✍️ शारदा दहाल भण्डारी

 

“बाबु तिमी पनि अब त आफ्नो सामान चेक गर्न, राख्न सक्ने भयौ नि ! हेर्नुपर्दैन ? तपाईंले रुमाल र स्थानीय विषयको कापी नहालिदिएर मैले कुटाइ खानुपर्यो आज ’” भन्दै आएको छोरोलाई गुनासो गर्दै थिइन् सुदीपा।

“आफू चाहिँ बिहानभरि घरको काम, दिनभर उत्तिकै तनाव, फेरि घर आयो उही चटारो मैले नहेरी गृहकार्य पनि गर्दैनौ ! मलाईचाहिँ आराम चाँहिदैन भनत ?” सुदीपा खिन्न मुद्रामा बोलिन्।

“मामु भएपछि गर्नु त पर्छ त ।” प्याच्च बोल्यो सुयशले। “ऊ हेर्नु त बिरालो आमा त कति जाती बच्चालाई पानीले भिजायो भनेर मतानमा सार्दैछ । तपाईंलाई चाहिँ मेरो हेरचाह गर्दा हैरान लाग्छ ?”

ऊ थप्दैथियो “हिजो दोभाने जाँदा देखेको बाँदर्नी आमाले छोरालाई बोकेर खोलामाथिको जंगलमा एउटा रुखबाट अर्को रुखमा हामफालेको । फेरि अर्कोमा झ्वाम्मै हाम फाल्दा बच्चा खोलामा झर्यो तर बच्चालाई टिपेन।”

सुदीपाले छोराको कुरा सुन्दै लुगा फेराइदिन थालिन् र सोधिन्।

“उसोभए अब भन तिमीलाई बाँदर्नी आमा कि बिरालो आमा मन पर्यो त ?”

“मलाई त फुत्त फुत्त फ्लाई गर्दा त बादर्नी मनपरेको फेरि बच्चा नटिपी भागेको देखेर घृणा जाग्यो। जुनसुकै परिस्थितिमा बच्चा स्याहारेको देख्दा बिरालो आमा नै ठिक लाग्यो ।”

“ए ! अनि बाँदर र बिरालाको बच्चाले कसो गरिरहेका थिए हेर्यौ ?”

“अहँ ! आमाको बारे मात्रै नियालेँ ।”

“अब सुन, बाँदरको बच्चाले आफैँ दर्हो गरी आमालाई च्याप्प समाउँछ र आफ्नो ज्यान बचाउन प्रयत्न गर्छ, देख्यौ पनि होला। बिरालाको बच्चालाई आमाको एक्लो प्रयासमा बचाउनुपर्छ, उसले कहिँ समाउँदैन। केवल आमाको साहारामा हुन्छ। अब आफैँ भन, तिमी कसको बच्चा जस्तो हुन चाहन्छौँ ?”

केहीछिन नबोली सोचनीय हुन्छ सुयश।
पुनः आमाले “भन त सुयश भन्दा म त बाँदरको जस्तो ।” भन्दै च्याप्प समाउँछ। र भन्दै जान्छ
“अब म आफ्नो काम आफैँ गर्छु। अर्कालाई मात्रै हेर्ने काम छोडिदिन्छु।”

प्रतिक्रिया

सम्बन्धित खवर