✍️ मोहन गौतम

भयो मोज धेरै जतै मात्तिँदै छन्
छुनै हुन्न आँटो भनी तर्किँदै छन्

सधैँ बाडुली मात्र लाग्दै छ साथी
बुझेँ सम्झनामा उनी तड्पिँदै छन्

लुटेराहरूले लुटे देश मेरो
छु निर्दोष भन्दै अझै सङ्लिँदै छन्

असन्तुष्टि मनमा भए झट्ट फालौँ
हुने शान्ति मनकाहरू दौडिँदै छन्

हरायो सबैथोक संस्कार आज
पुराना कसौटी निकै मासिँदै छन्

गजल – दुई

पिँजडा होइन सिकार खेल्न खुल्ला बन चाहिन्छ
फलाम कुट्न त फलामकै गतिलो घन चाहिन्छ

छुस्स ठेस लाग्दा चस्स दुख्नु पर्छ हामी सबैलाई
सम्झिए पुग्छ भन्दिन म समीपमा तन चाहिन्छ

जातीय हित यदि हामी गोर्खालीले चाहन्छौ भने
दृढ सङ्कल्प बोकेको चोखो नेपाली पन चाहिन्छ

जन,धनको पछि मात्र लाग्छन् नेता कुन्नि किन हो
सरकार चल्न त जनताको समर्थन चाहिन्छ

संसारमा छरिएर यत्रतत्र बसे पनि हामी
आफ्नो अस्तित्व जिवित राख्न पवित्र मन चाहिन्छ ।।

बहर : मुतकारिव मुसम्मन सालिम
अर्कान : 122–122–122-122

प्रतिक्रिया

सम्बन्धित खवर