–अभय श्रेष्ठ
सहरमा बत्ती निभेको एक साँझ
दसगजावारिको जमिनजस्तै
एक्कासि साँघुरिएका थिए मानिसहरूका मन
ढलिरहेका थिए
परेड खेलिरहेका कल्कीका अग्ला रूखहरू
लात हानेर सम्पदा क्षेत्रलाई अग्लिएका थिए पक्की भवन
तर, नतमस्तक थियो धरहरा ।
सहरमा बत्ती निभेको एक साँझ
रोकेर आफ्नो प्रवाह जमिरहेका थिए बागमती र विष्णुमती
देवल र सत्तलहरू उदास उदास थिए
उडिरहेको थियो त्यहाँबाट केवल गाँजाको धुवाँ
देव–देवीहरू देश छाडेर मुग्लान भागिरहेका थिए
गोली लागेर फड्फडाइरहेका थिए मन्दिरमा परेवाहरू
तर, सिकारीकै विरुदावलि गाइरहेका थिए धार्मिक संघ–संस्था ।
सहरमा बत्ती निभेको एक साँझ
बौरिएर एक्कासि शालिकबाट
वायुवेगमा पूर्वतिर कुदिरहेका थिए महाराज जुद्धशमशेर
नाचिरहेको थियो हातको जङ्गी तरबार जथाभावी हावामा
बहुलाएर मान्छेको पिठ्यूमाथि दौडिरहेको थियो घोडा
पर सिंहदरबारद्वारमा
पिठ्यू थाप्न महाराजलाई प्रतिस्पर्धा गरिरहेका थिए छातेहरू
जयजयकार गर्दै तिनै मान्छे अघिपछि हिँडिरहेका थिए
जो दिउँसो रत्नपार्कमा निरंकुशताविरूद्ध चर्को भाषण गरिरहेका थिए ।
सहरमा बत्ती निभेको एक साँझ
निर्ममतापूर्वक गरिएको थियो हत्या एउटा सर्वमान्य सत्यको
मुखभरि आलो रगत पोतेर खुलमखुला हिँडिरहेका थिए ब्वाँसाहरू
तर, मौन मौन रमिता हेरिरहेको थियो गृहमन्त्रालय
मौन मौन स्वीकृति जनाइरहेको थियो सिंहदरबार
नयाँ नेपाल सुन्दरीको फिगर कस्तो छ, बहस गरिरहेका थिए विधायकहरू
तर, बन्द थियो घण्टाघरको घडी
बन्द थिए स्वयम्भूका आँखाहरू
तर, सल्लाका अग्ला रूखहरूमा उभिन्डिएर
यो राष्ट्रिय नाटकको स्वागत गरिरहेका थिए चमेराहरू ।
सहरमा बत्ती निभेको एक साँझ
सपनाप्रेमीहरू नै गरिरहेका थिए सपनाको हत्या ।
…
(‘कायाकल्प’ कविता सङ्ग्रहबाट)
प्रतिक्रिया
-
४