-सरण राई

मानिस आफुलाई अथवा आफ्नो शरीरका अङ्गहरूलाई हेरेर पनि रुँदोरहेछ । मानिस कति कमलो मन लिएर बॉचिरहेको हुन्छ । जीवनमा आएका कस्ता कस्ता विपत्तिहरूका ऑधीबेहेरी बेहोरीयो, कष्ट खेपियो । खुइय्य गरिएन । हार मानिएन । डटेर मुकाबिला गरियो, ‘रुने नामर्द म होइन’ भनियो । तर आज अकस्मात म आफ्ना हातहरू, हत्केलाहरू र आफ्नो शरीर देखेर– हेरेर रोइरहेको छु । आफ्ना हातहरू, हत्केलाहरू र आफ्नो शरीर देख्दा मन अमिलिएर आएको छ । आफ्नो यस्तो वृद्धावस्था देख्दा ऑखाबाट बररर ऑसु बगिरहेको छ ।

हातहरू ऑखा सामु छन् । चालीस वर्ष अघिको बुबाको र मेरो हातमा केही अन्तर छैन, छाला चाउरिएको छ, झोलिएको छ । तन्नेरी हातको सुन्दरता लुप्त भएको छ । म बुबालाई सम्झन्छु । ऐना हेर्छु बुबाको र मेरो अनुहारमा थुप्रै समानता पाउँछु अर्थात् मेरो अनुहार पनि बृद्ध बुबाको जस्तै भएको छ । मलाई बुबाको अग्घोर माया लागेर आउँछ र बुबाजस्तै बूढो भएको आफुलाई सहानुभूति गर्न पुग्छु । म बूढो भएको छु । कठै, यो मेरो जीवनमा वृद्धावस्थाले पूर्णतया प्रवेश गरिसकेको छ ।

वृद्धावस्था !

वृद्धावस्थामा शारीरिक असमर्थता र एक्लोपन जम्ल्याहा जस्ता रहेछन् ।

पुग्नुपर्ने कतै छैन, गन्तव्य छैन तर हिँडिरहनु पर्ने । पाउनुपर्ने नयाँ प्राप्ति केही छैन, सामथ्र्य छैन तर प्रयत्नशील भइरहनुपर्ने । जीवनको अवसान नजिक पुग्न लागिएको परिस्थिति, रूप, तागत, बलबैंस, आँट, जाँगर अथवा जीवनका सुन्दरताहरूले छाड्न लागेको अवस्था, मृत्यु नजिक पुगेको अनुभूतिले गिजोलिरहेको मन ! ‘यति रमाइलो संसार छोडेर जानुपर्ने’ भन्ने भावनाले दिएको पीडा ! यो संसारकै, जीवनकै चलन, रीत र नियम हो । यहाँ कोही पनि जिउँदाहरूले सदैव बाँचिरहन पाउदैनन् । मृत्युले सब जिउँदाहरूलाई निल्छ, निल्छ । मृत्युको पूर्वआभास कति पीडादायी छ, मन चसक्क दुख्छ । मर्नै पर्छ, जानै पर्छ यो धरती छाडेर । मेरा पिता मरे, आमा मरीन्, अघिल्लो पुस्ताका सबै मरिसके । अब मर्ने पालो मेरो यो वर्तमान पुस्ताको, भावी पुस्ताका लागि ठाउँ खाली गर्नै पर्छ ।

फेरि एक जन्म वा अर्को थप एक जीवन बॉच्न पाए…. म कल्पिन्छु । तर कसैले दुइ जीवन बॉच्न पाएका छन् र ? म पनि डॉडाको घाम, निभ्न लागेको दियो भएको छु । मैले पनि …जानै पर्छ ।

अजङ्गको एकान्तले उब्जाएको परिवेशले मनमनै म मृत्युदेखि त्रसितत्रसित भएर एक्लै मनभित्रभित्रै रोइरहेको बेला मेरो नाति ‘आँ ..आँ …’ भर्खर फुट्न लागेको अष्पस्ट बोली निकाल्दै टुकुटुकु हिडेर आउँछ र मेरो काखमा लुट्पुटिन्छ । मेरो मानसिक धरातलमा देखिन थालेको कालो अँध्यारो बादल फाटेर झलमल्ल उज्यालो मेरो मनको आयतनभरि फैलिन्छ । बिर्सन्छु आफ्नो वृद्धपन, एक्लोपन र नियास्रोपन र झलझली देख्न थाल्छु भावी सन्तानको प्रतिविम्बित रूप आफ्नै नातिको अनुहारमा ।

नाति !

मेरै जीवनको क्रमिकता होइन र ? म पछि छोरा, छोरापछि नाति, नातिपछि पनाति, जनाति, खनाति….मेरै जीवनको निरन्तरता मान्न थाल्छु । मेरो अन्तरकुन्तरमा चम्किलो घाम उदाउँछ्र । ऑसु ऑखामा बिलाएर जान्छ । बुबाको रूपबाट म आफु र म आफुबाट नातिको कलिलोपनमा रूपान्तरित हुन थालेको हुन्छु थाहै नपाई …। म नरहे पनि मेरो अंश, शेष वा सन्तान यस धरतीमा रहिरहनेछ । मभित्र एक प्रकारको मीठो भाव, उत्साह, प्रसन्नता र गौरव प्रस्फुटन हुन्छ ।

नाति ! केही वर्ष अगाडिसम्म मलाई ‘बाजे’ भनेर बोलाएको पटक्कै मन पर्दैनथ्यो । मेरा एकजना मित्रलाई पनि त्यस्तै हुन्थ्यो रे, ‘बाजे’ सम्बोधन सुन्दा कन्सिरी तातेर आउँने कुरा उनले आफ्नो संस्मरणमा लेखेका छन् । तर वास्तविक रूपमै नातिनातिनाहरू जन्मिसकेपछि ‘बाजे’ सम्बोधन पनि मिठासयुक्त र स्वाभाविक लाग्न थालेको छ ।

मलाई नातिनी बारम्बार भन्छे, “कोपा, कोपा (बाजे,बाजे) !” यो सम्बोधनमा एउटा साइनो छ, जसले वंशवृक्ष झ्याङ्गिदै गरेको सङ्केत दिन्छ । यसबाट म सन्तुष्ट हुन्छु । नाति जन्मेपछि त नातिनातिनाहरूको अवोध बाल संसारमा रमाउन मन पराउन थालेको छु । धेरै वर्ष अगाडिदेखि गाउन छाडेका गीतहरू फेरि लयबद्ध स्वरहरूमा तिनीहरूसँग खेल्दा स्वस्फुर्त रूपमा अनायास मेरा कण्ठबाट तरङ्गित हुन्छन् । म अझै गाउन सक्दोरहेछु, नातिनातिनीहरूको अबोध बाल संसारमा युवाहरूजस्तै गाउँदै नाच्न सक्छु । रमाइलो गर्छु र सम्झन पुग्छु फेरि मधुर जीवनको पुनरागमन भएको छ । नातिनातिनाहरू सॉच्चै मायालाग्दा छन्, यसैले मानिसहरूले ‘सावाको भन्दा ब्याजको माया’ भन्ने गरेका होलान् ।

म मेरा नातिनातिनाहरू संसारमा सबैभन्दा सुखी भएको हेर्न चाहन्छु । तिनीहरूलाई जब मेरा छोराबुहारीहरूले कुटेर रुवाउँछन्, हकार्छन्, नमीठो लाग्छ, मनमा औडाहा लाग्छ । छोराबुहारीलाई हकार्दै म तिनीहरूलाई काखमा खेलाएर वा बोकेर फकाउन थालिहाल्छु । तिनीहरू पनि मेरो आडभरोसा सहारा पाएर मेरो छातीमा टाँसिन थालिहाल्छन्, त्यसबेला म सारा संसार बिर्सन्छु । आफ्नै रोग, शोक, पीडा र आफ्नो अवस्था पनि बिर्सन पुग्छु । सम्झन्छु विश्वकै सबैभन्दा सुखी मानिस हुँ जसको कोपिलाजस्ता नातिनातिनाहरू छन् ।

समयलाई कसले पो रोक्न, छेक्न वा वशमा राख्न सकेको छ र ? म ती मसिना नातिनातिनीहरूसँग अनन्त कालसम्म खेलिरहूँ , तिनीहरू त्यत्रै रहिरहुन् र हाम्रो आत्मीय रमाइलो कौतुकमय क्रीडा सदैव रहिरहोस् । तिनीहरू सधैं मसँग खेलिरहून् । मन आनन्दले हराभरा भइरहोस्, तर त्यस्तो हुँदैन ।

हामी बाजे बोजु तिनीहरूलाई देख्दा अग्घोर खुसी हुन्थ्यौँ । सम्पूर्ण सांसारिक दुःख कष्ट बिर्सन्थ्यौँ र तिनीहरूका लागि अनेकौँ दुःख कष्ट झेल्न तयार थियौँ । समयक्रममा मबाट मेरी मायालु पत्नी छुटिन् । तिनको देहान्तको असह्य वेदना पनि नातिनातिनाहरूको मुख हेर्दै सहेँ । ममाथि वृद्धावस्थाका असमर्थताका साथै विभिन्न रोगहरू थपिए । म परिवारमाझ बसेर पनि नितान्त एक्लोएक्लो हुँदै गइरहेको छु । मेरो घरभित्रको घरमुलीको शासन, ढलिमली र हैकम पनि समाप्त हुँदै गएको छ, मेरो सामाजिक, आर्थिक, सांस्कृतिक र राजनैतिक गतिविधि पनि स्वात्तै घटेको छ । अब प्राय घरबाहिरका यस्ता क्रियाकलाप शून्य भएका छन् ।

कुनैकुनै बेला साथीहरू आउनेजाने गर्थे । घरमा मेरा साथीभाइहरूको उचित सम्मान, मान र आतिथ्यता हुन छाडेको छ जसले गर्दा उनीहरू पनि आउन छाडेका छन् । म पनि साथीभाइहरूकहाँ जान छाडेको छु । मलाई लाग्छ, पहिला जस्तो मेरो पनि अरुको पाहुना हुँदा खातिरदारी, स्वागत सत्कार हुन छाडेको छ र म आफ्नो कोठाको एकान्तमा बस्न अभ्यस्त भइसकेको छु ।

जाने पनि कहाँ ? गर्नै पो के सक्छु र ? म चाहन्छु आफुले हाडछाला घोटेर अनेकौं दुःखसाथ हुर्काएका मेरा छोरालाई अझैँ हरप्रकारले मद्दत गरुँ । तर शारीरिक असक्तता बाधा भइरहेको हुन्छ । म चाहन्छु कैयौँ दसक लामो मेरो जिन्दगीको अनुभवबाट प्राप्त ज्ञान, सीप र समस्या समाधानका उपाय, सल्लाह, सुझावहरू दिएर पारिवारिक र अन्य समस्याहरूमा सहयोगी बन्न सकूँ । तर मैले बटुलेको अनुभव, शिक्षा र सल्लाह कोही सुन्न चाहदैनन्, ‘उहिलेको कुरा खुइले’ । म उपयोगिताविहीन बूढो, मेरा सल्लाह सुझाव उनीहरूलाई अनावश्यक हस्तक्षेप लाग्छ । सायद यही नै ‘जेनेरेसन ग्याप’ होला ।

घर खर्च दिन प्रतिदिन बढ्न थालेको छ । महँगीको जमाना तैपनि केही तडकभडक गर्नै पर्यो । साथीभाइहरूभन्दा कम देखिनु भएन । भोजभतेर, क्लब, बिहेबटुलो, बिजुली, पानी, टेलिभिजन च्यानल महशुल, स्कुलको शुल्क आदि अनेकौँ खर्चहरू…मलाई पनि थाहा छ, धानी सक्नु छैन । कुनामा बसेर टुलुटुलु हेरिरहन बाहेक म के नै गर्न सक्छु र ?

घरखर्च चलाउने देखि घरायसी अन्य सबै निर्णयहरू गर्दा मलाई सोधिँदैन । अब त्यस्ता विषयहरूसँग मेरो कुनै सरोकार छैन । म कोठामा बसेर पुस्तकहरू दोहो¥याइ तेह¥याइ पढ्छु । कथा बुझ्न थालेकी नातिनी आइभने दन्त्यकथा, पञ्चतन्त्र, जातक र इसपनीतिका कथाहरू सुनाउँछु । कथा सुनाउँदा मलाई अग्घोर आनन्द आउँछ । कथाको प्रवाह मेरो खोकिले बीचबीचमा रोकिँदा भने नातिनी नियास्रो मान्छे ।

“कोपाको छेउमा धेरै नजा, खोकि र अरु रोगहरू सर्ला ।” बुहारीले नातिनीलाई भनेको झट्ट सुन्छु । मनमा च्वास्स बिझे पनि नसुने झैँ गर्छु । प्रतिकार गर्ने सामथ्र्य मसँग अब रहेन ।

“म घरमै बस्छु, कोपालाई छोडेर जान्नँ ।” चिच्याइरहेकी थिई नातिनी । झोला, बक्स र केही सामानका साथ जबरजस्ती मेरी ठूली नातिनीलाई बोर्डिङ्ग स्कुलको बोर्डसमा पठाइन्छ । त्यसको चिच्याहटले अनायासै मेरो ऑखा टलपलाउछ, कठै… मेरो सानी साथी नातिनी पनि मसँग छुट्टिएर गई ।

नातिनीको अभाव नातिले पूरा गरिरहेको हुन्छ । ऊ मेरो कोठामा आएर बालसुलभ अनेक उपद्रोहरू गर्छ । मेरो पुरानो पुस्तक कपि च्यात्नु, चस्मा बिगार्नु, बिस्तारामा पिसाब फेर्नु आदि उपद्रोहरू । ती उपद्रोहरू उसँग खेल्दा, बस्दा र हाँस्दा प्राप्त हुने आनन्दको अगाडि केही होइन । ऊ मसँग बस्छ, खेल्छ र हाँस्छ । म उसलाई अत्यधिक माया गर्छु । ऊ मसँग हुँदा सबथोक बिर्सन्छु र चाहन्छु ऊ सदैव मसँग बसिरहोस्, खेलिरहोस् । ऊसँग बस्दा मलाई अपूर्व आनन्द आउँछ, जुन आनन्द प्रत्येक बाजेहरूले मात्र अनुभव गरेका हुन्छन् । त्यो अनुभव बाजे हुने उमेरसम्म बॉचेकाहरूले मात्र प्राप्त गर्छन् । म पनि बाजे हुन पाएकोमा गौरवान्वित हुन्छु र मेरो ओठमा मुस्कान खेल्छ ।

छोरालाई बोलाएर हामी दुइका बिभिन्न मुद्राका फोटोहरू खिच्न लगाउँछु । हामी दुइको ‘मूभि’ पनि उसले खिच्छ । क्यामेरामा नै ती फोटाहरू हेरेर म मक्खै पर्छु । भन्छु “यी तस्वीरहरू प्रिन्ट गरेर ल्याइ देओ ।”

“म कम्प्युटरमा ‘सेभ’ गर्छु । पछि एकै चोटि ‘प्रिन्ट’ गरौलाँ ।”छोराको जवाफ हुन्छ । तर ती तस्विरहरू प्रिन्ट भएको मैले देख्न पाएको छैन ।

समय त बतासजस्तै, खोलाजस्तै वा समयजस्तै बगिरहेकै हुन्छ । पहिरो गएको पहाडजस्तै ओरालो लागेको मेरो वृद्धावस्था दिन प्रंतिदिन झन्झन् ओरालो लागिरहेको हुन्छ । म हिजो भन्दा आज, आजभन्दा भोलि झन्झन् असमर्थ, असक्त र दयनीय बन्दै गइरहेको छु । खेल्ने, बोल्ने र हाँसखेल गर्ने साथी नहुनु बुढेसकालको बेमज्जाको स्थिति रहेछ भन्ने महसुस मेरो नाति ‘मोन्टेसोरी’को ‘प्लेग्रुप’मा भर्ना भएर दिनभर उतै बस्न थालेपछि हुन थालेको छ । शनिबार छुट्टिको दिनमा मात्र केही बेर ऊसँग खेल्न पाउँछु । ऊसँग खेल्ने मेरो लालसा पनि अधुरै हुन थालेको छ ।

एकदिन अकस्मात मेरो निम्ति नयाँ पोसाक लिएर छोरा बुहारी मेरो कोठामा आउँछन् । मलाई “नयाँ पोसाक ठीक भयो, भएन” लगाएर जॉच्न भन्छन् । म फुरुक्क पर्छु,, फुरुङ्ग हुन्छु मेरो पनि छोराबुहारीले ध्यान दिन थालेछन् ।

“वृद्धाश्रम, बालआश्रम र अस्पताल पनि भएको ‘मानव संसार’ उपयुक्त वृद्धाश्रम हो, त्यहॉ बस्ने वृद्धहरूले कुनै प्रकारको कष्ट, पीडा भोग्नु पर्दैन ।” छोरा भन्छ ।

“बुबाको थोरै आउने पेन्सनले मात्र त्यहा शुल्क तिरेर बस्न अपुग हुने भएकोले प्रत्येक महिनामा अपुग रकम जम्मा गर्नेछौँ । सबै बन्दोबस्त मिलाएका छौँ ।”बुहारी थप्छे ।

“म नोकरीको सिलसिलामा कहिले कहाँ कहिले कहाँ गइरहनु पर्ने हुन्छ । बुहारीले पनि सानोतिनो जागिर पाएकी छिन् । घरमा बुबाको सह्यार सम्भार गर्ने मान्छे हुँदैन । ‘मानव संसार’ वृद्धाश्रम नै बुबाको लागि ठीक हुने फैसला गरियो । भोलिदेखि नै बुबाले त्यहाँ बस्नु पर्छ, हामी तपाईलाई बिहानै पु¥याइ दिनेछौँ ।” छोराको आदेश ।

कति सजिलै भने उनीहरूले । नयाँ लुगाको अर्थ खुल्यो । म छाँगाबाट खस्छु । अब मैले पनि यो घर छोड्नै पर्ने भएको छ । मेरो मान्नु र नमान्नुको कुनै अर्थ नहुने भएकैले उनीहरूले मलाई वृद्धाश्रम पठाउने निर्णय गरिसकेका छन् । मभित्र १२ रेक्टर स्केलको भुइचालो ल्याउने निर्णय सुनाएर उनीहरू बाहिर गइसकेका छन् ।

अहा, यो घर, यो कोठा ! हामी(पत्नी र म)ले कस्तो परिश्रम गरेर आफ्नो र पत्नीको रुचि अनुसार यो घर निर्माण गरेका थियौँ । यही घरमा हामीले छोराछोरी हुर्कायौँ । उनीहरू आज स्वावलम्वी भएका छन् र मलाई आफ्नो निर्णय थुपार्न सक्षम भएका छन् । यो आधुनिक युगले उब्जाएको यान्त्रिक, सांस्कृतिक र सामाजिक प्रचलन हो कि ? अब मैले बनाएको यो घरलाई ‘मेरो हो’ भनेर यसैमा बस्ने अड्डि कस्न सक्तिनँ । छोराबुहारीको आदेश शिरोपर गर्नु बाहेक मसँग अर्को उपाय छैन ।

यो मेरो घर, मेरो कोठा, मेरो पलङ ! भोलिदेखि मसँग यी केही पनि रहने छैनन् । म यो घरमा हुनेछैन । कैयौं दसक सुखदुःखसाथ पत्नीसँग बिताएको यो पलङ मसँग हुनेछैन । कठै, जीवितावस्थामा रहेको बेला पत्नीलाई मुसारेझैँ कोठाका भित्ता, पलङको छेउ कुना सबसब सुम्सुमाउछु । यात्रीले अन्तिम बेला बिदा माग्दै टिल्पिलाएको ऑखाले सबैलाई हेरेझैँ मन अघाइन्जेल म आज कोठा, पलङ र घरका सबै चिजहरू हेर्छु । ऑखाबाट ऑसुको भेल बग्छ तर यो ऑसुको के मूल्य छ र ? कोठाका सबै बस्तुहरूलाई छाम्छु, छुन्छु, म्वाँइ खान्छु, अर्धविक्षिप्तझैँ ती सबलाई हेरेर भावविव्हल हुन्छु । म रातभर निदाउन सक्तिनँ , सोच्छु— यो घर, कोठा र पलङको बास आजसम्म मात्र रहेछ ।

रातभर म मेरो र पत्नीको युगल तस्विर हेरेर गुनगुन कुरा गरिरहन्छु, “शोभना, यहाँको बास आजसम्म मात्र रहेछ, तिमी भाग्यमानी रहिछौ, यो कोठाको पलङमा मेरै काखमा प्राण त्याग्न पायौ । तर म ? तिमीले मृत्युवरण गरेको पलङमा नै मेरो पनि प्राण जाओस् भन्ने चाहन्छु । अभागी म, मेरो त्यो सानो चाहना पनि पूरा नहुने भो….।” यस्तै के के म शोभना जीवित भएझैँ उसको तस्विरसँग रातभर कुरा गरिरहन्छु । त्यसरी कुरा नगरेको भए म बौलाउन सक्थे वा बौलाएर नै कुरा गरिरहेको हुन्छु । म भित्तामा झुन्डाइएको हाम्रो युगल तस्विर झिक्छु र भोलि आफुसँगै लैजाने निधो गर्छु र तस्वीरकी शोभनालाई भन्छु, “जहॉ मैले मेरो जीवनको अन्तिम कालखण्डमा बास पाइन“, त्यहॉ हाम्रो तस्विरको कुनै इज्जत हुनेछैन ।”

मलाई ‘डोको’ लोककथाको सम्झना आउँछ । बाबुले बुढो बाजेलाई डोकोमा बोकेर लगि भीरको टुप्पोबाट डोकोसँगै बाजेलाई फाल्न लाग्दा नातिले ‘डोको चाहीँ नफाल्नुहोला, त्यो डोको मैले पछि तपाईँलाई फाल्न काम लाग्छ’ भनेको थियो र त्यसले बाबुको मनमा सद्बुद्धि पलाएर बाजेको ज्यान बॉचेको थियो । त्यो कथामा जस्तै मेरो नाति पनि ठूलो भएको भए भन्थ्यो कि “कोपालाई घरमै राखौँ ।”

बिहानै म नयाँ लुगा लगाएर तयार हुन्छु । बोर्डिङ्गस्कुल जाने मेरी नातिनीको भन्दा कम मेरा सामानहरू गाडिमा राखिसकेपछि छोराबुहारी पनि बस्छन् । म पनि बस्छु । फर्की– फर्की घर हेर्छु तर मेरो धित मर्दैन । पूरै जीवन बिताएको यो घरसँग छुट्टिनु पर्दा मन भक्कानिएर आउँछ ।

मृत्युमा सबसँग छुट्टिनु पर्छ । तर मर्ने व्यक्ति जो मरिसकेको हुन्छ उसले कुनै पीडाबोध गर्नु पर्दैन । तर म जीवितावस्थामा नै घर, परिवार र सबसँग छुट्टिदै छु र म अग्घोर पीडाबोध गर्न विवश छु । जिउँदो भएर पनि यो एक प्रकारले मेरो मृत्यु नै हो जसले मेरो सबसब मबाट खोसेर लगिरहेको छ । मृत्युमा झैँ सब मसँग छुट्टिदै छ ।

“बिदा, मलाई र मेरो परिवारलाई आस्रय दिने घर बिदा ! मेरा छोरा, नाति, पनाति, जनातिहरूलाई शुभ्यफाव्य होस् ।” बिदा लिन लागेको मेरो मन सबैले सुन्ने गरी यी शब्दहरू फलाक्न पुग्छ ।

“छोरा, मलाई नातिसँग बसेर खिचेको हाम्रो तस्विर देऊ ।”

“किन चाहियो तपाईँलाई ? वृद्धाश्रमको भित्तामा त्यो टाङ्ने ठाउँ हुँदैन । तपाई‘लाई भेटन नातिनातिनीहरू आइरहने छन् नि ।”

अब मेरो तस्वीर टाङ्ने कुनै भित्ता छैन । अब मलाई कुनै तस्वीरको खॉचो छैन । म गाडीमा बस्दै छोरालाई अन्तिम पटक सोध्छु, “साच्चै मलाई भेट्न मेरो नाति त्यहाँ आउँछ ?”

प्रतिक्रिया

सम्बन्धित खवर