✍️ रुद्र बान्तवा राई

 

म अत्तालिदै खोलाको किनारै किनार मोबाइलको बत्ति बाल्दै छिटो छिटो हिडिरहेको छु।खोला छेउछाउ ठुल्ठुला रुखहरु छन् । जुनेलि रातको मधुरो प्रकाश रुखहरुको छाया छिचोल्दै जमिनमा झरेको छ। झ्याउकिरीको आवाजले वातावरण गिजोलिरहेको छ।मनमा अघिको घटना ताजै छ। आखिर् त्यो अधबैंसे पुरुष को हो ? अनि किन मेरो पछी लाग्यो। अघि भक्खर घटेको घट्ना सच्चिकै हो त ? के म भयानक भ्रमको शिकार त भइन ? यावत् प्रश्नहरुसंगै मेरो कापिरहेको खुट्टा अगाडि बढिरहेको छ।

****************

गाडी आफ्नै रफ्तारमा अगाडि बढिरहेको छ, कर्णाली नदिको तिरैतिर। लामो यात्राले होला दिमाग भाउन्न भइरहेको छ । चक्कर लागिरहेको छ । पृष्ठभुमिमा कर्णालीको भाका घन्किरहेको छ । मनमा अनेकौं कुरा खेलिरहेका छन् । सबै यात्रीहरु मौन छन् । घरिघरि गाडीको हर्न बजिरहेको छ। गाडीको घच्याकघुछुक चलिनै रहेको छ। झ्यालबाट घरिघरि धुलो भित्र आइरहेको छ। म अबिछिन्न धुलो रोक्ने प्रयास गरिनै रहेको छु।

लामो यात्राले ज्यान थकित छ। मन भने सोच्न मै मग्न छ। ब्यागको साइड पोकेटमा राखेको पानी निकालेर घुट्काउछु र सुत्ने प्रयास गर्छु। गाडीमा एक्कासि ब्रेक लाग्छ । म झन्डै अगाडिको सिटमा ठोक्किन पुग्छु। झ्यालको सिसा खोलेर अगाडि हेर्छु। बिपरित दिशाबाट आएको गाडी झन्डै ठोक्किएछ । लामो स्वास फेर्छु। म आफुलाई पछाडि सर्दै गरेको भान गरिरहेछु। ए !गाडी ब्याक गरेर साइड दिदै रैछन ड्राइभरले।
गाडी अगाडि बढिरहेको छ। म पछाडी फर्केर हेर्छु। एक जना अधबैंसे पुरुष म पनि छु है, भावमा मुस्कुराउछन् ।

एकजना आमा घरीघरी फोनमा बोलिरहेकी छिन् । उनी घरीघरी मान्म र नाग्म बकिरहेकी छिन् । सायद उनको परिवारले कहाँ आइपुग्नु भयो भन्ने प्रश्नको जबाफ दिदै हुदा हुन् ।

निदाउन खोज्छु निन्द्रा पर्दैन । अँखा झुम्म छ तर पनि निदाउन सकेको छैन। सायद दिउसो सुत्ने बानी नभएर होला। कर्णाली नदि पारी अछामको डाडामा पारिलो घाम परिरहेको छ। तल हेर्छु, झोर्लुङ्गे पुलमा मानिसहरुको आवतजावत चलिरहेको छ।

फेरि एकपटक पछाडी फर्केर हेर्छु। अघिको अधबैंसे पुरुष मतिर हेरेर फेरि मुस्कुराउछन् । उसको मुस्कान निकै रहस्यमय लाग्छ । म जबजब पछाडी फर्किन्छु तब पनि उ मतिर नै हेरिरहेको हुन्छ । उसलाई मैले भक्खर मात्रै देख्दैछु। उ कहिले कहाँबाट गाडीमा चढ्यो त्यो मलाई पतै भएन।
म सोचमग्न हुन्छु । कि उस्ले मलाई एकोहोरो त हेरिरहेको छैन ?

होइन भने किन म पछाडि फर्किएको बखत मतिर हेरिरहेको हुन्छ त? प्रश्न हरु दगुर्न थाल्छन् । त्यो पुरुष अघिदेखि नै बिचित्रको लागिरहेको थियो। फेरि चक्कर लागेझै रन्न हुन्छ। मेरो यात्रा दक्षिणदेखि उत्तरको हो तर मलाई दक्षिणतर्फ गैइरहेको भान हुँदै थियो। उकालो चढ्नु पर्ने ओरालो झरेझै लागिरहेको थियो।मेरो मनस्थिति खल्बलिदै थियो। म कतै हराइरहेको महसुस हुँदै थियो।
मन आकुलव्याकुल भयो।

नेपथ्यबाट आवाज आउदै थियो” आजको बास यहि हो। सबैले आफ्नो सामान आफैसङ्ग राख्नु होला है। हराएमा हामी जिम्मेवार हुने छैनौं ।
ओहो! म त भुसुक्कै निदाएछु। बाहिर नियाल्छु। जुनको मधुरो प्रकाश पोखिएको छ। आँखा मिच्दै शरीर मर्याक्मुरुक तन्काउछु। अघि चिच्याउने मान्छे गाडिको सहचालक रहेछ।
घडी हेर्दै गाडिबाट ओर्लन्छु। मेरो ठ्याक्कै आँखा अगाडी एउटा बोर्ड छ, जहाँ लेखिएको छ ” भ्याली डिलक्स होटेल एण्ड लज , गोठिज्युला, जुम्ला।
मनमनै हिसाब गर्छु। बिरेन्द्रनगर सुर्खेत देखि सोर्ह घन्टा लागेछ।
अधबैंसे पुरुष मेरो पछीपछी झर्यो।
मध्य जाडोको महिना, बाहिर निस्कनासाथ चिसो सिरेटोले बेस्कन हिर्कायो।
***
होटल साहुनी खाना पकाउदै छिन् । मार्शी चामलको भातले दुई सिट्टी लायो। अब उनी तरकारी पकाउने तरखर गर्दै छिन्। कराइ चुलोमा बसाएर बाहिर गईन् र साग पखालेर ल्याइन्। कराइमा तेल हालिन, मेथी पड्काइन् र साग हालिन्। झ्वाइय्य आवाज आयो। तेलको सानो छिटा बाहिर उछिट्टियो।चुलो छेउमा बसेर आगो तापिरहेको एक जोडी पछाडी हट्यो। साहुनीकि सानी छोरी पनि चुलो छेउमा बसेकी थिई। उ पनि पछि हटि। म यो दृश्य चुपचाप हेरिरहेको थिए। साहुनीले साग चलाउदै मतिर हेर्दै सोधी- ” सरको यात्रा कहाँ सम्मको हो?”
“रारा ” -मैले छोटो उत्तर दिए।
“किन ? घुम्न ?”
“हो”

“यस्तो मध्य जाडोमा घुम्न निस्कनु भएछ। गाह्रो पर्छ नि यस्तो सिजनमा त !”-मेरो बिपरित बसेको जोडी मध्येको केटाले भन्यो।
हाम्रो कुराले लय समात्यो। कुराकानीकै क्रममा थाहा भयो , केटो आर्मी रहेछ। रारा तालको सुरक्षार्थ खडा गरिएको ब्यारेकको एकजना सुरक्षागार्ड रहेछ। बिहे गरेर दुलहिलाई आफ्नो कार्यस्थल देखाउने मनासयले रारा जादै रहेछन्।
मैले पनि आफू त्रिभुवन बिश्वबिद्धालयको समाजशास्त्रको प्राध्यापक भएको र जाडो बिदा मनाउन सामाजिक अध्यन संगै रारा घुम्न निस्केको जानकारी पेश गरे।

कुराकानी चलिरहेको थियोे।मेरो पछाडि कोही खोकेझै गरेर म पनि छु है भन्ने भाव छाड्यो। मैले मुन्टो बटारेर पछाडी हेरे। म झल्यास्स भए। मेरो पछाडि त अघि संगै यात्रा गरेको अधबैंसे पुरुष रहेछ।
म सोचमा परे । यी अधबैंसे पुरुषलाई जाडो भएको छैन ? किन यसरी एक्लै यस्तो चिसोमा चुपचाप बसिरहेका छन् ।
हामी आगो ताप्नेको जमात दुई भागमा बिभाजन भएका थियौं। एक ग्रुप चुलो छेउमा र अर्को ग्रुप बाहिर। बाहिर गाडिका स्टाफ र दुई चार जाना यात्रीहरु। बाहिर पनि कुरा चलिरहेको छ। कहिले गलल्ल हासो सुनिन्छ । उनीहरु आफ्नै गफमा मस्त छन् । तर यी अधबैंसे पुरुष किन एक्लै ?
यसबखत मलाई माया लागेर आयो। अचानक मेरो मुखबाट फुत्किहाल्यो- ” दाइ आउनुहोस् आगो तापौं ”
साहुनीकि छोरीले पुलुक्क बाहिर हेरि।

“कसलाई बोलाउनु भको सर? “- आर्मी केटो बोल्यो।
मैले अधबैंसे पुरुष तिर इङि्गत गर्दै भने -” उहाँ दाइलाई ”
साहुनीले थपी- ” अलिक ठुलो आवाजमा बोलाउनुहोस् न सर, यति सानो आवाजमा कसरी सुन्नु हुन्छ त? ”
अचम्मित भए। यति नजिकको मान्छे लाई पनि ठूलो आवाजमा बोलाउनु पर्ने?
अधबैंसे पुरुष मेरो नजिक आए र मेरो छेउमा उभिएर आगो ताप्न लागे।
कुरोको लप्को जेलिदै थियो। अधबैंसे पुरुष चुपचाप कुरा सुनिरहेका छन्। मैले गाडीमा भन्दा पनि हिडेरै जाने मनसय व्यक्त गरेको चाल पए। अनि त भनिहाले ” सरलाई म खत्याड्को आर्मी चेकपोस्टसम्म पुराइदिन्छु। त्यसपछिको बाटो त सजिलै छ, आफैले पहिलाइहाल्नु हुन्छ नि।”
अधबैंसे पुरुषको कुरा मनासिब नै लाग्यो।म अचम्मित भए । अघिको त्यो रहस्यमय, अपरिचित पुरुष मलाई आत्मीय लागिरहेको छ। मलाई रिंगटा लागेझै हुन्छ।
***
मेरो खुट्टामा कसैले कोट्याएझै लाग्छ। म झ्ल्यास्स बिउझिन्छु। यसो मोबाइल हेर्छु , बिहानको साढे चार बजेको छ। सिरक पन्छाएर हेर्छु । अधबैंसे पुरुष पुक्लुक्क परेको ब्यागको नजिक बसेर अबको यात्रा सुरु गर्ने छनक दिइरहेका छन् ।
झिस्मिसे उज्यालोमा हामी उकालो लागिरका छौ। बाटो मेरो हिडाइको क्षमता भन्दा बढी नै उकालो रैछ। म छिनछिनमा थकाइ मार्छु।
अधबैंसे पुरुष मेरो अघिअघि मलाई पर्खिदै, हिड्दैछन।

लगभग दुई घन्टाको हिडाइपछी एउटा सानो झुपडी देखिन्छ ।
झुपडीलाई देखाउदै अधबैंसे पुरुष भन्छ -” सर ! यो पानीघट्ट हो, पहिले देख्नु भको थियो?”
थिएन, को भावमा मुन्टो हल्लाउछु।
घट्ट छेउमा ऊ पुगेर बोल्छ ” के पिस्दै हुनुन्छ?”
प्रतिउत्तरमा घट्टको घर्‍घर मात्र सुनिन्छ ।
म पनि घट्ट छेउमा जान्छु, भित्र चिहाउछु। एउटा मानव आकृति चुपचाप, आफ्नै सुरुमा हात चलाइरहेको छ।
म उनको छेउमा पुग्छु।

“ओहो ! आमा , मकै पिस्दै हुनुन्छ ?”
ती आमा चुपचाप मकैको घान भर्न मै मस्त छिन।
अधबैंसे पुरुष बाहिर आउनु भन्ने आसयले हातले इसारा गर्छन् ।
” यी आमा किन नबोलेको? ” अनुहारमा आश्चर्यको भाव पोख्दै अधबैंसे पुरुषलाई सोध्छु।
“यहाँका मान्छे यस्तै हो सर, नचिनेको सङ्ग खासै बोल्दैनन् ।”
घडी हेर्छु, बिहानको साढे आठ बजेछ। मौसम धुम्म छ। सायद पानी पर्छ होला! मनमनै सोच्छु।
“पानी होइन सर , हिउँ पर्छ , हिउँ।” अधबैंसे पुरुष बोल्छ ।
“हिउँ पार्‍यो भने हामी बिचल्लीमा पर्न सक्छौं । हिउँ त यहाँसम्म आउँछ।” हातले घुडासम्म देखाउदै फेरि बोल्छ ।।।।
केही समय उकालो हिडेपछी फुस्फुसे हिउँ पर्न थाल्छ। हिउँको अनुभव पहिलो भएकोले खुसीले गदगद हुन्छु ।
यतिकै बेला मोबाइल झिकेर भिडियो खिच्न तल्लीन हुन्छ ।
म भन्दा माथी छन् अधबैंसे पुरुष । उनलाई बिस्तारै जाऊँ को इसारा गर्छु। उनी रोकिन्छन् र म उनितिर मोबाइल तेर्साएर सोध्न थाल्छु -”
दाइ आफ्नो बारेमा केही भन्दिनुस न ? ”

-” मेरो नाम खड्गबहादुर बुढा क्षेत्री , घर कोटडाडा ।”
म पत्रकार झै प्रश्न तेर्साउछु-” कस्तो लागिरहेको छ। ”
– ” म सधै हिड्ने मन्छेलाई कस्तो लाग्नु र सर ? ठिकै !”
फुस्फुसे हिउँको गति बढ्न थाल्यो। एकैछिनमा उजाड डाडा सेताम्मै भयो ।
मलाई रमाइलो र डरको मिश्रित अनुभुती हुँदै थियो।
अधबैंसे पुरुष भन्छ- ” सर ! अब अगाडी बढ्न खतरा हुन्छ। यतै कता बसौं ।”
– ” कता बस्ने ! यहाँ त कतै घर देखिन्न नि! ”
– ” अलिक माथी गएर तेर्सो बाटो लाग्यो भने एउटा घर आउँछ। त्यो मेरो माइली सानिमाको घर हो। त्यहीँ बस्दा हुन्न सर ?”
– ” हुन्छ। जाउ न त। ” म स्विकारुक्ती जनाउछु।
बीस/ पच्चीस मिनेट हिडेपछी हामी सनिमाको घरमा पुग्छौं
। घरमा पाइला टेक्ने बित्तिकै कुकुरले भुकेर स्वागत गर्छ।
त्यही बखत एउटि पन्ध्र सोह्र बर्षकि केटि घरबाहिर देखा पर्छिन ।

अधबैंसे पुरुष केटिसङ्ग खासखुस कुरा गर्छ अनि म तिर हेर्दै केटीले भन्छे – ” भित्रै आउनुहोस् सर ।”
भित्र पस्ना साथ यस्तो देखियो -एकजना बुढी आमा चुलो छेउमा बसेर कोदोको रोटि सेकिरहेकी थिइ र छेउमा चालीस पैंतालीस कि आइमाई सेकाइएको रोटि थालमा हाल्दै थिइ।

आइमाईले एउटा रोटी आधा बनाइ अनि मलाई दिई।
मैले ठिक त्यसै बखत घडी हेरे। ठ्यक्क अपराह्नको बाह्र बजेको थियो। मन अमिलो भयो। जिउ सिरिङ्ग भयो।
– ” के भयो सर ? कोदोको रोटि मन पर्दैन हो?” -आइमाईले सोधी।

हठात जवाफ फर्काए – ” तेस्तो होईन । मलाई त असाध्यै मन पर्छ । झन लोकल खाना भनेपछि त हुरुकै हुन्छु। ”
म खुरुखुरु रोटी टोकिरहन्छु। आइमाई नबोली रोटी थपिरहन्छिन।
मैले रोटी कति खाए , त्यो मलाई पत्तो भएन। बस खाइमात्र रहे एकोहोरो ।
तर रोटी जति खाए पनि भोक जिउका तिउ थियो।
– ” अब भयो नथप्दिनु। पुग्यो होला सरलाई ” अधबैंसे पुरुष बोल्यो।
एवम् रुपले हामीले त्यहाँ एक घन्टा बितायौ।
बाहिर हिउँ पर्न रोकिएको थियो।

हामी अनवरत ठाडो उकालो चढिरहेका छौ। हिउँ परेकाले अझ बढी चिसोको महसुस हुँदै थियो। बाटो चिप्लो छ। स्याउका बोट खङ्ग्रङ छन् । बाटोमा साना साना बुट्यान छन् । हामी स्याउका बोट , बुट्यानहरु छिचोल्दै चिप्लो बाटो हुँदै अगाडी बढिरहेका छौ।
वातावरण चकमन्न छ। मात्र सुनिन्छ स्वा..स्वा…स्वास फेरेको आवाज ।अधबैंसे पुरुष मेरो अघिअघि छ। म उसलाई पच्छाउने प्रयास गरिनै रहेको छु। ऊ माथी पुगेर मतिर हेर्छ अनि भन्छ – “अलिक छिटो हिड्नु। नत्र आज चेक्पोस्ट पुग्न सकिन्न फेरि। ”

मलाई एक्कासि भोकले पेट बटारिएझै हुन्छ ।मलाई अचम्म लागिरहेछ । तेत्रो रोटि केही समय अघि मात्र खाको हो। तर पनि किन भोक लागिरहेको छ।ब्यागको गोजि बाट स्याउको सुकुटी निकाल्छु अनि चपाउन थाल्छु।अलिकति आत भरिएको अनुभुती हुन्छ ।

हामी एकतमास हिडिरहेका छौ।हिड्दै जादा एउटा लेकमा पुग्छौ।पर एउटा सेतो घर देखिन्छ। घरबाट धुवा उडिरहेको देखिन्छ।
मेरो ध्यान त्यतै खिचिन्छ। मेरो पेटमा भोकको रनको फनफनी घुम्न थाल्छ। र त म तानिदै पुग्छु त्यहीँ घरतिर। घरमा एउटा बोर्ड पनि टागिएको छ। जसमा ठूलो अक्षरमा लेखिएको छ ” कालाडाडा छोटे लक्ष्मी होटेल” र तल सानो अक्षरमा ” खत्याड -५ , मुगु “। अधबैंसे पुरुष जान अन्कनाउछ। हिच्किचाहट मै भन्छ- ” म बाहिरै बस्छु। मलाई भोक पनि छैन । तपाईं खानुहोस न। ”
भित्र पस्दा अँध्यारो मात्र देखिन्छ । फिक्का धुवा मडारिएको छ ।
आगो धिपधिप बलेको देखिन्छ । त्यति नै बेला एक जना पुरुष दाउराको चिर्पट लिएर भित्र छिर्छ।
– ” खाजा के पाउछ ? ” म सोध्छु।
– ” चाउचाउ अन्डा ”
– ” हुन्छ , बनाइदिनु।”
– ” कति ?”
– ” दुई जनालाई”

अन्डा चाउचाउ पाक्यो। पसले दुईभाग लगाउछ। एक भाग मलाई दिन्छ र अर्को भाग मेरो छेउमा राख्छ ।
म अधबैंसे पुरुषलाई बोलाउछु।

ऊ चुपचाप आउछ अनि हतार हतार सुरुप सुरुप गर्दै छिनभरमै रित्ताउछ।
” किन हत्तार गरेर खानु भको ? बिस्तारै खादा हुन्थ्यो त ! ” खादै सोध्छु।
पसले पुलुक्क मतिर हेर्छ अनि आफ्नै धुनमा ब्यस्त हुन्छ।
पैसा तिरेर निस्कनै लाग्दा पसले भन्छ – ” एउटा त खानुभएन छ नि?”
अघि भक्खर रित्ताएको थाल हेर्छु। दुबै खाली छन् ।
“पसले झुक्किएछन् “सोच्दै बाहिर निस्कन्छु।

अधबैंसे पुरुष भन्छ – ” अब हाम्रो बाटो ओरालै ओरोलो हो सर , खासै गाह्रो हुन्न। ”
हामी ओरालो गोरेटो समातेर झरिरहेका छौं । गोरेटो छेउछाउमा साना साना रुख हरु छन् । बाटोमा बरफ जमेर चिप्लो छ।
अधबैंसे पुरुष फुर्ती साथ तल झर्दै छन् । मलाई भने एक कदम पाइला चाल्न पनि हम्मेहम्मे परिरहेको छ। चिप्लो बाटोमा जुत्ता चिप्लिरहन्छ। खुट्टा कापिँ रहन्छ। कहिले गति रोक्न धौधौ पर्छ। तर पनि अधबैंसे पुरुषलाई पच्छाइरहेको छु।

निरन्तर ओरालो झरिरहेका छौँ । करिब एक घन्टाको हिडाइ पछि एउटा सानो गाउँ देखिन्छ । गाउँ के भनु , तीन वटा घर एक आपसमा जोडिएको एउटै घर झै लाग्ने झुप्रुक। जस्को गोरेटो पट्टी ढुंगाको गारो छ।

भित्र सुनसान छ। मान्छे कतै देखिन्न । अलिकति तल झरेपछी एकजना बालक उकालो आइरहेको देखिन्छ । उसले दुई हातमा सानो सानो जर्किनमा पानी बोकेको छ र कपडाको नाम्लो लाएको ठुलो जर्किन ढाडमा भिरेको छ । ऊ सकिनसकी उकालो आइरहेको छ। मेरो छेउमा आइपुगेपपछि रहस्यमय तवरले हेर्छ । कुटिल मुस्कान छाड्छ तर केही बोल्दैन ।

बालक उकालो लाग्यो । म ठिन्ङ्ग उभिएर बालक गएतिर आँखा बिच्छाइरहन्छु। बालक झुप्रुक घरको माथी पुगेपछि अलप भयो।
यतिबेलासम्म अधबैंसे पुरुष निकै अगाडि पुगिसकेको छ। म छिटो छिटो पाइला चाल्छु। अधबैंसे पुरुष निकै अगाडि रहेछन् । निकै बेर ओरालो झरेपछी मात्र उनलाई भेट्छु। मैले ढिला गरेकोले होला ऊ बिस्तारै हिड्दै थियो। अब बाटो तेर्सो छ। अधबैसे पुरुष मेरो अघिअघि छ। म उसलाई पच्छाइरहेको छु।

-“अगाडि हिड्दै गर्नु ” अधबैंसे पुरुष गोजिबाट मोबाईल झिक्दै भन्छ । म उसको अघिअघि छु। मेरो पछि अधबैंसे पुरुष फोनमा गुनगुन कुरा गरेको सुनिन्छ तर अस्पष्ठ छ। ऊ छिनछिनमा फोनमा बोलिरहन्छ। । हामी अनकन्टार गोरेटो पच्छाइरहेका छौ। कोही मान्छे हिडेको देखिन्न । घर हरु कतै देखिन्न। बाटोमा मान्छे हिडेको पाइला कतै देखिन्न । हामी जति अगाडि बढिरहेका छौ त्यति नै गोरेटो साघुरिदै छ। छेउछाउमा सानासाना झार मात्र छन् । लड्ने स्थिति आइहाले समाउने साहारा छैन। बाटो अब भिर पखरा हुदै अगाडि बढ्दै छ। खोला तल कता सुसाएको सुनिन्छ तर कहाँ छ भनेर ठम्याउन सकिन्न । तल कताकता कुकुर एकतमासले भुकिरहेको छ।दिन ढल्किदै छ। अध्यारो बिस्तारै छाउदैछ।अधबैंसे पुरुष छिनछिनमा फोनमा बोलिरहन्छ। जब ऊ फोनमा बोल्छ तब ऊ कि त मेरो अगाडि दौडन्छ, कि त मेरो निकै पछि बिस्तारै आउछ। ऊ अहिले मेरो अघिअघि हिडिरहेको छ। छिटोछिटो पाइला चाल्दैछ। ऊ मतिर हेर्दै नहेरी ओरालो झरिरहन्छ। उसको छाटकाट निकै शंकास्पद लाग्दैछ। मनमा चिसो महसुस हुन्छ।

-” कतै यो अधबैंसे पुरुषले मलाई एकान्तमा लगेर लुटेराको जमात भेला पारेर लुट्ने योजना त बनाएको छैन?” मनमा यस्तै डरको सानो झिल्को बल्छ।

म डराइडराइ पाइला अगाडि बढाइरहेको छु। जति तल झरिरहेका छौ तेति अध्यारो बढ्दै गइरहेको छ।जति अध्यारो बढ्दैछ त्यतिनै मनमा त्रासदीको भयानकता थपिदैछ। एक मनमा , हिडिरहेको बाटो नै गलत हो भन्ने लागिरहेको छ। अघिको बालकलाई सोध्नुपर्थ्यो। नसोधेकोमा पस्चाताप लाग्छ । मान्छे हिडेको डोब बोटोमा छदैछैन। मन निकै आत्तिदै छ। तलतिर झर्दैगर्दा एउटा ठुलो ढुङ्गा देखिन्छ। ढुङ्गा माथि एउटा ठुलो सुकेको रुख छ। जुन रुखले बाटो पुरै ढाकेको छ। रुखदेखि तल भिर छ। अलिकति गल्तीले लडियो भने बाच्ने सम्भावना छैन । म अगाडि बढ्न खोज्छु तर आँट पुग्दैन ।

“हेल्लो दाई, मलाई आउन अप्ठ्यारो भयो, माथी आउनु न!” म चिच्याएर अधबैंसे पुरुषलाई बोलाउछु। ऊ छिनभरमै माथि आइपुग्छ। आफुले लगाएको गल्बन्दि खोल्छ अनि एक छेउ मलाई समाउन दिन्छ। म त्यै गल्बन्दिको साहाराले तल झर्ने प्रयत्न गर्दैछु। उसले सकिनसकि गल्बन्दिको एक छेउ समातेर मलाई सहारा दिइरहेको छ । अकस्मात् मेरो खुट्टा चिप्लिन्छ।

अधबैंसे पुरुषले समाएको गल्बन्दि छुट्टिन्छ। म रुखको हागामा गल्बन्दि संगै अड्किन्छु। त्यसै बखत अधबैंसे पुरुष मेरो आखा अगाडि बाटै हुत्तिएर कतै तल झर्छ। उ क्षण भरमै बिलायो। तर उ खसिरहदा कुनै आवाज आएन। मेरो मुटुको ढुकढुकि एक्कासि बढेर आयो। मेरो टाउकोमा कसैले घनले हानेझै भयो। म आत्तिदै रुखको हागाको सहारा लिदै बल्ल उक्लिए। उक्लिने बित्तिकै डङ्ग्रै भुइँमा बजारिए।

त्यस बखत मैले देखे पुक्लुक्क परेको पुरानो ब्याग। मैले मोबाइलको बत्ती बालेर हेरे । म छाङ्गाबाट खसेझै भए।शरीरमा काडा उम्रएझै भयो। एक झ्व्का चिसो सिरेटोले भित्र कताकता हिर्कायो। मैले देखे अधि भक्खर अधबैंसे पुरुषले लगाएको रातो ज्याकेट, हरियो ऊनको टोपि अनि कालो कपडाको पाइन्ट ।तर ति सबै पुराना थिए। मक्किएर झुत्रो भैसकेको थियो। पाइन्टको गोजीमा पुरै माटो भरिएको थियो। ज्याकेटको बाहुला आधा माटोमै गाडिएको थियो।
***************

प्रतिक्रिया

सम्बन्धित खवर