ज्ञानेन्द्र देउजा नेपाली चलचित्र निर्देशक र पटकथा लेखक हुन्। उनले सन् १९९७ मा चलचित्र ‘रक्षक’बाट निर्देशन यात्रा तय गरेका हुन् । नेपाल राष्ट्र बैङ्कको उपनिर्देशकको रूपमासमेत काम गरेका उनले दर्जनौँ सफल चलचित्रहरूको निर्देशन गरिसकेका छन् । उनले निर्देशन गरेका लक्ष्मीप्रसाद देवकोटाको खण्डकाव्य ‘मुनामदन’ उनले निर्देशन गरेकामध्ये सफल चलचित्र हो । यो चलचित्र सन् २००४ ओस्कारमा सर्वश्रेष्ठ विदेशी भाषाको चलचित्रको लागि मनोनयनमा समेत परेको थियो । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रि संघसंस्थाहरूबाट सम्मानित÷पुरष्कृत भइसकेका देउजाले निर्देशन गरेको पछिल्लो चलचित्र ‘झिँगेदाउ’ हाल देशभरका विभिन्न हलहरूमा लागिरहेको छ । सोही चलचित्र र यस क्षेत्रसँग सम्बन्धित समसामयिक विषयमा सेतोमाटोका लागि जीवन खत्रीले गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत छः
झिँगेदाउ देशभरका हलहरूमा लागिरहेको छ । कस्तो छ दर्शकहरूको प्रतिक्रिया ?
शुक्रबारबाट तेस्रो हप्तामा हलहरूमा चलिरहेको छ । सबैतिर हाउस भरिभराउ छन् । दर्शकहरूले असाध्यै मन पराइरहनु भएको छ । राम्रा राम्रा प्रतिक्रियाहरू पाएकाले हामी खुसी छौँ ।
झिँगेदाउ कस्तो चलचित्र हो ? यसमा देखाउन खोजको खास कुरा के हो ?
प्रसिद्ध साहित्यकार भीमनीधि तिवारीको कथा अन्तरे भागमा प्रकाशित यस कथा २००८ सालमा प्रकाशन भएको हो । तत्कालिन समाजको यो कथा पारिवारिक विषयमा लेखिएको समाजिक यथार्थपरक छ । ८ सालमा प्रकाशन भएपनि उक्त कथालाई २५ सालतिरको नेपाली जनजीवनलाई सुहाउने क्यानभासमा उतारेर मनोरञ्जन, समाजिक अवस्था र यथार्थलाई फ्युजन गरि पस्किने काम यसमा भएको छ ।
प्रसिद्ध साहित्यकार भिमनिधी तिवारीको कथा झिँगेदाउमाथि काम गर्नुभयो । यसअघि मुनामदन लगायतका प्रसिद्ध कृतिहरूमाथि समेत काम गरि सक्नुभयो । यस्ता कृतिहरूमाथि बनेका चलचित्रले खासै ब्यापार गर्न सक्दैनन् भन्ने पनि एक वृत्तको बुझाई छ । तपाईँ यस्तै विषयहरू झन् झन् छनोट गरिरहनु भएको छ । किन ? के भन्नुहुन्छ ?
म फुर्सदमा हुँदा नेपाली साहित्यिक कृतिहरू अध्ययन गर्ने गर्छु । त्यसकारण पनि यी कथाहरूमा काम गर्ने जोश आएको हो । मैले मुनामदन होस् या झिङ्गेदाउ, कथाअनुसारनै पृष्ठभूमि तयार गरेर यथार्थ पस्केको कारण मैले असफलता बेहोर्नु परेको छैन् । कथाले भन्न खोजेभन्दा फरक तरिकाले चलचित्र बनाइयो भने असफल हुने सम्भावना हुन्छ । म त्यसमा सचेत छु ।
व्यापारिक हिसाबले समेत मुनामदन चलचित्रलाई सफल नै मानिन्छ । ओस्कार अवार्डको लागि प्रतिस्पर्धीसमेत बन्यो । झिँगेदाउबाट कस्तो अपेक्षा गर्नु भएको छ ?
मुनामदनले ओस्कारसम्मको यात्रा तय गर्यो । म खुसी छु । दर्शकहरूको माया र आशीर्वादले यो सम्भव भएको हो । उहाँहरूप्रति म आभारी छु । अब झिँगेदाउ पनि सबैले मन पराइदिनु भएको छ । आशा छ मुनामदनको उचाई यसले पनि लिनेछ ।
झिँगेदाउमा पात्रअनुसारको कलाकार पाएँ जस्तो लाग्छ ? कतिको सन्तुष्ट हुनुहुन्छ ?
यस चलचित्रमा मैले खोजेकोजस्तो पात्र पाएको छु । उहाँहरूले गरेको मेहनतप्रति म एकदमै सन्तुष्ट छु । उहाँहरूले आफ्नो काममा सयमा सय प्रतिशतनै दिनुभएको छ । बरु मैले दिन सकिन होला ।
झिँगेदाउ चलचित्रको स्क्रिप्ट तपाईंले सोचे जस्तै दृश्य र भाषामा रूपान्तरण भएको छ ?
झिगेँदाउको स्क्रिप्टमा मैले जे देखेँ त्यसअनुसार दृश्य दिने कोशिस भरपूर गरेको छु । शतप्रतिशत दिन सकिन होला । दिनसकेँ भने त मेरो यात्रा यहिँ सकिन्छ । त्यो भन्दा पछि राम्रो गर्ने कोशिस पनि सकिन्छ । तर पनि मैले राम्रो गर्ने कोशिस गरेको छु ।
रक्षक चलचित्रबाट प्रवेश गरेदेखि झिँगेदाउसम्म आईपुग्दा तपाईँले लामै अनुभव बटुली सक्नुभयो । दर्शकहरूको स्वाद पनि परिवर्तन हुँदैछ। मौलिक चलचित्र बनाउन कतिको कठिन छ ? यस्ता चलचित्रहरूलाई हरेक दृष्टिकोणबाट अब्बल बनाउन निर्देशकको भूमिका के हुनसक्छ ?
मैले एकल निर्देशन गरेको चलचित्र रक्षकअघि पनि मैले थुप्रै चलचित्र, टेलिचलचित्रहरूमा संयुक्त रुपमा काम गरेको अनूभव छ । म रक्षकबाट मात्रै हिसाब गर्न हो भने पनि २६ वर्ष बढि भयो भने यो क्षेत्रमा लागेको ३३ वर्ष बढी भयो ।
मौलिक चलचित्र बनाउन चलचित्रले मागेकै लोकेसन खोज्न, लगानीदेखि कलाकार छनोट वा सिङ्गो ईन्टायर टिमको काम सहज छैन । चलचित्र बनाउन पनि धेरै नै गार्हो छ । तर, पनि निर्देशकको भूमिका निकैनै महत्त्वपूर्ण हुन आउँछ । मैले यसलाई बुझेर काम गर्ने कोशिस गरिरहेको छु ।
हालसम्म तपाई आफूले निर्देशन गरेको चलचित्रबाट सन्तुष्ट हुनुहुन्छ ? आफ्नो कामको स्वमूल्याङ्कन कसरी गर्नुभएको छ ?
मलै निर्देशन गरेको कामबाट असन्तुष्ट त छैन् । तर सन्तुष्ट पनि छु भन्न मिल्दैन । म सन्तुष्ट भएँ भने फेरि सन्तुष्टि पाउने गरि काम गर्न मन लाग्दैन होला । तर पनि बिगत लामो समयदेखि म यहि क्षेत्रमा टिकीरहेको छु । दर्शकहरूले माया गरिरहनु भएको छु । म भाग्यमानी पनि होला । त्यसकारण पनि म खुसी हुने ठाउँ धेरै छ ।
अब कस्तो सिनेमा निर्देशन गर्ने सोचमा हुनहुन्छ ?
बिषयवस्तु जे होस्, चाहे साहित्यिक कृति होस् चाहे गहन बिषय वा काल्पनिक जस्तो भए पनि दर्शकलाई मनपर्ने गरि बनाउने नै मेरो पहिलो प्राथमिकता हुन्छ । अब पनि म तत्काल नयाँ प्रोजेक्टको रूपमा बुक बेसमै रहेर काम गर्दैछु ।
दर्शकहरूको धेरै माया पाएका कारण झिँगेदाउ-२ को पनि सोच बनाइरहेको छु । नयाँ नयाँ विषयहरूमा काम गर्न पनि सोचिरहेको छु ।
पछिल्लो समय चलचित्र निर्माता र हलवालाहरू बीचको विवाद सतहमा आएको छ । नेपाली चलचित्रहरूले हल नपाउनुको मुख्य कारण के हो ?
हल पाउने र नपाउने विषयमा व्यापार र मार्केटिङ काम कस्तो हुन्छ वा हुन्न भन्ने प्रश्न पनि रहन्छ । हलवालाहरू पनि ब्यपारकै लागि बस्नु भएको हो । चलचित्रको विषयवस्तु, मेकिङ, पब्लिसिटी, चलचित्रमा आवद्ध हुने व्यक्तिहरूसँग पनि म्याटर गर्छ ।
हल पाउनु र नपाउनुचाहिँ पहिलो दिनको शोसँग मात्रै निर्धारण हुन्छ । त्यसपछि चलचित्र राम्रो बनेको छ भने त दर्शकले माग गरेअनुसार शो त थपिँदै जाने कुरा हो । यसमा बिशेष प्रोडक्सनकै भूमिका हुन्छ । राम्रो बनाउन पर्यो । हाल ऐना झ्यालको पुतली भन्ने चलचित्रलाई दर्शकले माया गरेपछि शोहरू थपिँदै गएका छन् । झिगेँदाउकै कुरामा पनि दिनानुदिन शोहरू थपिँदै गएका छन् । राम्रो चलचित्र बनेपछि शोहरू थप्छन् नै हलहरूले । यो सामान्य कुरा हो विवाद हैनजस्तो लाग्छ ।
नेपाली चलचित्रहरू अन्तर्राष्ट्रिय अवार्डका लागि कमै मनोनित हुने गरेका छन् । यसको कारण नेपालमा अन्तर्राष्ट्रिय स्तरको चलचित्र नबन्नु हो कि पहुँच नभएकोले हो ?
अन्तर्राष्ट्रिय अवार्डका लागि नेपाली चलचित्रहरू पुग्न नसक्नु उत्कृष्ट नबन्नु नै हो । तर बिस्तारै अवार्डका लागि मनोनित हुने मात्रै हैन, पुरस्कार पनि पाईरहेका पनि छन् । यो खुसीको कुरा हो । यसमा हामीसँग पहुँच लगानी लगायत धेरै कुराहरूको कारण पनि जुन गतिमा पुग्नुपर्थ्यो त्यो नभएको हो । अब बिस्तारै अन्तराष्ट्रिय स्तरमा हाम्रा चलचित्रहरूले स्थान बनाउने छन् म आशावादी छु ।
नेपाली चलचित्रहरूमा प्रविधिको प्रयोग कत्तिको हुने गरेको छ ?
प्रविधीहरूको प्रयोग पछिल्लो समय बढ्दै गएको छ । उत्कृष्ट क्यामेरा लगायत भिएपिस ईक्यूपमेन्टहरू प्रयोग भएका छन् । हुँदैछन् । तर, यी ईक्यूपमेन्टहरू महँगा छन् । ब्यानर र प्रोडक्सनले कति खर्च गर्न सक्छ भन्ने महत्वपूर्ण कुरा हुन आउँछ । झिँगेदाउमा पनि मैले प्रविधीको प्रयोग असाध्यै धेर गरेको छु । क्यामेरा पनि हलिउडमै प्रयोग हुने क्यामेरा गरेको छु । अरुले पनि गरेका छन् । प्रविधीको प्रयोगमा राम्रै छ अहिले त ।
अन्त्यमा केही भन्नु छ ?
मैले भन्नैपर्ने कुरा झिँगेदाउ बिभिन्न हलहरूमा लागिरहेको छ । यसमा काम गर्ने टिम र दर्शकहरूलाई आभार । हेर्नुभएको छैन भने एकपटक हेर्नुहुन अनुरोध छ ।
प्रतिक्रिया
-
४
