✍️ सुशाल थोकर

 

            दुई – गजल

कहिलेकाहीँ समय पनि, यस्तो भएर आउँछ ।
नदेखूँ लाग्ने निष्ठुरी त्यहीँ बाटो भएर आउँछ ।

अब त आउँछ होला नि जिन्दगीमा उज्यालो ।
भनि नसक्दै जिन्दगी अँध्यारो भएर आउँछ ।

यो तिम्रै याद हुनुपर्छ मैले अझैँ नभुलेको ।
एक सम्झना आँखामा धमिलो भएर आउँछ ।

यता सिन्दुरको बट्टा थमाईदिएर मेरो हातमा ।
उता ऊ अरु कसैको सिउँदो भएर आउँछ ।

बिरानो शहरमा छु बिल्कुल एक्लो छु म ।
हेर्दैछु…म यहाँ को आफ्नो भएर आउँछ ।

गजल – दुई

तिमी नगइदिएको भए उ एक्लो नहुनेथ्यो ।
र रातहरू यसरी उस्को अनिदो नहुनेथ्यो ।

सायद, हरेक मान्छेहरूलाई यस्तै लाग्दो हो ।
यस्तो नभएको भए यस्तो नहुनेथ्यो ।

जानेबेला तिम्रो पनि आँसु नझरेको भए ।
मलाई पनि जान्छु भन्न अफ्ट्यारो नहुनेथ्यो ।

बेलैमा रुमाल चिनो छाडेर गुन गरिछौ प्रिया ।
नत्र मर्छु लागेको दिन पनि पासो नहुनेथ्यो ।

तिमीले जतनले राखेको भए मेरो तस्बिर ।
तिम्रो खाट मुनि यसरी पुरानो नहुनेथ्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर