✍️ रेहित सैजु

खाना नखाई कुनै प्राणी बाँच्न सक्छन् र भन्य……..? मान्छेहरू किन बेमेल प्रश्न गर्छन् मलाई ? हुनसक्छ यो प्रश्न मसँग सान्दर्भिक छ । अरे , पातलो ज्यान देखिँदैमा चित्त छेडेर पित्त फुट्ने गरी वचन वाण हान्न त भएन नि । हाम्रो पनि चित्त हो घुक्छ नि । आफू रोएको अरूलाई देखाउनु पनि त भएन । हो , म मोटाउन सकिनँ , ज्यान पातलिएर राँगोको सुकुटी झैं भयो , के अब मेरो ज्यानलाई पकौडा बनाएर बेच्नु हुन्छ रु ?

त्यसो त मैले पनि मोटाउन नखोजेको कहाँ हो र ……। मोटाउने विधि नअपनाएको कुन चाहिँ पो बाँकी होला । जानेसम्म बुझेसम्म गरेकै हो नि अब भएन त के गर्नु ? सधैँ यथास्थितिमा रहन सक्नु मेरो कला हो । अनेक सैद्धान्तिक तन्त्र मन्त्र प्रयोग गर्दा पनि शून्य नतिजा आउनु मेरो सक्षमता हो । हेर्नोस् मेरो क्षमतालाई कदर गर्नु पर्ने ठाउँमा त्यसको ठिक विपरित व्यवहार पो गर्छन् मलाई । यो तरिका त भएन नि ।

मोटाउनु पनि कसरी ! भात खायो बिहानै जान्छ। पानी पियो पानी नै जान्छ । खाएको कुरा जिउमा अडिने नाम निशाना छैन । दिसा पिसाब नगरेर खाएको कुरा पेटमै सञ्चित भएर पो मान्छेहरू मोटा , खाइलाग्दा भएका हुन् कि भनौँ भने पनि होइन होला । आफूले त एकदिन दिसा गरेन भने अर्को दिन कनेर भएपनि निकाल्नु पर्छ ।

सायद ढिलो आयो कडा आयो भनेको यही हो । थोरै गाह्रो हुन्छ र…….. कनी कनी दिसा गर्नु पर्दा । आन्द्रा चुँडिएर बाहिर आएको हो कि जस्तो भान हुन्छ । यस्तै तर्कनाले रातभरि हिर्काएर अनिँदो भई चिन्ताले दुब्लाएको पो हो कि । फेरि चिन्ताले चितामा पुर्याउँछन् पनि भन्छन् । चितामाथि चढेको लाशलाई आगोले पोलेको सबैले देख्छन् तर हरबखत चिन्ताले जलेर जिउँदो लाश बनेको कसैले नदेख्दा रैछन् ।

ज्यान अलि खाइलाग्दो मोटो बनाउने मामलामा मैले धेरै जनाको सल्लाह सुझाव पाएको छु । मेरो ज्यानमा मासुले हड्डी नछोप्नुको कारण धेरैको अर्ती सुनेर पनि हुन सक्छ । आफूलाई फेरि जसको अर्ती सुन्यो त्यही ठिक लाग्छ ।

अर्तीलाई कुन रूपमा आफूले भर्ती गर्ने भनेर निर्क्यौल गरी ग्रहण गर्न नसक्नु मेरो ठूलो कमजोरी हो । भात धेरै खाए मोटाइन्छ रे तर मलाई ग्यास्ट्रिक बढाउँछ । ग्यास्ट्रिक बढेपछि पाद आइरहन्छ । आफूले पादेको आफैलाई गन्हाउँछ । गन्हाएपछि आफूलाई आफैसँग रिस उठ्छ । आफूले आफैलाई पिट्न पनि नमिल्ने ।

अलि भीडमा साथीभाइ भएको ठाउँमा केही गरी पाद खुस्कियो भने अहो १ बाघले आफ्नो सिकारलाई पनि त्यसरी झम्टिँदैनन् होला । आँखा तर्छन् । ठूलो अपराध गरे झैं गरी हेर्छन् । हुन त ‘ धेरै खाए मल थोरै खाए बल ’ भन्ने उखान पनि छ तर आफूलाई चित्तै बुझ्दैन । एकजनाले घिउ खाएपछि मोटाउँछ भन्यो । मैले एक चम्चाको साटो एक दर्जन चम्चा एकै चोटी खाए । ज्यान लाग्नु त कता हो कता वाकवाकी लाग्यो । झाडापखाला लाग्यो ।

यसरी त झन् मेरो तौल घट्यो । फेरि एकजनाले बियर पिउनु पर्छ भन्यो । कहिल्यै पिएको थिएन । जिब्रो पर्रर……. गर्यो । एक बोतल पिउन बीस सेकेन्ड पनि लागेन । पेट फुल्यो । हलचल गर्न गाह्रो भो । आफ्नो ज्यान आफैलाई भार भयो । पछि थाहा भयो , बियर पानी जसरी पिउन नहुने रहेछ । बिस्तारै बिस्तारै पिउनु पर्ने रहेछ । जोशमा होश गुम्यो । आयुर्वेदिक औषधि पनि सेवन गरियो । झण्डुबाम , च्यावनप्रास हर्लिक्स यस्तै यस्तै। तर मेरो समस्या बीसको उन्नाइस पनि भएन ।

पातलो मान्छेहरू सहनशील हुन्छन् । सहनशील हुनैपर्छ । ‘ सुकेको ज्यानमा लुकेको बल हुन्छ ’ हुन्छ भनेर आफ्नो तौल भन्दा तीन गुणा बढी गह्रुङ्गो भारी बोकाउछन् । जे भनेपनि पातलो मान्छेलाई खच्चड बनाउनु त भएन नि ।

पातलो मान्छेहरूको नाम जसले जे राखेपनि मिल्छ । नाम राख्न कुनै पण्डित , ब्राह्मण चाहिँदैन । दाउरे , च्यासे , सुइरे जस्ता नाम राख्न दिन , बार , गते किन हेर्नु पर्यो र… । दिन , बार र गते नमिलाई नाम राखिदिनाले हाम्रो राशि मिल्दैन । राशि नमिलेपछि चिना कुण्डलीमा फरक पर्छ । त्यही भएर होला जुनै बेला शनि ग्रहको दशाले घेरिरहेको हुन्छ ।

पातलो मान्छेहरूलाई बाहिर निस्कन पनि ठूलो जोखिम मोल्नु पर्छ । अझ झन् बेतमासको हावाहुरी बतास चलेको बेला बाहिर निस्कनु अभिशाप बन्न पनि सक्छ । पातलो मान्छे भनेको झरिसकेको पात जस्तै हो । कुन बेलाको हावाले कसिङ्गर बनाएर उडाउने हो थाहै हुन्न । कुनै भीडभाडमा अलि मान्छेहरूको अधिक चाप भएको बजारतिर अनाहकमा थिचिएर किचिने हो कि भन्ने डर हुन्छ । पातलो मान्छेहरू जन्ती पनि जाँदैनन् , मलामी पनि जाँदैनन् । नारा , जुलुस , प्रर्दशन , र्यालीतिर भाग पनि लिन जाँदैनन् । चाहे बसमा होस् चाहे अन्त साने पातलो मान्छेहरू हेपिएर चेपिन्छन् ।

छन त ज्यान पातलो हुनुको पनि फाइदाहरू प्रशस्त छन् । भएर के गर्नु अहिले अलिअलि भएपनि बचेका ती फाइदाहरूलाई बेफाइदाहरूले मिचेर ढाकिदिएका छन् । नागरिकतामा उमेर पैंतीस पुगिसक्यो तर पातलो मान्छेहरू सोह्र सत्र उमेरको बालबालिका जस्तो देखिन्छन् । उमेर अनुसारको जवानी देखाउन मिल्दैन । बच्चा भएर उत्ताउलो भएका भनिदिन्छन् । ज्यान पातलो हुनु पूर्वजन्मको पाप हो ? पातलो मान्छेहरूले सम्मानपुर्वक बाँच्न कहिले पाउँछन् ? भन्न पायो भन्दैमा प्याच्च भन्दिनेहरूले आफ्नो बोलीमा लगाम लगाउने कहिले ? यी प्रश्नहरूको जवाफ कहिले मिल्छ ?

म भन्नु देश हो । म दुब्लाउनु भनेको देश दुब्लाउनु हो । देश दुब्लाउनु भनेको कमजोर हुनु हो । जब देश कमजोर हुन्छ तब देशमा आर्थिक , प्रशासनिक , सामाजिक , सांस्कृतिक क्षेत्र सबै कमजोर हुन्छ । यी तत्वहरू दुब्लाइएपछि देश सामान्य अवस्थाबाट असामान्य अवस्थातिर धकेलिन्छ । गतिविधिहरु बदलिन्छन् । विचौलिया भ्रष्टाचारीहरू दिनप्रतिदिन मोटाउँदै मोटाउँदै जान्छन् । महङ्गीलाई मोटाउन दिएपछि व्यापार व्यवसाय दुब्लाउँदै जान्छ ।

उद्योग कलकारखाना दुब्लाएर मर्दै जान्छन् । द्वन्द्वको क्षेत्र मोटाएपछि शान्ति दुब्लाउँछ । कृषक अनि कृषि क्षेत्र दुब्लाउँदै जान्छन् । हाँसो दुब्लाउँछ । गरिबी , बेरोजगारी मोटाउँछ । अभाव , दबावसँग कुस्ती खेल्नु पर्छ । युवाशक्ति विदेश पलायन हुन्छ । युवा भनेको देशको भिटामिन हो ।

भिटामिन नै नरहेपछि देशको साँध सीमाना साँघुरिँदै जान्छ । उसै त देश दुई ढुङ्गा बीचको तरुल हो । देशको शेष नरहन पनि सक्छ । यो सबै कारण म दुब्लाउनु हो । तपाईं दुब्लाउनु हो । हामी दुब्लाउनु हो । हामी दुब्लाएरै देश दुब्लाएको हो । अब मैले , हामीले मोटाउनै पर्छ किनकि हामीलाई देश दुब्लाउन दिनु छैन । अब मैले , हामीले मोटाउने ओखति खानै पर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर