साहित्यकार दीपक समीप मुक्तक गजल र कथामा परिचित नाम हो । पोखरा स्थायिबासी उहाँले राष्ट्रिय स्तरका दर्जनौ सम्मान र पुरस्कार पाउनु भएको छ ।
भूगोलभित्र नकोरिएको देश गजल सङ्ग्रह, २०६२ र अक्षर अक्षरमा देश मुक्तक सङ्ग्रह, २०७८ प्रकाशित उहाँको साहित्य बजारमा भर्खरू लघुकथा नदीको राजमार्ग आईपुगेको छ । यसै कृतिसँग रहेर सम्पादक जीवन खत्रीले उहाँलाई गरेका पाँच प्रश्न र जवाफ ।
१) पछिल्लो समय बजारमा आएको यहाँको लघु कथासङ्ग्रह नदीको राजमार्गका बारेमा बताईदिनुस न । जसलाई पढेर पाठकले यहाँको किताब पढ्ने वा नपढ्ने धारणा निर्माण गर्न सकुन् ।
– ” नदीको राजमार्ग ” मेरो नविनतम पुस्तक हो। यसभित्र हाम्रै समाज र परिवेश वरपर घटेका घटना , दुर्घटनाहरुलाई आफ्नै मौलिक कथ्यमा बुनेर अलिक भिन्न शैलीमा प्रस्तुत गरिएका लघुकथाहरु छन्। यस सङ्ग्रह मार्फत लघुकथाको पुरातन सिद्दान्त र परम्परागत धारणाको पर्खाललाई भत्काउने प्रयास गरेको छु। गजल, मुक्तक लेखनमा लागिरहेको मेरो कलमलाई लघुकथामा पनि त्यसरी नै सशक्त र चोटिलो तरिकाले प्रस्तुत हुने मेरो प्रयास हो।
२) यसअघि पनि यहाँको केही कृतिहरू बजारमा आए । गजल , कविता , कथामा साधनारत साहित्यकार दीपक समीपलाई अन्य विधामा के लेख्न सकिएन र लघुकथाको किताब निकाल्नु पर्यो?
– साहित्यका विधाहरु मुक्तक , गजल , कथा, लघुकथा , कविता र गीतमा मैले चालिसको दशकको अन्त्यदेखि नै कलम चलाउँदै आइरहेको छु। त्यसमध्ये भलै मैले गजल र मुक्तक लेखनमा बढी कलम चलाएँ हुँला। ती विधालाई बढि समय दिएँ हुँला। तर लघुकथा मलाई मन पर्ने र मेरो प्राथमिकतामा पर्ने विधा हो। यसो भन्दै गर्दा मैले कविता , गीत , कथा र लघुकथाहरु लेख्दै नलेखेको भने होइन। लघुकथा , कथा, गीत र कविता पनि मैले लेख्दै आएरहेको विधा हो। सङ्ग्रह प्रकाशनको हिसाबले गजल र मुक्तक प्रकाशित भइसकेपछि लघुकथा प्रकाशन गर्ने मेसो मिल्यो। एउटा लेखक भैसकेपछि एउटा विधामा मात्र सिमित हुनुहुँदैन्। साहित्यको अन्य विधामा पनि उतिकै कलम चलाउन सक्नु पर्छ भन्ने मेरो मान्यता हो। त्यो मान्यता आफूमा दबाबको रुपमा नआइ स्वस्फूर्त रुपमा आउनुपर्छ। लेखिएका विधाप्रति आफूले न्याय गर्न सक्नु पनि पर्छ। लेखनको विधामा मैले लघुकथालाई न्याय गर्न सक्छु भन्ने लागेर नै मैले पहिलेदेखि नै लघुकथा लेख्दै आइरहेको थिएँ र अहिले अब सङ्ग्रह निकाल्नु पर्छ भन्ने लागेर लघुकथाको सङ्ग्रह पाठकहरु माझ ल्याएको हुँ। त्यसो त अहिलेको व्यस्त समयमा लघुकथा पाठकको रुचिको विधा पनि हो ।
३) लघुकथा कथाकै छोटकरी न हो भन्ने आम धारणालाई कसरी लिनुहुन्छ ? खासमा लघुकथा के हो?
– लघुकथा कथाको छोटकरी होइन। कथाको सारंश पनि होइन। कथाको छोटो रुप चाहिँ हो। खासमा लघुकथा हाम्रो दैनिक जिवनमा हुने भोगाइका सुक्ष्म घटनाहरु र तिनका तीब्र अनुभूतिहरु नै हुन्। लघुकथामा मुक्तकमा हुने झट्का हुन्छ। लघुकथाको प्रभाव आगोको फिलिङ्गोको पोलाई जस्तो च्वास्स हुनुपर्छ । जसले पछिसम्म गहिरो र मीठो दुखाइको अनुभूति दिइरहेको हुन्छ। लघुकथाको बुनौट माछालाई फकाउँदै फकाउँदै अन्त्यमा बल्छिमा उनिए जस्तै हुन्छ। खोलाको भङ्गालोबाट सानो कुलो बनाउँदै बनाउँदै ल्याएर ढडियामा फसाए जस्तै हुन्छ। लघुकथाको विषयवस्तु जे जस्तो होस् लेखनको शिल्पशैली र प्रस्तुति भने असरदार हुनुपर्छ।
४) बिशेषत राजधानी बाहिर (पोखरा) बसेर साहित्य सृजना गरिरहने लेखक हुनुहुन्छ यहाँ । मोफसल र राजधानीको चर्चाले हिमाल छोएर पनि आजको युगमा यो बहस अनावश्यक भन्दै फेरि सेलाएको अवस्था छ । हुन त पोखरा विशाल शहर हो । तर किताबको पहिलो बिमोचन गर्न राजधानीनै आईपुग्नु भयो नि? राजधानी, मोफसल र यहाँको किताब बिमोचनलाई जोडेर केही बताईदिनुस न ।
– यसभन्दा अघिका मेरा पुस्तकहरु पोखरामै विमोचन गरिएका हुन्। मैले चालीस र पचासको दशकमा कहिले लमजुङबाट , कहिले पोखराबाट हुलाकबाटै रचना पठाएर पत्रपत्रिकामा प्रकाशित गरेको हुँ। साहित्यकैलागि भनेर म कहिल्यै काठमाडौ धाइन। साहित्यमा जे जति गरें लमजुङ र पोखरामै बसेर नै गरें। मलाई राजधानी प्रतिको मोह कहिल्यै जागेन। यो पुस्तक विमोचन पोखरामै गरौं भन्दा अहिलेको पुस्तकका प्रकाशक पेज टर्नरले काठमाडौमै विमोचन गर्न जोड गरेकाले यो पुस्तकको विमोचन काठमाडौमा गरिएको हो। आफ्नै गृहनगरको सम्मान स्वरुप काठमाडौमा विमोचन गरेको केही समयपछि माघ २७ गते पोखरामा नै पुस्तकको गृह विमोचन गर्ने तयारी भैसकेको छ। राम्रो लेखकलाई राजधानी र मोफसल भन्ने नै हुँदैन। राजधानीवाद एउटा हौवा मात्र हो। साहित्य र कलाकै कतिपय सन्दर्भमा पोखरा केन्द्रमा नै छ। अहिलेको परिवेशमा जहाँ जस्ले राम्रो गर्न सक्छ त्यो नै केन्द्र हो।
५) लघुकथाको पछाडि कुनै न कुनै कथा हुन्छन् भनिन्छ । पुस्तकभित्रका कुनै लघुकथाका कथाहरू भन्न मिल्छ भने बताईदिनुस न ।
लघुकथाको पछाडी मात्र होइन अगाडी पनि कथा नै हुन्छ। कथा विना त लघुकथा नै हुदैन । कथाको बुनौट बरु बाबियोको डोरीको पोयो जस्तो कसिलो हुनुपर्छ। पोयो खुकुलो भयो भने डोरी गतिलो र बलियो हुँदैन नि ! हो त्यसरी नै लघुकथाको संरचना कसिलो भएन भने लघुकथा कमजोर हुन्छ। र लघुकथाको भाव पढ्न लघुकथानै पढ्नु हुन अनुरोध छ ।
***
प्रतिक्रिया
-
४
