
–गगन योक्पाङ्देन
इतिहासको एउटा कुरुप क्यानभासमा बनेको
मेराे भरिया बाजेको तस्बिर देखाउँदै बोजुले भनेकी थिइन्
– एक छाक खानकै लागि
– एक सराे लगाउनकै लागि
– र परिवार धान्नकै लागि
त्यसबेला पनि तेरा बाजे , शासन र रासनको बोझ
थाप्लाे र पिठ्युमा बोकेर हिँड्नु हुन्थ्यो ।
आमाले फेरि मलाई
इतिहासको एउटा अर्को क्यानभास देखाइन्
जहाँ मेरो बाजेकाे तस्बिरकाे ठाउँमा
मेरो बुवाको तस्बिर थियो ।
छाेरा
अब म तिमीलाई कसरी
उही क्यानभास र उही तस्बिरमा मेरो अनुहार देखाउ?
परिवर्तन विनाशले मात्रै सम्भव छ’ सोचिएकै बेला
छाेरा म तिमीलाई युद्ध र विध्वंसका गाथा सुनाएर
उद्देलित बनाउन चाहान्न
म तिमीलाई मेरो थाप्लोको नाम्लो र प्युठुको
भारी पनि दिन्न
बरु सट्टामा म तिमीलाई कापि कलम र इरेजर दिनेछु
ताकि तिमीले हाम्रा भाग्यमा कोरिएका
करिङमिरिङ किरिङमिरिङ धमिला धर्साहरु मेटाएर
कर्मको मसीले उज्यालो भविष्य लेख्न सक
ता कि, भोलि तिमीले यो देशको धुमिल – धुमिल तस्बिर
मेटाएर
उज्यालो तस्बिर फेर्न सक।
त्यो तस्बिरमा
ढाकरमा देश बोकेर उभो लागि रहेका
भरिया सपनाहरुको देशप्रेम झल्कियोस्
आफ्नो काँधमा सिङ्गै सगरमाथामा उचालेर
बाँचिरहेका लाक्पा र दोर्जेहरुको समर्पण देखियोस्
जिवनका रङहरुले इन्द्रेणी पोतिरहेका
हाङदिङमा र डोल्माहरुको हार्दिकता अङ्कित होस्
र त्यो तस्बिरमा
सद्भावको धागोले राष्ट्रिय झण्डा सिलाइरहेका
माइला दर्जीहरुको अनुहार देखियोस्
त्यो तस्बिरमा
आफ्ना फाटिला छातीभरि लहलह बाली झुलाएर
हाँसिरहेकी थरुनी दिदीको हाँसो पोतिएको होस्
त्यो तस्बिरमा
एक हातमा यो देशको माटो मुठ्याएर
अर्को हातले जङ्गे पिल्लर समातेर देशको स्वाभीमान चिच्याइ रहेको
यादव भैयाको देशप्रेम खुलेको होस्
र त्याे तस्बिरमा
बिचारको धनुष काँड लिएर युद्ध लडि रहेकोे काङसोरेको
तस्बिर पनि देखियाेस
देशको तस्बिर कोर्न
हरियो रङ नपुगे तिम्रो उत्साहको रङ खन्याएर पोतिदिनु
खैरो रङ नपुगे
तिम्रा पसिनाहरु निचोरेर पोतिदिनु
र यो देशको तस्बिरमा देशप्रेम कोर्न
रातो रङ नपुगे आफ्नै मुटुको रगत झिकेर पोतिदिनु
यति गर्दा पनि देशको तस्बिर धमिलो देखिए
आफ्नै आखाको उज्यालो टिपेर टाँसिदिनु ।।
‘परिवर्तन विनाशले मात्रै परिवर्तन सम्भव छ’
सोचिएकै बेला
छोरा म तिमीलाई
युद्ध र विध्वंसका गाथा सुनाएर उद्देलित बनाउन चाहान्न
म तिमीलाई मेरो थाप्लोको नाम्लो र प्युठुको भारी पनि दिन्न
बरु सट्टामा म तिमीलाई कापि कलम र इरेजर दिने छु ।
ता कि,
तिमीले हाम्रो भाग्यमा कोरिएका
किरिङमिरिङ किरिङमिरिङ धमिला धर्साहरु मेटाएर
कर्मकाे मसिले उज्यालो भविष्य लेख्न सक
ता कि, भोलि तिमीले याे
देशको धुमिल धुमिल तस्बिर मेटाएर
देशको उज्यालो तस्बिर फेर्न सक ।।
प्रतिक्रिया
-
४
-
१०