✍️ डा. अपर्णा पोखरेल

इन्द्रकुमार श्रेष्ठ ‘सरित्’ द्वारा लिखित ‘जस्केलोबाट चियाउने सूर्य’ धवलागिरि साहित्य प्रतिष्ठानले प्रदान गर्ने ‘काजी रोशन पुरस्कार’ (२०५६ साल) प्राप्त कथा सङ्ग्रह हो । यस कथा सङ्ग्रहमा श्रेष्ठका विभिन्न पत्रपत्रिकामा छरिएका १६ ओटा कथाहरु समेटिएका छन् ।

श्रेष्ठका यस कथा सङ्ग्रहमा सङ्गृहित धेरैजसो कथाहरु मनोवैज्ञानिक सिग्मण्ड फ्रायडको मनोविश्लेषणबाट प्रभावित छन् । फ्रायडले मान्छेको मनको विश्लेषण गर्ने भएकाले फ्रायडबाट प्रभावित भएका लेखकहरुले पनि पात्र वा चरित्रको चित्रण गरेर कथाको निर्माण गर्छन् । फ्रायडका अनुसार मान्छेका चेतन, अवचेतन र अचेतन गरी मनका तिन तह हुन्छन् । मान्छेका मनमा लागेका प्राय थुप्रै कुराहरु पूरा हुँदैनन्, त्यसले मान्छे मनमनै तरङ्गिन्छ । मान्छे तरङ्गिएर नै आफ्नो इच्छा पूरा गर्न खोज्छ । तरङ्गिनु भनेको अवचेतन मन सक्रिय हुनु हो ।

त्यसपछि मान्छे दिउँसै बसेर सपना (दिवा स्वप्‍न) देख्‍न थाल्छ, दिवा स्वप्न देख्‍नुलाई स्वैर कल्पना भनिन्छ । स्वैर कल्पनाकै कारण मान्छेका इच्छा र थिचिएका रहरहरु पूरा हुन्छन् । जुन मान्छे हिम्मत भएको हुन्छ, उसले आफ्नो जीवनमा तरङ्गिनु पर्दैन किन भने, उसले यथार्थमै चरितार्थ पार्छ । मान्छेको लडाईँ गर्ने क्षमता कम भयो भने मान्छे जीवनको यथार्थबाट पर भाग्‍न थाल्छ र उसले दिवा स्वप्‍नको लोकबाट सन्तुष्टि लिन थाल्छ ।

फ्रायडका अनुसार अचेतन व्यक्‍तित्व यौन रूपमा पशु जस्तै हुन्छ । पाशविक बेहोराहरुलाई चेतनमा अहमले आउन दिँदैन । अवचेतनले अचेतनबाट सबै वस्तुलाई जान दिँदैन । सुखेच्छालाई रगड्ने समाजमा अभिव्यक्‍त नहुने तत्त्वहरु अचेतनमा गएर रहन्छन् र मौका पाए पछि बाहिर आउन खोज्छन् । त्यसलाई अहम् (इगो) ले बाहिर आउन दिँदैन । मान्छेलाई नाङ्गो हुन मन लाग्‍नु अचेतनको इच्छा हो । चेतनले नाङ्गो हुन नदिएर मान्छेले लुगा लगाउँछ । पराहम् कट्‍टर र निर्मम् हुन्छ भने अचेतन चाहिँ ज्यादै शक्‍तिशाली हुन्छ । मान्छेले जहिले पनि सुख मात्र चाहान्छ । स्वस्थ मान्छेमा पनि मनोरोगहरु रहिरहन सक्छन् ।

यसमा सङ्गृहित धेरैजसो कथाहरु फ्रायडको यौन मनोविज्ञानबाट प्रभावित छन् । प्राय सबै कथाहरुमा पात्रहरुले एकोहोरो मनोवाद गरिरहन्छन् । कथाहरु भित्र पात्रको अन्तरमनको द्वन्द्व छ । यस कथा सङ्ग्रहमा सङ्गृहित प्राय सबै कथाहरु छोटो एकै बसाइमा सकिने किसिमका छन् । अमेरिकन कथाकार ओ’हेनरीका कथाबाट यसमा भएका प्राय धेरै कथाहरु प्रभावित छन्, किन भने, सबै कथा ओ’हेनरीका जस्तै अन्त्यमा एक्कासि अद्भुत रसमा टुङ्गिन्छन् ।

१. चार किल्ला

यो नारीवादी कथा हो । यो कथा फ्रायडबाट प्रभावित छ । म पात्र प्रमुख रहेको यस कथामा खुल्लम खुल्ला यौन प्रस्ताव राख्‍ने महिलाको कथा अनि व्यथा छ । अनेक रसको प्रयोग भएको यस कथामा नारीलाई लुट्ने र पछि गएर भाषण दिने, अनि वेश्या शब्दले सम्बोधन गर्ने पुरुष प्रधान समाजप्रति तिखो व्यङ्ग्य छ । यो कथामा बिम्बहरुको प्रयोग गरिएको छ । पार्वती (शिवकी पत्नी), मेरी (जिससकी आमा) (२) ।

यस कथामा नेपाली समाजमा बोलिने तल्लो स्तरको भाषा शैलीको प्रयोग गरिएको छ, (जस्तै : रण्डीगिरी (३), हिन्दी भाषामा उखानको प्रयोग- ‘घोडा घाँस से प्यार करेगा तो खाएगा क्या?’(४), अङ्ग्रेजी भाषाको शब्द तथा वाक्यको प्रयोग- ‘वन-टु-थ्री- फोर-स्टार्ट, बिकाउज यु नो आ’म अ ब्याड गर्ल ‘।। (४)

२. प्रजातन्त्र भनेको यही हो ?

यो यथार्थवादी कथा हो । यसमा तत्कालीन समयको राजनीतिक परिस्थिति, बन्द र हड्तालबाट गरिब र निमुखा जनतामा पर्ने आर्थिक समस्या, भोक अनि अन्धाधुन्द चलाएको गोलीबाट मर्ने निर्दोष जनतालाई विषयवस्तु बनाइएको छ । ‘ढ्याङ्ग’ शब्द बन्दुक पड्केको हो भन्ने बुझाउनका लागि प्रयोग गरिएको छ ।

३. घात आघात

यो कथा इन्द्रबहादुर राईको ‘कठपुतलीको मन’ कथाबाट प्रभावित छ । ‘कठपुतलीको मन’ कथा डेरिडाको विनिर्माणवादबाट प्रभावित छ भने, श्रेष्ठको यो कथा इन्द्रबहादुर राईको ‘कठपुतलीको मन’ कथाबाट प्रभावित छ । ‘घात आघात’ कथामा काव्य, नाटक (दृश्य परिवर्तन), गीत, सङ्गीत अनुकरण शब्द (ढ्यान्टरान), आदि भएका हुँदा आख्यानको केन्द्र भत्किएको छ ।

यो प्रयोगवादी कथा हो । यो कथा पनि फ्रायडबाटै प्रभावित छ । कथा एकलाप शैलीमा छ । यसमा प्रयोग भएका शब्द तथा वाक्यहरुमा मान्छेलाई अरिमट्ठेसँग आरोपित गरिएको छ । ‘लाल्टिन बजारको उत्ताउला शृङ्गार’ (८), ढ्यान्टरान (१०), पैँतीस नाघेपछि ‘आइमाईहरुको ढाडैदेखि चिलाउँछ भन्ने भनाइमा ९९% नै सत्य छ त ?’ (८), भ्वाँ..! प्वाँ..! (७), आदि । काठमाडौँ सहरको यातायातको साधन र अनेक सहरी हावाले छोएका नरनारीको चर्तिकलाप्रति तिखो व्यङ्ग्य गरिएको छ।

४. सङ्घारमा

यो नारीवादी कथा हो । एउटी नारीकै ओरिपरि यो कथा घुमेको छ । यसमा नारीको अस्तित्वको कुरा छ । सङ्घार भित्र नै नारीका कथा व्यथा दबाइन्छ । कथामा नारीलाई कहीँ पनि आफ्नो खुल्ला विचार व्यक्त गर्न दिइँदैन । नारीले फरक सिद्धान्त राख्‍न पाउँदिन । ‘सङ्घारमा’ कथा बाहिर चाहिँ न्याय, समानता र स्वतन्त्रताको कुरा गर्ने, तर वास्तवमा चाहिँ बोल्न नदिने, अन्त्यमा विद्रोह गर्ने सोच बनाएकी नारीको प्रगतिशील विचार र अन्तरमनको कथा हो । कथाको बिच बिचमा अङ्ग्रेजी शब्दहरुको प्रयोग गरिएको छ ।

५. अर्थहीन

यो कथा कामुको विसङ्गतिवादबाट प्रभावित छ । यसमा जीवन दर्शनका कुरा छन् । कथा यथार्यपरक छ । यसमा म पात्र, मनोवाद वा एकलाप शैलीको प्रयोग गरिएको छ। यस कथामा सीतालाई बिम्बका रूपमा लिइएको छ (१८) । कथा म पात्र वा प्रथमपुरुष शैलीमा छ ।

६. जस्केलोबाट चियाउने सूर्य

यो कथा मार्क्सवादी साहित्यको वर्गीय द्वन्द्व र फ्रायडको मनोविज्ञानबाट प्रभावित छ । कथाको सुरुमा एउटा असल पात्रका रूपमा चिनिएको धिमाल पात्रको मन भित्र दबेर रहेका कुण्ठालाई रक्सीले बाहिर निकाल्छ । समाजमा भएको वर्गीय द्वन्द्व यस कथामा प्रस्तुत छ ।

७. एउटा अर्को अमरसिंह

यो कथा मार्क्सवाद र लेनिनवादको शासक र शोषित बिचको वर्गीय द्वन्द्वबाट प्रभावित छ । यसमा अन्तरमनकै द्वन्द्व छ । यस कथामा तत्कालीन राजनीतिक परिस्थिति, क्रान्तिकारी विचारधारा र ती विचारधारालाई कसरी दबाइयो त्यसैको झलक छ । ग्रिसका नाटकमा पहिले भाषण पनि राखिन्थ्यो, त्यसै गरी यस कथामा पनि भाषण राखिएको छ ।

८. मेरिन ड्राइव्सको किनारमा म र नान्सी ए. जाकाई

यसमा नाटकमा झैँ समय, स्थान, पात्र र उद्धेश्य छन् । यो प्रयोगवादी कथा हो, जस्तै : ‘शान्त समुन्द्र सूर्यास्त गर्भधान गरिरहेछ (२७), कोथे र पिज्जा प्लेटमा हाँसिरहेका छन् ।’ यस कथामा काव्यात्मक भाषाको प्रयोग छ । विदेशमा अविवाहिताका छोराछोरी हुन्छन् । छोराछोरी ठुला भएपछि बाबुआमाको बिहे हुन्छ भन्ने आशय यस कथामा छ । कथामा संस्कृतका क्लिष्ट शब्दहरुको प्रयोग (प्रत्युत्तरहीन, आजपर्यन्त) पनि पाइन्छ ।

९. छोराको खोजी

यो कथा पारिजातको ‘मैले नजन्माएको छोरो’ कथाबाट प्रभावित छ । यो कथा फ्रायडबाट प्रभावित छ । कथामा पात्रका अन्तरमनका द्वन्द्वको चित्रण छ । कथामा कुनै कुनामा लुकेर बसेका शङ्का, घृणा, वासना र मातृत्वको चित्रण छ । यस कथामा क्लिष्ट शब्दहरुको प्रयोग पनि भएको छ, जस्तै : लज्जा र भय, रक्तकणहरु, धृष्टता, धमनीमा बग्ने रगत (३४), अक्षम्य पाप (३६) । कथा म पात्र वा प्रथमपुरुष शैलीमा छ ।

१०. नयाँ वर्षको उपहार

यो कथामा आजका युवा पुस्ता र उनीहरुको सोचलाई दर्शाइएको छ । कथामा नयाँ वर्ष मनाउने जोस भएका युवा युवती र उनीहरुका आधुनिक बाबुआमाको खुला सोच प्रस्तुत छ । यो कथामा घण्टीको अनुकरणात्मक शब्दको प्रयोग गरिएको छ, जस्तै : ‘ट्….या…..ङ्ग दिमागमा घण्टी बज्यो ।’

११. बिहीवारे हाट र कान्छीका सपनाहरु

यो कथा फ्रायडबाट प्रभावित छ । कथाको सुरुमा भट्टीमा रक्सी बेच्ने कान्छीलाई माया गर्ने, उसैका बारेमा सोचिरहने र ऊप्रति नै सहानुभूति देखाउने म पात्रको अन्तरमनको द्वन्द्व छ यस कथामा । यो चेतन अवस्थामा सामाजिक मर्यादा र आफ्नो जागिर र इज्जत जाने डर भएको म पात्रको कथा हो । कान्छी माथि दया गर्ने म पात्र अन्त्यमा स्वार्थका लागि आफैलाई ठग्न र फँसाउनका लागि कान्छी र उसको प्रेमीले चालेको चाल बुझेपछि नै खङ्ग्रङ्ग हुन्छ । घरमा भएकी श्रीमती र आफ्नै छोराछोरीको माया र वास्तै नगर्ने म पात्र अन्त्यमा एक्लो हुन्छ । कथामा आफ्नी श्रीमतीका लागि पात्रले यस्ता शब्दहरु प्रयोग गरेको छ, जस्तै : स्तरहीन आइमाइ (४२), मेरी अचाडु चोथाले स्वास्नी (४२), आदि । यस कथामा म पात्र वा प्रथमपुरुष शैलीको प्रयोग छ ।

१२. खुल्ला कारागार

यो पनि फ्रायडबाट प्रभावित कथा हो । यसमा आफ्ना श्रीमानलाई तल्लो दर्जाको मान्ने र हेपेर काम मात्र अह्राउने, पाखे भन्ने उच्च वर्गीय महिला र निम्न मध्यम वर्गीय पुरुषका बिच वर्गीय मानसिक द्वन्द्व छ, अनि राजघराना र ठुलाबडा भनी खोल ओढेका पात्र माथि तिखो व्यङ्ग्य प्रहार छ । कथाको अन्त्यमा म पात्र भित्र दमित रूपमा रहेको मानसिक पीडा वा कुण्ठा बाहिर निस्कँदा आफूलाई सधैँ हेप्ने र दुख दिने श्रीमतीलाई दुख पर्दा म पात्र खुसी हुन्छ ।

अनेक परपुरुषसँग सम्बन्ध राखेर बच्चाको बाबुको नाम दिनका लागि मात्र पैसामा सम्झौता गर्ने पुरुष र उच्च वर्गीय महिलाहरुका ढर्राहरुलाई यस कथामा व्यङ्ग्य गरिएको छ । कथामा अन्तर र बाह्रय दुवै किसिमको द्वन्द्व पाइन्छ । पात्रहरुको नाममा नै व्यङ्ग्य छ, जस्तै: मुक्तिप्रसाद – स्वतन्त्रताको चाहना राख्ने, आदि ।

कथामा म पात्र वा प्रथमपुरुष शैलीको प्रयोगका साथै उच्च वर्गीय भाषाको प्रयोग छ । नाटकमा जस्तो बिचैमा कथा वाचन शैली फरक छ । पाठकका दृष्टिमा भने यो कमजोर पक्ष हो ।

१३. परिभाषित जिन्दगीको यो मोड

यो फ्रायडको पराहमबाट प्रभावित कथा हो । यसमा समाजको बन्धन र पाशविक यौन प्रवृत्तिको चित्रण छ । यो यथार्थपरक कथा र नारीवादी कथा हो । यसमा नारीलाई भोगविलासको साधन मात्र सम्झने र अनेक नारीलाई भोग्दै हिँड्ने म पात्र, अनि समाजसँग डराउने नारी पात्रको चित्रण छ । बिहे नगरी सम्बन्ध बनाउने नारी र जिम्मेवारी वहनबाट विमुख पुरुषको कथा पनि हो यो । यस कथामा क्लिष्ट शब्दहरुको प्रयोग गरिएको छ, जस्तै : पुंश्चली (५५), आत्मप्रवञ्चनामा (५६), इतस्तत: (५६), आदि । यसमा म पात्र वा प्रथमपुरुष शैलीको प्रयोग गरिएको छ ।

१४. सूर्योदयमा सूर्यास्त

यो यथार्थपरक कथा हो । कथा फ्रायडबाट पनि प्रभावित छ (मानसिक सचेतता ६२) । फुटपाथबाट उठेर अनेक दुई नम्बरी काम गरेर माथि उठ्न खोज्ने पात्रको कथा हो । कथाको अन्त्यमा सङ्गीतको प्रयोग छ ।

यस कथामा चेतन प्रवाह शैलीबाट विकसित भएको ‘मुड अफ द मुमेन्ट’ शैलीको प्रयोग गरिएको छ । यसमा तल्लो स्तरको भाषाको प्रयोग गरिएको छ, जस्तै: ‘खातेबाट पदोन्नति भएर जीवनका तीनचार वर्ष राजधानीका फुटपाथेदेखि सम्भ्रान्त परिवारका रण्डीहरुको लागि पनि दलाली गरियो,….(५८), ‘साली रण्डी ! मेरै खाते साथीसँग मिलेर मलाई मार्न खोज्छे….। (६१)’ यसमा संस्कृतका क्लिष्ट शब्दहरुको प्रयोग गरिएको छ, जस्तै : रछान, नि:स्पृह, सोपान (६१), आदि । यस कथामा म पात्र वा प्रथमपुरुष शैलीको प्रयोग गरिएको छ ।

१५. दृश्यको दहमा डुबेको दलवीर

यो यथार्थवादी कथा हो । यस कथामा निराशावादीबाट आशावादी हुन खोज्ने दलवीर र उसको गरिबी, तितो सत्य, बाहिरबाट भलाद्‍मी र नैतिकताको खोल ओढ्ने हाकिम र उसको यथार्थको चित्रण छ । काठमाडौँको बसाइ र भिड, भोक, गरिबी र जीवनको यथार्थ यसमा पाइन्छ । कथामा बोलचालको भाषाको प्रयोग गरिएको छ, जस्तै : ‘तेतिसम्म भेपनि मैनाभरि ब्यान र बेल्काको छाक टार्न योविधि धौधौ पर्दैनथ्यो कि ! (६४)’, आदि ।

१६. सज्जन दुर्जन

यो कथा यथार्थपरक कथा हो । यस कथामा सोझा जनतालाई छलकपट गरेर थुनाउने अनि पछि पैसा खाएर जेल बाहिर निकाल्न मद्दत गर्ने नक्कली समाजसेवी र नेताहरु माथि तीखो व्यङ्ग्य प्रहार छ । अरुलाई सधैँ दुख दिने मान्छे, आफूलाई दुख परेपछि निरिह हुन्छ । सानातिनालाई मान्छे नगन्ने तर आफूलाई दुख परेपछि त्यही सानातिनालाई पनि भनसुन गर्न पछि पर्दैन । यो कथा एउटा अवला नारीले मौका मिल्ना साथ आफूलाई दुख दिने मान्छेलाई झुटो मुद्दामा फँसाएर पैसा हडप्ने नेता माथि गरेको उल्टो चालको कथा हो ।

जसलाई सधैँ सबैले खराब मान्छे सोचेका हुन्छन्, हरेक परिस्थितिमा ती गलत नै हुन्छन् र जसलाई सबैले अवला सम्झन्छन्, ती सबै परिस्थितिमा सही नै हुन्छन् भन्ने हुँदैन । धेरै कुरा मानिसका दृष्टिकोण अनुसार पनि हुन्छ, जसलाई हामी दुर्जन सम्झन्छौँ, त्यो सज्जन र जसलाई हामी सज्जन सम्झन्छौँ त्यो दुष्ट, दोषी वा अपराधी पनि हुन सक्छ ।

यस कथामा म पात्र वा प्रथमपुरुष शैलीको प्रयोग गरिएको छ । यस कथाको एउटा वाक्यमा कर्तासँग क्रियाको समन्वय मिलेको छैन : ‘उनी आफ्नै पोके हतारमा देखिन्थे र लामो वार्तालाप हुन सक्दैन । (६७)’

निष्कर्ष

लेखकले कथाहरुमा बेग्लाबेग्लै परिस्थितिको सिर्जना गरेर आफ्नै अन्तरमनमा लागेका कुराहरुलाई कुनै न कुनै पात्रको कुरा गरेर तिनै पात्रका माध्यमद्वारा आफ्नै मनका कुराहरु भन्छ ।

कथाकार मान्छेका मन भित्र दबिएर बसेका कुण्ठा तथा भावहरुलाई पात्रका माध्यमद्वारा केलाउन सफल देखिन्छन् । यस कथा सङ्ग्रहमा सङ्गृहित कथाहरुमा नौ रस (शृङ्गार घृणा, रिस, ईर्ष्या, खुसी, असन्तुष्टि वा असहमति, गाली वा भयानक र अन्त्यमा अद्भुत ) र सबै किसिमका स्वादहरु चाख्‍न पाइन्छ । प्राय सबै कथाका पात्रहरु अन्तरमुखी छन् । यस भित्र तत्कालीन समयमा समाजमा देखिएका अन्धविश्‍वास, बदलिँदो समाज व्यवस्था, कुलीन वर्गका ढर्रा, स्वार्थले भरिएका मानिस, धोका र कुरीतिप्रति तीखो व्यङ्ग्य पाइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर