✍️ पार्वती भट्ट

मुक्तक – एक

मान बिसाएर अपमान, लान नपरोस्
अस्मिता बेचेर सलामी, खान नपरोस्
रिझाउन नसकिनेलाई बिझाएर मात्रै
जाने दिन ! बिना मलामी, जान नपरोस्

मुक्तक – दुई

कोही पुरस्कृत हुँदैछन्, कोही दण्डित हुँदैछन्
विक्षिप्त छन् मानसिकता, विखण्डित हुँदैछन्
सत्य,न्याय,धर्मले घुँडा टेक्यो भनेर गुनासो नगर्नू
यहाँ त मन्दिरका मूर्ति चोरहरू नै,पण्डित हुँदैछन्

मुक्तक – तीन

बादल जस्तै च्यातिनु र फाट्नु पर्दा पीर लाग्छ
जानीजानी आफैँलाई, ढाँट्नु पर्दा पीर लाग्छ
मुटु जलाइ आरनमा गाल्दा पनि नपग्लिने
पत्थरसित जिन्दगानी, साट्नु पर्दा पीर लाग्छ

मुक्तक – चार

दिन छोटा सम्झिन्छु, रात लामा सम्झिन्छु
बचपन सम्झिन्छु, पुरानो जामा सम्झिन्छु
जब अत्तालिन्छ मन र खोज्छ आफ्नोपन
कि तिमी सम्झिन्छु, कि आमा सम्झिन्छु ।

मुक्तक – पाँच

कहिले सहनशीला सुशीला, कहिले विद्रोही हुन मन लाग्छ
तिम्रो क्रूरतालाई सके आँसुले, नसके रगतले धुन मन लाग्छ
सम्झिएपछि दमन, देखेपछि अन्याय तोडेर मौनता स्वयम्
ज्वालामुखी भएर बिस्फोट अनि लाभा भएर छुन मन लाग्छ

प्रतिक्रिया

सम्बन्धित खवर