✍️ सरस्वती सरस
जिन्दगी भनेको अनुभूति रहेछ । हुन त जिन्दगीको परिभाषा यही नै हो भनेर कसैले भन्न सक्ने कुरा होइन । सुविधा सम्पन्न परिवारमा हुर्किएको मानिसले जिन्दगी भनेको सुख हो भन्ला । अभावमा हुर्किएकोले दुःख हो भन्ला । विद्वानहरूका संघर्ष, अमूल्य उपहारलयायतका अनेकौँ परिभाषाहरू छन् ।
कुनै एउटा विषयमा धेरै मानिसहरूले बहस गर्नुपर्यो भने आआफ्नो दृष्टिकोण राख्छन् । त्यहाँ एउटै खालको निष्कर्ष आउन गाह्रै पर्छ । त्यसैले, हरेक कुरा जसले जसरी सोच्यो, जसरी बुझ्यो, जसरी भोग्यो, जसरी देख्यो त्यही बनिदिँदो रहेछ ।
मानिसको दृष्टिकोण र अनुभवले कुनै कुराको जे परीक्षण गर्छ त्यही नै उसले प्रस्तुत गर्दो रहेछ । त्यस्तै पाठेघरबाट ओर्लेर केही कुरा बुझ्ने भएपछि एउटा बालकले आगोलाई आत्था भनेर बुझ्छ । जसको पोल्टामा निर्धक्क लडिबुडी गर्छ त्यसैलाई आमा भनेर बुझ्छ । परिचित अनुहार देख्दा खुसी हुन्छ । अपरिचित देख्दा कस्तो हुन्छ तपाईं हामी सबैलाई थाहा नै छ । यसैगरी यस पृथ्वीमा जिन्दगीहरू आफ्नो अनुभूति र सोचमा जीवन बिताइरहेका हुन्छन् ।
जिन्दगीका पनि वर्ग हुने रहेछन् । मलाई चाहिँ जिन्दगी उच्च, मध्य र निम्न गरेर तीन वर्गका हुँदा रहेछन् जस्तो लाग्छ । समाजशास्त्रीहरूले समाजलाई तीन वर्गमा विभाजन गरेका छन् । त्यसैले मलाई यसो लाग्नु स्वाभाविक पनि हो ।
धेरै जिन्दगी मिलेर समाज बन्ने त हो । विद्वानहरूले जातीय, वित्तीयलगायतका कुराहरूलाई आधार मानेर समाजलाई विभाजन गरेका छन् । तर, मैलेचाहिँ एउटा मात्र कुरालाई आधार बनाएर जिन्दगीको विभाजन गरेकी छु । त्यो हो सोच ! मेरो मस्तिष्क झन्डै तीन दशक कैयौँ जिन्दगीसँग नजिक भयो । नजिक हुँदा मैले अनुभूत गरेका जिन्दगीहरूलाई मेरो मस्तिष्कले एकै ठाउँमा राख्न सकेन । तीन दशकको अनुभूतिले मानिसका सोच पनि तीन प्रकारका हुँदा रहेछन् भनेर मेरो मस्तिष्कले बुझ्यो । त्यसैले मैले जिन्दगीलाई अनुभूति भनिदिएँ ।
जिन्दगी भनेको अनुभूति हो भनेर त कसैले परिभाषित गरिसकेको कुरा हो । त्यसैले, तपाईंले यो त तेरो परिभाषा होइन नि भन्नुहोला । हो ठिक सोच्नुभयो । यो मेरो आफ्नै परिभाषा होइन । मैले तीन दशक जे अनुभूति गरेँ त्यही मात्र भनेकी मात्र हुँ । मैले अघि नै जिन्दगीलाई तीन वर्गमा विभाजन गरेको कुरा गरिसकेँ । तीन वर्गमध्ये पहिलो वर्गमा सकारात्मक सोच पर्छ । दोस्रोमा स्वीकारात्मक सोच र तेस्रोमा नकारात्मक सोच पर्छ । अब भने बुझ्नुभयो होला है । मैले मानिसको सोचका आधारमा मानिस अर्थात् जिन्दगीको वर्गीकरण गरेकी छु ।
हाम्रो समाजको कुरूप खाडल जात र वित्तको कारण नपुरिएको होइन । सोचको कारण नपुरिएको हो । हामीले हाम्रो सोचलाई जबसम्म परिवर्तन गर्न सक्दैनौँ तबसम्म यो समाज यस्तै बेढङ्गले चलिरहन्छ । प्रकृतिले हामीलाई दिएको सुन्दरता हामी आफैले भत्काइरहेका छौँ ।
पानी परेको समयमा बिना छाता एउटा भिड खुला मैदानमा उभिएको छ भने त्यो पानीले सबैलाई भिजाउॅंछ । तर, त्यही भिडमा एउटी नारी निथ्रुक्क भिजेर उसलाई भिजेर पारदर्शी भएको कपडाले लाज छोप्न अप्ठेरो भएको छ भने त्यही भिडले उप्रति सोच्न हुने पनि नहुने पनि अनेक कुरा सोचिदिन्छ । कसैको सोचले उसको लाज ढाकिदिन्छ भने कसैको सोचले झन् उदाङ्गो बनाएर उसलाई त्यो भिडबाट एक्लो बनाइदिन्छ ।
सत्तरी सालतिरको कुरा हो । म कलंकीबाट प्रदर्शनीमार्ग जाने गाडीमा चढेकी थिएँ । त्यतिखेर मेरै उमेर जस्ती देखिने एउटी नारी त्रिपुरेश्वर छ है भनेर गाडीबाट ओर्लिन् । ती नारीको पछाडि कपडामा रातो आलो रगतको दाग थियो । गाडीका आधाभन्दा बढीको आँखाले त्यही दाग हेरिरहेको थियो । नदेख्नेलाई देख्नेले कोट्याउँदै गाडिको झ्यालबाट बाहिर हेर्न लगाउँदै थिए ।
कोही कानेखुसी गरेर मुख निमठो बनाउँदै थए । ती नारी ओर्लिएको ठाउँबाट अर्की नारी गाडीमा चढेकी थिइन् । ती अर्की नारी ओर्लिएकी नारीको सिटमा बसिन् । सिटमा बसेकी नारीलाई सँगै बसेको पुरुषले तपाईं बसेको ठाउँमा फोहोर जस्तो छ उठ्नुस् त भन्यो । हत्तपत्त उठेर उनले मुन्टो बटारिन् । उनले लगाएको निलो कुर्तामा रातो दाग टाँसिसकेको थियो ।
के लाग्यो यो भन्दै उनी चिच्याइन् । गाडीका मानिसहरू ओर्लिएकी नारीलाई इङ्गित गर्दै कस्ती बेहोसी, कस्ती लाज नभएकी, बिचरी थाहा नभएको होला, दिमाख ठिक रैनछ क्यारे यस्तै अनेक कुरा भन्दै थिए । त्यो पुरुष उठेर उभियो । सबै सिट मानिसले भरिएका थिए । म सबैको अनुहार हेर्दै थिएँ । कुर्तामा दाग लाग्ने नारीले त्यो दाग अरू नभएर रजस्वाला भएर सिटमा लागेको रगत कुर्तामा लागेको हो भनेर अड्कल गरिसकेकी थिइन् । त्यसपछि उनले सहचालकसँग पानी मागिन् ।
आधा बोत्तल पानी सहचालकले दियो । उनले आफ्नो कुर्तामा लागेको दाग पानीले पुछिन् । गाडीको सिट पनि पखालिन् र त्यो पुरुष उठेको ठाउँमा बसिन् । सबैले उनलाई हेरिरहे । मैले पनि हरिरहेँ । गाडी बसपार्क पुगेर रोक्यो । त्यो दृश्य सबै देखेको, सिटबाट उठेको त्यो पुरुषले तपाईंलाई घिन लागेन दिदी भन्यो । के घिन लाग्नु नि मलाई त ती नानी को थिन् कुन्नी माया पो लाग्यो ।
कतिले गिल्ला गरे होलान् । यो समस्या सबैको समस्या हो । रूघा लाग्दा नाकबाट बगेको सिँगान कहिलेकाहीँ हामीले पुछ्न नभ्याएजस्तै उनले पनि पर सरेको थाहा नपाएकी होलिन् । त्यो पुरुष चुपचाप आफ्नो बाटो लाग्यो । म ती महिलाको पछिपछि लागेँ । हाम्रो गन्तव्य फरक भए पनि बाटो एउटै रहेछ । दिदी हजुर के गर्नुहुन्छ ? मैले सोधेँ । गाडीमा देखिसकेको हुनाले उनले चिनेझैँ गरेर भृकुटीमण्डप जान लागेको बहिनी, कपडाको पसल छ हाम्रो म बुढालाई पालो दिन जान लागेको । तपाईं पनि आउनुस् है ? तपाईंले लगाएको जस्तै टिसर्ट पाइन्ट पाइन्छ हाम्रो पसलमा ।
एकै सासमा भनिन् । म हस् भनेर विश्वभाषा क्याम्पसतिर लागेँ । त्यसपछि त्यो दिदीको पसल खोज्दै म तीन चार पटक भृकुटीमण्डप गएँ । मैले त्यो दिदीलाई भेट्न सकिनँ । हरेक महिना रजस्वला हुँदा ती दिदीको अनुहार झलक्क सम्झन्छु । पच्चिस दिन कटेपछि ब्यागमा प्याड बोकेर हिँड्छु । मलाई लाग्यो सबैभन्दा ठूलो कुरा त मानिसको सोच नै रहेछ । त्यो गाडीमा सबैले आआफ्नो सोच प्रदर्शन गर्दै थिए । जहाँ मैले तीन प्रकारका सोच भेटेको थिए ।
यसैगरी कयौँ मानिससँगका सङ्गतले मैले हाम्रो समाज परिवर्तन नहुनुको मुख्य कारण भनेको मानिसको सोच नै रहेछ भन्ने ठम्याएँ । तपाईंहरूलाई पनि थाहा छ नि है । हेर्नुस् न अचेल सामाजिक सञ्जालमा वकिल, डाक्टर, धामी, झाँक्री, पिडक, पीडित सबै भेटिन्छन् । एउटै विषयमा हजारौँ मानिसका आआफ्नै तर्क हुन्छन् । सबैले आफ्नो गच्छेअनुसारको मत राख्छन् । न त्यो तर्कको टुङ्गो कुनै लाग्छ न त उनीहरूको बोलीको विश्वसनीयता हुन्छ । केवल समय कटाउने मेसो मात्र हुन्छ । हुन त मैले आफूलाई सोचको उच्च वर्गमा उभ्याएकी पनि हैन ।
मभित्र पनि अनकौँ सोचहरू जन्मिन्छन् । धेरैजसो मान्छेमा कुनै पनि कुरालाई पहिलो पटक देख्दा, सोच्दा वा अनुभूत गर्दा सकारात्मकभन्दा पहिले नकारात्मक सोचले मस्तिष्कमा जरो गाढ्छ भनेर अनुसन्धाताहरूले पत्ता लगाएका छन् । म पनि सामान्य मान्छे न हुँ । केही अनौठा कुराहरू सम्झदा सकारात्मकभन्दा अघिअघि मस्तिष्कमा नकारात्मक सोच हावी हुन आइपुग्छन् । बिस्तारै सकारात्मकतिर लैजाने यत्न गर्छु ।
तसर्थ, सकारात्मक सोचले मानिसलाई फाइदा पुर्याउँछ । अप्ठ्यारा परिस्थितिहरूलाई सहजै सामना गर्न सक्ने बनाउँछ ।अझ भन्ने हो भने सकारात्मक सोच सामान्य रोगको उपचार विधि पनि हो । रोगको प्रतिरोधात्मक क्षमता बढाउन सकारात्मक सोचले ठूलो भूमिका खेलेको हुन्छ ।
स्वीकारात्मक सोच पनि त्यति नराम्रो भने होइन ।
स्वीकारात्मक सोचले मानिसलाई सन्तुष्टि दिन्छ । तर, कहिलेकाहीँ भने यस्तो सोचले आफ्नो पहिचानलाई मेटाइदिन्छ । कुनै पनि असामाजिक कार्यलाई स्वीकार गर्नु, दलबलको झोला बोकेर पदलोलुप भई अघि लागेका व्यक्तिहरूका कुरालाई आँखा चिम्लेर स्वीकार गर्नु भनेको चाहिँ मानिसले आफ्नो धरातल बिर्सेर अरूको भर पर्नु हो ।
नकारात्मक सोचले त मानिसको रगतलाई नै विषतुल्य बनाइदिन्छ । नकारात्मक सोच मन्द विष हो । मानिसको मस्तिेष्क नकारात्मक सोचले भरिएपछि उसले कुनैपनि काम ठिक ढङ्गले गर्न सक्दैन । अशान्ति, द्वेष, मानसिक रोग फैलाउने कारक तत्त्व नै नकारात्मक सोच हो । एउटा मिलेको परिवारभित्र नकारात्मक सोच भएको मानिस घुस्यो भने त्यसले डुकुरे मुसाले कपडा काटेर धुजैधुजा बनाए जस्तै परिवारलाई छिन्नभिन्न बनाइदिन्छ ।
सकारात्मक सोचौँ, सकारात्मक बनौँ ।
प्रतिक्रिया
-
४