
हाल्नु भो रातो भर्भर आगोमा
चलाउनु भो भाटी फ्वांफ्वां

अनि ठोक्नुभो
बचनको घनले ड्वाङ्ड्वाङ्
चिस्याउनुभो मुटु
र फेरि दोहोऱ्याइ रहनु भो
भर्भर रातो तातो आगो
भाटीको चिसो हावा
अनि घनको ठोकाई

म अवाक
बस् चुपचापचुपचाप हजुरको अघिल्तिर
हजुर दोहोऱ्याइ रहनुभो हजुरको कर्म

हो म गरूडको छायांमा सर्प बेहोसिए झैं भएं
हो म निस्तेज भएं,अवाक हजुरको सामु
जसरी कालीगढको अगाडि
ढुंगा चुपचाप बस्छ

हजुरले सोच्नु भाथ्यो
आगोमा हालेर तताएपछि
अनि घनले बारबार ठोकेपछि
म झुर्काझुर्का बनेर सकिन्छु

अफसोस
म त इस्पात भएर निस्कें
कस्तो नमिठो हार्नु भो हजुर
पाकेर सुकेको सूर्यमुखीलाई
निमोठेर फालिए पछि
जन्मिन्छन् हजारौं सूर्यमुखीहरू
बेजोडले कोचिए पछि सानो भांडोमा

बारूदका टुक्राहरू पड्किन्छन् बिध्वङ्स बनेर
भोगाई आआफ्नो दृश्टिकोण पनि आफ्नै
ढुङ्गाहरूले हो तिमीलाई ढुङ्गा देख्ने
कालिगडहरूले त तिमीलाई सुन्दर मुर्ति देख्छन्
र सजाउंछन् मनमन्दिरमा

फलामहरूले हो तिमीलाई फलाम देख्ने
लोहारले त मोहर देखेर तरबार बनाएर
दरबार सजाउँछन् सुन्दरताको

काँडाहरूले हो तिमीलाई कांडा देख्ने
मनका कोमलहरूले त तिमीलाई फूल देख्छन्
र सजाउंछन् जीवनको थाली

तिमी अरूको नसुन्नु
बस् कोमल फूल भै रहनु
सहँदैमा सकस सकिन्छ के?
पिल्सिँदैमा पिडामा पीर किन?

सहन्छ हजारौं चोट र त
सुन सुन्दर गहना बन्छ
सहन्छ ढुङ्गा छिनो र हम्मरको हजारौं प्रहार
बल्ल पो सुन्दर मूर्ति बन्छ र भगवानमा पुजिन्छ

नसहेको भए रछानमा फालिनुको पिडा
नसहेको भए आगोको ताप
नसहेको भए भाटीको चिसो हावा
नसहेको भए घनको ठोकाई
बन्थें कसरी खिया लागेको फलाम इस्पात?

सहें, फालिनुको पिडा
सहें, गालिनुको पिडा
सहें, चिसिनुको पिडा
सहें, पिटीनुको पिडा
अनि त म इस्पात भएं।

***

प्रतिक्रिया

सम्बन्धित खवर