
– राम न्यौपाने
१,
घुमिरहन्छ भमरा आउछिन् कि भनि
आसमै छ बिचरा आउछिन् कि भनि
यि नयन रत्तिभर थाकेन्न बाटो हेर्दाहेर्दै,
यहि बाटो अप्सरा आउछिन् कि भनि
२,
माफ गर्नुहोला मेरा मित्र जीवन चलेको छ
हत्या गरी आफ्नै चरीत्र जीवन चलेको छ
फसि सके दलदल भित्र उम्किने आस छैन,
जाड, रक्सिकै नसाभित्र जीवन चलेको छ
३,
देखेका सपना सारा अधुरा भएर आउछन्
कोरेका गन्तब्यहरू अपूरा भएर आउछन्
बाटो बिराएर जिन्दगीले जालमा परेपछि,
भएका आफन्त पनि माकुरा भएर आउछन्
४,
मेरो बारेमा अनेकौं प्रपञ्च बुन्दा खुसी लाग्छ
ठिक पार्न कपटपूर्ण जाल उन्दा खुसी लाग्छ
म तिम्रै कपटले सिखर चुम्न सफल भएको हुँ,
हेर्दै प्रगति मेरो बर्बराएको सुन्दा खुसी लाग्छ
५,
भोगेका दु:ख कष्ट लेखेर धनी हुने मन थियो
आइपर्ने पिर ब्यथा खेपेर धनी हुने मन थियो
त्यो तिम्रो सहरमा हरेक चिज बिक्रि हुन्छ भने,
यी नयनका अश्रुभेल बेचेर धनी हुने मन थियो
प्रतिक्रिया
-
४