– उमा सुवेदी
‘तेरो बाको बिहे हुँदै छ । छोराछोरीले आफ्नोे बाउको बिहे हेर्नु हुँदैन ।’
यसै भने मलाई गाउँलेहरुले ।
त्यसपछि म फुपूको घर जाने भएँ । मेरो भाइ मामाघर जाने भयो । बाको अर्को बिहे हुन लागेको कुराले हामी दुवै दिदीभाइको मनमा अज्ञात खालको भय उब्जेको थियो । हामी दुवैले त्यो भयलाई व्यक्त गर्न सकिरहेका थिएनौँ । भाइ बेलाबेलामा अनुहार अँध्यारो पारेर मतिर हेरिरहन्थ्यो र म पनि उसै गरी उसको अनुहारतिर हेरिरहन्थेँ । त्रासको यो घडीमा म नै उसको अभिभावक थिएँ । मैले उसलाई सम्झाएँ, ‘नडरा भाइ, सबै सौतेनी आमा खराब हुँदैनन् । क्वैक्वैले त आनै छोराछोरीजस्तो गरेर माया पनि गर्छन् । हामीलाई पनि सौतेनी आमाले माया गर्लिन् ।’
तर, यो सम्भावनाको कुुरा थियो । यसले भाइको अनुहार कति पनि उज्यालिन सकेन । म पनि त ढुक्क हुन सकेकी थिइनँ ।
बिहेको केही हप्ताअघि नै हामी दिदीभाइ छुट्टियौँ । भाइलाई मामा आफैँ आएर लगे । म भने एक्लै फुपूको गाउँतिर लागेँ । फुपूको गाउँ नजिक थिएन । हाम्रो गाउँबाट एक घण्टा हिँडेपछि बल्ल राजमार्ग आउँथ्यो । त्यहाँबाट एक घण्टा बसको यात्रा गरेपछि बल्ल फुपूको गाउँ पुगिन्थ्यो । म पहिला दुईचारपल्ट बासित र त्यसपछि त एक्लै पनि फुपूको गाउँ गइसकेकी थिएँ । मलाई त्यसरी एक्लै बसमा चढ्दा कत्ति पनि डर लाग्दैन । बाको बिहेको कुराले मन पोलिरहेको थियो ।
तर, यसपटक राजमार्गसम्म नपुग्दै बिच बाटामै माया दिदी भेटिइन् । उनले भनिन्, ‘आज म तँलाई तेरो फुपूको घरसम्म छाडिदिन्छु ।’
माया दिदीको साथ पाएपछि म केही खुसी भएँ । बाको दोस्रो बिहेको पीडालाई केही बेर बिर्सिएँ ।
मेरी आमा बितेको सात महिना त भयो । उहाँ तीन वर्षअघि वैदेशिक रोजगारीमा दुबई जानुभएको थियो । सात महिनाअघि सिकिस्त बिरामी परेर आउनुभयो । सद्दे दुबई गएकी आमा कसरी यति सारै बिरामी भएर आउनुभयो ? मैले बा र अरू आफन्तहरुसँग सोध्दा कसैले केही जवाफ दिएनन् । तर केही हल्ला मेरो कानमा परेको थियो । दुबईमा आमाले जुन घरमा काम गर्नुहुन्थ्यो, त्यो घरको मालिकले आमाको बलात्कार गरेको भन्ने गाइँगुइँ हल्ला सुनेकी थिएँ मैले । आमा भाइ र मलाई हेरेर टोलाइरहनुहुन्थ्यो । म आमाको छेउमा जान्थेँ । केही सोध्न खोज्थेँ तर आमाको आँखाभरि आँसु देखेपछि मेरो बोली नै बन्द हुन्थ्यो ।
दुबईबाट फर्केदेखि आमा हामीसित कुनै दिन बोल्न सक्नुभएन । मानौँ, उहाँ बोल्नै नसक्ने भएर आउनुभएको थियो । खै किन हो, बा पनि आमासित बोल्दै बोल्नुभएन । आमा केही कमाइ गरेर आउँछु र छोराछोरीको भविष्य उज्यालो बनाउँछु भन्ने अठोटका साथ जानुभएको थियो । गएको एक वर्षसम्म त अलिअलि पैसा पनि पठाउनुभयो । तर त्यसपछि भने न आमाको फोन आयो न पैसा । एकैपटक तीन वर्षपछि सिकिस्त बिरामी भएर फर्किनुभयो । बिरामी आमासित त बाले अलिक मिठो बोलिदिए पनि हुन्थ्यो भन्ने म र भाइलाई लागिरहन्थ्यो । तर, बाले आमाको अनुहार पनि राम्ररी हेर्नुुहुन्नथ्यो ।
आमाको छेउमा कोही जाँदैनथ्यो । आमा नबुझिने गरी केके बरबराइ रहनुहुन्थ्यो । भाइ र म छेउमा जाँदा हाम्रो अनुहार हेरेर अर्कोतिर फर्केर आँसु बगाउँदै केके बरबराउनुहुन्थ्यो । अनि आनो पेटमा मुड्कीले हान्नुहुन्थ्यो । एक दिन बिहान उठेर आमाको कोठामा पुग्दा उहाँको सारी रगतले लफक्कै भिजेको थियो । म आत्तिँदै बाहिर निस्केँ र बालाई भनेँ । बाले वास्ता गर्नुभएन । म आत्तिएको देखेपछि भाइ पनि रून थाल्यो । हामी दिदीभाइले रोइकराइ गरेपछि बाले आमालाई अस्पताल लैजानुभयो । म पनि रूँदैरूँदै पछि लागेँ । आमालाई भित्र लगेको एकैछिनमा डाक्टर बाहिर आए र भने, ‘उहाँको बच्चा त पेटमै कुहिसकेको रहेछ । उहाँलाई पनि बचाउन सकिएन ।’
यसरी मेरी आमा होसमै नआई बित्नुभयो । आमाको अभावका सात महिना हामीलाई सात जुनीजस्तै लाग्यो । कुनै दिन पनि सजिलो र हाँसीखुसी बितेन । भाइले हाँस्नै छाडेको थियो । मलाई पनि हरेक समय रोऊँरोऊँ लागिरहन्थ्यो । तर भाइको अगाडि रून पनि कति गाह्रो । म रूँदा ऊ अझ बढ्ता रून्थ्यो । रूँदारूँदा उसका आँखा सुन्निएका थिए । उसले त स्कुल पनि जान छाडिदिएको थियो ।
म पनि निकै दिन स्कुल गइनँ । तर, एक दिन माया दिदी मलाई लिन आइन् र भनिन्, ‘रोएर तिम्री आमा फिर्ता आउने होइनन् । तिमीले स्कुल छाड्नुहुन्न । तिमी जान थाल्यौ भने भाइ पनि बिस्तारै जान थाल्छ ।’
मलाई माया दिदीको कुरा ठिकै जस्तो लाग्यो ।
‘तैँले धेरै पढ्नुपर्छ । भाइलाई पनि पढाउनुपर्छ ।’
दुबई जानुअघि आमाले पनि त मलाई यसो भनिरहनुहुन्थ्यो ।
मैले मरिसकेकी आमाको कुरा सम्झेँ अनि माया दिदीसितै स्कुल जान थालेँ । दुईचार दिनपछि भाइ पनि मेरो पछि लागेर स्कुल जान थाल्यो ।
माया दिदी मलाई असाध्यै माया गर्थिन् ।

माया दिदी मभन्दा छ वर्ष जेठी हुन् । तर, उनी ढिलो स्कुल भर्ना भइन्् । अनि त उनी र म एक क्लासदेखि सँगै भयो । गाउँले साइनोले दिदी भने पनि उनी मेरी साथी भइन् । कक्षामा उनी मसितै बस्थिन् । पढ्नमा निकै सुस्त थिइन् । शिक्षकले पढाएको कुरा उनको दिमागमा ढिलो गरी पस्थ्यो । म भने उनीभन्दा निकै तेज थिएँ । त्यसैले उनी मसित धेरै कुरा सिक्थिन् । मेरै कापी सार्थिन् र गृहकार्य बुझाउँथिन् ।
माया दिदीलाई सबैले सुन्दरी मैयाँ भन्थे । हामीलाई पनि उनी दन्त्यकथाकी परीजस्ती लाग्थिन् । साह्रै हिस्सी परेकी थिइन् । अनुहारमा सधैँ मुस्कान टाँस्सिइरहेकै हुन्थ्यो । जिउ पनि कस्तो टम्मको । एक दिन उनले खुसुक्क मसित भनिन्, ‘सीमा, म तिम्रो फुपूको छोरा रविलाई माया गर्छु । हाम्रो लभ परेको छ । म त अब चाँडै तिम्री भाउजू पो हुन्छु त ।’
केही महिनाअघि रवि दाइ हाम्रोे गाउँमा आउनुभएको थियो । त्यही बेला माया दिदी र रवि दाइबिच मायाप्रीति बसेको रहेछ । माया दिदीका कुरा सुनेर म मख्ख परेँ । मैले असाध्यै मन पराउने र मलाई धेरै माया गर्ने माया दिदी अब चाँडै मेरी भाउजू बन्ने भइन् भन्ने कुराले म फुरूक्क परेकी थिएँ ।
एक महिनाजति हाम्रो घरमा बसेर रवि दाइ फर्किनुुभयो । दाइ फर्किएपछि भने माया दिदी उदास भइन् । उनको ओठको मुस्कान घट्दैघट्दै गयो र केही दिनमै सबै गायब भयो । उनको चहकिलो अनुहार अँध्यारो भयो । उनी स्कुल पनि आउन छाडिन् । त्यसपछि धेरै दिनसम्म उनीसित मेरो भेटै भएन । आज भने उनी मलाई फुपूकहाँ पु¥याउन साथी भएर हिँडिरहेकी थिइन् ।
हामी दुवै बसबाट ओर्लियौँ र फुपूको गाउँतिर लाग्यौँ । बाटो आधा भएपछि माया दिदी टक्क रोकिइन् ।
‘योभन्दा अगाडि म जान्नँ सीमा । बरू तिम्रो रवि दाइलाई मेरो चिठी देऊ ।’
माया दिदीले कुर्ताभित्रबाट चिठी झिकिन् र मेरो हातमा राखिदिइन् ।
उनी फर्किइन् । मैले धेरै बेरसम्म उनी गएतिर हेरिरहेँ । लाग्यो, माया दिदी होइन, उनकै उदास छाया हिँडिरहेछ । एकछिनपछि त्यही छाया पनि हरायो । म फुपूको घरतिर लागेँ ।

म त्यहाँ पुग्दा रवि दाइ त दुबई जान भनेर ठिक्क परिसकेका रहेछन् । काँधमा झोला पनि बोकिसकेका रहेछन् । फुपूले उनको निधारमा बिदाइको अक्षता पनि लगाइदिसक्नु भएको रहेछ । मैले सुटुक्क रवि दाइको हातमा माया दिदीले दिएको चिठी राखिदिएँ । रवि दाइले चिठी खोले, पढे, उदास भए र लामो सुस्केरा हालेर चिठी उसै गरी खाममा राखेर कोठाको टाँडमा कसैले नदेख्ने गरी घुसारिदिए ।
रवि दाइ दुबईका लागि हिँडे ।
पहिला त गाउँघरमै खेतीपाती गरेर बस्छु भन्थे रवि दाइ । तर, आनोे बन्धकी खेत उकास्न सकेनन् । खेत साहुले लिएपछि घर र अलिकति बारीमात्र बाँकी रह्यो । खेतीपाती गरेर बस्ने उनको रहर म¥यो । त्यसैले उनी रोजगारको खोजीमा दुबई जान बाध्य भएका थिए ।
माया दिदीको चिठी टाँडमै लुकिरह्यो । खै, किनकिन एक दिन मलाई त्यो चिठी पढ्न मन लाग्यो । घरमा कोही नभएको बेला टाँडबाट त्यो चिठी झिकेँ । खाम खोलेँ र चिठी पढ्न थालेँ । चिठी पढेर मलाई सारै रून मन लाग्यो ।
मैले बल्ल पो थाहा पाएँ, माया दिदीले त पेट बोकेकी रहिछन् । चिठीमा उनले लेखेकी थिइन्, ‘तिमीले मेरो माया मा¥यौ । अब म मरे पनि के, बाँचे पनि के ।’
चिठीको अन्तिम वाक्यले मलाई झस्काएको थियो । अहिले कतै माया दिदीले आत्महत्या त गरिसकेकी छैनन् ? म आत्तिएकी थिएँ ।
गाउँमा माया दिदीकै जस्तो अवस्था भएर आत्महत्या गर्ने थुप्रै घटना मैले देखिसकेकी थिएँ, सुनिसकेकी थिएँ ।
दुबईले त उता पनि ज्यान लिँदोरहेछ, यता पनि । मलाई नमिठो लाग्यो ।
माया दिदीको नियति त्यस्तो नहोस् भनेर मैले आफूले नाम थाहा पाएका देवीदेउताहरुसँग पुकारा गरेँ । तर, देवीदेउताको पूरै भर पनि थिएन मलाई । किनभने दुबई गएकाहरुले त्यहाँ पनि र दुबई गएकाहरुका मायालुले यहाँ पनि देउताको पुकारा गरेकै त थिए । तर, देउताले न त्यहाँ पुग्नेका कुरा सुने, न यहाँ बस्नेका कुरा सुने ।

म फुपूको घरमा बस्न थालेको पनि दश महिना भइसकेको थियो । एकपल्ट आनोे गाउँ जान मन लाग्यो । मैले फुपूसित अनुरोध गरेँ । फुपूले बस भाडाबापत केही पैसा मेरो हातमा राखिदिँदै भनिन्, ‘जा, तँलाई पनि बाको न्यास्रो लाग्यो होला । नयाँ आमालाई हेर्न मन लाग्यो होला । तर, आज गएर भोलि फर्किहाल् । अब तँ मैसित बस्नुपर्छ । सौतेनी आमा आना हुँदैनन् । त्यहाँ दुःख बेहोरेर किन बस्नु तैँले ?’
मैले ‘हुन्छ, भोलि नै फर्केर आउँछु’ भनेँ ।
वास्तवमा मलाई बाको न्यास्रो लागेको थिएन । नयाँ आमाको अनुहार हेर्न मन लागेको पनि होइन । मलाई त माया दिदीको याद आएको थियो । उनलाई भेटिहाल्न पाए हुन्थ्यो भन्ने लागेको थियो । उनी मरिन् कि बाँचिरहेकी छिन् भनेर बुझ्नु थियो । उनको गर्भको शिशुलाई जन्म दिइन् कि जन्मनुअघि नै फालिदिइन् भन्ने बुझ्नुु थियो । मलाई उनको गर्भको शिशुको पनि माया लागेको थियो ।
गाउँ फर्किनासाथ म सोझै माया दिदीको घरतिर लागेँ । त्यहाँ पुगेपछि थाहा पाएँ, माया दिदी मरेकी रहिनछिन् । ढुक्कले लामो सास फेरेँ । उनी नमरेको खबरले म अति खुसी भएँ । तर, उनी घरमा थिइनन् । उनकी आमा बारीमा मुला गोड्दै थिइन् । उनकै छेउमा पुगेर सोधेँ, ‘खै त माया दिदी ?’
उनकी आमाले अँध्यारो अनुहार पारेर भनिन्, ‘उसको त बिहे भइसक्यो ।’
माया दिदीले आफ्नोे बिहेमा मलाई नबोलाएको कुराले कताकता मन दुख्यो । कति रहर थियो बेहुलीको साथी बनेर छेउमा बस्ने । तर, उनको बिहेमा सहभागी हुन पाइनँ । नरमाइलो त निकै लाग्यो मलाई । तर, एकैछिनमा मन बुझाएँ । तर उनको जीवनले अर्को बाटो समातेको थाहा पाएर एकैछिनमा मेरो मन खुसी भइहाल्यो । कम्तीमा उनले आत्महत्या त गरिनन्, बाँच्ने साहस गरिछन् । हिम्मतिली माया दिदीको कति हो कति माया लागेर आयो ।
म लुरूलुरू घरतिर लागेँ । दश महिनापछि आनै घर देख्दा घर पनि मज्जाले खुसी भएजस्तो लाग्यो ।
‘बा, कता हुनुहुन्छ ? म आएँ ।’
बालाई बोलाउँदै म घरभित्र पसेँ ।
पस्नासाथ मेरा खुट्टा जहाँको तहीँ उभिए । म एकोहोरो हेरेको हेर्यै भएँ । मेरो बोली एक्कासि बन्द भयो । मेराअगाडि त माया दिदी पो ठिङ्ग उभिएकी थिइन् । उनको हातमा नवजात शिशु पनि थियो ।

***

प्रतिक्रिया

सम्बन्धित खवर