✍️ अविनाश श्रेष्ठ

सबै कुरो लथालिङ्ग छ । सबै थोक भताभुङ्ग छ । सबै चिज अस्तब्यस्त छ । न्याय निद्रित छ । शासन सुषुप्त छ । प्रशासन पातलिँदै–खिइँदै गइरहेछ दिनहुँ । रक्षा आफ्नै सुरक्षामा बढी तल्लीन छ, अथवा सुरक्षा आफै सुरक्षित हुने होडमा छ । व्यवस्था व्यस्त छ– आफ्नो डम्फू, आफै बजाएर आफै नाच्नमा ।

समाज समाप्तप्रायः छ । अनि सामाजिकता – डर, त्रास र मृत्यु–भयले सातो गएर चिन्नै नसकिने बनेको छ ।
यस्तोमा समय अराजक बन्दा केको आश्चर्य मान्नू ! यस्तोमा समय गुन्डो बनेर जताततै जाइलाग्दा किन छक्क पर्नु !!
समय गुन्डा बनेको छ । समय नृशंस दमनकारी बनेको छ । समय क्रूर आततायीको भेषमा गस्ती गर्दै छ मानवबस्ती–बस्तीमा । समय पाशविक बनेको छ र राजनीतिको मुखुन्डो भिरेर नरसंहारलाई वैधता प्रदान गराउँदो छ ।

अथवा के पनि भन्न सकिन्छ भने– पथभ्रष्ट समयको आडमा कसैले घृणित, कुटिल, महानीच अपेक्षा साँचेको छ– कि सबै ऊसित कहालिउन्, डराउन्, तर्सिउन्; कोही पनि विवेकवान् बाँकी नरहुन्; कोही पनि नीतिवान्, मतिवान् उसको अगाडि टिक्न नसकुन् । ऊ (व्यक्ति वा गिरोह ?) संसारमा एक्लो बुद्धिमान् देखिने बर्बर इच्छाको दास बनेको छ । ऊ सबैलाई मारिन योग्य र आफूलार्य मात्र बाँच्नलायक ठान्ने अमानवीय मनोभ्रमको कमारो बनेको छ । ऊ महानायक हो वा खलनायक त्यो त समयले एकदिन भन्ला नै । तर के चाहिँ प्रस्ट भइसक्यो भने– ऊ इतिहासलाई कज्याउन आतुर छ, विधिलाई बिथोल्ने मनसाय राख्छ, व्यवस्थालाई आफूखुशी दोहन गर्न उखरमाउलिएको छ ।
यो यस्तै समयको आख्यान हो ।

मानवीय संवेदनजा घाइते बनेर जताततै चिहिरिँदै छ, चिच्याउदै छ । कुरूप, न्यायहीन, विवेकशून्य, पशुतुल्य गुन्डा समयले अराजक बनी सबै–सबैलाई लखेटिरहेको बीभत्स बेला हो यो ।
अब आख्यानमा प्रवेश गरौं ।

***

[एकजना भुक्तभोगी नेपाली नागरिकको एकालाप ।]

आजको रात अलि टेढो चालले आएझैँ मलाई लागेको छ । चन्द्रमा व्यङ्ग्य गरेझैँ गाउँमाथि उदाएको छ । ताराहरू सारा पृथ्वीको खिल्ली उठाइरहेझैँ आकाशमा मुस्काइरहेका छन् । सिनुहरू कुहेको, बारुद गनाएको बतास छ– वरिपरिको वातावरणमा ।

रातिको खाना भनेर हामीजस्ता सामान्य नेपालीले जे खान्छन्– त्यो केही छिनअघि सपरिवार बसेर हामीले खाइसकेका छौँ । र भर्खरै चुलो–चौकाको सुसेधन्दाबाट उम्केर डालोमा मकै छोडाउँदै छन् मेरी जहान र बुहारी र दुई किशोरी छोरीहरू माथि आँटी (बुइँगल) मा जाँचको तयारीनिम्ति पढाइमा जुटिरहेका छन् । अनि छोरा र म भोलि गर्नुपर्ने घरायासी कामहरूबारे झीना–मसिना तपसिल केलाइरहेका हुन्छौँ माझको तलामा बसेर ।
यस्तैमा एक्कासि तल घरको मूलढाका जोड–जोडले ढकढकाइएको आवाज रातिको गाउँको चकमन्नतामा चर्को, बिरसिलो र बिस्तातजनक सुनिन्छ ।
यसबेला यति राति को हुन सक्छ ?

हामी बाबु–छोरा सशङ्क बन्छौँ ।
“एऽऽ छिटो ढोका खोल् ।” – तलबाट हप्काएको दम्भी स्वर कान–कानमा झापडझैँ बज्रिन आइपुग्छ ।
आत्मभय र संशयको बाछिटाले निथ्रुक्क रुझाउँछ । तैपनि मनोबल सँगाल्दै छोरातिर हेरिपठाउँछु । उसका आँखामा पनि समाधान होइन प्रश्न नै नाचिरहेको देख्छु ।

‘ढोका खोल्नुको विकल्प हामीसित छैन’ बाबु–छोरामा खासखुस चल्छ ।
तल ढोका पिटाइमा तीव्रता आउनुका साथै हप्काइको स्वरमा क्रोधको जलप बाक्लिँदै गएको टड्कारोसँग सुनिरहेका हुन्छौँ । तर तल गएर ढोका खोल्ने हिम्मत जुटाउन सकिरहेका छैनौँ । यसबीच छोरीहरू, बुहारी र जहान पनि त्यहीँ हामीनेरी आएर डर र आशङ्काले एक डल्लो परेर उभिएका छन् । त्रासको ताण्डव सबैको आँदामा एकनास देखिन्छ ।
उपायहीन, ढोका उघारिदिन्छु ।
उनीहरू तालिमे शिकारी कुकुरझैँ हिंस्रक र खतरनाक शैलीमा प्रस्तुत हुन्छन् । ढोका खोल्न ढिलो गरेकोमा मेरी मरिसकेको आमाको चरित्रलाई थङथिलो पार्ने गालीका अपशब्द घट्याउदै उनीहरू मेरो घरभित्र प्रवेश गर्छन् ।

उनीहरू १४ जनाको सङ्ख्यामा हुन्छन् । कम्ब्याट पहिरेका हतियारधारी । आखेटको पूरा तयारीका साथ निस्केका । को हुन् ? के हुन् ? चिन्नै गाह्रो । छुट्याउनै गाह्रो । किनकि सबै आखेटकहरूको प्रिय पहिरन अहिले कम्ब्याट बनेको छ । शायद कम्ब्याटको छिर्केमिर्के गाढा रङ्गमा रगतको छिटा सजिलै नदेखिने भएर पनि होला वैध–अवैध सबै आखेटकहरूलाई प्रिय छ कम्ब्याट ।
एउटा कम्ब्याटेले मेरो घिच्रो समात्यो र कठोरतापूर्वक अँठ्याउँदै सोध्यो– ‘एऽऽ ! मु…तँ फलानो हैनस् ?’
नाम त मेरै लिइरहेको थियो उसले । ‘मै हुँ’ भन्नैप¥यो । उनीहरूले खोजेको व्यक्ति मै हुँ भन्ने निधो भएपछि एउटाले फोहोर गाली गर्दै भएभरको राक्षसी शक्तिले झापड हानिहाल्यो मेरो गालामा । मेरो कमजोर शरीर भुइँमा ढल्न पाएको थिएन– अर्कोको बुटसहितको लात्ती मेरो कोखोमा ठोक्किन आइपुग्यो ।

म किन कुटिँदै छु ? मबाट के कसुर भएर यस्तो यातना मैले झेल्दै छु ? जान्ने कुनै उपाय छैन । यसबेला संसारको सबैभन्दा घृणित र दण्डनीय अपराधी मै नै बनेको हुँला– ती कम्ब्याटधारीहरूको नजरमा । उनीहरू मलाई भकुरिरहन्छन्, श्लीलताको शील भङ्ग हुने छाडा गालीहरू थुकिरहन्छन् ममाथि ।

दुई किशोरी छोरीहरू, जवान छोरा र बुहारी अनि एकतीस–बत्तीस बर्ष लामो सहयात्रा मसित गर्दै आएकी मेरी श्रीमतीका अगाडि मलाई पिटिन्छ, लछारपछार पार्दै अपमानित गरिन्छ । उमेरको सम्मान, अनुभवको सम्मान, मानवतको सम्मान त्यहाँ कतै छैन ।
डरले कहालिँदै रोइरहेका छोरीहरू, छोरा–बुहारी र श्रीमतीको अनुहार अन्तिम पटक हेरेको छु । त्यति नै बेला उनीहरूमध्ये एकले मलाई हुत्याउँदै घरबाहिर आँगनमा पु¥याउँछ र कराउँछ– “एऽऽ !, लिएर हिँड यसलाई ।”
अस्तित्वभरिको आत्मबल सँगालेर अनुनय गर्दै म सोध्छु– “को हुनुहुन्छ तपाईहरू ?”
“जो भए नि तँलाई किन चाहियो ?”
“हैन, थाहा त पाउनुप-यो नि – मेरो परिवारले…, मलाई कसले लगेको हो ?” म फेरि प्रयास गर्छु ।
“कस्तो कसले…?”
“मैले जान्न खोजको– तपाईहरू सेना हो ? शस्त्र प्रहरी हो ?…कि माओवादी…?…”
वाक्य पूरा नहुँदै फेरि एउटा शक्तिशाली हातले हानिएको थप्पडले मेरो दाहिने कानको जाली झनझनाएको छ । त्यति नै बेला बसैले मेरो आँखामा पट्टी बाँधिदिन्छ ।

उनीहरूमध्येको कमान्डर हुनुपर्छ, कराउँछ– “अब सबथोक उहीँ गएपछि थाहा पाउँछस्, हिँड्…”
त्यसपछि उनीहरू मलाई आफूसँगै घिसार्दै लिएर हिँड्छन् । छोरीहरू, छोरा–बुहारी र श्रीमतीको चर्को रोदनसित मिसिएको असहाय हार–गुहार अन्तिम पटक मेरा कानमा ठोकिन आइपुग्छ ।
रात– मेरा घिसारिएका पाइला–पाइलामा झन् कुटिल बनी खित्का काढ्दै मसँगसँगै हिडिरहन्छ धेरै बेरसम्म ।

                                                  •

ब्यारेक हो कि जङ्गल हो ?
गुफा हो कि खुला तालिमकेन्द्र हो ?
दिन हो कि रात हो ?
आँखामा मेरो पट्टी बाँधिएको छ ।
घोचिरहने ब्यानेटहरू छन् छेउछाउमा सतर्क । ठोकिन–बजारिन आइपुग्ने बन्दुकका कुन्दाहरू छन् । मेशिनगनका बटहरू छन् ।
खुट्याउन गाह्रो छ– कहाँ छु म ? तर, जहाँ छु म– त्यहाँ मानवता–विरोधी गन्ध टड्कारो छ । आदि बर्बरताको अस्रो दुर्गन्ध यहाँ हक्कानिएको छ बतासमा । यातना र क्रन्दका चर्का हिक्काहरू यहाँ ब्यूँतेका छन्– करवीर मसानका प्रेतझैँ ।

                                                      •

सबै कुराले आफ्नो धर्म, आफ्नो स्वभाव छाड्दै छन् ।
गुलाफ– गुलाफजस्तो छैन ।
काउलीमा– काउलीको स्वाद पाइँदैन ।
खोला– खोलाजस्तो नभएर नालाजस्तो छ । बाघ र बिरालोको चरित्रको भिन्नता छुट्याउन गाह्रो भइसक्यो । सुरक्षा दिने घरेलु कुकुर र हिंस्रक मानिने जङ्गाली फ्याउरो छुट्याउन हम्मे छ । [विज्ञानको कृषिले घोडा, गधा र खच्चड उस्तै–उस्तै बन्दै जाँदै छन् ।]
र अहिले आएर बन्दुक भिर्नेहरू सबै–सबै उस्तै–उस्तै बनेका छन् ।
को रक्षा गर्ने ? को हो हत्या गर्ने ?
कुन हो सुरक्षा दिने र कुन हो सफाया गर्ने ? सबैको स्वभाव र चरित्र उस्तै–उस्तै । तिनका अनुहार र अनुहारमा उकेरिने क्रूरता उस्तै–उस्तै ।
गद्य र कविता उस्तै–उस्तै ।
नाटक र निबन्ध उस्तै–उस्तै ।
कथा र काव्य उस्तै–उस्तै ।
मानव र दानव उस्तै–उस्तै ।

                               •

मसित केरकार थालिएको छ ।
“को होस् तँ ? साँचो–साँचो भन्लास् नत्र…”
[“तँ सेनाको लागि काम गर्ने सुराकी हैनस् ? भन्…”]
[“तँ आतङ्ककारीहरूको मतियार हैनस् ? कबुल गर्ने भए गर् नत्र तँ रहन्नस् ।]”
उनीहरूको दबाब दिनहुँ ममाथि बढ्दै जान्छ । म भएको साँचो कुरो भन्छु तर उनीहरू आफूले अपेक्षा गरेको सत्य सुन्न चाहन्छन् । आफ्नो भरपर्दो स्रोतबाट थाहा भएको तथ्यको पुष्टि मद्वारा होस् भन्ने चाहेका छन् उनीहरूले । जसरी होस् उनीहरू– आफूले कबुल गराउन खोजेको कुरा मबाट कबुल गराइछाड्ने मनस्थितिमा छन् भन्ने मैले विगत पाँच दिन–रातको कठोर केरकारबाट अनुमा लगाइसकेको छु ।

अनुमान लगाइसकेको छु उनीहरू आफ्नो कुरो मान्न लगाउन जुन हदसम्म जान पनि सक्छन्, जस्तो कि हिजो राति उनीहरूले न मलाई खाने कुरो दिए न पिउने पानी नै । मनोवैज्ञानिक त्रास उप्जाउनलाई मात्र उनीहरूले त्यसो गरेका होइनन् किनिभने उनीहरू हृदयहीन छन्, जे गर्नु छ कार्यगत रूपमै गर्न तत्पर देखिन्छन् ।

उनीहरूको केराकारको शैलीले मलाई केटाकेटी छँदा स्कूलमा पढेको ‘ब्वाँसो र बाख्राको पाठो’ को कथाको सम्झना गराउँछ ।
कथामा ब्वाँसो खोलाको मुहानतिर उभिएर पानी पिउँदै हुन्छ भने बाख्राको पाठो ब्वाँसोले पिउँदै गरेको भन्दा निकै तल उभिएर त्यहीँ खोलाको पानी पिइरहेको हुन्छ । ब्वाँसोले आएर निहुँ खोज्ने शैलीमा पाठोलाई भन्छ– “मैले पिउँदै गरेको पानी जुठ्याउने हिम्मत तैँले कसरी गरिस् ? पाठोले ब्वाँसोलाई वस्तुस्थिति छर्लङ्ग्याउँदै सम्झाउँछ– “हजुर माथि मुहानतिर पानी पिउँदै हुनुहुन्थ्यो, म तल थिएँ सर्कार । मैले कसरी हजुरको पानी जुठयाउन मिल्छ र प्रभु ?” तर प्रभुको नियत त अर्कै थियो त्यसैले उसले भन्यो– “तैँले नजुठ्याएको भए पक्के पनि तेरो बाउले, बाउले नभए बाजेले र बाजेले पनि नभए तेरो कुनै पुर्खाले तेरो पानी जुठो पारकै हुनुपर्छ ।” त्यति भनी नसक्दै ब्वाँसोले पाठोलाई घिच्रोमा आफ्ना दाह्रा गाडिसकेको हुन्छ ।
अर्थात्– गर्दै नगरेको दोषको भागी बनाउन र फसाउन उनीहरू तर्क गढ्दै थिए मेरा विरुद्ध । जसरी भए पनि मलाई उम्कन नदिन उनीहरू जाल बुन्दै थिए खतरनाक ।

 •

दुई दिन र तीन रातसम्म मलाई भोकै–प्यासै राखेर पनि अपेक्षित कुरो मबाट ओकल्न लगाउने दाउ सफल नभएपछि उनीहरू रन्थनिएको देख्दै छु ।
चौथो दिन बिहान– मलाई थुनिएको खोरमा खाने कुरा हुत्याएर जान्छ कसैले, मानौ कुनै भोको पशुको अगाडि चारो हालिएको जस्तो गरी । म पनि भोकाएको जङ्गली बँदेलझैँ खाने कुरोमाथि झम्टन पुग्छु । मेरो अवस्थामाथि पेट मिचीमिची हाँस्छन्– केही पर उभिएर तमासा हेरिरहेका तीन–चार जना कम्याटेहरू । तर म पर्बाह गर्दिनँँ र शरीरको क्षुद्र भोक शान्त पार्न तल्लीन भइदिन्छु । पृष्ठभूमिमा कम्ब्याटेहरूको खित्का र कटाक्ष जारी छ मेरो घिचाइसँगसँगै । मलाई थाहा छ म एकैछिनपछि पनि मारिन सक्छु । तर भोकको अगाडि, रित्तो पेटको अगाडि मान्छे कति बबुरो र विवश हुँदो रहेछ– आज थाहा पाएँ ।

त्यसपछिका दिनहरूमा उनीहरूको केरकारको शैली अझ कटु र कठोर बन्दै जान्छ ।
“एऽऽ ! यो त्यसौ बोल्दैन गोद यसलाई ।”

[“यो त्यसै बक्दैन, तताएको झीरले डाम यसको मलद्वारमा !”]
“मुख खोल्दैन भने यसका हातका औँलाहरू सिलौटामा राखेर थिलोथिलो पार ।”
[“अझै पनि साँचो कुरो भन्दैन भने यसको थुतुनोबाट ओठ काटेर मिल्काइदिनू !”]
कुट्नु कुटिएँ म । थङथिलो पारिएँ । मेरा हातका औँलाहरू थिलोथिलो गहुने गरी सिलौटामा राखेर हानिए । दाहिने खुट्टो घुँडानिरबाट ठुनुक्कै पारेर भाँचिदिएका छन् । आँखा एउटा राइफलको कुन्दाले हानेर फुटाइएको छ ।

म कति रोएँ । कति कराएँ । बिन्तीभाउ गरेँ । म मान्छे हुँ । मान्छेको बिउ हूँ । अस्तित्व हुँ । तर मेरो मर्मभेदी गुहार सुन्ने यहाँ कोही छैन । यहाँ मानवताको सम्मान छैन । मानव–अस्तित्वको अर्थ छैन ।
म भित्रभित्रै निसास्सिएको छु । छटपिटएको छु । अतास्सिएको छु । मनमनै दमित बनी गुम्सिएको छु ।
“कुन जनताको मुक्तिका निम्ति हो– मैले व्यर्थै झेल्नुपरेको यो दण्ड ?” – मलाई चिच्याई– चिच्याई सोध्न मन लागेको छ ।
“किन मान्छे मान्छेको विरुद्ध यति क्रूर बनिदिन्छ ? कुनै प्रस्ट शत्रुता वा व्यक्तिगत इबीबिना यति कठोर भइदिन्छ मान्छे मान्छेका लागि ?” सोध्न मन लाग्छ, तर कसलाई सोधूँ ?

साहूको बीस रुपियाँ रिन भाकाको म्यादभित्र तिर्न नसक्दा बाख्राको खोरमा दिनभरि थुनिएका मेरा बुबाको ग्लानि भरिएको अनुहार, आँखाको डिलमा सुकेका आँशु र लाजले झुकेको गर्दन– झल्याँस्स सम्झन्छु । क्रूर सामन्तीहरू अपमानजनक प्रताडना खेप्ने निरीह बाबुको निर्धनता र तिरस्कार उत्तराधिकारमा पाएको म एकजना निमुखो निर्धो नेपालीले कसको के बिगार गरिदिएँ र यस्तो सास्तीको भागी बनेको छु ? के मलाई आफू जन्मेको देशमा आफ्नो र आफ्नो परिवारको जिन्दगी इज्जतसाथ निर्धक्क बाँच्ने अधिकार छैन ?

मभित्र प्रश्नहरूको अनन्त ताँती छ । तर उत्तर कतैबाट आउँदैन, कसैबाट पाउँदिनँ ।
आकाशमा जून अहिले मजस्तै निसस्एिको होला ।
ताराहरू मजसरी नै नै बिलखबन्दमा परेका होलान् ।
बाहिर रात मजस्तै उद्वेलिन बनी छटपटाइरहेको होला ।

मलाई घरबाट बलजफ्ती अपहरण गरिएको सत्ताइसौँ दिन अट्ठाइसौँ रातको कुरो हो, खोरभित्रको अन्धकारमा कुनै पशुझैँ थुनिएको म निदाउने उपक्रम गरिरहेको हुन्छु । त्यत्तिकैमा नजिकै सुनिन थालेको कुराकानीतिर मेरो ध्यान तानिन्छ ।
उनीहरूको कमान्डर हुनुपर्छ जङ्गिँदै पड्किरहेको थियो– “यो होइन रहेछ । किन ल्याएको यसलाई यहाँ ?”
“नाम त उही रहेछ नि कमरेड !”

[“उमेर र अनुहारको हुलिया त दुरुस्तै मिल्दो रै’छ नि साब !”]
[“च्यूँडो र च्यापु त उस्तै छ हजुर !”]
[ “दाँत र दाह्री उस्तै–उस्तै रै’छ साब !”]
[“रगत र -याल पनि उस्तै छ हजुर !”]

[“कान र कपाल, खाने मुख र सपना देख्ने आँखा उस्तै रहेछन् नि कमरेड !, त्यसैले कमरेडहरू झुक्किएछन् !”]
“लौ भै’गो अब के गछौं यसको ? अचार हाल्छौ कि ? लगेर फाल्छौ कि ? माफी माग्छौ कि ? यल्लाई छोडी भाग्छौ कि ? पु¥याएर आउँछौ कि ? यहीँबाट यल्लाई यसको बाटा लाउँछौ कि ?” कमरेड कमान्डर कर्नल साब/एस.पी. वा युनिफाइड कमान्डको इन्चार्ज हजुर व्यङ्ग्य, आक्रोश, घृणा, उपेक्षा, तिरस्कार आदि मिसिएको आवाजमा उम्लेर छाताछुल्ला पोखिन्छ ।
[“कहाँ तेसो गर्न मिल्छ र कमरेड !”
[“कहाँ त्यसै छोड्न हुन्छ र साब !”]
[“अब यल्लाई छोड्न त ज्यान गए मिल्दैन हजुर !”]

“अब यसको यसको अस्तित्व हाम्रो लागि खतरा साबित हुन सक्छ कमरेड !”
[“अब यो हुनु हामी नहुनु हो हजुर !”]
[“अब यसलाई रहन दिनु आफैँलाई रहन नदिनुसरह हो साब !”]

मेरो सन्ताउन्न वर्षको लामो जीवन–अनुभव बोकेको अस्तित्वलाई मेट्ने निर्णयमा पुग्न उनीहरूले ७ मिनेट पनि नलगाएको देख्दा म छक्क परेको छैन । खालि सोचिरहेको छु, ‘मान्छेको जीवन साँच्चै कति सस्तो भइसकेछ । मान्छेको अस्तित्वको अर्थ खिइँदा–खिइँदै समाप्तै भइसकेछ ।’
अब म मारिने निश्चित छ । शायद भोलि बिहानको सूर्य मेरो निम्ति नउदाउन पनि सक्छ । मभित्र अब कुनै डर वा मृत्युभय शेष छैन ।
एउटै अन्तिम प्राथन गर्छु कुनै न्यायकर्ता वा नियन्ता छ यस जगत्मा भने– “निष्प्रयोजन, निरपराध मारिने यस पृथिवीको अन्तिम व्यक्ति म नै बनूँ । म जस्तो अर्थहीन, तुच्छ मृत्यु अन्य कुनै मान्छेको नियति फेरि नबनोस् । इति ।”

[आजको नेपालमा सरकार नामक जुन अनौठो र उदेकलाग्दो चिज छ त्यसको सङ्क्षिप्त एकलाप ।]

“फलानो जिल्लाको सदरमुकामसित सीमा जोरिएको फलामो गाविसको वडा नं. ८ बस्ने अन्दाजी वर्ष ५७ को फलानोको नाति, फलानोको छोरा फलानो ढिस्कानो नाम गरेको (पासपोर्ट लिँदा पेशा–‘कृषि’ लेखाउने) नेपाली नागरिकको शव आज फलानो गते, फलानो महिना, फलानो वर्ष, फलानो रोजका दिन फलानो खोलाको खोल्सामा भेटिएको छ । यस शवसँगै हालसम्म मारिनेहरूको सङ्ख्या चौध हजार चार सय चौसट्ठी पुगेको छ ।
भोलि मारिनेहरूको विवरणसहित फेरि हाजिर हुने नै छौँ । जय नेपाल ।”

रचनाकालः साउन, २०६१ (सन् २००४ जुलाई)
नेपाल साप्ताहिकमा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर