✍️ सुरेश पाण्डे
मुक्तक – एक
बास्ना जति रित्तिएको फूलमा परे मत
अन्जानैमा यति ठूलो भुलमा परे मत
भुल्न खोज्दा दुख्छ यो मुटु भित्र भित्रै
कस्तो माया पिरतीको मुलमा परे मत
मुक्तक – दुई
मैले यस्तो ब्यावहार जानी जानी गरेको हुँ
तिमीलाई लाग्छ मैले मनोमानी गरेको हुँ
सधैँ मेरो जिन्दगी बगरमा राखेपछि तिम्ले
बाँच्नको लागि दुखबाट आम्दानी गरेको हुँ
मुक्तक – तीन
मुटु पनि लैजाउ कुनै काम छैन मेरो
तिम्रो संसारमा बाँच्ने नाम छैन मेरो
चिहानसम्म पुगेर फर्किनु प्रिया तिमी
लासलाई आगो दिने कुनै राम छैन मेरो
मुक्तक – चार
भोलि आउने समय आजै देख्न मिल्ने भए
भाग्य कर्म आफ्नो आफै लेख्न मिल्ने भए
यो संसारमा कति खुशी हुन्थ्यो यो मनलाई
बाँचेर धर्तीमा सधै भरी टेक्न मिल्ने भए
मुक्तक – पाँच
सधैँभरी मलाई आफ्नो जन्जिरमा राखेर
साथी गयो आज जिन्दगी मन्दिरमा राखेर
लाखौ जुनीसम्म साथ दिने कसम थियो
आखिर फिर्ता भयो बाचा तस्वीरमा राखेर
प्रतिक्रिया
-
४