✍️ हरिप्रसाद भण्डारी

शान्ति निकै कम खान थाली ।

सकभर भागै बस्दिनथी, बसिहाले पनि दुई–चार गास खाएपछि मुख बिगार्थी । आमाले खाना खान कर गर्दा उल्टै आमासँग झर्कन्थी ।

पुलपुलिएकी एक्ली छोरी, मोटीघाटी र सुन्दर थिई । मीठो बोली र हँसिलो अनुहार थियो । मीठो–मसिनु टन्न खान्थी । ध्यान दिएर पढ्थी । काममा पनि फुर्तीली भए पनि केही दिनदेखि ओइलाएको सागजस्तै भएकी थिई । लगनशील भएर पढ्न र काम गर्न पनि छोडेकी थिई । सधैं एकान्तमा बसेर टोलाइरहन्थी ।

“पेटमा जुका परेर हो कि ।” बाआमाले अनुमान लगाए । मेडिकलबाट जुकाको ओखती ल्याएर खुवाए, छोएन ।

“तुस गानाले हो कि, म ओखती बनाइदिन्छु ।” बाले भने ।

भोकटे र बेलौतीका मुन्टा, आँपको बोक्रो, दुबसिन्की, सयजरी, बादलपातेका जरा, कालीन्यूरोको गानोलगायतका जडीबुटी कुटेर झोल बनाए र बिहान खाली पेटमा खान दिए । त्यसले पनि छोएन ।

बाआमाका मनमा चिन्ता बढ्दै गयो । लागोसागो केही लाग्यो कि भन्ने आसङ्काले आखत हेराए, धामी बसाए, भाकल गरे तर बीसको उन्नाइस भएन ।

“छोरीलाई के भयो हँ, झन् सुक्दै पो गई त ?” बाआमाले पिरलो गर्दै थिए, एकदिन स्कूल गएकी छोरी साँझ घर फर्किन । बाआमा आत्तिए, वरपर खोजे तर कुनै पत्तो लागेन । चिन्ताको खाडल झन् गहिरो हुँदै गयो । उनीहरूका आँखा वर्षाको झरीमा परिणत भए ।

पर्सिपल्ट तल पसलमा फोन आएको खबर आयो । बूढा घरमा थिएनन्, बूढी गइन् । छोरीकै फोन रहेछ । खुसी भइन् ।

“आमा, म शङ्करसँग हिडेँ । साह्रै सज्जन केटो छ, हाम्रो पिर नगर्नू ।” छोरीले भनी ।

छोरीको बोली सुनेपछि आमा अलमल परिन् । के बोल्ने हो, होसै पाइनन् । केहीबेरपछि भनिन्- “पेट कस्तो छ, खाना खान्छेस् कि नाई ?”

“शङ्करसँग आएपछि सबै ठीक भयो आमा । अहिले त टन्न खान्छु । कस्तो भोक लाग्छ ।” छोरीले भनी ।

प्रतिक्रिया

सम्बन्धित खवर