✍️राजन विश्वदीप
गजल – एक
न लुकाउन न देखाउन मिल्ने मनमा खिल हुनसक्छ
तपाईंले सोचेको भन्दा नि ! समस्या जटिल हुनसक्छ
यसकारण मैले जिन्दगी, जिन्दगी जस्तै नबनाएको हुँ
जिन्दगी बनाउनमा नै पुरा जिन्दगी शिथिल हुनसक्छ
केही दिनको पाहुना हुँ बिन्ती उनलाई नसुनाइ दिनुस्
मन अनि मुटुमा म बसेको छु बाँच्न मुस्किल हुनसक्छ
आमा फोन गर्दा,मुटु दह्रो अनि साथमा पछ्यौरा राख्नु
दुबै खुट्टा गुमाएको खबरले आँखा टिलपिल हुनसक्छ
आफ्नो दुखान्त कथा हरेकलाई किन भन्नुहुन्छ तपाई
पर्खनुस्,उ मुटु रोगी हो उसँग कमजोर दिल हुनसक्छ
गजल – दुई
केही सिकिन्छ केही सिक्ने क्रममा जिन्दगानी सकिन्छ
जस्तोकि प्यास नमेट्दै कहिले,बोत्तलको पानी सकिन्छ
पढिलेखी ठूलो मान्छे बन्नुपर्छ भनेर, भन्नुहुन्छ हजुरबुवा
पुराहुन्न हजुरबुवाको योजना नातिसम्म जवानी सकिन्छ
एक मुठ्ठी सास हुँदासम्म साथ दिन्छु भन्छन् साथीहरू
रित्तिनु मात्रपर्छ खल्ती,त्यहीँ बखत चिनाजानी सकिन्छ
धूम्रपान स्वास्थ्यलाई हानिकारक छ लेखेकै हुन्छ बट्टामा
आखिर नखानेको पनि त जीवन, भई खरानी सकिन्छ
हरेक दिन जग्गा नामसारी गराउन दौडधुप गर्नुहुन्छ बा
वकिलको चियापानमै,वहाँको वार्षिक आम्दानी सकिन्छ
प्रतिक्रिया
-
४
