✍️ रूपक ‘जमरा’

आँखा अगाडि उभिएको समस्या
दिमागमा घुमिरहेको मीठो सपना
देखेर कहिल्यै नसकिने रहेछ ।

लाग्छ नि,
त्यो दरबारको माथिल्लो कौसिमा
कालो काँचको पर्दा भएको कोठा भित्र
लचकदार विछ्यौना माथि आनन्दले निदाउने,
अनि यस्तो नि लाग्छ,
आँखाबाट खस्न लागेको आँशुलाई
केहीबेर आँखाको डिलमा अड्याएर
दुनियालाई मन मोहित पार्ने
सुन्दर दृष्यहरूको हवाइ अवलोकन गर्ने ।

म यो देशको नागरिक
देश विकासमा
अहोरात्र खटिने ज्यामी,
देशको सिमानामा ठड्याइने एक खम्बा,
देश प्रमुख छान्दा प्रयोग गरिने एक भोटर ।

तर, दिल खोलेर साउती मार्नुपर्दा
यो राष्ट्रको सम्बोधनमा नपरेको बासिन्दा,
यो देशले जिस्काई रहने बबुरो ।

यो देशले मलाई
फोहोर निस्कासन धेरै भयो भनेर जिस्काउछ
सन्तान उत्पादनमा वृद्धि भयो
बस्तीलाई बन्ध्याकरन गर भन्छ
ज्यामी,कुल्ली बन्नु पर्ने छोरा-छोरीहरू
धेरै पढ्न लागे विद्यालय नपठा भन्छ
हातमा लालपुर्जा छैन
खोला किनारामा नबस
बसाई सरी जा भन्छ ।

म सुकुम्बासी
मेरो देश हो भनेर गर्व गर्न पाइन
मेरो घर हो भनेर झुपडीमा बस्न पाइन
ठुल–ठुला महल नजिक, सडक छेउछाउ कतै नबस भन्छ
सुन्दर सहरको अनुहार बिगार्यो भन्छ

राज्यले लोकतन्त्रपछि
विभेदपुर्ण समाज निर्माण गर्छु भनेर
तयार गरेको नयाँ समाजको परिकल्पना यही हो त ?

प्रतिक्रिया

सम्बन्धित खवर