✍️ जीवन खत्री
हरेक पाँच पाँच वर्षमा
हाम्रै गाउँको बाटो भएर हिँड्छ,
हामीले चाहेको खुसी
तर कसैगरी रोकिन्न, हाम्रो गाउँमा।
झल्याक झुलुक्क सपनाजस्तै देखिने ती खुसीहरू
कहिले, फराकिलो सडकजस्तै देखिन्छ
कहिले, उज्यालो बिजुली बत्तीजस्तै देखिन्छ
कहिले, अस्पतालको अग्लो छानोजस्तै
कहिले, विद्यालय-विश्वविद्यालयको गजुरजस्तै
पसिनाको बाला बिक्ने पसलजस्तै कहिले,
क्षमताको कदर हुने बजारजस्तै कहिले।
यी सबै नै,
झल्याक झुलुक्कमात्र देखिन्छन्, सपनाजस्तै
तर, कहिल्यै गाउँको फलैँचामा बस्न मान्दैनन्।
आखिर के त्यस्तो कारण छ ?
जुन खुसीहरू, हाम्रो गाउँको आँगनमा बस्न मान्दैनन्
खुसीहरूले एकसाथ रुन्चे स्वरमा भने,
आएका थियौँ, सधैँ बस्न भनेरै गाउँ
तर ढोका थुनेर बस्न दिएन् गाउँले
यसरी झेल गर्यो कि,
अघिल्ला पटकहरूमाझैँ, यसपटक पनि
गाउँले साट्यो हामीलाई,
मात्र एक टपरी मासु-चिउरा र केही नोटहरूमा।
प्रतिक्रिया
-
४
