✍️ सृष्टि सावित्रा
गजल – एक
मौसमझैँ बद्लिने रहेछन् बदलिने मान्छेहरू
यता पर्खाइमै जीवन सक्छन् पर्खिने मान्छेहरू
पत्थर मुटु हुनेहरू हजारौँ गुन बिर्सेर जान्छन्
एउटै गुन जीवनभर सम्झिन्छन् सम्झिने मान्छेहरू
स्थिर भएर हिँड्नु ओरालो उकालो आउन सक्छ
लक्ष्यमा कहिल्यै पुग्न सक्दैनन् बहकिने मान्छेहरू
आफैँलाई भर्नका लागि त, आफू रित्तिनै पर्दैन
अक्सर अरुकै लागि रित्तिन्छन् रित्तिने मान्छेहरू
मुस्किलले भेटेर सजिलै गुम्ने भनेकै खुशी हो
हरेक मोडमा भेटिन्छन् पीडा थपिदिने मान्छेहरू
गजल – दुई
मेरो बिश्वास ईश्वर आफैँ बस्ने घरले लुट्यो
सर्वस्व नै ठानेँ, मेरो आस्था पत्थरले लुट्यो
रित्तो बनाइ अरुलाई आफू भरिनै पर्ने
खुसी आफ्नाले लुटे आँसु सागरले लुट्यो
पुग्न सकेनन् योद्धा देशको सिमानासम्म
मेरी आमाको छाती दुखेको खबरले लुट्यो
आफैँलाई पराइ सम्झे त्यसदिनबाट मैले
जुनदिन जिन्दगीले आफ्नै तवरले लुट्यो
जुन सहरमा तिमी भेट्दा थोरै खुशी पाएँ
छुट्दा खेरी हाँसो खुशी त्यही सहरले लुट्यो
प्रतिक्रिया
-
४