कृष्ण कुसुम

अन्ततः म आएँ ।
तर भन्नुपर्छ– त्यति सजिल्यै म यहाँसम्म आइपुगेको हैन । ठीक अथवा बेठीक, गरौँ अथवा नगरौँ हुन्छ अथवा हुन्न अनेक अन्यौलपछि आइपुगेको हुँ । तर यतिबेला एकजोर आँखा उसको प्रतीक्षामा बिछ्याएर बसेको छु । झ्यालछेउको टेबलमा ।

०००

मेरो मान्यता छ, संसारमा हेप्नै नहुने भनेको परिश्रमलाई हो । तर म बुधबार अफिस गइनँ । अफिसलाई अथवा परिश्रमलाई हेपेर नगएको हैन । मङ्गलबार रातिदेखि नै सञ्चो छैन भनेर अफिसमा बिदा लिएँ ।

सधैँझैँ बुधबार बिहान पनि म छिट्टै ब्युँझेँ । एकाबिहानै । त्यसपछि निद्रा लागेन । अल्छी गरेर ओछ्यानमै पल्टिरहेँ । तर शरीर बिरामी थिएन । मैले कल्पेको संसार दुर्घटित हुने सम्भावनाले मन पोलिरहेको थियो । त्यसैले ओछ्यानमा लडिरहेको थिएँ । उठेर पनि गर्नुपर्ने काम केही थिएन । १२ः३० बजे १५ माइल परको एउटा रेस्टुरेन्टमा पुग्नु पर्नेछ । आज दिनभरको काम त्यति नै हो ।

दश बजेसम्म ओछ्यानमै पल्टेर फेसबुक खेलाइरहेँ । त्यसपछि उठेर फ्रेस भएँ अनि बाहिर जाने तयारी गरेँ ।
च्याप्प समाएर पिँजडामा थुनेको सुगाजस्तो हैन रैछ मन । उतिखेरै कता पुग्ने कता ? सोचेँ, कस्ती केटी होला ? फर्मल ड्रेस रोज्ली कि क्याजुअल ? हेयर स्टाइल कस्तो मन पर्ला ?
तर म सचेत हुने भरमग्दुर प्रयासमा थिएँ, ताकि पहिलो भेटमै नकारात्मक प्रभाव नपरोस् । कम्तीमा विचार मन पराउने-नपराउने तहसम्म पुगे हुन्थ्यो । नत्र त आफूले देखेको संसारको सपना यसै तुहिन्छ ।

कपालमा जेल लगाएँ । शाहरुख खानको जस्तै हेयर स्टाइल बनाएँ । कालो जिन्स, हल्का रातो चेक सर्ट लगाएँ । कालै छालाको जुत्ता अनि एप्पल वाच लगाएँ । र, भर्सेसको अत्तर छर्कें ।
एकपटक आफैँलाई राम्ररी नियालेँ ऐनामा । तर रुप भन्ने कुरा यस्तै रैछ । संसारभरको सबैभन्दा नराम्रो व्यक्तिले ऐना हेर्यो भने उसले आफूलाई नराम्रो नदेख्ला । सायद मलाई पनि त्यस्तै भयो । ऐना ढल्काई–ढल्काई हेर्दा आफ्नो रुप आफूलाई त राम्रै लाग्यो । तर उसलाई पो कस्तो लाग्ला ? दिनभर हिँडेको खुट्टाजस्तो मन पनि करकर खाइरह्यो ।

मेरो खास चिन्ता त यो पनि थियो, ऊसँगको कुराकानी पो के कसो हुने हो ? रोजाइहरु सकेसम्म ऊसँग मिलाउन चाहन्थेँ ।
खेलमा अमेरिकन फुटबल मन पर्छ भन्नै पर्यो । आफूलाई मन नपरे पनि त्यही खेल मन पर्छ भन्नुपर्ने छ । मनपर्ने टिम ड्यालस काउब्याय । यो चाहिँ उसले मन पराउने सम्भावना धेरै छ ।
गीत कस्तो मनपर्छ भन्नु ? नारायण गोपाल, नातिकाजी, अरुणा लामा पक्कै उसले चिन्दिन । गायकमा पिटबुल कि जस्टिन बिबर ! बियोन्से भन्नु कि टेलर स्विफ्ट ?
फुर्सदमा के गर्छु भन्दा मन पर्ने होला कुन्नि ? हाइकिङ जान्छु भन्नु कि किताब पढ्छु भन्नु ?

मैले यहाँ धेरैलाई बच्चैबाट पढ्ने बानी भएको देखेको छु । कतिपय त ड्राइभ गर्दा पनि अडियो–बुक सुनिरहेको पाउँछु । हाइकिङ मन नपराउने मान्छे पनि खासै भेटेको छैन । त्यसैले दुवैमा रुचि छ भन्नुपर्ला ।

फेरि किताबको रोजाइ पो के भन्ने हो ? आख्यान भन्ने कि निबन्ध ? इतिहास भन्ने कि दर्शन ?
अरुलाई खुसी बनाउन भनिने रोजाइ र आफ्नो रोजाइको दूरी आकाश–जमिनको फरक हुने रहेछ । एउटा महङ्खवहीन हुनसक्ने भेटका लागि तयार भएका प्रश्न देखेर म आफैँमाथि हाँस्न पुगेँ ।

तयार भैसक्दा ११ः३० बजिसकेछ । कोठामै बसिरहन मन लागेन । उतै बाहिर कतै समय बिताउँला भनेर म्यापमा रेस्टुरेन्टको ठेगाना लगाएर हिडेँ ।

गाडी धेरै दौडाएछु, तोकिएको समयभन्दा ४० मिनेट अगावै रेस्टुरेन्ट आइपुगेँ । बाहिर गाडीमै बस्नुभन्दा रेस्टुरेन्टभित्रै बस्न सजिलो लाग्यो । ढोकामा पुग्दा वेयराले कति जनाका लागि टेबल चाहिएको भनेर सोध्यो ।

“जस्ट वन !” संक्षिप्त जवाफ फर्काएँ ।
फेरि तुरुन्तै सच्याएँ, “लेट्स डु फर द टु ।”
कुकुरको छाउराले हात्ती देखेजस्तो उसले मलाई अनौठो पाराले हेर्यो ।

त्यसपछि मैले उसलाई प्रस्ट्याएँ, “माई फ्रेन्ड इज कमिङ ।”
बेयराले अलि पर कुनाको टेबलमा बसायो । र भन्यो, “लेट मि नो ह्वेन यु आर रेडि फर द अर्डर ?”

तत्काल केही माग्न मन थिएन । साथी नजिक आइपुगेको छ र ऊ आएपछि नै अर्डर गरौँला भनेर टारेँ ।

उसले फेरि सोध्यो, “यु वान्ट एनि ड्रिङक्स ?”

अहिलेलाई कागतीपानी भए पुग्छ भनेँ । एकछिनमै उसले कागतीका टुक्रा राखेको आइस वाटर मेरो टेबलमा बिसाएर गयो ।
म ऊ अर्थात् एन्ड्रियाको प्रतीक्षामा बसेँ ।
एन्ड्रियालाई कुर्दै झ्यालबाट बाहिर हेरेँ । सिमसिम पानी पर्न लागेछ । म भित्र पस्दा पानी पर्लाजस्तो मात्र थियो । परिसकेको थिएन । वसन्त ऋतु भन्नु मात्र हो, कति बेला पानी पर्छ भरै छैन । बर्खा भन्नुपर्ने ! डायरिया लागेर कतिवेला ट्वाइलेट जानुपर्छ थाहै नभएको रोगीजस्तो मौसम ।

तर अहिलेको सिमसिम पानीले मलाई अघिल्लो शुक्रबार बिहान परेको पानी सम्झायो । जतिबेला म फिल्डमा जान निस्किएको थिएँ ।

०००

सामान्यतया पानीले रुझेको बिहान कालो कफी, आफूलाई मन पर्ने नेपाली तथा हिन्दी गीतहरु र लामो यात्रा । ओहो ! सम्झँदा मात्रै पनि हुरुक्क हुन्छु । मन पुतली भएर उड्छ यस्तो यात्राका लागि ।

शुक्रबार एकहातमा कफी र अर्कोमा गाडीको चाबी हल्लाउँदै निस्केँ । पार्किङसम्म पुग्दा आधाआधी शरीर भिजिसकेको थियो ।

भलै फिल्ड जानै किन नहोस्, आफूले खोजेजस्तै वातावरणमा यात्रा गर्ने अवसर जुरेको थियो । तैपनि मन रमाएन । उत्साह पटक्कै थिएन । कफी पिउँदा पनि स्वाद के हो, पानी हो कि अरु केही, छुट्याउनै सकिनँ । गाडीको चक्काजस्तो मन पनि घुमिरह्यो । कहिले कहाँ कहिले कहाँ । निकै अस्थिर । अनिदा आँखा थाकेका थिए । गीत सुन्नेसम्म पनि जाँगर चलेन । मन भए न उत्साह हुने हो । मनै मरेपछि केको रहर, केको उत्साह ?

म अमेरिका नै छोड्नुपर्ने अवस्थामा आइपुगेको छु । केही रमाइलो लागेको थिएन । बिहीबार साँझ अफिसबाट ढिला घर पुगेको थिएँ । घर नपुग्दै बाटोमा साथीको मेसेज आयो । हेरेँ– “एचवानबी (कामदार भिसा) रिजल्ट आयो, तेरो के भयो ?”

मेसेज पढेपछि मुटु उफ्रिन थाल्यो । बाहिरै निस्किन्छु जस्तो गरी मुटुको ढुकढुकी बढ्यो । परीक्षाफल प्रकाशित भएको खबर पाएको विद्यार्थीजस्तै अधीर र अस्थिर बनेँ । ४० माइल प्रतिघण्टा दौडिरहेको कारको गति ६०/६५ पुर्याएँ । तै पनि गाडी नदौडिएजस्तो लाग्ने ।

घर पुगेर हत्तपत्त ल्यापटप खोलेर कामदार भिसाको रिजल्ट हेरेँ । मेरो नाम अटाएनछ त्यसमा । तर मेरा लागि योपटक अन्तिम मौका थियो । अघिल्लोपटक पनि यस्तै खल्लो भएको थियो मन ।

रातभर निदाउन सकिनँ । थोत्रो घरमा मुसा दौडिएजस्तो मनमा अनेक तर्कना दौडिए । बिहानीपख दुई घण्टा निदाएछु । बाँकी रात के गर्ने कसो गर्नेको अन्यौलबीच अनिदोमै बित्यो ।

आजै चाँहि चाँडै उठेर फिल्डमा जानुपर्ने थियो । गाडी हाँक्न सुरु गरेँ । गाडीको रफ्तारसँगै एकसाथ मनमा अनेक–अनेक विचारहरु उफ्रिन थाले । कुन्नि के सुरमा हो एफएमको ब्याण्ड चलाइरहेँ । सधैँ पेनड्राइभमा सङ्कलन गरेको गीत सुन्न मनपराउने म आज बेसुरामा एफएम सुन्दै थिएँ । मार्सेलो र एन्नीको “फ्रेन्ड’ गीत बज्दै रहेछ । के कार्यक्रम ? कुन एफएम ? केही थाहा थिएन ।

‘रेन्डम ट्युन’ गर्दा बजेको गीत सुन्दै कफी ओठसम्म पुर्याएँ । मेरो मनभन्दा चिसो रहेछ कफी । यसै छोडेँ । खानै मन लागेन ।

एफएममा बज्दै गरेको गीत सकियो । त्यसपछि दुई जना कार्यक्रम प्रस्तोता बोल्न लागे । कार्यक्रम रहेछ ‘ब्लाइन्ड डेट’ । कार्यक्रम फर्म्याट सुनाउँदै उनीहरु फोन कल लिँदै थिए । सुनिरहँदा थाहा भयो– व्यस्तताका बीच सधैँ जमघटमा जान नपाउनेहरु एक्लो महसुस नहोस् भनेर समान रुचि भएका केटाकेटीको भेट्ने माध्यम रहेछ त्यो कार्यक्रम ।
आफू कहाँ काम गर्ने ? कस्तो खालको पार्टनर खोजेको ? कुन बार, कति बेला, कहाँ भेट्न सकिन्छ ? आदि कुरा फोनमा वा इमेलमा जानकारी दिने रहेछ । त्यसैअनुसार साथी खोजी प्रस्तोताले भेटाइदिँदा रहेछन् । एक–अर्काबीच सम्पर्क भएपछि कुनै दिन डेट जाने र त्यसबारे आआफ्नो धारणा बताउनुपर्ने । यसरी भेटिएकाहरु कुरा मिल्दै गएमा रिलेशनसिपमा बस्ने र पछि विवाह पनि गर्ने रहेछन् । तर डेट जाँदा आनीबानी मन परेन वा विचार नमिल्ने जस्तो लाग्यो भने सम्पर्कबाट टाढिने रहेछन् ।

झन्डै एक घण्टाको ड्राइभपछि फिल्डमा पुगेँ । फिल्ड पुग्नै लाग्दासम्म साथीको रुपमा यही कार्यक्रम थियो । डेढ घण्टाको कार्यक्रम मैले लगभग पछिल्लो एक घण्टा रुचिपूर्वक सुनेँ ।

कार्यक्रम सुनिरहँदा अघिको छट्पटी बिर्सेछु । नेपाल हुँदैका आफ्ना जाँगरिला दिनहरु दिमागमा फनफनाइरहे । जतिबेला मोबाइल, इमेल, इन्टरनेट आदि केही थिएन । त्यतिबेला हामी पत्रपत्रिकामा ‘पत्रमित्र’ स्तम्भमा छापिएका नाम, ठेगाना, रुचि आदि हेरेर केटी साथीहरुलाई मित्रताका लागि अनुरोध गर्दै चिठी पठाउँथ्यौँ। यसरी सोच्दा यी पश्चिमाहरुभन्दा त हामी पो अघि रहेछौँ क्यारे । मेरो छिमेकी दाजुले त पत्रमित्रता गर्दागर्दै प्रेमविवाह गरेका पनि थिए ।

रेडियोमा डेढ घण्टाको कार्यक्रम त सकियो, तर मेरो मनमा भने त्यही बज्न थाल्यो । दिमागमा यसरी बास गर्यो कि अरु कुरा आउनै पाएनन् दिनभरलाई ।

एक मनमा लाग्यो– ब्लाइन्ड डेटका लागि मैले पनि फोन गरेर आफ्नो नाम टिपाउनुपर्छ । न यसैले पो मेरो उद्धार गरिदिन्छ कि ? कुनै अमेरिकन महिलासँग कागजी बिहे मात्र गर्न पाए पनि यहाँ बस्ने कानुनी आधार बन्थ्यो । अर्को मनमा लाग्यो– यसबाट मेरो समस्याको समाधान सम्भव छ र ?
यस्तै दोधारमा थिएँ ।
अनिल दाइ आइपुगे । म गाडीबाट झरेँ । छिचिमिरा नाच्ने सिमसिम पानी पर्न रोकिएछ ।
“भोलि फिल्डमै भेटौँला । अहिले जाऊँ अब ।” अफिसमा अबेरसम्म काम गरेपछि अनिल दाइ बोलेथे । घडी हेर्दा निकै अबेर भैसकेको थियो । यस्तै सल्लाहबीच हामी छुटिएथ्यौँ ।

“के भयो, आँखा रातो छ नि ?” भोलिपल्टको पहिलो कुराकानी नै प्रश्नबाट सुरु गरे अनिल दाइले, “राति सुतिएन र ?”

उनलाई मेरो एचबीवानको रिजल्ट आएको थाहा थिएन । उनलाई स्डुडेन्ट भिसा आउँदाको कागजी प्रक्रियाबारे खासै कुनै सरोकार हुन्थेन । इन्जिनियरिङ चौथो वर्ष पढ्दापढ्दै डिभी परेको थियो उनलाई । इन्जिनियरिङ सकिनासाथ यता आएर डोमेस्टिक स्टुडेन्टको रुपमा पढेकाले हामीले हिँडेको बाटो थाहा पाउँदैनथे । उनले ‘राति सुतिएन र ?’ भन्ने प्रश्नले ‘नेपालमा भएकी गर्लफ्रेन्डसँग रातभरि गफ गर्दै बस्यौ कि’ भन्ने आशय लाएर जिस्क्याएका थिए ।

“हो दाइ, हिजो निद्रा नै लागेन । लास्टै तनाव भयो नि,” मैले पनि सुनाइदिएँ ।

दाइले ठट्यौली प्रश्न गरेका थिए । तर मैले गम्भीर जवाफ दिएपछि अलिकति झस्किएझैँ भए उनी । सोधे, “के तनाव भो ? घरतिर त सबै ठीक छ नि ?”

सायद दाइले नेपालमा रहेको परिवारमा केही नराम्रो भयो कि भन्ने सोचे होलान् । उनले मेरोबारे ख्याल गरेनन् ।
“उता त सबै ठीक छ दाइ । बरु यता मलाई नै ठीक भएन । तपाईंको अमेरिकाले मलाई यहाँ नबस् भन्यो यार,” मैले निराशा पोखेँ ।

“एचबीवान परेन ? रिजल्ट आउने बेला भैसक्यो र ?” उनले ठूला आँखा बनाउँदै सोधे । अन्दाज ठीक ठाउँमा पर्यो । देख्नुपर्ने ठाउँमा देखे ।

“हो, योपटक पनि परेन । पहिलोपटक जागिर खोज्दैथेँ एप्लाई गर्नै पाइनँ । अरु बाँकी दुईपटक चिठ्ठामा परिएन । मेरा लागि कागज बन्ने यो बाटो बन्द भयो ।”

“ओख्खो ! साह्रै नमज्जा भएछ । के गर्छौ त अब ?”
दुखेको औँलामा हम्मर बजारेजस्तो म जुन प्रश्नको उत्तर खोज्दै रुमल्लिएको थिएँ, दाइले त्यही प्रश्न सोधे । उनीबाट जवाफ पाउनु त कहाँ, आफैँ पो के जवाफ दिनु अब ?”
“नो आइडिया !”

“बूढालाई ग्रिनकार्ड गर्देऊ भन,” उनैले सुझाए, “यस्तो बेलाँ त सहयोग गर्न परो नि उसले ।”

मेरो हाकिम नेपाली नै हो । उसले एउटा इन्जिनियरिङ कन्सल्टेन्सी चलाउँछ । आफ्नै घरको भुइँतलाको दुईवटा कोठामा अफिस चलाएको छ । काम गर्ने कर्मचारी हामी दुई जना छौँ । दाइले उनै बूढाप्रति सङ्केत गरे ।

“थाहा छैन, खै के भन्छन् ! तपाईंलाई थाहै छ बूढाको पारा । आफ्नो रोजिरोटी चल्ने काममा त मतलब छैन । अरु के स्वाद ?” मैले तितो पोखेँ । लगत्तै शङ्का पनि पोखेँ, “दाइ, बूढाले ग्रिनकार्ड फाइल गर्दियो नै भने पनि एप्रुभ हुन्न होला ।”

“किन नहुने ? पहिला कुरा उसले प्रोसेस गर्दिनु परो । मुख्य त त्यो हो नि ।”

तर बूढाको सबै कुरा दाइलाई थाहा थिएन । न त अफिसबारे सबै थाहा थियो, न कामको बारे । रविनले छाडेपछि तीन महिनाअघि मात्र दाइले सुरु गरेका थिए ।
“तपाईंलाई थाहै रहेनछ दाइ । बूढाले कम्पनी घाटामा देखाएर ट्याक्स बचाउँछ । अनि त्यस्तो कम्पनीको फाइनान्सियल समस्या देखिन्छ । रविन दाइले यसै छोड्या हो र, यहाँको जागिर ? न त मज्जाले काम सिकिन्छ, न स्टेटसकै भर । मलाई त पहिल्यैबाट विरक्त लाग्या हो यहाँ काम गर्न । तर के गर्नु, आफूसँग अरु केही विकल्प नै नभएपछि ? अब अरु कम्पनीमा जाने विकल्प पनि छैन । उनीहरुले एचबीवान स्पोन्सर नै गरिदिन्छु भने पनि मसँग त्यो समय रहेन,” मैले विरक्तिसँगै बाध्यता ओकलेँ ।

“ए ! त्यस्तो पो हो ? म पनि चल्दिने सोचिरा’छु । सडक विभाग र सिटी अफिसहरु पायो भने लात हानेर हिँड्ने हो । बसेको अमेरिका छ, पारा नेपालभन्दा झुर छ यार । यसरी त के सिकिन्छ ? व्यवसायिक काम र घरायसी काम छुट्याउन नजान्नेसँग के काम गर्नु ?” अनिल दाइ पनि हाकिमसँगको असन्तुष्टि पोख्न थाले ।

उनले एकछिन रोकिएर भने, “अस्ति अलि पहिले तिमी नआएको दिन के भो थाहा छ ?”

“के भयो र दाइ ?”

मैले स्वाभाविक प्रश्न गर्न नपाउँदै उनी बोले, “दिउँसो दुई बजेबाट बूढाले दुई घण्टा घरको दराज र सोफा सार्न लगायो । “गिभ मि ह्यान्ड फर फिफ्टिन मिनेट’ भनेर दुई घण्टा काम लगायो । म त यसो सानै सहयोग होला भनेर माथि उक्लेको…. । त्यसकी बूढीले नयाँ किचेन र्याक र डाइनिङ टेबल अर्डर गरेकी रैछे । त्यो मिलाउन पो लगायो । यताको सोफा उता, उताको टिभी अलि पर । छेउको टेबल अर्को ठाउँमा । सबै गर्न दुई घण्टा लाग्यो । अरे यार, इन्जिनियरको नियुक्ति दिएर कुल्लीको काम लगाउने हो ?”

“त्यही त दाइ । उसलाई व्यवसायिकता भन्ने नै थाहा छैन । जहिल्यै नेपालको कुरा गर्छ । नेपालमा बोसले यस्तो गर्छ तर मलाई मन पर्दैन भन्छ मुखले । फेरि व्यहोरा चाहिँ नेपालकै हाकिमको जस्तो देखाउँछ । आफूलाई त्यसरी नै चाकडी गरोस् भन्ने आशा हुन्छ उसलाई । २७ वर्षदेखि अमेरिका बसेर पनि गतिलो कुरा नसिकेको मान्छे यही होला । मलाई यसै पनि लामो समय यो मान्छेको अन्डरमा काम गर्न मन छैन, ग्रिनकार्ड नै गर्दिएछ भने पनि ।” हाकिसँगको असन्तुष्टि लामै थियो ।

फेरि धाराप्रवाह रुपमा असन्तुष्टि पोख्न थालेँ, “देख्नुभएन दाइ, हिजो किन ढिला भयो हाम्रो काम ? १२० पेजको जम्मा पाँचवटा रिपोर्ट प्रिन्ट गर्न दुई घण्टा लागेर हैन ? मैले आएदेखि नै भनेको थिएँ बूढालाई– योे कलर प्रिन्टरले दुःख दिँदैछ, नयाँ किन्नु भनेर । हुन्छ हुन्छ भनेर यसै टार्दियो । दुवै साइडमा अटो प्रिन्ट हुन्न उसको कलर प्रिन्टरबाट । एकपटकमा दशप्रति प्रिन्ट गरेपछि मेसिन तातेर पाँच मिनेट कुर्नुपर्छ, अर्को घान हाल्न !

ल सीधै हिसाब गर्नुस् त, हामी दुई जनालाई दुई–दुई घण्टाको अतिरिक्त दिनुपर्ने तलबले त नयाँ प्रिन्टर नै आउला । त्यति बुद्धि छैन बूढाको । एकातिर बेकारको उसैलाई पैसा घाटा । यता हामीलाई कामको चाप हुँदा उता रिपोर्ट बुझाउनको भ्याईनभ्याई । यस्तासँग काम गरेर केही फाइदा छैन ।”

दुई जनाले मिलेर फिल्डको काम सक्यौँ । साँझ अफिस पुगेर फेरि रिपोर्ट फाइनल गर्नु थियो । हाकिमलाई मतलब छैन, सबै हाम्रै थाप्लोमा हाल्दिन्छ । भन्नचाहिँ ‘यति त सकिहालिन्छ नि । केही गाह्रो छैन, इन्जिनियर हौ नि’ भन्छ । सधैँजसो अमेरिकाभरिका नेपालीहरुलाई फोनमा गफ दिएर बस्छ । आफ्नो काम छोडेर नेपाली समुदायको नेता बन्नुपर्ने । कहिले केही काम जानिएन भने उसलाई सोधेर पार लाग्दैन । पहिले यहाँ काम गरेर अन्तै गैसकेको दाइहरुलाई सोधीसोधी काम सक्नुपर्छ । खासमा नेपालीहरु नै काममा आउने र इमानदार भैदिएर मात्र हो । अरु हुनु हो भने अफियल चिट गरेको कुराले उहिल्यै अफिस बन्द गर्नुपर्थ्यो होला ।

अबेरसम्म फिल्डको काम सकेर अफिस फर्कंदै गर्दा आफ्नो अफिस र हाकिम सम्झेर झन् रिस उठ्यो । अहिल्यै राजीनामा दिएर हिडौँ जस्तो भाउन्न भएथ्यो अनिल दाइको पनि कुरा सुनेपछि । तर म जाने कहाँ ? विकल्प नै पो के छ र हातमा कागज नभएपछि ?

एकातिर कामको चाप । अर्कोतिर कागज नबन्नु । यी दुईमा अझै थपिएको दिक्दारीले मलाई उकुसमुकुस बनायो । मलाई जसरी यो जागिरको पनि विकल्प चाहिने भयो । त्यसका लागि पहिला त कागज नै मिलाउनु पथ्र्यो । कलेज भर्ना हुँदाका अरु तीन–चार जना नेपाली साथीहरु सम्झेँ । उनीहरु ‘हरियो पत्तो’ (ग्रीन कार्ड) लिएर बसिसक्या थिए । कलेज सुरु भएदेखि नै कागजको चक्करमा थिए, उनीहरु ।
मलाई पनि कागज बनाऊँ भनिरहन्थे । मलाई लाग्थ्यो पढाइ पूरा भएपछि अरु कानुनी प्रक्रिया आफैँ मिल्दै जान्छ । पहिलो काम पढ्नु हो । पढिसकेपछि अवसर नाच्दै आइहाल्छ भन्ने लाग्यो । नभए फर्कौंला आफ्नै देश । तर उनीहरुको विचार फरक थियो । पैले कागज बन्यो भने त जसरी पनि पढिन्छ । फेरि अमेरिकामा जे गरे पनि राम्रै हुन्छ । व्यापार गरे पनि भयो । पछि पढे पनि भयो । कागजले अनेक अवसरको ढोका खोल्छ ।

त्यसमध्ये एउटा साथी थियो– गोर्खाको । उसले गाविस सचिवलाई अलिकति चियापानी खर्च दिएर माओवादी पीडितको कागज बनाएर ल्याएको थियो । साथमा जिल्लाको पार्टी कार्यालयबाट आफ्नो दलको कार्यकर्ता भएको पत्र पनि झिकाएछ । अनि कुनै बेला गाडी दुर्घटनामा परेर घाइते हुँदाको फोटो राखेर स्थानीय पत्रिकामा माओवादीले आक्रमण गरेर घाइते भन्ने समाचार छपाउन भ्याएछ । त्यो पनि पुरानो मिति राखेर । जम्मा पाँच–सात प्रति पत्रिका निकालेछ । अहिले तिनै कागजात राखेर शरणार्थी भिसा फाइल गर्यो । कार्ड बनाएर अहिले बिजनेस गर्दै पार्ट टाइम क्लास लिँदैछ ।

अर्को साथी थियो– काठमाडौँको । ऊ आर्मीमा छिर्यो । जागिर सुरु गरेको वर्षदिनमा उसले अमेरिकी नागरिकता लियो । दुई वर्ष मिलिटरी ट्रेनिङ गर्दै एक्टिभ भेटेरानको रुपमा काम गर्यो । अहिले रिजर्भमा बसेको छ । मास्टर्स सकिन लाग्यो क्यारे ।

आफू पहिले पढाइ भनेर त्यतातिर लागियो । मसँगै ‘पढाइ नै हो पहिला’ भन्ने पोखराको रमेश बराल थियो । ऊ चाहिँ मभन्दा भाग्यमानी निस्कियो । राम्रै कम्पनीमा जागिर पायो । पहिलोपटक एचबीवान नपरेपछि अफिसले ग्रिनकार्ड फाइल गरिदियो भन्थ्यो ।

वरिपरि सबैलाई हेर्छु अनि आफूलाई दाँज्छु । केही पनि गतिलो नभएको त आफैँ मात्र रहेछु । न गर्व गर्नलायक जागिर । न गतिलो कमाइ । न बस्नलाई बलियो कानुनी हैसियत ।

दिमागमा विकल्पहरु खेलाउँदै ड्राइभ गर्दै थिएँ । आजकल आर्मीमा जान पनि कार्ड चाहिने बनायो । ‘एसआइएलएम’ गरौँ भने त्यो पनि स्वीकृत हुने दर निकै कम भैसक्यो । यसै पनि आवश्यक कागजात बनाउन कठिन छ । त्यो सम्भव छैन । बरु अर्को मास्टर्स वा पिएचडी गरौँ कि ? तर कति मात्र विद्यार्थी रहनु ? पढ्न मन छैन । त्यसमाथि पुरानो जिआरईको अवधि सकियो । फेरि जिआरई पढ । कलेज खोज । आवेदन देऊ । यी सबै कुरा गरिरहने समय नै कहाँ रह्यो र ?
घरी नेपाल फर्किन्छु भनी सोचेँ । फेरि लडाइँ हारेको सिपाहीझैँ हरुवा मनस्थिति लिएर के जानु भन्ने लाग्यो ।
अब आएल्स् गरेर क्यानडा अप्लाई गर्नु नै अन्तिम उपाय हो भन्ने निष्कर्षमा पनि पुगेँ ।

अमेरिका छोड्न मन नभए पनि बस्ने वैधानिक बाटो बन्द भएपछि के गर्नु ?

अफिसमा आइपुगेँ । रिपोर्ट बनाउने एकाग्रता छैन । दिमागमा अनेकौँ कुरा खेलिरहेछ । त्यसैले केही सोच्न नपर्ने काम सुरु गरेँ । फिल्ड निरीक्षणका फोटा क्यामेराबाट कम्प्युटरमा सार्दै बसेँ । हाकिम बूढा कोसँग फोनमा गफ गर्दैछन् । सुन्दैछु– बूढो नेपालको चुनावी कुरा गरिरहेको छ ।
०००
दिनभर यावत कुराले गर्दा सुत्नेबेलामा एकपटक च्याँखे थाप्दिऊँ न त भन्ने निर्णयमा पुगेँ । मैले डेट जाने निर्क्यौल गरेँ । आए आँप गए झटारो ।

शनिबार बिहान फ्रेस भएर ब्रेकफास्ट गरेपछि एफएम स्टेसनको फोन नम्बर गुगलमा खोजेँ । हुनत पटकपटक नम्बर सुन्दा कार्यक्रमको अन्तिमसम्ममा फोन नम्बर कन्ठैजस्तो थियो । तैपनि एकपटक निर्क्यौैल गर्न खोजेर फोन गरेँ । उनीहरुले मेरो सबै डिटेल टिपेर कल ब्याक गर्छु भनेपछि फोन कुरेर बसेँ । झन्डै पाँच–छ घण्टापछि फोन आएथ्यो– “आर यु अभालिबल फर वेनस्डे लन्च ? वन अफ दि आवर लिस्नर इज इन्ट्रेस्टेड टु मिट यु ।”

म त जोसुकै होस्, जहिलेसुकै होस् जान्छु भनेरै तयार थिएँ । हतारमा स्वीकृति दिइहालेँ, “यस यस ! आइ विल बि ।”
यो भेटमा मैले गुमाउनुपर्ने केही थिएन । साटोमा दिशाविहीन यात्राबीच कम्पास भेटिने सम्भावना पनि थियो ।
मेरो स्वीकृतिपछि भेट्न खोजेको केटीलाई त्यही फोन कलमा एड गरेँ । “हे एन्ड्रिया ओस्कार इज हियर विथ अस इन कल । यु मे टक टु इच अदर । ओस्कर गो अ हेड एन्ड टक विथ एन्ड्रिया अबाउट योर डेट प्लान ।”

आपसमा उनीहरुले नै चिनाजान गराइदिए । मेरो वास्तविक नाम पुष्कर हो । उच्चारण गर्न सजिलो होस् भनेर “ओस्कर’ भन्ने गर्थें ।

हामीले छोटकरीमा परिचय गर्यौँ । एकअर्काको फोन नम्बर साटासाट गर्यौ“ । र बुधबार १२ः३० बजे इटालियन रेस्टुरेन्ट अलिभ गार्डेनमा भेट्ने गरी कुरा टुङ्ग्यायौ“ ।
फोन राख्ने वेला होस्टले भने– “गुडलक गाइज । डन्ट फर्गेट टु सेयर योर डेट एक्पिरियन्स ।”

आइ विल । मभन्दा पहिले उसैले जवाफ दिई । मैले पनि त्यही जवाफ दोहोराएँ, “विल डु ।”

पेशाले केटी नर्स रहिछ । फरक–फरक दिनको फरक रुटिन हुने हुँदा एकोहोरो कामको दिक्दारी छल्न साथी नमिल्ने रहेछ । त्यसैले ऊ नयाँ साथीको खोजीमा रहिछ । तर मेरो भने उद्देश्य फरक थियो ।

फोन राखेपछि केटीबारे सोच्न थालेँ । रुप–रङ्गमा कस्ती होली ? कुराको बुझाइको गहिराइ कस्तो होला ? मनमा अनेक सपना बुनिँदैथे । तर चाहना थियो, ऊ एकदम सुन्दरी होस् । मसँग पहिलो भेटमै इम्प्रेस्ड होस् । अनि यस्तो होस् कि भेटेको केही समयमा नै मसँग बिहेका लागि प्रस्ताव गरोस् । भोलि जेसुकै भए पनि कल्पना गर्न त पाइयो नि ?!
यिनै सपना पूरा गर्नको लागि मैले पास गर्नुपर्ने परीक्षाको दिन बुधबार कुर्दै थिएँ । खै के खालको कन्फिडेन्सले हो, सोमबार अनिल दाइलाई अफिसमा भनिदिएँ, “दाइ, सायद म चाँडै काम छोड्छु होला । सबै काम तपाईं एक्लै सम्हाल्न सक्नुहुन्छ है ?”

“ए, तिमी छोड्ने नै भयौ ? नो वरिज ब्रदर, हायरिग सिजनमा नेपाल जानाले मात्र यहाँ आइपुग्या हो । के खाली बस्नु भनेर । म पनि चाँडै चल्दिन्छु,” उनले आफ्नो योजना सुनाए ।

अस्तिसम्म रिस उठ्ने हाकिम देख्दा पनि रिस उठेको थिएन । म गैहाल्छु बिचरा नयाँ मान्छे अनिल दाइलाई मात्र साथ लिएर काम पो कसरी पार लाउला ? बूढोप्रति दया जाग्यो ।

०००

मेरो फोनमा घण्टी बज्यो । फोनले मलाई स्मृतिको आकाशबाट यथार्थको धरातलमा ओराल्यो ।
फोन हेरेँ । एन्ड्रियाकै रहेछ ।

“ओस्कर, आई एम हेयर इन अलिभ गार्डेन,” फोन उठाउनासाथ एन्ड्रिया आफैँ बोली ।

“ओह नाइस ! आइ एम अलरेडी हेयर इन टेबल नम्बर फोर्टिन । प्लिज कम ओभर हेयर ।”

मैले प्रतीक्षा गरेको मान्छे आइपुगी, निर्धारित समयभन्दा दुई मिनेट अगाडि । अब म ऊसँग व्यस्त हुन्छु ।
कृपया ! सबैले मेरो भलोको कामना गरिदिनुस् है ? यहाँहरुको कामनाले मेरो आकाशे खेतीमा बाली लागी पो हाल्छ कि ?
–०–

 

प्रतिक्रिया

सम्बन्धित खवर