– अशोक चालिसे

प्रिय जिन्दगी
समयको दुवालीमा
अलिकती खुसीहरु परेका रहेछन
आइज खित्का सङ मोलेर
अलिकती तँ खा अलिकती म खाँउला
त्यसपछी छोडेर गए पनि हुन्छ!!

प्रिय जिन्दगी
समयको रुखमा
झुप्पै झुप्पा दुखहरु पनि फलेका रहेछन
आइज नुनिलो आँशु सित साँधेर
अलिकती तँ खा अलिकती म खाँउला
त्यसपछी छोडेर गए पनि हुन्छ!!

प्रिय जिन्दगी
समयको बगैंचामा
फुलहरु मात्र नफुल्दा रहेछन
काँडाहरु पनि फुल्दा रहेछन
उनिउँहरु पनि फुल्दा रहेछन
म अलिकति सम्बन्धहरुको खेती गरुम्ला
तँ अलिकति बिश्वासको झरी पारिदिनु
म केही बुटा प्रेमको गुलाफ रोपुम्ला
तँ त्यसमा समर्पणको रंग भरीदिनु
म हिम्मतका बिउहरु छरुम्ला
तँ आशाका स-साना टुसाहरु उमारीदिनु
म आलस्यता नैराश्यता का झारहरु उखालुम्ला
तँ उत्साह उमंगको बर्षात गराइदिनु
म पसिना बगाउदै बाधा कष्टहरुको को राप खपौला,
त थोरै साहस र परिश्रम को बतासले सित्तल पारिदिनु !!

प्रिय जिन्दगी
म तेरो जिन्दगीसङ्ग थोरै जिन्दगी सापट मागेर
तेरो समयसङ्ग अलिकता समय पैचो मागेर
म मेरो पुरै समय पुरै जिन्दगी जिउन चाहन्छु
बरु तँ पनि मृत्युलाई थोरै घुस खुवाएर
ढाँटेर छलेर लुकिछिपी भागेर म भएठाउँ सुटुक्क आइज न ल
तँ र म सङै यात्रा गरौला
म मेरो जिन्दगीको कथा तँलाइ सुनाउछु
तँ तेरो जिवनकथा मलाइ सुनाउनु
म मेरो योजनाहरु सुनाउछु
उकाली ओराली सम्म भिराली सङ्ग सङ्गै हिनुम्ला
सङ्गै उमेरको नदी तरुम्ला
सङ्गै समयको यामहरु जीउँला
सङै अभावका शिशिरहरु खपुम्ला
हेमन्तमा संङ्गै नाचुम्ला गाउँला!!

प्रिय जिन्दगी
मृत्युसङ्ग आफ्नो जिन्दगी धरौटी राखेर
थोरै समय थोरै जिन्दगी ऋण लिउँला
त्यसपछी मेरो भागको पुरै जिन्दगी पुरै समय
सङ्ग सङ्गै जीउँला,
कालान्तरमा ब्याज तिर्न सकिएन भने
आफ्नो बचेको जिन्दगी मृत्युलाई बुझाएर
म पनि तँसङ्गै जान्छु
मलाई पनि आफुसङै लैजा न है।

***

प्रतिक्रिया

सम्बन्धित खवर