✍️ जितेन्द्र मल्ल

 

गजल – एक

बा भन्छन् छोरा तैँले यत्ति सम्झिनु पर्छ ।
रबरले आफ्नो सीमा बिर्से चुँडिनु पर्छ ।

हल्लाकै भरमा कसरी दोषी हुन्छ कोही ?
यहाँ चोर पनि चोर हुन समातिनु पर्छ ।

यही सोचेर सिंढी त्यहीँ कुरेर बस्यो,
माथि उक्लिनेले एकदिन ओर्लिनु पर्छ ।
यहाँ मान्छेले मान्छेलाई बुझ्नै सकेनन्,
ए ईश्वर अब तँ धर्तीमै जन्मिनु पर्छ ।

आधा हुनुको मज्जा पूरा हुनुमा कहाँ ?
मान्नुस् भरिएकै गाग्रीले पोखिनु पर्छ ।

गजल – दुई

भ्रम नपरोस् यो झुपडी, सधैं झकिझकाउ हुन्छ ।
हरेक साँझ हारहरुको, यहाँ उत्सव मनाउ हुन्छ ।

यही लोभले खेत छाडी, किसान जंगल पसेको हो,
सुन्यो त्यतैबाट उस्को, भकारी भरिभराउ हुन्छ ।

मेरो त्यो बाँझो बारीमा, सुन फलाउनु छ सरकार,
रगत या पसिनारु भनिदे कसरी उब्जाऊ हुन्छ ?

देशले काँचुली फेर्नेछ, विश्वास कसरी गरौँ
अरुको के कुरा यहाँ, सरकार नै कामचलाउ हुन्छ ।

कोही भाऊ खोज्छ भने, चित्त नदुखाउ न यार,
सम्झ भाऊ उस्कै हुन्छ, बजारमा जो बिकाउ हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर