– अर्पणा आपागाईं


इज्जत बचाउन सकिएन गौरीहरूको
यही गुनासो सुन्दैछु पछ्यौरीहरूको

कसैले फालेको कपडाले आङ ढाक्यो
बुझ कति महत्त्व रहेछ जडौरीहरूको

तिमी मलाई पागल पागल बनाइराख
कर्तव्य हो मह बनाउने त मौरीहरूको

छोड, नकाट बाबू यो रूख हुर्कन देऊ
भोलि मैले सहारा लिनुपर्छ लौरीहरूको


बसेर केही फरक पर्दैन , बास थोरै ।
गरौँ सुन्दर जिन्दगीको , अभ्यास थोरै ।

हाम्रो सम्बन्धलाई हुरी कसले बनाइदियो ?
चल्न थालेको थ्यो प्रेमको , बतास थोरै ।

अब म ताराहरूले सजाउने तर्खरमा छु ।
मेरो हिस्सामा पनि परेको छ , आकाश थोरै ।

हिँड्ने बेला कालो टीका लगाइदिन्छिन् आमा
मायामा पनि हुनेरहेछ , अन्धविश्वास थोरै ।

विद्योतमाहरूको सहरमा के पुगेथ्यो ?
साथी देखिन थालेछ कालिदास थोरै ।

***

प्रतिक्रिया

सम्बन्धित खवर