✍️ सुरेश गौतम

 

पुरै गाउँमा अन्धकारले जितेको थियोे । झ्याइ झ्याइ झ्याउकिरी कराएका आवाज चिर्दै बाहिर कुकुर भुक्यो । कुकुर भुकेको सुनेर गाउघरका अन्य कुकुरहरू पनि भुके । फेरि त्यो कुकुर ड्यार ड्यार आवाज निकालेर अझ तिब्र गतिले भुक्यो ।

चुपलाग ! चिन्दैनस् ।” भन्ने आवाज गुन्जिन्छ । सुनसान रात घरमा एकल बृद्धको स्वास्नीमान्छेको मन ढक्क फुल्यो । उनले शुन्य मनस्थितिमा बाहिरको आवाज ठम्याउन कोसिस गरिन् । उनलाई कुनै चिर परिचित ब्यक्तिको आवाज लाग्यो । उनको मनमा उत्सुकता र को होला ! भन्ने कौतुहल पनि व्याप्त थियो ।

ढोका ठक् ठक् पार्दै त्यस्तै आवाज पुन आयो । ” जेइ , ए जेइ सुतिसक्नु भयो ?”

उनले टुकी बत्तीको उज्यालो लिएर ढोकाको छेउमा कान थापेर सोधिन् । “को हो हँ ?”

“जेइ , म के विमली ।”

आफ्नै छोरी हो भन्ने , निस्चय भएपछि ढुक्कसँग ढोका खोलीन् । अन्धकारले छोपेको ब्राह्मण्ड केहि हदसम्म टुक्कीको उज्यालोले चिर्ने कोसिस गरेको थियोे । धिपधिपे उज्यालोमा निर्दोष नयन र मन मस्तिष्कले ठम्याइन् । उ साच्चिकै विमला थिइ । उसलाई गाउघरमा विमली भन्थे । विमला उनको आफ्नै छोरी थिइ । क्षणिक मौन पछि “अहम्” गरेर आफ्नो आवाज सफा गर्दै भनिन् । ” एक्कासि आइस् त ! पहिल्यै खबर गर्नु पर्दैन । भित्र आाइज ।”

“खै ढोगम्” भनेर आमालाई हातमा ढोग्दै विमला घर भित्र पसि । उनको साथमा दुई वर्षको छोरा पनि थियोे । चुपचाप निदाएको जस्तै गरेर काखमा लहसिएको । आमाका आँखा अझै प्रतीक्षामा थिए । उनले बाहिरको अध्यारो सकी नसकी नियाल्दै थिइन् । कुकुर भुक्न छोडेर चुपचाप उनको खुट्टामा लटपट गर्न आइपुग्यो । गाउँका कुकुरहरू पनि भुक्न छोडे । झ्याउकिरीको झ्याइ झ्याइ गर्ने आवाज अझै यथावत थियोे ।

“आयन , ल बस् त ।” भनेर विमलाले छोरा भुइँमा उभ्याइन् । छोरा अझै गुटुमुटु गरेर उनको काखमा लहसियो । फेरि छोरा काखमा लिएर भनिन् । “जेइ ढोका लगाउनु । चिसो सिरेटो आयो ।”

“खै; ज्वाइ आउनु भएन त?” आफ्नो प्रतीक्षा निरर्थक लागेर छोरीलाई सोधिन् ।

ती कुरा गर्दै गरौंला । अहिलेलाई भोक लाग्यो । छोरा आयन पनि भोकाएको छ । अम् , साच्चै जेइ , दुध त छ नी ? आमाको प्रश्न किनारा लगाउँदै सोधिन् ।

आमाले ढोका लगाउँदै प्रफुल्ल मुद्रामा भनिन् । “तँ आउछेस् भन्ने थाह पाएर गाई ब्याएको रहेछ । जाऔ भित्र , अगेनामा बसौं । आगो अझै ज्युदै होला ।”

सेतो काँस झै फुलेको कपाल खिङ्रिङ्ङ भएपनि , पत्रै पत्र परेर चाउरिएको उनको अनुहार धेरैपछि उज्यालिएर आयो । सधैंभरि सुनसान हुने घर सहसिलो भएको थियोे । उनलेे दाउरा जोडेर आगो सल्काइन् । अगेना वरपरको उज्यालोले उनका आँखा पनि चम्किलो भयो । नियालेर नातिको अनुहार हेरिन् । उसले पनि टुलुटुलु हेरिरहेको थियो ।

“नातिको नाम केहो ? बोल्दैन त ?” आमाले फेरि सोधिन् ।

“आयान हो । बोल्छ । ल छोरा , उठेर जेइलाई जिउ गर्दे ।” उसले टाउको उठाएर आफ्नै आमाको अनुहार हेर्यो । “कुकुर देखि डराएको होला ! धेरै थाकेको पनि छ ।” भनेर फेरि काखैमा लिइन् ।

गाउघरका सबैको सन्चो विसन्चोको खबर लिइन् । कुरा गर्दै गर्दा भान्सा तयार भयो । छोरालाई काखैमा राखेर हातले खाना खुवाइन् । ओछ्यानमा लगेर सुताइन् । थाकेको थियोे, निदायो ।

विमला खाना खान बसिन् । आमाले नजिकै छेउमा रहेको सुल्फामा सुर्ती भरेर सल्काइन् । कहिलेकाही मनमा धेरै कुरा खेल्यो भने सुल्फा तान्ने बानी थियो । मुखले एक सर्को लिएर धुवा उडाउन थालिन् । आफ्नोे मनमा गढेको कुरा उप्क्याउदै सोधिन् । “ज्वाइ पनि सँगसँगै लिएर आएको भए देखभेट हुन्थ्यो ।”

विमलाले च्यठ्ठिएर भनी । “कहिल्यै आन्नन् अब तिनी , हाम्रो डिभोर्स भैसक्यो ।”

“के भन्या त्यो ? के भैसक्यो भन्छे ।” टुकीको धिपधिपे उज्यालोमा आफ्ना चिम्सा आँखा छोरीलाई तरेर भनिन् । उनी कुरा नबुझेर रनभुल्लमा थिइन् ।

“छोडपत्र गरेँ । मैले पोइ छोड्देँ के । धोकेवाज थ्यो त्यो ।” झर्रो आवाजमा अझै च्याठ्ठीएर विमलाले भनी ।

आमाले लामो स्वास लिएर आँखा दलिनमा पुगाइन् । ध्वासो धुवाँले रङ्गिएका काला दलिनमा माकुरोले जाल बुनेको थियोे । “तँ कति जाद्रि काडा भइस् हँ । तँ कतै कहीँ अटाउन्नेस् । पढ भन्दा पढ्न छोडेर पोइल हिड्ने । तैपनि अब त सुख सन्तोष होला ! भन्दा पोइ छोडेँ भन्छे ।” उनको बोलीमा आकस्मिक खिन्नता र मनमा गम्भीर चिन्ता छायो । भएजति सम्पूर्ण दोष छोरीलाई थुपारेर बर्बराइ रहिन् ।
छोरीका आँखा रसाए । “जेइ त्यस्तो नभन्नु न ।” भन्दै घुक्क घुक्क गरेर रुन थालिन् । सके जति रोइन् । आफ्नो मन पुर्णतः सान्त नहुदा सम्म रोइन् । आमाको बर्बर निर्दोष कर्कस वचन सुनिरहिन् । पछि आफूले आफैंलाई सम्हालिन् । किनभने उनले आमाको मन पनि सम्हाल्नु थियो । सत्य तथ्य बताउनु थियोे । दुई हातले आँसु पुछ्दै नम्र भएर भनिन् ।

“जेइ , उसले पहिल्यै बिहे गरेको रहेछ । श्रीमती गाउँमा छोडेर धोकाले फकाएर मसँग बिहे गर्यो । सहरमै कोठाभाडा लिएर बसाल्यो । उसको ड्राइभरको जागिर । यसो दुईचार दिन गायब हुन्थ्यो । चुपचापले घरमा जाने आउने गर्दोरहेछ । उसले मलाई घर कहिल्यै लगेन । नातागोता , आफन्त कसैसँग पनि चिनाएन । बुझ्दै जाँदा चेत खुल्यो । म के गरु जेइ ।” बोल्दा उनको आँखा भरि आँसु थियो । आमाको काखमा शिर राखेर भक्कानिएर फेरि रोइ ।

छोराछोरी जस्ता भएपनि आमाको हृदयबाट दया , माया कहिल्यै खस्किएको हुँदैन । उनका अरू सन्तानहरू नभएका पनि होइन । सबै गन्तीका पाँच सन्तान थिए । दैव लाग्यो । तीन सन्तान हुर्काउँदा हुर्काउँदै सानैमा काखबाट खेर गए । जनयुद्धको आँधी बेहरीले श्रीमान लग्यो । जनयुद्ध छिचोल्दै बचाएर बिदेश पठाएको एउटा छोरा पनि उतै खस्यो । बेला बेलामा सबैलाई सम्झेर रुनु मात्र । विमला सन्तानमा बचेकी एक्ली छोरी थिई । दुधे बालक हुँदा नै टुहुरी भएकी आखाकी नानी थिई । उनको मनमा सधै भगवान सँग छोरीका लागि सुख शान्तिको कामना हुन्थ्यो । उनका सन्तान छोरी बाहेक अरू कोही पनि बचेको थिएनन् । उनले छोरीको शिरमा हात राखिन् । मनमनै भगवान साक्षी राखेर छोरीलाई सुख समृद्धिको आशिष दिइन् । उनका आँखा रसाए । उनका आँसु थोपा थोपा गरेर छोरीको शिर माथि पर्छ ।

“अब यो नानी , यसको त बिजोग हुने भयो त । यसलाई पनि उसैको जिम्मा …..। भन्दै गर्दा विमलाले आमालाई बिचमा रोकेर भनिन् । जेई रुखका काडाले कहिल्यै आफ्नो कोपिला कोतर्दैन । अडिग रहेर फुलाउँछ फलाउँछ । मैले यस्तै सोच्छु । त्यस्तै गर्नेछु । आमा छोरीको रोदनमा रात छिप्पियो । टुकीको उज्यालोले हर सम्भव उनीहरूलाई साथ दिइरहेको थियोे ।

बिहान उज्यालो नहुँदै विमला आमाको छेउमा गएर भनिन् । “जेइ , अब म जान्छु अबेर हुन्छ ।”

“कहाँ जान्छु भन्छे ? राम्रोसँग उज्यालो भएकै छैन ।” आमाले आश्चर्यचकित मुद्रामा ओछ्यानबाट उठ्दै भनिन् ।

चारदिन पछि म बिदेश जाँदै छुँ । ढिला हुन्छ । फेरि आयन उठेपछि मलाई छोड्न मान्दैन । त्यसका लुगाफाटो पनि त्यहीँ ब्यागमा छ । हेर्नू होला ।” भन्दै घरबाट बाहिर निस्किन् । निरीह आमासँग हज्जारौं प्रश्न थियो । तर उत्तर दिने छोरी हतारमा घरबाट हिडिसकेकी थिइन् । एक्कासि उनको टाउकोमा बज्र परेझै भयो । टुकीको उज्यालोले नातिको अनुहार हेरिन् । निकैबेर हेरिरहिन् ।

भाले वास्यो । चराचुरुङ्गीका चिरविरे आवाज गुन्जन थाले । टुकीको उज्यालोलाई सुर्यको तेज प्रकाशले मथ्थर पार्दै गयो । नाति उठेर मामु भनेर रुन थाल्यो । उनलेे सम्हाल्न खोज्दा झन च्याठिएर रोयो । सकी नसकी बोकेर बाहिर ल्याइन् । कुखुरा देखाइन् । गाईको बाच्छो देखाइन् । रुखवृक्ष चराचुरुङ्गी देखाइन् । वरपरका प्रकृतिसँग परिचय गराइन् । आफूपनि बच्चा सँगसँगै हराइन् । बच्चासँग हराउँदा उनलाई पनि आनन्द महसुस भयो ।

दिनहरू बित्दै गए । उनको दिनचर्या बदलिन थाल्यो । नाति हरबखत जेइ भनेर पछि लाग्थ्यो । उसलाई बारीको डिलमा राखेर घाँस काट्थिन । डोको माथि गाग्री , गाग्री माथि नाति राखेर पानीपधेँरा गर्थिन् । गाईको बाच्छा , बाख्राको पाठा , कुकुर , बिरालो नातिका साथी भएका थिए । नाति तिनीहरू सँगै रमाउथ्यो ।

सन्ध्या बितेपछि धिपिक्क अध्यारो भएर आयो । बज्यै नाति अगेना बसेका थिए । उनले सुल्फामा सुर्ती भरि सल्काएर तान्न सुरु गरिन् । टुकीको उज्यालोमा टोलाउँदै नातिले तोतेबोलीमा उनीसँग सोध्यो । “जेइ , मेरो मामु कहिले आउछ ?”

उनले निशब्द एकोहोरिएर नातिलाई हेरिन् । केही नबोली सुल्फाबाट अर्को एक सर्को लिएर धुवा उडाइन् । नातिले फेरि घचेट्दै दोहोर्‍याएर सोध्यो । “जेइ ,ए जेइ , अब मेरो मामु कहिले आउछ ?”

“बाहिर रुखहरू छन् नी तिनीहरूमा फुल फुलेपछि आउँछ ।” उनले सान्त्वना दिँदै भनिन् । नाति जुरुक्क उठेर बाहिर जान आट्यो । सुल्फाको आगो निभाएर जलेको सुर्ती बाहिर खन्याउँदै भनिन् । “अब भोलि बिहान हेर्नू ।”

बिहान सुर्योदय संगै नाति उठ्यो । उसले वरपरका रुखवृक्षमा नजर लगाउँदै बारीको डिल वरपर रहेका लाली गुराँसका रुखमा बसेका चरा देखेर हा.. हा.. गर्दै भन्यो । “जेइ रुखमा बसेका चरा उडाउनु न । चराले रुखको फुल खाईदिन्छ ।”

उनी मुसुक्क मुसुकुराइन् । अबोध बालकको बालापन देखेर । उसको भरखरै तोते बोली फुटेको थियोे । स्नेहले काखमा लिएर रुखका चरा उडाउन खेतबारीमा डिलमा लागिन् । खेती गर्न उनलाई आजसम्म त्यति सकस थिएन । खेतबारी उनका माइती आएर जोत्ने र स्याहार्ने गरिदिन्थे । आधा अन्नपात उनैले लिएर जान्थे । तर उनलाई कुनै सन्ताप थिएन । उनले भन्ने गर्छिन् । “गर्नेले नै खाने हो । धन्न मलाई पनि खुवाएका छन् । नाइ भने मेरो खेतबारी बाँझै हुन्थ्यो होला ! म पनि बुढेसकालमा भोकभोकै मर्थे । काम गर्ने कोही नभएर ।”

दिन बित्न समय लाग्दो रहेनछ । बसन्तका पालुवा पलाएर मौलाए । रूख विरुवाका कोपिलाहरू फुल बनेर फलमा परिणत भए । लाली गुराँस रातै फुलेर रित्तिए । सिमलको फुल फुलेर भुवा बनेर उड्यो । नाति आयन पनि तीन बर्षको भैसकेको थियोे । अब उसका सबै कपडा छोटा भएका थिए । उनको आफ्ना फाटेका कपडा पनि सुइ धागाले सिलाउदा सिलाउदा अब सिलाउन नमिल्ने भइसकेको थियोे । बाख्राको पाठो , कुखुराको चल्ला बेचेको पैसा लिएर बिहानै नातिसँग बजारको बाटो लागिन् । नातिले घरि बोक्न भन्थ्यो । घरि दगुर्थ्यो । बल्लतल्ल मोटर बाटो भेटाएर बसमा चढेर बजार लागिन् ।
बसमा नातिले सोध्यो । “हामी मम्मी हुने जाने हो ।”

“अँह यो गाडी जाँदैन । अर्को गाडीमा चढेर तेरो मम्मी आफै आउछे ।” उनले सान्त्वना दिन भनिन् ।

नाति आयन एकछिन शान्त भएर बस्यो । त्यसपछि झ्यालबाट बाहिर हेरेर आउजाउ गर्ने गाडीलाई औंल्याउदै चिच्याउन थाल्यो । “हाम्रो मम्मुको गाडी , अर्को मम्मुको गाडी ।”

नयाँ लुगा पाउदा नाति आयनमा खुसीको सिमा थिएन । नयाँ लुगा देखाउन आफ्नो मम्मीको फोटो अगाडि धेरै बेर उभियो । प्रतिक्रिया पाएन । बाहिर गएर बाख्रालाई देखायो । गाईका बाच्छालाई देखायो । कुखुरा , कुकुर सबैलाई देखायो । कसैबाट पनि केहि प्रतिक्रिया पाएन । “जेइ” भन्दै निराश मन लिएर भित्र गयो । सन्ध्या भैसकेको हुन्छ । जेइलाई नदेखेर अगेना छेउको ओछ्यानमा त्यतिकै पल्टियो । निदायो , निद्रामा बर्बराउन थाल्यो । “जेइ , रुखमा फुल कहिले फुल्छ ? मम्मी आउने गाडी कहिले आउँछ ?”

उनी पधेरा गएकी थिइन् । पधेराबाट आउँदा नाति निदाइ सकेको थियो । थाकेको होला भन्ने सोचिन् । अगेना नजिकैको टुकीमा बत्ती बालिन् । अगेनामा आगो सल्काइन । भान्सा धन्दाको तयारीमा लाग्नु पुर्व सुल्फामा सुर्ती भरेर सल्काइन् । अब नियमित सुल्फा तान्ने उनको बानी भैसकेको थियोे । उनीपनि अघिल्लो दिनको यात्रामा धेरै थाकेकी थिइन् । उनलाई साथ दिने कोहि थिएन । नजिकै ओछ्यानमा आँखा लगाइन् । नाति सुतेको थियोे । बर्बराउदै थियोे । बर्बराएको सुनेर जुरुक्क उठेर उसको शिरमा हात राखिन् । ” आयन! आयन!!” भनेर नाम लिँदै घच्घच्याइन् । उसलाई हनहनी ज्वरो आएको थियोे । आत्तिएर उठाइन् । उसका आँखा रसिला भएका थिए । सकी नसकी बोकेर माइतीमा लगिन् । माइती पल्लो गाउँ पुग्न एक घन्टा लाग्थ्यो । तर हस्याङ फस्याङ गर्दै आधा घन्टामा पुगिन । सल्लाह अनुसार औसधि गरेर घर ल्याइन् । मनले मानेन धामीझाँक्री बोलाएर फुकफाक गर्न पनि लगाइन् । कुल देवताको हृदयले सरण परिन् । तीन दिन पछि सुधार भयो । समय पनि सहज हुँदै गयो ।

एक एक गरेर दिनहरू बित्दै गए । उनलाई समय बितेको पत्तै भएन । कटाउन जुम्ला लाग्ने दिनहरू पानी पधेरा सरह भएका थिए । उज्यालो सँगसँगै उज्यालिएका दिनहरू सन्ध्यामा पनि उज्यालिएर अस्थाउथे । फेरि अर्को दिन पनि उज्यालै हुने आशा दिएर । दिनहरू निकै रमाइला भए । करेसाबारी नजिकै मोटरबाटो आइसकेको थियोे । बिजुलीका खम्बाहरू ठडिदै थिए । बसन्त रितुको आगमन संगै फेरि बोटवृक्षमा पालुवाहरू पलाउन थालेका थिए ।
बिहानै नाति बाहिरै खेल्दै थियो । उनी पनि बिहानको काम सकेर पिढीमा सुल्फा तान्दै बसिरहेकी थिइन् । परैबाट निन्याउरो मुख लगाउँदै आफ्नो माइती भाइ आएको देखिन् ।तुरुन्तै भाइको हनुहारका भाव पढेर सोधिन् । “के भो भाइ ? घरमा सब ठिक त छ ?”

“खै दिदी , के भनौं । तिम्रा दुख बाह्र हात थिए । मेरा दुख झन् अठार हात हुन पुग्यो ।” भाइ नजिकै छेउमा आएर बस्दै भन्यो ।

“हैन ! के भयो र ? “सुल्फाबाट अन्तिम सर्को लिएर सुल्फाको सुर्ती टक्टक्याउँदै फेरि सोधिन् ।

“के हुनु दिदी ! छोराहरू बिदेश लागे । अब दिन सुखका आए भन्ने सोचेको थिएँ । बुहारीहरू छोराछोरीलाई पढाउनुपर्छ भन्दै सहरमा डेरा लिएर बस्छन् । उतै रमाएका छन् । घर आउन मन गर्दैनन् । आफ्नो खेतबारीका अन्नपात त्यत्तिकै छ । अब तिम्रा खेतबारी कसरी स्याहारनु । अब त सकिन्न होला ।” भनेर सुनायो । उनलेे भाइको वृतान्त सुनेर सान्त्वना दिँदै भनिन् । “दैवको लीला भनौं कि ईश्वरको मर्जी ! जे होला ईश्वर छन् ।” भाइ केहि नबोलेर जुरुक्क उठ्यो । ” एकछिन बस् ! खाना खाएर जालास् ।” भन्दाभन्दै निस्केर गइसकेको थियोे । निकै बुझ्ने कोसिस गरेर कुरा सुनिरहेको नातिको अनुहार हेरिन् ।

नाति आयन पनि पाचौं बर्षमा पाइला टेक्दै थियो । उसको पनि पढ्ने उमेर भइसकेको थियोे । उनलाई मान्छेले पढेपछि केहि न केही गर्छ , भन्ने पुर्ण विश्वास थियो । श्रीपंचमीको दिन पारेर नजिकैको स्कुल लगिन् । नयाँ सत्रदेखि भर्ना गर्ने सर्तमा फर्कदा बर्णमालाको एउटा किताब पनि किनेर ल्याइदिइन् । पहिलो पृष्ठमा अनार र आमा भन्ने सब्द सहित चित्र देखेर आयन हौसियो । उसको खुसीमा नै उनको पनि खुसी थियोे ।अगेनाको आगोले सुल्फामा सुर्ती सल्काएर धुवाको सर्को लिन थालिन् ।

हातमा किताब लिएर गाईवस्तु , रुख बिरुवा र सडकमा गाडी गुडेको हेर्ने आयनको दैनिकी भइसकेको थियोे । उसले सधैं झैं नियालेर बाहिरको प्रकृति हेर्यो । वरपरका आँप , अनारको , जामुनाको रुखमा पालुवा सँगसँगै फुल खिलेका थिए । बारीको पाटामा वरपर फुलेर रातै भएको लाली गुराँसको रुखमा चराचुरुङ्गीहरू बसेका थिए । हा.. हा… गरेर चिच्यायो । ढुङ्गा खोजेर फाल्यो । रुख टाढा थियोे । त्यहाँ सम्म पुगेन । च्यो च्यो गरेर कुकुरलाई बोलायो । नजिक आएको कुकुरलाई पकड पकड भनेर चरालाई देखायो । कुकुर भुक्यो । ज‍ोडले ड्यार ड्यार गर्दै भुक्य‍ो । कुकुर बाटोमा गाडी बाट मान्छे ओर्लेको देखेर भुकेको थियो । गाडीबाँट एउटी महिला हातमा ब्याग लिएर हतारहतार उत्रिदै थिइन् । उत्रिदै गरेको महिलालाई आयनले पनि देख्यो । उनका पाइलाले उसको घर पछ्याइरहेको थियोे । आयन दगुर्दै भित्र गएर भन्यो । “जेइ , जेइ हेर्नू त को आइराछ ।”

आमाले बाहिर निस्केर हेरिन् । उ छोरी थिइ , आयनको मम्मी विमला थिइ । खुसीमा औंल्याएर भनिन् , “त्यो त तेरो मम्मी हो ।”

“चुप चुप ” भन्दै भुकिरहेको कुकुरलाई छोपेर बाधिन् । भुक्न छोडेर कुकुर उनको खुट्टा वरपर घुम्न थाल्यो । सायद कुकुरले पनि आफ्नो मान्छे भनेर चिनिसकेको हुनुपर्छ । उनमा हर्षको कुनै सिमा थिएन । निकै दिनपछि उनका आँखामा हर्षका साथ टलवलाएका आँसु आयनले निसब्द हेरिरहेको थियोे ।

विमला नजिक आएर आमालई ढोग्दै छोरा तर्फ हेरेर भनिन् । “आयन , हेर त मैले तिमीलाई के के ल्याइएको छु ।” ब्याग खोलेर मिठाइँ , खेलौना अगाडि राखिन् । उसले जेइको मुखमा हेर्यो । ” तेरो मम्मुले तँलाई ल्याइ दिएको हो लैजा ।” उनले भनिन् । उसले चुपचाप कहिले जेइ त कहिले मम्मीको अनुहार नियालेर हेरिरहयो ।

सधैं ठुला ब्याग बोकेर हिड्ने छोरीको हातमा एउटा सानो ब्याग मात्र देखेर भनिन् । विमली तैंले लुगाफाटोको झोला ल्याईनस् त ! आयनका लुगा पनि फाटेका थिए ।”

“भोलि बिहानै हिड्नु पर्नेछ । कति भारी बोकौ भनेर ल्याइन ।” विमलाले छोरालाई काखमा लिदै भनिन् । एकछिन अगाडि सम्म उत्साहित भएको आमाको मन एकाएक कटक्क काटिएर आयो । छोरीलाई सुनाउन मनभित्र अनेक वेदनाहरू सँगालेर राखेकी थिइन् । हजारौं प्रश्न सहितका वेदना सुनाउने आँट सेलाएर गयो । मनभित्रै त्यतिकै पिल्सिएर बसे । नातिको मुखमा हेरिन् । नाति लहसिन उनको नजिक आयो । चुपचाप उनी घरभित्र छिरिन् । अगेना छेउ बसिन् । सुल्फामा सुर्ती भरेर सल्काइन् । धुवाको एक सर्को लिएर उडाइन् । धित मरेन अझै जोडले लामो सर्को तानिन् । निसास्सिएर खोकी लाग्यो । रातभर पटकपटक खोकी रहिन् ।

बिहान उठ्दा सम्म पनि उनलाई खोकीले राम्रोसँग छोडेको थिएन । बिहान अध्यारै थियो । विमला उठेर टुकी बालिन् । त्यही टुकीको उज्यालोमा छोरालाई तयार गरि आमाको छेउ गएर भनिन् । “जेइ अब हामी जान्छौं ।”

“आयन पनि ?” आमाले नाति पनि आफ्नो मम्मीसँग तयार भएको देखेर ओछ्यानबाट उठ्दै भनिन् ।

“अम् के जेइ । अब हामी उतै बस्छौं । म बिदेशबाट आएपछि यसको बाउँ संग पनि कुरा मिलेको छ । यसको स्कुल पढ्ने बेला भयो । शहरमा कोठा भाडा लिएका छौ । मैले पनि उतै सानोतिनो काम भेटाएकी छुँ । अप्ठ्यारो भएपछि आएर जमिन भएपनि बेच्नुपर्ला । आखिर सम्पत्ति मेरै त हो ।” भन्दै छोरा लिएर हिडिन् ।

आमा उठेर ढोका सम्म पुगिन् । बाहिर अझै अध्यारो थियोे । ढोकामा थचक्क बसिन् । भाले वास्यो । चराचुरुङ्गीका चिरविरे आवाज गुन्जन थालेको निकैबेर पछि बाटोमा गाडीको हर्न बज्यो । तैपनि उनी त्यहीँ बसिरहिन् । बिहानि अध्यारो छिचोल्दै उज्यालिएर आयो । उनलाई फेरि ख्वाङ ख्वाङ गरेर खोकी लाग्यो । खोक्दै उठिन् । घर भित्र छिर्दा टुकीको उज्यालो बिहानीको उज्यालोले मथ्थर भैसकेको थियोे । खोक्दै अगेनामा छेउमा बसिन् । तर आज उनको मनलाई कुनै उज्यालो किरणले छुन सकेको थिएन ।

प्रतिक्रिया

सम्बन्धित खवर