✍️सिर्जन अविरल

आख्यानकार निर्दोष जीवन पछिल्लो समयका सक्रिय युवा हस्ताक्षर हुन् । बहुमुखी प्रतिभाका धनी निर्दोषका चारवटा साहित्यिक कृति र चारवटा सांगीतिक एल्बम बजारमा आइसकेका छन् । नवौँ कृतिको रूपमा पाठकको हातमा आइपुगेको नोस्टाल्जिया एउटा औपन्यासिक कृति हो । यो उपन्यास लेखकको महत्वकाङ्क्षी पुस्तक पनि हो । सरल भाषामा कथालाई अघि डोर्‍याउने निर्दोषले कुनै भूमिकाबिना नै कथानकलाई अघि सारेका छन् ।

यिनको आख्यानमा हाम्रै समभित्रको कथा र पात्रहरू भेटिन्छन् । त्यो समाज अनि ती पात्रहरू असल र खराब दुवै छन् । तिनै पात्रहरूमध्ये कोही समाजलाई कुरुप बनाउँछन् । र, कोही समाजलाई आदर्शको बाटोतिर डोर्‍याउन क्रियाशील देखिन्छन् ।

आगन्तुक शब्दको प्रयोग गरेर नामकरण गरिएको प्रस्तुत नोस्टाल्जिया बितेका पलहरूको सम्झनाको एउटा सुन्दर र यथार्थ तस्बिर हो । उपन्यासमा दुखजिलो गरेर मुस्किलले जीवन बाँच्दै आएको एउटा परिवारको सङ्घर्षको कथा छ । त्यो परिवार म पात्रको आफ्नै परिवार हो भन्ने बुझ्न कुनै समस्या हुँदैन । अभावको नङ्ग्राले चिथोरेको र कलुषित समयको पैतालाले कुल्चिएको एउटा परिवारको दारुण र सजिव चित्र छ, यसमा ।

बाल्यकालदेखिका पारिवारिक र सामाजिक अनेक घटनालाई कत्ति नलुकाई प्रस्तुत गर्नु उपन्यासकारको इमानदारिता र उपन्यासको सबल पक्ष हो । लेखकको यही इमानदारिताले उपन्यासलाई सफलतातिर डोर्याएको देखिन्छ ।

म पात्रको परिवार आम नेपाली समाजको प्रतिनिधि परिवार हो । र, यो परिवारले भोगेको दुस्ख र हैरानी नेपाली समाजकै यथार्थ र सजीव चित्र हो । सजिलो गरी दुई छाक खान र भविष्य खोज्न भौतारिएको म पात्रको परिवार स्याङ्जादेखि चितवन झरेको छ । आर्थिक अभाव र अनेक समस्याबाट लखेटिएपछि चितवनको बाह्रघरे रामघाट, कालाबञ्जार, गाँजिपुर हुँदै नवलपरासीको कावासोती ,कविडाँडा र गैंडाकोट जस्ता विभिन्न स्थानमा बसाइँ सर्दै गएको यो परिवारको दुःखको कथा डरलाग्दो छ ।

उपन्यासमा संयोगको रूपमा आएको म पात्रले पिताको अदुरदर्शिता र पारिवारिक कलहका कारण बाल्यकालमै अनेक हैरानी झेलेको छ । उसले दुस्ख पाउनुमा चञ्चले स्वभाव, अपरिपक्वता र सामाजिक वातावरण पनि उत्तिकै जिम्मेवार देखिन्छ । बेरोजगारी, अशिक्षा, पारिवारिक कलह र अभावको चपेटामा परेको ठूलो परिवार छ , म पात्रको । यो परिवारको नियमित आम्दानीको कुनै बाटो छैन। जमिनको क्षेत्रफल थोरै छ । भएकै जमिनमा पनि उत्पादन राम्रो छैन । यी विविध कारणले परिवारको दुर्दशा निम्त्याएको छ ।

कर्म गर्न खोज्दा समयले साथ दिएको छैन । बसाइँ सरेर पुगेको कालाबन्जारमा प्राकृतिक प्रकोपले उठिवास लगाएपछि यो परिवार चरम सङ्कटमा पुगेको छ । म पात्रको अपरिपक्व उमेरको केटौले प्रेमले अझ दुस्खको दलदलमा धकेलेको छ । पारिवारिक कलह ,अभाव र उल्झनले सताइएको यो परिवारको कथाले हरेक पाठकलाई गम्भीर मोडमा पुर्‍याउँछ ।

दुःख र सङ्घर्षको कथाले भरिएको सिङ्गो उपन्यास पढेर सक्दा पाठक ठाउँ ठाउँमा भावुक हुन्छन् । त्यही भावुक अवस्थाको सिर्जना यो पङ्क्तिकारलाई पनि भएको छ । दुःखकै पहाड जस्तो लाग्ने यस उपन्यासमा एउटै परिवारले कतिसम्म दुःखका खातहरू झेल्न सक्छ भन्ने अनुभूत गर्न सहज छैन । लेखकले म पात्रको रूपमा सानै उमेरमा अनेक कुरा झेलेका छन् । आफूले भोगेका र देखेका सबै विषयलाई कुनै तरिकाले छोपछाप नगरी खुलस्त राखेका छन् । यसबाट लेखकको आँट र इमानदारिता पनि झल्किन्छ ।

नेपाली समाजको पितृसत्ताको कालो छायाँलाई उपन्याससमा गम्भीर रुपमा देखाइएको छ। त्यस्तै कयौँ परिवारमा एउटा क्रुर पितृसत्ताको आक्रमण कति भयावह छ, भन्ने कुरा उपन्यासमा छर्लङ्ग छ । आत्मपरक शैलीमा लेखिएको संस्मरणात्मक उपन्यास हो नोस्टाल्जिया । यसकारण पनि उपन्यासको शीर्षक सार्थक देखिन्छ ।

बाल्यकालमा स्कुलमै पुस्टकारी बेच्ने संयोग किशोर अवस्थामा पुग्दा फलफूल र तरकारी बेच्न सुरु गरेको छ । परिवारप्रति जिम्मेवार हुन खोज्ने तर व्यवहारमा देखाउन नसक्ने संयोग, उपन्यासभित्र जीवनको मूलबाटोमा अलमलिएको पात्र हो। भविष्यप्रति सचेत नभएको संयोगले बिनायोजना आशासँग प्रेम र त्यसपछि विवाह गरेको छ । अपरिपक्व निर्णय गर्ने र यावत कमजोरीहरू सहजै स्वीकर्ने म पात्र आख्यानमा गुण र दोष बराबर भएको चरित्र पनि हो । किशोर वयमा युवतीको प्रेम पाउन मरिहत्ते गर्ने संयोगले प्रेमकै कारण पटक–पटक परिवारको मन दुखाएको छ ।

उपन्यासको प्रमुख पात्र संयोग र आशा नै हुन् । सहायक पात्रको रुपमा आमा बाुलाई उभ्याइएको छ। नरहरि, माइला बा, दिदीभिनाजु, जिजुभाइ साहू, सासूआमा, बन्दना जस्ता पात्रहरूको भूमिका पनि उपन्यासमा महत्त्वपूर्ण देखिन्छ । संयोग र आशाको केटौले प्रेम, बिछोड र पुनः मिलन भएर उपन्यासको अन्त्य भएको छ ।

सबै कुरा बिर्सिएर संयोगका आमाबाले आशालाई बुहारी स्वीकार्न तयार हुनु उपन्यासको सबल पक्ष हो। प्रथम पुरुष दृष्टिविन्दुमा लेखिएको उपन्यासको भाषा माझिएको, सरल र सुबोध छ । उपन्यास जति अगाडि बढ्दै जान्छ त्यति नै पाठकलाई भावुक बनाउँछ । उपन्यासमा अझै सुधार गर्न सकिने केही ठाउँहरू नभएका होइनन् ।

सामान्य कमीकमजोरीलाई छोडेर लेखकको स्पष्ट अभिव्यक्ति र इमानदारिताको कारण पनि उपन्यासको उचाइ चुलिएको छ । वन्दना, म पात्रको पहिलो प्रेम हो । ऊ उपन्यासको बीचतिर छुटेकी छे । त्यस्तै सुरुमा अरुको लहैलहैमा लागेर संयोगले आशालाई बेवास्ता गर्न खोजेको देखिन्छ । अन्तिममा आशा र संयोग एक हुनुलाई प्रेमकै शक्तिको रुपमा देखाइएको छ ।

मानिसले पहिलो प्रेमलाई कहिल्यै बिर्सन सक्दैन । पाठकले वन्दनाको उपस्थित उपन्यासको पुछारसम्म खोजेका हुन्छन् तर भेट्दैनन् । प्रेम हिँड्ने बाटो अलग हुन्छ र प्रेममा अनौठो त्याग पनि हुन्छ भन्ने देखाउन प्रस्तुत उपन्यास सफल भएको छ। अन्ततः आख्यानकार भाइ निर्दोष जीवनको सुस्वास्थ्य दीर्घ जीवन र उपन्यासको सफलताको लागि हार्दिक शुभकामना ।

प्रतिक्रिया

सम्बन्धित खवर