✍️ रविना महर्जन

देशैभरी दसैँको रौनक छाएको थियो। दसैँको दशौं दिन अर्थात् टीका। बाटाहरु सुनसान देखिन्थे, गाडीहरु कम गुडेका सडक। सडकका पेटीमा पहेंला जमरा रातो टीका लगाएर हिँडिरहेका मानिसका ताँती थिए। मुस्कान आफै सँग कुरा गर्दै थिइन्,”मन उसै उसै रमाइलो लाग्ने। सिमसिम पानीले दशैंलाई थप रोचक बनाएको पो हो कि?”

तर पनि उनको मनमा एक खालको निराशापन थियो। फेरि अर्कातिर उनि आफ्ना स्वर्गीय बुबालाई पनि सम्झँदै थिइन्। उनी सोच्दै थिइन्” साँच्चै कहिलेकाहीँ आकाशबाट बर्सिएको पानीमा भिज्नुको आनन्द पनि बेग्लै लाग्ने, मनमा शान्ति प्राप्त हुने। पानीका ती थोपाहरु शीरमा पर्दै गर्दा लाग्ने कि आकाशपारीबाट बुबाले धेरै भन्दा धेरै आशिर्वाद पानीका थोपाहरूमार्फत् दिइरहनुभए जस्तै।”

नाम मुस्कान भएपनि उनी बेला बेला यसरी नै भावुक हुने गर्थिन्। आमासँग स्कुटरमा सरर ठुलीआमाको घर जाँदै थिइन्।आमाको आमा अर्थात् हजुरआमा बित्नुभएपछि जेठी दिदीको हातबाट टीका लगाउन कहिलेपनि नछुटाउनु भएको भएर पनि खासै बाहिर जान मन नभए पनि आमालाई पुर्याउन मुस्कान निस्केकि थिइन्।

हुँदा खानेको दसैँ र हुने खानेको दशैं बिचको अन्तर सडकमा हिँडिरहेका मानिसहरुको हाउभाउबाट स्पष्ट देखिरहेको थियो। बाटोमा दशैंको माहोल नियाल्दै, सिमसिम पानीसँग खेल्दै कति छिटो पुगिछन् । टीका लगाइन्। उताबाट ठूलीआमा बोल्नुभयो,”सधैँ कति एकोहोरिएर बस्ने गर्छौ नानी ? यसो बाहिर घुलमिल हुनु,पुराना कुराहरु सम्झिएर वर्तमान बिगार्न भएन नि। मानिसहरू कति उतारचढाव पार गर्द अघि बढिरहेका हुन्छन् । अरु बेला तिमीलाई कामले फुर्सद नहुने। कतै नजाने, अहिले बिदामा त जाने गर। मामाघर पनि पुग्नु ।” उनले नाईँ भनेर भन्न सकिनन्।

अनि मुस्कान बोलिन्, “तपाईंहरुलाई समय लाग्छ जस्तो छ, म चाहिँ मामाघर गएर टीका लगाएर छिटै घर फर्कनु छ। आमा तपाईं पनि ठूलीआमाहरूसँगै पछि आउनू ”

आमाले हुन्छ भन्नुभएपछि मुस्कान सानीआमाकी छोरीलाई साथ लिएर पुन: मामाघरको बाटो तताउन तिर लाग्छिन् । पानी पर्दै थियो। मनमा खुसी थियो, चन्चलता उस्तै। मामाघर पुगेर टीका लगाई छिटै बिदा भइ घर फर्कन भनेर लागिन्।

अब चाहिँ मुस्कान सरर कोटेश्वरको सडकमा गीत गुन्गु नाउँदै गुडिरहेकी थिइन्।अलिक पर मानिसहरुको भिड जम्मा भएको रहेछ। कोही कराए जस्तो सुनिन्थ्यो। तर मुस्कान रोकिनन्, उनि अघि बढिन् । अझै चिच्याएजस्तो सुनिन्थ्यो। मन कता कता अत्तालिएजस्तो भएपछि मुस्कान पछाडी नै फर्किन् ।स्कुटर पुलको छेवैमा रोकेर यसो मानिसहरु पन्छाएर हेरिन् । दृश्य यति रोदन भरिएको थियो। मुस्कान सोच्न बाध्य भएकी थिइन्” मानिसहरुमा मानवता भन्ने कुरा हराएकै रहेछ।

कसैलाई टीका थाप्न जान हतारो, कसैलाई आफ्नो गन्तव्यमा फर्कन। हुन त म पनि त्यही स्वार्थी मानिसहरुको भिडको एक स्वार्थी पात्र नै थिएँ। म पनि आफ्नो गन्तव्यमा पुग्न हतार गर्दै अघि बढेकी थिएँ।” अन्दाजी ३०/३२ वर्षको देखिने भारतीय मूलकी एक गर्भवती महिला प्रसव पिडामा छट्पटाइरहेको दृश्य निकै कारुणिक थियो।सहयोग गर्नुस् भन्दै चिच्याउँदै थिइन्।

सम्झँदा अहिले पनि मुस्कानको मन झसङ्ग हुन्छ। छेउमा अर्की सानी नानी रुँदै थिइन्। अनि चारैतिर नियालिन् सबै एक अर्काको मुख हेर्न मात्र व्यस्त देखिन्थे, विचरा गाह्रो भएछ, एम्बुलेन्सलाई फोन गर्नु पनि भनिरहेका थिए।उनले केही सोच्नै सकिनन् । मुस्कानको मस्तिष्कमा प्रश्नहरुले आक्रमण गरिरहेको थियो। म पनि एक महिला, आमा कहिले बन्छु त्यो त भविष्यले नै बताउला तर पनि पीडा त पक्कै त्यही नै हो। के गर्ने नगर्ने, पर्समा पैसा पनि आज बोकेकी रहेनछिन्। तर, पनि उनले आँट गर्ने निधो गरिन्। साँच्चै संसारमा सबैभन्दा सस्तो चिज भनेको ‘सल्लाह’ रहेछ। एकजनासँग माग्नुस्। हजारजना सल्लाह दिन आउने गर्छन् ।

‘सहयोग’ सबैभन्दा महंगो चिज रहेछ , हजार जनासँग माग्नुस् बल्लतल्ल एकजना सहयोगका लागि तयार हुने गर्दछ। यस्तै सोच्दै स्वार्थले भरिएको त्यो भिडमा कसैलाई सहयोग माग्न मुस्कानले उचित ठानिनन् ।अलिक पर ट्याक्सी चालकलाई अनुरोध गर्न तिर लागिन् र लिएर पनि आइन्।

ट्याक्सी चालक र अर्का एक महिलाको सहयोगमा बल्लतल्ल उचालेर ती प्रसव पिडामा छ्ट्पटाइरहेकी महिलालाई ट्याक्सीमा राख्न सफल भइन् र साथमा ती सानी नानीलाई पनि। सानो कपडाको पोका बाहेक केही थियो जस्तो लागेन। दाइ! तपाईं अघि अघि हिँड्नु प्रसुती गृह, थापाथली। अलि छिटो गरिदिनु। म हजुरकै पछि पछि आउँछु,मुस्कान भन्दै थिइन् तर चालक दाइले केही असहज महसुस गरे जस्तो लाग्यो।

उहाँले भन्नुभयो,” बहिनी फेरि बाटोमा केही भैहाल्यो भने म त समस्यामा पर्छु। अवस्था नाजुक जस्तो छ यी दिदीको। दशैँमा दुई चार पैसा कमाउन सक्छु कि भनेर टिकाको दिन गाडी निकालेको हुँ। फेरि केही झमेलामा पर्छु कि? फेरि अनावश्यक परिबन्धमा परेँ भने म र मेरो परिवारको त बिचल्ली हुन्छ पो । हुन त बाहिर पो देखिँदैन त मान्छेको पीडा । मेरो पनि त उस्तै छ हालत, बाहिर सबैले देख्ने म र भित्रभित्रै मरिरहेको म मा धेरै फरक छ नि, मुस्कान झस्किइन् । बाहिर हेर्दा हँसिलो देखिने ती दाजुको मुस्कान पनि केवल अभिनय मात्रै रहेछ।

मुस्कान बोलिन् ,” दाजु मेरो मोबाइल नं लिनुस् । म हजुरको पछि पछि नै हुन्छु। स्कुटर यतै छोड्न अलि नमिलेर मात्रै, विश्वास गर्नु। अर्की एक जना दीदीले आफू अस्पताल सम्म सँगै जाने कुरा गर्नुभयो। मुस्कानको मुहारमा वास्तविक खुसी झल्किएको थियो। ट्याक्सी चालक दाजुलाई सम्झाइन् सायद उहाँमा मानवता भने बाँकी रहेछ। अर्कातिर तमासा हेर्ने भिड निकै पातलिसकेको थियो। अरुको दुखमा रमाउने बानी जो परिसकेको छ हामी मानिसलाई।

गाडी अघि बढ्यो, मुस्कान पछि ।कोटेश्वरको पूलबाट दाहिने मोडेर संखमूल हुँदै भित्री बाटो प्रयोग गरेर गाडी बेजोडले कुदिरहेको थियो। कसैको ज्यान आज ती चालक दाजु र मुस्कानको हातमा थियो। ओहो! सायद यहि भएर मामाघरबाट छिटो निस्केँ कि? नियतीले पनि के के गर्ने। को संग कसरी कहिले भेट गराइदिने। सोच्दा सोच्दै मुस्कान तनावै तनावमा थापाथली प्रसुती गृह आइपुगिसकेकी थिइन्।

हतार हतार इमर्जेन्सी वार्डमा लगिन्। दशैँ भएकाले पनि होला डाक्टर नर्सहरु कम देखिन्थे। ती प्रसव वेदनमा चिच्याइरहेकी महिलाले यती जोडले उनको हात समाएकी थिइन् कि। ओहो!!

सँगै आउने दीदीलाई हतार भएका कारण उहाँ छुट्टिनुभयो। महिलाको पीडा महिलाले नै बुझ्ने रहेछ। डेलिभरी रुमतिर लगियो। दिउँसोको २ बजेको थियो।

चालक दाजुलाई आफू सँग भएको ६५० रुपैयाँ दिएर धन्यवाद सहित बिदाई गरिन् जाँदाजाँदै ल चेली तपाईंको सधैँ उन्नति र प्रगती होस् खुसी रहनु भनेर हाँस्दै जानु भयो। खर्च नभएकाले मुस्कान एटिएम बुथ खोज्न भनेर बाहिर निस्किन्।

छेवैमा रहेको एटिएम बुथबाट ५००० निकालिन् र पुन: अस्पताल भित्र छिरिन् । कहिलेपनि सो अस्पताल नछिरेकी उनि त्यहाँको वातावरणबाट छुट्टै पाठ सिकिरहेकी थिइन् । महिलाको पीडा, रोदनलाई नजिकबाट महसुस गर्न पाएकि थिइन्। आमा! बा! ए हजुर! आया!!आथ्ता!! म मरें!! मलाई बचाउनु!! म मर्न चाहन्नँ!!ऐया, दुख्यो भन्ने जस्ता शब्दहरु मात्र उनका कानमा ठोकिरहेका थिए।कोही महिला व्यथा लागेर रुँदै थिए। कोहि यताउता हिँडिरहेका थिए ।मुस्कान भने ती दृश्यहरुलाई मानस पटल बाट हटाउन ती सानी नानीको छेउमा गइन्। ती सानी नानी उहाँकै छोरी रहिछिन्। बुबा कोटेश्वर कै आसपास कतै कवाडीमा काम गर्ने रहेछन् ।लगभग ३:०५ तिर नर्स बाहिर आउनुभयो र मुस्कान सँग झर्किनुभयो। सुत्केरी ब्यथा लागे पछि तुरुन्तै अस्पताल ल्याउनुपर्दैन? केही ढिलो भएको भए ज्यान नै जान सक्थ्यो। अस्पताल ल्याएपछी कपडाहरु केही ल्याउनुपर्दैन कस्तो लापरबाही हो तपाईहरुको??उनि अक्क न बक्क परिन् अनि सोधिहालिन् “उहाँलाई कस्तो छ? नर्स बोल्नुभयो:- अँ छोरा भएको छ तर तौल अलि कम छ। तर आमा र बच्चा दुबैको स्वास्थ एकदम ठिक छ।

मुस्कान निकै खुसी भइन् आँखा नै आँसुले भरिए। तर यसपटकको आँसु पिडाको थिएन खुसीको थियो। नर्सले भन्नुभए बमोजिम उनि बाहिर आएर सुत्केरी महिलाले लगाउले लुगा , बच्चालाई कपडा किनिन् ।रु २१०० को कपडा र ती सानी नानीलाई बिस्कुट र चकलेट बोकेर उनि पुन: भित्र गइन्।

सानी नानी सारै खुसी भइन्।विचरा धेरै भोक लागेको रहेछ। नर्सलाई बोलाएर सामान दिइन् र उहाँलाई घटना बारे जानकारी गराइन् । ओहो! सरी है सिस्टर, हामी पनि तनाव र प्रेसरमा हुन्छौँ। चाडवाड मन खल्लो हुने। I m extremely sorry… मुस्कान बोलिन् ,” होइन हजुरहरुलाई बरु धन्यवाद , मेरो मेहेनतलाई खेर जाने वातावरण बनाउनु भएन। हजुरहरुको टिम प्रति म ऋणी छु। ”

लगभग ५ बजेतिर ती सुत्केरी दिदीलाई भेट्न पाइन्। भर्खरै जन्मिएको सानो मान्छेलाई यसो हेरिन्। सुत्केरी दिदी यति रुनुभयो कि मुस्कानका आँखामा आँसु थामिएनन्। उहाँलाई बधाई दिइन्। नेपाली खासै राम्रो बोल्न जान्नुभएको रहेनछ। मुस्कान आफै बरु हिन्दी भाषामा जानीनजानी बोल्न थालिन्। मोबाइलमा श्रीमान् को नम्बर ‘बाबु’ भनेर रहेको र कल गरिदिन भनेर अनुरोध गरिन्।मुस्कानले फोन गरेर जानकारी गराइन्।विचरा दाजु निकै अत्तालिनुभएको जस्तो भान उनलाई भयो।ती दिदीले केही खान खोज्नुभए जस्तो लागेर मुस्कान बाहिर निस्किन् । क्यान्टिनमा गएर एक गिलास ज्वानो झानेको मुंगको दाल बोकेर आइन्। बिस्तारै चम्चाले खुवाउँदै थिइन् । उहाँको श्रीमान् आइपुग्नुभयो। हात जोडेर टाउको निहुर्याएर उहाँले मुस्कान प्रती देखाउनुभएको सम्मानले उनि नत मस्तक भइन्। के भन्नू नभन्नु भयो। बधाई हो बडे भाइ भनेर भनिन्।

६:३० भैसेकेको थियो।। सकि नसकी उठ्ने प्रयास गर्दै थिइन् विचरा ती दिदी। मुस्कान आफै नजिक गएर राम्रो सँग बस्नुस् र बच्चाको ख्याल राख्नुस् भनिन् र ।आफूसँग बचेको २८०० जति दिएर बिदावारी भएर निस्किन्।त्यो दिन मुस्कानको मन निकै सन्तुष्ट भएको थियो। जीवन जिएको सार्थक भएको महसुस भएको थियो। बिदावारी हुँदाको त्यो क्षण ओहो! अहिले सम्झन्छिन् आफन्त सँगै बिछोड भए जस्तै।

जाँदा जाँदै ती दिदीले आफूसँग केही नभएको र चिनो स्वरुप आफूले लगाएको दुई वटा गुलाबी रंगका काँचका चुरा दिनुभएको थियो।पर्दैन भन्दा भन्दै पनि हातबाटै खोलेर दिएका कारण पनि मुस्कानले लिनै पर्ने भयो र सधैँ सम्हालेर राख्नेछु भन्दै निस्केकी थिइन्।

अस्पतालबाट निस्किएर आधा बाटो आएपछि मुस्कान झस्किन्,” ओहो! मोबाइल नम्बर लिनै बिर्सिएछ। ठिकै छ भोलि फेरि एकचोटि जानुपर्ला। भेटिए ठिकै छ नभेटिएपनि यो मेरो जिवनको अविस्मरणीय क्षणको रुपमा रहनेछ। ”

सिमसिम पानी परिरहेको थियो। मुस्कान सोच्दै थिइन्,” साँच्चै गाउँघरमा घरहरु टाढा टाढा मन नजिक तर शहरमा घरहरु नजिक नजिक तर मनहरु टाढा भनेर उसै बुढापाकाले भनेका होइन रहेछन्।” मान्छे पिडामा छट्पटिरहँदा पनि एक तमासले हेर्ने भिड देखेर मुस्कान आजित बनेकी थिइन्। ‘मानवता’ हराउँदै गएको हो त भन्दै आफैले आफैलाई प्रश्न गर्दै गन्तव्य तिर पुगिसकेकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर