– रश्मि रोदन

शदियौँ भयो
तिम्रो अपहेलना सहेको,
तिरस्कार खपेको,
शोषण भोगेको,
जातिय दमनले थिचेको,
निरंकुशताले घाँटी कसेको,
तानाशाही शासन झेल्दै आएको पनि ।

त्यसो त आवाज विहिन होइन म
सायद उतिबेला
मेरै बोली बोलेका थिए दशरथ, शुक्रराजले
सायाद मेरै विभेदको राँको बालेका थिए
गङ्गालाल र धर्मभक्तहरुले

जसरी झिल्का झिल्काबाट डढेलो बन्छ
जसरी छिटा छिटाबाट घनाघोर वर्षा हुन्छ
जसरी सिरेटोबाट डरलाग्दो तुफान आउँछ
जसरी पातला छालहरूबाट सुनामी आउँछ

हो त्यसैगरी सम्झनू
अझै सकिएको छैन तिमी विरुद्धको अस्त्र
टुङ्गिएको छैन तिमीसँगको लडाई
तयार हुँदैछन् दुई चार रुपलाल विश्वकर्माहरू
जुर्मुराउदै छन् यातना सहेका योद्धाहरु
फेरि जन्मिदै छन्
बिसे नगर्ची र योगमायाहरू

हो त्यसरी नै अनुमान लगाउनु तिमीले
म नबोल्नुको मतलब जवाफ नहुनु होइन
तिमीले सुनेका छौ बर्षात पछिको चट्याङ्ग ?
हो त्यस्तै सम्झ
मौनता पछिको मेरो आवाज ।

***

प्रतिक्रिया

सम्बन्धित खवर