✍️ टङ्कबहादुर आलेमगर

तातिएको रातो बलौटा माथी टहरा निर्माण गर्न तातो पाइप टेकेर पाइप मै ओल्डिङ्ग गर्दै गर्दा मोबाइलको घण्टी बज्यो ।

हेर्यो नेपालको कल । खुशी हुँदै “हलो’ भन्यो ।
“पुष्पे ! तेरी घरकी बाइफाली पोइलो गै । छुट्टी मिलाएर आइज । तेरा शेसान्तर थन्काएर जा । “बाउको शब्दले झटारो पर्यो । “कुन नाठोसँग ?” आफुलाई सम्हाल्दै सोध्यो । “गाउँका कोही हराका छैनन् । त्यही मोबाइलमा लभ परेको सङ्गत होला । रातभरि फोन गर्थी । हामीचाहिँ तँ सँग बोल्याु सोच्थ्यौँ। …हिँडी है ।”

महिनादिन पछि दुईमहिनाको छुट्टी लिएर पुष्प घर आयो ।

बैगुण मायालाई खुर्केर नयाँ मायाको लिउन गाउँकी एउटीसँग लिप्दै थियो । पुष्पकी श्रीमती टुप्लुक्कै आइपुगी ।

ठूलो छलफल भयो । “पोइलो गाकै छुइनँ। काठमाडौँ हेर्न गाकी फर्कनु ढिलो अवश्य भयो । हन कस्तो पुरानै जमना छोरी चेली बाहिर हिँडेकी पोइलो गैहाल्छे ?’
उपस्थित सबै चुप ।

प्रमाण नपुगे पछि स्वास्नी जिम्मा लिनै पर्यो पुष्पले ।

झ्याँउकीरी बासुन्जेल मुल घर मै बस्यो । हिँड्ने बेला करेसोमा लगेर सम्झाए बाउले “हेर पुष्पे ! जे भो भो । त्यो डुम्सि भाले काटेर नानीहरूलाई झोल ख्वा । मसिना नानीछन् सहिराख । बुहारीलाई पनि हेला नगर । शङ्काले झन्का होइन्छ । झन्का भैयो भने लन्ठा परिन्छ ।”

पुष्प चुपलागेर घर तिर लाग्यो ।

उता श्रीमती आफ्नो भुल सच्याउन नानीहरूको कसम खाँदै थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर