– शारदा पौडेल

म छोरीलाई अष्ट्रेलिया उडाउनको लागि त्रिभुवन विमानस्थलमा आएकी थिएँ । यो भन्दा पहिला यो ठाउँमा कहिल्यै टेकेकी थिइन । त्यहाँ आउने र जानेहरुको एकदमै भिड थियो । उपस्थित भएका कोही मानिसहरु आफ्ना आफन्तलाई बिदाई गर्न र कोही स्वागत गर्न हतार देखिन्थे । अरु जे जस्तो भएपनि उपस्थित हुने मानिसहरुको घुइँचो भने हेर्न लायक नै देखिन्थ्यो ।

उपस्थित मानिसहरु मध्ये कोही आफन्त बिदाई गर्ने क्रममा रोएका देखिन्थे भने कोही आफन्तको स्वागत गर्ने क्रममा पनि रोए कै हुन्थे । कसैका हर्षका आँसु थिए भने कसैका विछोड हुँदा हुने पीडाका । म पनि त्यही पीडामा थिएँ । जुन पीडाले मलाई घरिघरि नराम्रोसँग मुटुदुख्ने गरि चिमटिरहेको थियो । छोरीको बिदाई । उसैको बिदाईको कल्पनाले मेरो मन अमिलो भएको थियो ।

आजसम्म काख नछोडेकी छोरी एकाएक अष्ट्रेलिया जान लागेकी छे । विचरी बच्चै छे , के गर्ली कसरी खाली ? कतै नराम्रो संगतमा पो फस्ने हो कि ? साह्रै सोझी छे भन्ने विभिन्न तर्कना मनभरि आइरहन्थे र मलाई भित्रभित्रै खान्थे ।

जे जस्ता तर्कना आए पनि छोरी पढ्नका लागि बाहिर पठाउन सक्नुमा नै मैले गर्व गरेकी थिएँ । घरबाट निकालिएका हामीले कतिका भनाइहरु सहेर अगाडि बढ्न परेको थियो । कतिको तिरस्कारपूर्ण व्यवहार सहनु परेको थियो । कतिले हामीलाई अपमान गर्दथे । त्यतिबेलाका तिनै तिरस्कारपूर्ण व्यवहार र अपमानले आज मलाई उर्जा दिएका छन् । हौसला दिएका छन् । हिम्मत साहस र आँट दिएका छन् । तिरस्कार र अपमान गर्ने हरेक व्यक्तिलाई आज सम्मानका साथ सलाम गर्छु ।

तिरस्कारलाई हामीले सकारात्मक रुपमा लिने हो भने यसले हाम्रो जीवनको व्यवहारिक पक्षलाई परिष्कार गर्दछ । यसले हामीमा उत्साह जगाउँछ । प्रेरणा दिन्छ र अगाडि बढ्न घच्घच्याइ रहन्छ । मैले पनि तिनै तिरस्कार र अपमानबाट भाग्य निर्माण गर्ने कसम खाएँ । र छोराछोरीलाई च्यापेर शहर पसेँ । त्यतिबेला यिनीहरू साना थिए । त्यसैले कुनै कुरामा पनि सहारा दिन सक्दैनथे । न दुखेसो सुनेर नै सुझाब र सल्लाह दिन सक्थे । मैले जति पीडा भएपनि यिनीहरुको सामु सुनाउने चेष्टासम्म गरिन । कमलो बाल मस्तिष्कमा नराम्रो चोट पुग्ला भन्ने सोचेर मैले कहिल्यै यिनीहरुको सामु दुखेसो पोख्न चाहिन । त्यसैले कति रात आकाशका तारा हेरेर रोएकी हुन्थेँ । कति रात आकाशको चन्द्र हेरेर साहस जुटाएकी हुन्थेँ । रुन परे पनि रुन्थेँ एक्लै एक्लै नितान्त एक्लै । तर बच्चा अगाडि पहाडको उदाहरण दिएर अडिग र निर्भीक हुनुपर्छ भन्थेँ ।

मैले बच्चाहरुलाई घरायसी मामलाबाट टाढा राख्न चाहेकी थिएँ । र राख्नु नै मेरो मुख्य उद्देश्य थियो । जुन उदेश्य आज पूरा गरेँ । घरले सडकमा पछारे पनि केही गर्न सकेँ । र समाजमा यौटा राम्रो काम गरेर देखाएँ । हिजो मलाई सडकबाट उठ्नु थियो । उठेँ पनि । उठ्नका लागि जुन आँट साहस र हिम्मत गरेँ त्यो आँटले मेरो जिन्दगीको गोरेटो खन्यो । र त्यही गोरेटोले छोराछोरीको भविष्य सुन्दर बन्न सघायो ।

सम्झन्छु विगतलाई कहाली लागेर आउँछ । नारी र पृथ्वी पर्यायवाची शब्द हुन् । पृथ्वीका छातीमा दुनियाँले टेक्दा कुल्चिँदा थुक्दा बस्दा खन्दा जे जे गर्दा पनि सहन्छिन् । उनी एकशब्द कसैसँग गुनासो गर्दिनन् । यसै हुनाले नै नारीलाई धर्ती भनेर भनिएको हुनुपर्छ । तरपनि बेलाबेलामा आफूमाथिको अत्याचार सहन नसकेर पृथ्वीले पनि प्रकृति प्रकोपको निम्ता गर्छ । त्यस्तै प्रकोप स्वरुप मैले पनि सदाका लागि आफूलाई निमिटान्न पार्न केही उपायहरु अवलम्बन गरेकी थिएँ । तर सबै उपायहरु विफल भए । सायद मेरो मानो सकिएको थिएन होला । भगवानका पास मेरालागि खाली ठाउँ थिएन होला । यिनै छोराछोरीको उज्ज्वल भविष्य बनाउन बाँकी भएर पनि होला । भगवानले आफ्नो पोल्टामा सहर्ष स्वीकार गरेर लिन मान्नुभएन ।

” मामु ! मेरो धेरै पीर मान्नु भएको छ हो ? किन टोलाउनु भएको ? म एक बहादुर आमाकी छोरी हुँ । मनभरि हिम्मत साहस र आँट बोकेर हिँडेकी छु । जस्तै भएपनि आँट गरेर पढ्ने छु । मेरो चिन्ता नलिनुहोस् । हजुरले नै अँध्यारो अनुहार लगाउनु भयो भने मेरो हिम्मत कसरी जुट्ला ? मैले धेरै गर्नु छ । हजुरले जति गर्नु पर्ने हो त्यो भन्दा पनि बढी गर्नुभयो । अब हजुरको अभिभारा ममा आएको छ । भाइको भविष्यको चिन्ता मलाई छ । उसको भविष्य मैले निर्माण गर्नुपर्छ । हजुरले अब सुख काट्नुपर्छ मामु । त्यसैले हजुरले मलाई जानेबेलामा हिम्मत दिनुहोस् । हजुरको हँसिलो अनुहार नै मेरो हिम्मत बन्नेछ । ”
छोरीका यी कुराले मेरो छाती फुलेर आयो । हर्षले नयन भरिएर आए । संसार भरि कै भाग्यमानी आमा बनाउन सफल छ मेरी छोरी भन्दै अंकमाल गरेर रुन मन लाग्यो ।

नजिकै बाट एक महिलाले हामीलाई हेरिरहेकी थिईन । सायद उनी पनि आफ्ना कोही आफन्तलाई उडाउन आएकी थिईन् होला । घरिघरि उनको ध्यान हामीतिरै हुन्थ्यो । हाम्रो कुरामा उनीले घरि मुसुक्क हाँसेर त घरि निदाउरो अनुहार बनाएर साथ दिइरहेकी थिइन् ।

छोरीका कुराले गर्व गर्दै फुलेको मेरो छाती रसाउन छाडेको थिएन । नयनबाट भएको वर्षा रोक्न म जति प्रयास गर्थेँ त्यति नै असफल हुन्थेँ । नयन पहरा रसाएर मुल फुटे झैँ रसाएका थिए । मनलाई थमाउनका लागि नजरहरु यताउता दौडाउँथेँ । कहिले काठमाडौबाट नजिकै देखिने सेता हिम चाँदरतिर त कहिले तिनै महिलाको मुहारतिर । जब मैले उनीतिर हेर्थेँ संयोग उनीले पनि मलाई नै हेरेको मौका परेको हुन्थ्यो । जब एक आपसमा नजर जुधेको हुन्थ्यो । तब परिचित कोही आफन्त कै अनुभुति हुन्थ्यो ।

केही समयपछि उनी सँगै उभिएको लक्का जवानले उनीतिर लक्षित गर्दै भन्यो —” दिदी मेरो भित्रछिर्ने बेला भयो । हजुरलाई यहाँबाट भित्र जान दिँदैन । हजुर राम्रोसँग बस्नुहोला । आफ्नो र भान्जा भान्जीको ख्याल गर्नुहोला । भिनाजु जे जस्ता भएपनि म मरेको छै‌न । अवश्य एकदिन केही गर्नेछु र भान्जाभान्जीलाई सही बाटो देखाउने छु ।

उक्त भनाइले त्यो युवक उनैको भाइ रहेछ भन्ने कुरा ठम्याउन गाह्रो भएन । भाइको दिदी र भान्जा भान्जी प्रतिको अगाध माया देखेर पुन मेरो पहरा रुपी छाती रसाउन थाल्यो । एउटा भाइले आफ्नी दिदीप्रति निभाएको जिम्मेवारी र भान्जाभान्जी प्रति देखाएको कर्तव्यबोधले साँच्चै मुटु रसायो । सायद यस दुनियाँमा सबैका यस्तै दाजुभाइ हुन्थे भने कुनै दिदीबहिनीले एक्लोपनको महसुस गर्न पर्दैनथ्यो । दुखी र पीडित दिदीबहिनीले अकालमा ज्यान गुमाउन पर्दैनथ्यो । भाइको त्यत्ति भनाइले उनको मनभित्र आँट र भरोसा बढेको प्रष्ट देखिन्थ्यो । त्यसैले बहिनी यस्तो भाइ पाउने तिमी कति भाग्यमानी रहिछौ भन्न मन लाग्यो । त्यसकालागि केही समय कुर्नु थियो मैले । किनकि त्यतिबेला उनीबाट भाइ छुट्टिएर केही टाढा पुगेको थियो । उनका आँखाबाट आँसुका धारा छुटेका थिए । रोएको सुँक्क सुक्क आवाज आइरहेको थियो । त्यो अवस्थामा उनलाई सम्झाउन सक्ने स्थिति ममा छँदैथिएन । किन कि छोरीसँग हुने विछोडले मेरो मुटुमा गाँठो परिसकेको थियो ।
केही समय पश्यात छोरीले भित्तामा राखिएको समय तालिका र विमान उडानको समय देखाउँदै भनी —” मामु अब म भित्र जानुपर्छ । हजुरले हाँसेर बिदाइ गर्नूहोस् । जुन हाँसोले मलाई हिम्मत र साहस भर्न सकोस्। आँसु देखाएर मेरो चित्त दुखाउने काम नगर्नुहोस् । भन्दै मेरो नजिकै आएर छातीमा टाँसिइ । र मुखमा हेर्दै हाँस्नु मामु हाँस्नुभन्दै अगाडि बढी । ”

ऊ पर पुगुन्जेल सम्म हेरिरहेँ । हाँस्दै घरिघरि हातले चुम्मा दिँदै अगाडि बढेकी छोरी मेरो छेल परेपछि खुब रोई । यी सारा दृष्य मैले बाहिरबाट देखिरहेकी थिएँ । यो दृष्यले मेरो मन थाम्नै सकिन । चिसो भुइँमा थचक्क बसेँ र भाग्यलाई धिक्कार्दै रोएँ ।

म त्यही भुइँमा नै थिएँ । तीनै अघिकी महिला मेरो छेऊमा आएर सम्झाउँदै भनिन् । ” नरुनु दिदी , नानी त्यति बुझकी छन् । काम गर्न गएकी होइनन् । पढ्न गएकी हुन् । उनको राम्रो भविष्यको कामना गर्नुहोस् । उठ्नुहोस् , हिँड्नु जाम । म पनि हजुरसँगै बाहिरसम्म जान्छु ।”
उनीले धेरै कर गरेपछि म उठेँ । हामी बिस्तारै त्यहाँबाट बाहिरियौँ । सडक छेउको यात्रु प्रतिक्षालयमा गएर केहीबेर बस्यौँ । भलाकुसारी गर्यौँ ।
मलाई खास बोल्नै मन थिएन ।उनीले नै कुरा झिकिन् र भनिन् :-” दिदी हजुरलाई देख्ने बित्तिकै मेरो कोही आफन्त हुनुहुन्छ जस्तो लाग्यो किन होला ? ”
उनका कुराले म पनि खुशी हुँदै भनेँ –” त्यस्तो लागेमा मलाई दिदी नै भन्न सक्छ्यौ बहिनी । मलाई पराइ नसम्झ । म अभागिनीका दुइ सन्तान बाहेक यस धर्तीमा अरु कोही छैनन् । तिम्रा त श्रीमान माइती इष्टमित्र सबै आफ्नै साथमा होलान् । यो वाक्य मैले नचाहँदा नचाहँदै पनि अनायास नै मुखबाट फुत्तकियो ।

मेरा यी कुराले उनको अनुहार एकाएक कालो भयो । मानौ उज्यालो आकाशमा एकाएक कालो बादल मडारिए झैँ देखिन्थ्यो । त्यही कालो बादललाई नयनबाट आँसु रुपी वर्षाको भेल झार्दै भनिन् । ” दिदी मेरो आड आधार भन्नू नै यही एउटा भाइ थियो । त्यही पनि परदेश लाग्यो । सानो भएपनि खुब आड आधार दिन्थ्यो । श्रीमान त हुनुहुन्छ तर आड र आधार विनाका । न कुनै काममा सहयोग पाउँछु न समर्थन ।

उनीका कुराले मेरो पनि हृदय भारि बनायो । किन कि म पनि श्रीमानको त्यस्तै पीडाबाट पिडीत थिएँ । देख्दा सर्लक्क परेको जीउडाल थियो । धनीका छोरा र बेलैमा डिग्री पास गरेका भनेर नै मलाई बुबाले दिनुभएको थियो । उनी जति बाहिर सुन्दर देखिन्थेँ । त्यत्ति नै भित्र खराब थिए । बाहिर खराब भएको कुरा बरु समाजले थाहा पाउने थियो । तर भित्र खराब भएको मानिसलाई केबल श्रीमती भन्दा अरुले थाहा पाउन नसक्ने रहेछन् । यस्तै पीडाबाट ग्रसित थिएँ मपनि । यस्तो पीडा भनेको नदेखाउन मिल्ने ? न समाजले बुझ्ने ? यस्ता पीडै पीडाले जलेर मैले मृत्युको प्रयास नगरेकी पनि होइन । आखिर यिनै छोराछोरीको जिम्मेवारी लिनु थियो त्यसैले भगवानले लान मान्नु भएन । जेहोस् आज उसलाई छोडेर पनि आफ्ना खुट्टामा उभिन सफल छु । दुनियाँले छि: भन्ने बाटो राखेकी छैन।

” दिदी हजुरले नानीका बारेमा सोच्दै हुनुहुन्छ हो “– मेरो एकाग्रतालाई भंग गर्दै उनले भनिन् ।
मैले तत्कालै प्रश्न गरेँ –” साँच्चिकै बहिनी तिम्रो घर कहाँ हो नि ? मैले त सोध्न पनि बिर्सेछु ।”
“नवलपरासी हो दिदी । ” – उनले जवाफ दिइन् ।
“अनि श्रीमान के गर्नु हुन्छ त ? ”
” केही पनि गर्नुहुन्न । जमानामा डिग्री पास गरेको मानिस । पढेर मात्रै नहुने रहेछ । मानिसमा हिम्मत नै नभएपछि प्रमाणपत्रले केही पनि नगर्दो रहेछ । केही गरम न भन्दा पनि स्वास्नीले भनेको मान्ने म जोईटिंग्रे हो र भनेर अगाडि सर्नै नदिने । आफुले केही नगर्ने ? आफु भन्दा साना भाइहरुले कति प्रगति गरे । त्यता ध्यानै नदिने । ” के मात्रै भनौँ दिदी मैले ? उनी हुनाले यी राता वस्त्र लगाउनु शिवाय कुनै कुरा पाएकी छैन भन्दै भक्कानिँदै रुन थालिन् ।

यिनका कुराले फेरि मलाई झस्कायो । सबै कहानी मेरो कहानीसँगै मिल्ने थियो । घर पनि त्यतै बताउँदा मुटुमा गाँठो पर्यो । मन गरुँगो बनाउँदै सोधेँ –” नवलपरासी कहाँ नि बहिनी ?”
” सोह्र नम्बर ”
“के थर हो नि घरको ?”
” गौडेल ”
” श्रीमानको नाम पनि भन्न मिल्छ ?”
” लालकृष्ण”
उनीको वर्तमान मेरो अतीत थियो । म पनि त्यही घरबाट यस्तै पीडा सहन नसकेर विद्रोह गरेर हिँडेकी थिएँ । मलाई झनै उनी प्रति स्नेह जागेर आयो । मैले त्यस घरभित्र भोगेका पीडा ताजा भएर आए । छोरीको बिछोड भन्दा उनले भोगेका पीडाले मेरो मनमस्तिष्क ओगट्यो । तर म उसकी अतीत थिएँ भन्ने कुराको जानकारी दिन मन लागेन ।

मान्छेले ठक्कर खाएपछि केही सुध्रिन्छ । र ऊ पनि सुध्रिए होला भन्ने लाग्दथ्यो । मैले दुःख पाएपनि अब उसकी श्रीमती बनेर आउनेले सुख पायोस् भन्ने कामना गरेकी थिएँ । तर विडम्बना न ऊ सुध्रिएको रहेछ । न कान्छी बनेर आउनेले सुख नै पाएकी रहिछ ।

दिदी , मेरो ध्यान खिच्दै उनीले भनिन् ।” यस्तै भएर त होला नि पहिली श्रीमतीले पनि छोडेकी ! उनी त धेरै टाठी थिइन् रे । केही गर्नुपर्छ भन्ने भावनाकी भएर नै कुरा नमिलेको रे । अहिले त उनीले कस्तो राम्रो बन्दोबस्त गरेकी छिन् रे भन्दै केहीबेर रोकिइन् ।

” अनि अहिले कहाँ छन् रे त उनी ?”— मैले नै प्रश्न गरेँ ।
” यतै काठमाडौतिरै छन् रे भन्ने सुनेकी छु । कस्तो देख्न मन लागेको छ । कसरी पत्ता लगाउने होला ? फेरि खोजेर जाऊँ भने पनि सौता भनेर झगडा पो गर्छिन् कि जस्तो लाग्छ । हुन त म उनी छँदाछँदै मन खुशीले आएकी त होइन नि है दिदी ?” — प्रश्न म माथि नै आयो ।

” होइन बहिनी होइन , मैले छोडेपछि अभागिनी बन्न भित्रिएकी हौ । तिमीलाई मैले किन सौता भनेर झगडा गर्थेँ र ? तिमी मेरो दु:ख र पीडाको अनुभव गर्ने खास बहिनी बनेर भित्रिएकी छौ भन्दै अंकमाल गरेर रुन मन थियो । तर सकिन । आफूलाई सम्हालेँ । र भनेँ — ” एउटीले छाडे पछि ल्याएकी तिमीलाई पनि श्रीमतीको स्थान दिएका छैनन् है तिन्ले ?”

” छैन दिदी , उसको कामवासना पूरा गर्ने साधन मात्रै बनेकी छु । उसकी श्रीमती होइन । एउटै कोठामा र एउटै बिस्तारामा सुतेर मात्रै श्रीमती बन्न नसकिने रहेछ । श्रीमानको असली माया भन्ने नै थाहा नपाएपछि के को श्रीमती भनेर भन्नू । समाजका अगाडि श्रीमान छ भनेर राता कपडा पहिरन पाएकी छु त्यै हो । अरु केही छैन दिदी ।

हिम्मत खुवी नभएको शिक्षित लोग्नेकि श्रीमती हुन भन्दा त क नचिनेको साहसी हलीकी श्रीमती हुन वेश दिदी । यस्तालाई के गर्नु ? न केही गर्न दिन्छन् ! न आफू गर्छन् । न निल्नु दिदी न ओकल्नु । त्यसैले मैले ती दिदी( सौता) लाई भेटेँ भने तिमी महान हौ भनेर सात चोटि ढोग्ने थिएँ ।

मैले कुरा मोड्ने उद्देश्यले भनेँ –” आज कता गएर बस्छौ त बहिनी ? हिँड हाम्रोमा जाऊँ । छोरीलाई त देख्यौ । मेरो छोरो पनि छ देखौली । आज बसेको ठाउँ देख्यौ भने भोलिपर्सि आउन सजिलो हुन्छ। म काठमाडौंमा रहने बेलासम्म अरु कसैको घरमा गएर बस्न पर्दैन । मलाई तिम्रै दिदी सम्झ । मेरा बहिनी छैनन् । आजदेखि तिमी नै मेरी बहिनी भयौ । हृदयबाट नै भनेकी छु । जाऊँ हिँड मसँगै । रातभरि दिदीबहिनी कुरा गरौला ।
” आज त जान्न दिदी । अर्को पटक आउँदा म जसरी पनि हजुरको घरमा नै आउँछु । अँ , साँच्चै भिनाजु के गर्नुहुन्छ नि दिदी ?”

” छैनन् बहिनी भिनाजु । मान्छे त छन् यही धर्तीमा तर मेरो लागि मरिसके । म पनि तिम्रो जस्तै व्यथा र पीडाले व्याकुल भएर बसेकी मान्छे हुँ । जीवन संघर्ष हो त्यसैले संघर्ष गर्नबाट डराउनु हुँदैन । तिमी पनि मेरी बहिनी हौ । संघर्ष गर । छोराछोरीको भविष्य बनाऊ । कहिल्यै पछाडि नहट । मेरो आशिर्वाद छ तिमीलाई । अब म जानुपर्छ । मेरो छोरो आउने बेला भयो । लौ यो फोन कार्ड । यो कार्डमा मेरो नाम र नम्बर छ । कुनैपनि बेला सहयोग चाहिएमा फोन गर्न सक्छौ । भन्दै हिँड्न खोजेँ ।
उनीले फोन कार्ड हातमा लिइन् र मतिर हेर्दै आँखाभरि आँसु बनाउँदै भनिन । हजुरको नाम र कहानी पनि मेरै दिदी ( सौता) को कहानीसँग मिल्दो रहेछ । कि हजुर नै …. हुनुहुन्छ भन्न खोज्दै थिइन् । म सुनेको नसुन्यै गरेर त्यहाँबाट हिँडे ।

***

प्रतिक्रिया

सम्बन्धित खवर