✍️ राजु उवरकोटी

 

मान्छे हुनुको नाममा ऊ मुर्दा भएको छ , मुर्दाको आयु हुँदैन र ?
हृदय धड्किरहेको छ ढुक् ढुक् …. ढुक् ढुक् ….
हृदय परिक्षणमा हृदयले हारिसकेको हो समयसँग
किन जिउँदै छ – केही अन्तराललाई !
जीवनको सारा हविगत जानेरै ?

स्थिर शरीरको आँखाहरू जिउँदै छन्
कुन भावको दर्पण हो यो खुल्ला प्रतिबिम्ब ?
के हेर्दाहेर्दै रोकिएको थियो यिनको गति ?
कसलाई खोज्दाखोज्दै टक्क अडिए अनन्तको दिशामा ?

हेर्दा यो मखुण्डो लिला मृत्युु पछिको यी बाँच्न चाहन्छन् कि ?
या मृत्युलाई धन्यवादको ज्ञापनपत्र बुझाउनलाई बाँचेका हुन् उनीहरू
तिनका-मान्छे मरेपछिको मस्तिष्क लिएर ?

( कसैको संवेदित हात अघि बढेको छ
र बन्द गरिदिएको छ आँखा
अब उसले केही समयमै
समीक्षा गर्नु छ आफ्नो दुनियाँको-सबै रङ्गमा ! )

; मृत्यु प्रश्न बनेर उभिँदैछ बन्द आँखाहरूको अघि
हृदयको धुनमा
मस्तिष्कको अभिमानमा टेकेर ! शिवत्व पाउन …

मनुवा मरेपछिको मस्तिष्कले के के त्याग्दै छ ?
या समेट्दै छ आफ्ना सबै जीवनको सत्यबोध …

उसको पुण्य जस्तै पाप सत्य हो !
अनुराग जस्तै राग सत्य थियो
प्रेम जस्तै घृणा । करुणा जस्तै रिस ।
निष्छलता जस्तै कुटिलता । स्वच्छता जस्तै प्रदुषण ।
कोमल जस्तै कठोर । सबै एकएक सत्य हो उसको !

के ऊ समेट्दै छ यी सबै ? र कहाँ पुर्‍याउन खोज्दै छ ?

समय गर्भमा पहिल्यै देखि भरिपुर्ण छैनन् र यस्ता विकार
किन बचाउँदैछ अझै यो मस्तिष्क र किन लिँदैछ एकएक सार ?

ब्रह्माण्डको चेतनाले मस्तिष्कको चेतनालाई कहिल्यै तुच्छ भनेन
(चेतना कतै जाने छैन ! कतै जाँदैन पनि सायद …)
– मस्तिष्कको चेतनाले मस्तिष्कमै विश्राम लिइरहँदा शुद्ध नि बोलेन !

( म यो लेख्दै छु , लेखिरहँदा…
एउटा विचार वेगले आएको छ र भन्दै गएक‍ो छ :
“चेतनाको आवाज हुँदैन !”
अर्को शान्त विचार आयो सम्यमित स्वरमा भन्यो :
“आवाज नै चेतना हो , ध्वनि नै चैतन्य हो !” र ध्यानस्त भयो )

यो बाँचिरहेको समयमा मस्तिष्क ब्रह्माण्डसँग संवाद पो गर्दैछ कि ?
हाँस्दै पो छ कि जीवनभरको असन्तुष्टिको आकार देखेर
– सन्तुष्टिको संसार भएर !

वासनाको उन्मत्त क्षणका प्रत्येक क्रीडा प्रति
अन्तिममा , हृदय कस्तो गीत गाउन चाहन्छ ?
रसोन्मत्त कायामा घायल भएका धुनको सार-ती !

मिथ्या कल्पनाको
वास्तविक स्खलनको विपनामय स्वनदोषले
जीवनभरको समागम रासले भरिएको मनस~दृश्यपट
अहिलेको बिन्दुमा कसरी चल्दैछन् ?

भुल्दै भुल्दै सबै प्रेमिल पल, सहअस्तित्वको सहानुभूति
सम्बन्धको सम्पूर्ण रेसा रेसा केलाउँदै
छाडेर यथार्थ कल्पनाको जगत सम्पूर्ण हुँदैहुँदै
मिल्नु छ अब मिथ्याको सत्यमा
हुनु छ अब मुर्दाले जगत्‌को आधार !

लौ न ए ! तपाईं कता पुग्नु भयो कुरैकुरामा ?

आउनुस् जहाँ हुनुहुन्छ त्यहीँ आउनुस्
कृपया अब हल्ला नगर्नु होला !
‘मस्तिष्कको जीवन आयु / मान्छेको मृत्युु पछिको लीला
सम्पूर्णता ग्रहण गर्ने समय’-सबै सकिएको छ !

प्रिय महोदय~जन,
सम्पूर्णता खोज्दै सन्तुष्टि पालेर सधैँ
अब तपाईं अझै कति असन्तुष्ट भड्किन चाहनुहुन्छ ?

प्रतिक्रिया

सम्बन्धित खवर