✍️ अम्बिका पोख्रेल

बाले उबेला मेरो कुरा खाएको भए आज मैले यो नर्क जस्तो जिन्दगी जिउनु पर्दैन थियो । यो शताब्दीमा आइपुग्दा पनि विधवालाई समाजले हेर्ने दृष्टि परिमार्जन भएको छैन ।जुन भन्ने आफ्नो मान्छे नभएपछि घर, माइती भन्नेकुरा पनि यस्तै रहेछ ।

दिदीले भागेर दोलखाको मगर केटोसँग बिबाहा गर्नुभयो ।दुई महिना अघि मात्र जाजरकोट सरुवा भएर खाने पानी विभागको प्रमुख भएर आउनु भएको रहेछ भिनाजु । आएको भोलिपल्ट हाटबजारमा तरकारी किन्न जाँदा काउली लिएर बेच्न बसेकी हाम्री दिदीलाई देख्नु भएछ अनि देख्नासाथ  माया बसेको रे ।माया पनि कस्तो हो एकै नजरमा बसि हाल्ने ? त्यसपछि कसको छोरी हो घर कहाँ हो खोजी गर्न थाल्नु भएछ त्यहीँका पुराना कर्मचारीहरूबाट ।सोध्दै जाँदा पत्ता लागेछ ।
एकदिन हाम्रो घरमा दूध ठेक्का माग्न आउनु भएको त मैले पनि चाल पाएकी थिएँ ।हाकिम बनेर त्यतिबेला भिनाजु आफै आउनुहुन्थ्यो बिहान बेलुका दूध लिन ।त्यसरी नै साँझ बिहान आउँदा आउँदै दुई महिना पुग्दा नपुग्दै दिदी भिनाजु टाप कसे ।दिदीको सानो गल्तिको सजाय आज मैले भोग्दैछु ।

दिदी त्यसरी तल्लो जातसँग जाँदा बाको इज्जत गयो रे ।हुन पनि गाउँलेले खुब कुरा काट्थे त्यतिबेला । पण्डितको छोरी त मगरसँग गैछे  ।खुब नाकनिक गर्थे बुढा अब दशैंमा छोरी ज्वाइँ आउँदा कोसेलि रक्सि बोकेर आउने भए भनेर पँधेरामा जाँदा मेरै कानले सुनेकी थिएँ ।

सबैले कुरा काटेको सुनेपछि मलाई पनि उनीहरूको संगत मन पर्दैन थियो त्यसकारण पनि मेलापात ,घाँस दाउरा जाँदा अरु भन्दा एक्लै भएर पछि पछि लुरुलुरु हिड्थेँ।

बा उदास देखिनु हुन्थ्यो भने आमा रोईरहनु हुन्थ्यो । खान बस्दा पनि त्यसले खाई कि खाइन भन्नुहुन्थ्यो ।आमाको के कुरा गर्नु साँच्चै भन्नू हो भने दिदी गएपछि आमाको काम नै रुनु थियो । रातभर पनि बा आमा राम्ररी निदाएको मैले चाल पाइन । म पनि कान थापिरहन्थेँ । बाले कहिले सानो स्वरमा आमालाई सम्झाए झैं लाग्थ्यो  कहिले चर्को डाँकोले खानुहुन्थ्यो ।
मलाई मनभरी कुरा नखेलेका कहाँ हुन् र? अहिलेको जमानामा जात दुइटा छन् एउटा पुरुष अर्को नारी भनेर गुरुले पढाएको झल्झली सम्झिन्थेँ । यही कुरा बालाई भन्छु भनेर बाको अघिल्तिर जान्थँ आँट नआएर फर्किन्थेँ ।मलाई थाहा थियो जात मान्छेले नै बनाएका हुन् भनेर ।
एकदिन हिम्मत बटुलेर बा नभएको मौका पारेर आमाको छेउमा गएँ । आमाले फेरि दिदीलाई सम्झनु भो अनि रुन लाग्नु भो ।मैले आमाको काखमा शिर राखेर ढल्किएँ ।अनि आमालाई सम्झाउन लागेँ। नुरुनु आमा! किन रुनुहुन्छ ? दिदीले त्यस्तो के गल्ती गर्नु भएको होर ? जिन्दगी जिउन मलाई यत्तिको केटो भए दुख पाउँदिन भन्ने भएर नै जानु भयो ।आखिर जागिरे पनि त हुनुहुन्छ हाम्रो भिनाजु । दिदीले दुख पाउनुहुन्न । यत्ति के भनेको थिएँ आमा उसै रुँदै फलाक्न लाग्नु भयो ।
ए सुनिताको बा! सुन्नु त हाम्री कान्छी छोरी पनि बिग्रन लागिछ । उतिबेला एउटा छोरो त चाहिन्छ ए बुडा बिबाह गर्नु भन्दा टेरपुछार लाउनु भएन । यी बन्सोका बोटले सुख दिने भएनन् ।मगर टिपेर जानेलाई ठिक गरि भनेर उसैको गुणगान गाउन थाली अब यसको पनि बिबाह नगरी दिने हो भने कुन जात टिपेर हिड्छे । बा पूजा गर्दागर्दै पिढिँमा आउनु भयो । आमाको काखमा ढल्किरहेकी मलाई हातमा समाएर भित्र कोठामा लगेर थुनिदिनु भयो । मैले कत्ति रुने कराउने गरेँ अँह बाले एक सुन्नु भएन । बाहिरबाट चुक्कुल लगाइदिएर कता लाग्नु भयो ।
हाम्रो बालाई भन्दा आमालाई छोरा नभएकोमा खुब बिस्मत थियो ।म जन्मिने बित्तिकै आमाको पाठेघरमा घाउ देखिएछ त्यसपछि काठ्माण्डौ लगेर जचाउँदा डाक्टरले पाठेघर राख्नु क्यान्सरलाई बोलाउनु जस्तै हो भनेपछि काटेर मिल्क्याएको अरे । छोरीहरू नै थपिने रहेछन् भनेपनि आफूले अब सन्तान दिन नसक्ने भएपछि आमाले बालाई दोस्रो बिबाह गर्न कर गर्नुभएको थियो। मलाई याद छ म ४/५ बर्षकी हुँदा आमाले भाइ चाहियो भन्न बालाई भनेर सिकाउनु हुन्थ्यो ।
मलाई चुक्कुल लगाएर निस्कनु भएको बा साँझमा आउनुभयो अनि आफ्नै हातले ढोकाको चुक्कुल खोलेर बाहिर आइज कान्छी भन्नुभयो । पिढिँमा अरु चारजना मान्छेहरू थिएँ । मैले धारामा गएर मुख धोएँ अनि फर्केर घरभित्र पस्न लाग्दा एकजना पाहुना बोले । केटी यही हो तँलाई मनपर्‍यो? म भित्र पसेँ । बाहिर बाट  बाको आवाज आयो कान्छी सबैलाई पुग्नेगरी खाना बना । उनीहरूले बाको यो कुरा स्वीकारेनन् ।हैन हजुर हामी घरै जान्छौं ।हाम्रो केटो विदेशबाट आएर छुट्टी सकिन लाग्यो । अब कुरो छिनोफानो गरेर भोलि नै बिबाहको झन्झट सक्नुपर्छ । खानालाई दु:ख नगर्नुस् ।

म छाँगाबाट खसे झैं भएँ । सोचेँ मैले प्रतिकार गर्नैपर्छ । बाको डरले म चुपचाप बसेँ भनेँ मेरो सपनाहरू चकनाचुर हुन्छन् । मैले पढ्नुपर्छ ,आफ्नो खुट्टामा उभिएर सक्षम भएपछि मात्र बिबाह गरेँ भने म कसैको निर्भरमा बाँच्नु पर्दैन ।
म बाहिर निस्किएँ । जे सुकै होस् भनेर बडो साहस बटुलेर सबैका अगाडि गएर भनेँ बा! म पढ्छु म अहिले बिबाह गर्दिन । मलाई नै नसोधी मेरो बिबाहको निर्णय किन लिनुभयो ? आएका मध्ये एउटाले बोले । केटो बिदेश बस्छ ।बिबाह गरेको एक हप्तामा फेरि ऊ जाँदैछ । घरमा म र आमा छौं । बिहान बेलुका भात पकाइदिनु दिउँसो पढ्नु ।तिमी पढ्नलाई हामीले रोक्दैनौं ।म रुँदै भित्र पसेँ । बाले मेरो कुराबुझ्नु नै भएन ।झमक्क साँझ पर्न लागेकोले मलाई हेर्न आउनेहरू पनि गए । म नखाइ सुतेँ । बा आमाले पनि खानु भयो कि भएन थाहा पाइन ।

ए कान्छी उठ् बिहानै बजार जाने कुरा छ सबैसँग गएर तँलाई के मनपर्छ रोजेर लिनु । आमाले कोठामा आएर उठाउनु भयो ।म रोए पनि जे गरेपनि मेरो कुरा सुन्ने कोही थिएनन् ।जसले जे भन्छ त्यही मान्न तयार भएँ म ।प्रतिकार गर्न त्यो भन्दा साहस भएन आखिर दुलहीको साडीमा सजिनै पर्‍यो मैले । हतारको भएपनि धुमधामले बिबाह सम्पन्न भयो मेरो । दिदीको रीसले बलिको बोका बन्नुपर्‍यो म।
उनी परदेशी मान्छे भएपनि माया लाउन त जानेका रहेछन् । त्यो छ दिनको बसाइमा मलाई पगालेरै छाडे ।मैले त्यहाँ गएर पनि पढ्न जान पाउने भएँ । मेरो रहर मेरो सानो सानो कुरालाई पनि निकै महत्व दिएर पूरा गरे उनले । जानू अघि बा आमालाई र मलाई राखेर सम्झाइ बुझाइ गरे । उनको चाहना थियो सासू बुहारी मिलुन् । घर भाँडिएन भने त्यो भन्दा सुख अरु के छ र ?
आखिर परदेशी न थिएँ बिदा सकियो उनी फर्कने तरखरमा छन् ।कान्छी बेल्ड काँ छ ? कान्छी टोपी भेटिन । कान्छी मोजा खै? यता आफूलाई चिन्ताले खाएको छ। बोल्ने मन पनि छैन। नबोली नबोली समान मिलाइदिएँ ।झोला बोकेर उनी निस्केपछि पर पुगुन्जेल हेरि रहेँ । देखिन छोडेपछि रुँदै आएर ओछ्यानमा ढल्किएँ । बा आमाले सम्झाउनु भयो नरो बा नरो । यस अघि हामीलाई नि यस्तै हुन्थ्यो यो पटक भने मन थाम्न सकियो । छोरो गएपनि अब साथी बुहारी छ भनेर मन बुझाएका छौं ।
उनले पुगेपछि फोन गर्छु भनेका थिए म त्यही पर्खाइमा छु । पल्लो घरको टेलिफोन बज्दा पनि उनले बोलाउन पठाउँछन् कि भन्ने आश लाग्थ्यो । यसरी कत्ति दिन बित्यो अँह फोन आएन ।

मनभित्र जे भएपनि सबैका अगाडि हाँसिदिन्थेँ । पढ्न जान्थेँ । घरको काम गर्थेँ । भ्याएसम्म छुट्टीमा मेलापात ,घाँसदाउरा पनि गर्थेँ ।

हाम्रो बिबाह कै दिन गाउँमा अर्को बिवाहा पनि भएको थियो । राजेश परदेश हुँदा फोन बाट प्रेम परेको अरे भन्ने सुनेकी थिएँ । प्रेम भएपछि राधालाई मागेर राजेशले बिबाह गरेका रहेछन् । मेरो मान्छे परदेश गएको भोलिपल्ट राजेश पनि गएका हुन् गाउँबाट । हामी दुबै उस्तै थियौं त्यसैले पनि हाम्रो गफ मिल्थ्यो । बन जाँदा पनि दुइटी जान्थ्यौं ।पढ्न गएपनि दुइटी जान्थ्यौं ।
राधालाई त राजेशले फोन गरिरहन्थे किनकी राजेशले राधालाई मोबाइल छोडेर गएका थिए । उनीहरू हाँस्थे बोल्थे मेरो मन भने खिन्न हुन्थ्यो ।आज फोन आउला भोलि आउला भनेर दिन गनेको पनि पन्ध्र दिन बितेछ ।
सदा झैं राधा र म कलेज गयौं । गएपछि परीक्षा मिति तोकिएको थाहा पायौं । परीक्षा मिति त तोकियो तर सेन्टर कहाँ पर्छ थाहा थिएन । एकातिर उनको फोन आउँछ कि भन्दा भन्दै मेरो दिन बित्थ्यो अर्कोतिर परिक्षाले तनावग्रस्त थिएँ । फेरिपनि मैले आफ्नो अध्ययनलाई तिब्रता दिनु थियो ।
यही दैनिकी अनुसार दिनहरू ढल्किदै थिए । परीक्षा नजिकिदैं थियो । कसको सेन्टर कुन स्कुलमा पर्‍यो भनेर कलेजले सुचना पनि निकालेको थियो ।संयोगबस मेरो नाम रमिला भएकोले बर्णानुक्रमको आधारमा राधा र मेरो सेन्टर एकै ठाउँमा परेछ । सेन्टर थियो भेडा बजार । भेडा बजारसम्म घरबाट परीक्षा दिन जान असम्भव थियो । साँझ घरमा आएर बा आमालाई भनेँ । सेन्टर त मेरो भेडा बजार परेछ । आउन जान नभ्याइने भयो कसो गर्ने? बाले भन्नुभयो  भोलि बिहानै तयार होऊ भेडाबजार गएर कोठा खोजौंला  म पनि जान्छु ।उता राजेशको घरमा पनि भन्नू ।एक महिनालाई त हो दुइटी सँगै बस्नु । जे चाहिन्छ घरबाट लैजाउला । बा पल्लाघर लाग्नु भयो मैले सामान मिलाउन लागेँ ।
आज भेडाबजार जानू छ मन खल्लो छ ।तैपनि मेरो भविष्य भेडाबजारसँग जोडिएको छ नगएर पनि भएन ।उताबाट राधा आई । हिड्ने बेला सासुलाई ढोग गर्दा मन थाम्नै सकिन र आँसु झारें । आमा पनि रुनु भयो र भन्नुभयो । नरो केटोको केही बन्दोबस्त नमिलेरै होला फुन नगरेको । तँ गएपछि गरेछ भने राधाको नम्बर दिन लगाउँला कसैलाई । त्यसपछि हामी निस्कियौं ।

कोठा खोज्न कुनै कठिनाइ भएन । पुग्नासाथ पाइयो । बुवा आफन्तको जान्छु उतैबाट भोलि घर फर्किन्छु भनेर जानु भयो ।
राधा र म कोठाका सामान मिलाउन कस्सियौं । साँझ पर्‍यो पकाएर खाएर सुत्यौं ।राधा त रातभर पनि फोनमा झुण्डिने रहिछे । उसँग बोल्ने राजेश मात्र होइन रहेछ । धेरै रहेछन् उसँग बोल्ने । हुनत मोबाइलमा बोल्दैमा मैले गलत सोच्नु पनि गलत हो तर सबैसँग बोल्ने तरिका चाहिँ उही राजेश सँग जस्तो थियो । हजारौं सपनाहरूको भारी बोकेर परदेशिन कसलाई रहर हुन्छ र बिबाह भएको हप्ता दिनमै उहाँ गएको पनि त आखिर मेरो लागि हो । राजेशलाई पनि त राधा सँगै जिस्किदै हाँस्दै गाउँघरमै बस्ने चाहना थियो होला । राधाले राजेशलाई धोका दिदै थिई । मैले सम्झाएँ पनि । सम्झायो उल्टो उसैले यसो भन्थी । आ दिदी राजेशलाई थाहा हुने होइन बोल्दैमा के भयो र ? बरु म पैसा दिउँला तपाईं पनि मोबाइल लिनुस् । मोबाइल भएपछि समय बितेको पत्तै हुन्न । तपाईं त गोबरै हुनुहुँदो रहेछ । त्यसपछि राधा मन पर्न छाड्यो मलाई ।ऊ कोठामा पसि भने म कौसीमा गएर पढेर बस्थेँ ।
परीक्षा दिन आएकी केटीको चालढालमा परिवर्तन थियो ।परीक्षा दिएर फर्केपछि पनि कहाँ जान्थी मलाई पत्तै हुदैनथ्यो ।

आज अन्तिम परीक्षा हो परीक्षा सकेपछी साथीहरूले सिनेमा हेर्न जाने भनिरहेका थिएँ । मैले पनि त्यो सल्लाहमा सहमति जनाएकि थिएँ । परीक्षा सकेर आएर कपडा फेर्दै थियौं  बाहिरबाट कसैले ढोका ढक्ढकायो । हतार हतार गएर हेरेँ गाउँकै देवर र जेठाजु पर्नेहरू रहेछन्  ।ढोका उघारेर सोधेँ ।हजुरहरू कताबाट त यता ।एउटाले भने बजार आएका थियौं काकाले भाउजुहरू लिएर आओ है भन्नू भएको थियो र पसेका भाउजू । हामी त भोलि जाने निधो गरेका छौं । उनले फेरि बोले सामान के के छन् निकाल्दिनु भाउजू आजै जाउँ चारै जना सँगै । हामी बाध्य भयौं । सामान पोको बनाएर गाउँ आयौं ।

परबाट हाम्रो घरमा मान्छेहरूको भिड थियो । म झस्केँ । बा अथवा आमालाई केही भएछ कि ? हामी घरमा पुग्यौं ।बा आमा रोइरहनु भएको थियो । म नजिकै गएँ । आमाले भन्नुभयो यही अलच्छिनीले मेरो छोरो खाई । मलाई नछो अलच्छिनी । म भुइँमा बजारिएँ ।मेरो होस गुमेको रहेछ । ब्युँझिदा म अस्पतालमा लडिरहेकी थिएँ । नजिकै राधा थिइ उसैले बेलिबिस्तार लगाई । खबर त्यसदिन आएपनि  समुन्द्र पुरेर बन्दै गरेको  बिल्डिङ्को ११ औं तलाबाट खसेर ढुंगामा बजारिए पछि उछिट्टिएर समुन्द्रमा पुगेका उनको लास सम्म कत्ति खोज्दा समेत कम्पनिले भेट्टाएनछ । त्यो सुन्दासुन्दै चिच्याएर खुब रोएँ । बाहिर बस्नुभएका सबैजना रुनुभयो ।
मलाई हस्पिटल बाट डिस्चार्ज लेखिदियो । त्यतिबेला नै डाक्टरले भनेका थिए तपाईं आमा बन्दै हुनुहुन्छ। गर्भमा उनको नासो बोकेर म कहाँ जाउँ? म जाने त्यही घर थियो  । सासू आमाले जे भनेको भएपनि मैले सहनु पर्थ्यो किनकि हाम्रो समाज रुढीबाद संस्कृतिबाट  मुक्त भइसकेको छैन । हरेक दिन हरेक पल मलाई यही मानसिक तनाव दिइन्थ्यो जुन म सुन्न पनि सक्दैन थिएँ । मेरै कारणले उनको ज्यान गएको पनि होइन नि ।जति नै पढे पनि प्रमाणपत्र  भित्तामा झुण्डाएर पासपोर्ट हातमा बोक्नुपर्ने हाम्रो देशको पद्धतिको अगाडि मेरो के दोष । मैले यही कुरा बा आमालाई बुझाउनु छ र कोखमा बढ्दै गरेको उनको निशानीलाई उचित सम्भार गर्नु छ ।
साँच्चै अब यो घर मेरो लागि घर जस्तो थिएन । म कसैसँग बोल्नु हुँदैन थियो । थकाइ के हो म जान्दैन थिएँ ।दुखेको बेला त्यही राधा हुन्थी मन बिसाउने चौतारी । तर घाँस दाउरा ,मेलापात सँगै गरेपनि उसको ब्यवहारमा परिवर्तन थिएन । हिजोआज त जंगल जाँदा पनि कहिले कुन कहिले कुन केटा बोलाउँथी । नजिक पर्न नि डर लाग्थ्यो मलाई । झन् राजेशले अबदेखि तिमी शहरमा बस भनेका रहेछन् । शहर बस्नु नराम्रो होइन नि हुनत राम्रोसँग बस्नेका लागि । बा आमा दिदी बहिनी लगायत धेरैको जिन्दगी अझै गाउँमा बितेको छ । राजेशको आँखाले राधाको दुख मात्र देखेछ । गाउँमा सबैको निगरानीमा रहँदा त यस्तो छ राधाको मति । झन् शहर गएपछि कसैको डरमा नहुँदा के होला?
घरीघरी त राजेशलाई भनिदिउँ जस्तो लाग्छ तर उनीहरूको जिन्दगीको मामलामा म किन बोल्नु ? राजेशले मलाई नै उस्तो सम्झे भने? मनमा अनेक कुरा खेल्छ ।सुचना र प्रविधिले अचेल जताततैको घटनाहरू बताइ रहेको छ  त्यस्तै झैं राजेश भोलि घर आउँदा न धन न श्रीमती भयो भने ? उसले कमाएर पठाएको पसिनाको मूल्य लटपटाएर राधा अन्त कतै गइ भने ? भविष्य बनाउन राजेशले बुनेका सपनाहरू सबै चकनाचुर हुन्छन् । यस्तो खाले प्रवृत्तिको विकास भइरहेको छ । यो विकृति हो । यसलाई रोक्नु पर्छ ।म जत्तिको शिक्षित महिलाले यी सब कुरा थाहा पाएर पनि चुप बसेँ भनें समाज खोक्रो हुन्छ ।भावी सन्ततिलाई समेत  यसले नराम्रो असर पुर्‍याउँछ ।समाजलाई सुदृढ बनाउन समाजका हरेक नागरिकको बराबर दाहित्व हुन्छ ।अब राधा रिसाए रिसाउँछे मैले राजेशलाई फोन गरेर भएपनि भनिदिनै पर्छ , भनिदिन्छु ।

प्रतिक्रिया

सम्बन्धित खवर