✍️ रोजिना पराजुली

 

धुमिल धुमिल थियो मौसम आजको जस्तै। जुलाई २७ को विहान यो प्रेमिल जोडी गर्भ जाँचका लागि निस्किएका थिए। गर्भमा भएको सन्तान छोरा छ कि छोरी उनीहरू असाध्यै उत्साहित देखिन्थे। आधा घण्टाको पर्खाइपछि ढोकावाट आवाज आउँछ। ”
सीमा भण्डारी भित्र आउनुहोला।”

दुवै जना सरासर भित्र पस्छन्, पहिलातिर पनि अल्ट्रासाउन्ड गरिसकेकाले सीमा सिधै वेडमा पल्टिन्छिन्, सिस्टरले कपडा थोरै तल सारिदिएपछि डाक्टर महेन्द्र आफ्नो काम सुरु गर्छन्, त्यसको केहि समयपछि आकाश (सीमाको श्रीमान): “डाक्टर साव सीमाको पेटमा भएको सन्तान छोरा छ या छोरी ?”

डाक्टर महेन्द्रको आँखा पुलुक्क आकाशको अनुहारमा पर्छ जुन अनुहार एकदमै खुसी देखिन्थ्यो, उत्साहि देखिन्थ्यो र त्यतिकै कर्तव्य निष्ठ पनि। डाक्टर “पहिलो सन्तान हो ?”
आकाश “हजुर डाक्टर साब।”
डाक्टर”उहाँको पेटमा छोरी छिन्।”
अत्यन्त खुशीको मुद्रामा) “थ्याङ्क्थु डाक्टर साब।”
यस. यस. क्लिनिकमा काम सकिएपछि हर्षित मुहार लिएर दुबै जना त्यहाँबाट निस्कन्छन्। बाहिर आएपछि आकाश आफ्नी श्रीमतीलाई अङ्गालो मारेर भन्छन्
“लभ यू सो मच सिमु” यतिकैमा घरबाट आमाको फोन आउँछ।
आमा “बावु कति ढिला गरेको आउने बेला भएन? खाना चिसो भइसक्यो।”
आकाश “आमा, हजुर खाएर वस्नुस् हामी आउन अलि ढिलो हुन्छ।”
*****

भोलि आकाशको कोरियाको फ्लाईट छ आज किनमेलको काम पनि सकाउनुपर्ने भएकोले दुवै जना राधेराधे भाटभटेनीतिर जान्छन्। सीमाको मन अत्यन्तै गर्हुङ्गो भएको छ। पाँच महिनाकि छोरी गर्भमै छोडेर श्रीमान परदेश जादैछन्। थाहा छैन भोलिको दिनहरूमा कस्ता कस्ता दुखहरू झेल्नुपर्ने हो, पलपल श्रीमान को मायाले पुलकित भएकि म ती एक्ला दिनहरु कसरी गुजार्न सकुँला? छोरी जन्मिने बेलामा पनि उहाँ सँगै नहुदाँ मलाई कति गार्हो हुनेहोला, उहाँ अलि कम बोल्ने स्वभावको हुनुहुन्छ, परदेशको ठाउँ, अपरिचित मान्छेहरु, न राम्रोसँग भाषा आउँछ कसरी गर्नुहुन्छ होला काम? यस्तै कुराहरुले मन विथोलिरहेको वेला बाइक ठ्याक्कै रोकिन्छ र आवाज आउँछ, “सीमु झर न भाटभटेनी आइसक्यो।” झसङ्ग हुदै सीमा बाइकवाट झर्छिन्। दुवै जना भित्र पस्छन् र किनमेल सुरु हुन्छ। केहि ड्राइफुडहरु, केही कस्मेटिक सामानहरू,लगेज,ब्याग र केही जोर कपडाहरू किन्छन्। सामान किन्दै पिच्छे आकाश मूल्य हेरिरहेका हुन्छन् कि सामान्य काम गरेर कमाएको थोरै रकमले धेरै कुराहरूको व्यवस्थापन गर्नुपर्ने हुन्छ त्यसैले भन्छन्।

आकाश “सामानहरू धेरै भईसक्यो सिमु जाउँ अब।”
सीमा “एउटा थर्मकोट पनि किनौं न चिसोमा लगाउनुपर्छ।”
आकाश “ह्या…… सीमु पुग्यो के ज्याकेट लगाउला नि चिसोमा।”
उसलाई कर गरेको खासै मन पर्दैन त्यसैले सीमा केहि बोल्दिनन्। दुवै जना निस्किन्छन् र सरासर घर जान्छन्।
गेटमा हर्न बजेपछि भित्रवाट ढोका खुल्छ। आधा फुलेको कपाल, पुरानो कुर्ता सलवाल, खाना कुरेर बसेको भोको पेट, रसिला आँखा देखिन्छन्। आकाश सरासर कोठामा पस्छन्।

सीमा “आमा खाना नखाइवस्नुभाको?”
आमा “आजको दिन छ सँगै खाने भोलि त छोरो गइहाल्छ भनेर कुरेर वसेको।”
जाऊँ न त अव खाऊँ। सबैले खाना खान्छन्। सीमा आकाशको कपडा धोईदिन्छिन्, सरसफाईको काम गर्छन्।

*****
यतिकैमा गोधुली साँझ पर्छ। घरमा बा,आमा ,सीमा र आकाश मात्र हुन्छन् । आमा र सीमा पीरले गर्दा बोल्नै छोडेका छन्। एउटा जिम्मेवार पिता भएको नाताले बा प्रश्नमाथि प्रश्न सोध्नुहुन्छ। साथी कहाँका छन्? खानबस्न दिने हो कि होईन? भाषा नजाने गाली पो गर्ने हो कि?खासै दुख नगरेको मान्छे परदेसमा दुखको पहाड नै छिचोल्नु पर्ने हो कि? यी र यस्तै। बावुछोराको बीचमा यी भलाकुसारी चलिरहँदा उता भान्छामा खाना पाकिसकेको हुन्छ। आमाले खाना खान बाेलाउनुहुन्छ र सबै जना जति रुचेको खान्छन् तर सीमाले भने अरुले नदेख्ने गरेर खाना डस्टबिनमा हालिदिन्छिन्। सीमा र आकाश आफ्नो कोठातिर लाग्छन्, आमा पनि बा सँगै कोठामा जान्छिन् तर उनलाई कोठामा बस्न फिटिक्कै मन लाग्दैन, आमाको मन न हो सजिलै किन मान्थ्यो र! उनी जुरुक्क उठेर छोरा बुहारीकोमा पुग्छिन् र आफ्नो छोरालाई धेरै कुराहरू सम्झाउछिन्। आकाश भने आमा रुन्छिन् भन्ने डरले कुरा मोड्दै भन्छन्।

आकाश “आमा दश बजिसक्यो गएर सुत्नुस्। सीमाले पनि सहमतको टाउको हल्लाउछिन्।”
आमा सुत्न गए लगत्तै आकाशले ढोकाको चुक्कुल लगाउछन्, ट्युवलाईट वन्द गर्छन्, जेरो वाडको वत्ति भने वलिरहन्छ, यता झ्यालमा गोल्डेन कलरको पर्दा पनि सीमाले लगाइदिन्छिन्। कोठा मधुरो देखिन्छ। मनभित्र कुराहरू तँछाड मछाड गरिरहेका भएपनि दुवैका ओठहरू चलमलाउदैनन्। दुवै जना वेडमा पल्टिन्छन्, घरि एउटा कोल्टे फर्किन्छन्। घरि अर्को कोल्टे फर्किन्छन्। फिटिक्कै निन्द्रा लाग्दैन।
सीमा “निदाउनुस् न भोलि सबेरै उठ्नु छ।”
आकाश “आफू चाहि किन नदिदाएकि नि ?”

त्यसपछि केहि विश्वासका कुरा, केहि वाचाका कुरा, केहि भविष्यका कुराहरू गर्छन्। दुबै जनाले एक अर्कालाई ज्यादै माया गर्ने भएकाले पनि होला यो विछोड उनीहरूको लागि असाध्यै पीडादायी हुन्छ। एक अर्काको पाखुरालाई सिरानी वनाएर, एक अर्काको आवाजलाई उत्प्रेरणा वनाएर अगाडि बढिरहेको जोडी प्रेमिल कुराहरू गर्दा गर्दै रात वितेको पत्तो पाउदैनन् दुइ पर्दा जोडिएको विचको ठाउँबाट मिर्मिरे उज्यालो भित्र छिरेपछि सीमा घर धन्दाको कामतिर लाग्छिन्। आमा नुवाईधुवाई गरेर पुजाआजा गर्नुहुन्छ। पुजा कोठामा दियोभरि तेल हालेर वत्ति सल्काउनुहुन्छ। वा र आकाश पनि उठेपछि सबै जना घर नजिकैको मन्दिर पुगेर आउछन्।

आज पनि आकाश खुल्ने छाँटकाँट छैन।
बा भन्नुहुन्छ “खाना छिटो तयार गर्नु नौ वजे ट्याक्सी आउँछ, ढिलो गर्नु हुँदैन, बाटोमा जाम पर्नसक्छ।”
सीमा “हस् बुवा।”
आमा “तिमीहरू सरसामान मिलाउदै गर म भान्छामा जान्छु।”
केही समयपछि….
सबैले खाना खान्छन्। ट्याक्सी आउँछ।
बा “ट्याक्सी आइसक्यो छिटो निस्क।”

सीमालाई ढोकाको चुक्कुल खोल्ने हिम्मत आउँदैछ। गला अवरुद्ध हुन्छ। चिच्याउँदै रुन मन नलागेको त होईन तर सोच्छिन् आफू रोएर उहाँलाई पनि कमजोर बनाउन हुँदैन। एक अर्कालाई अंकमाल गर्छन्।

सीमा: (आँखाको डिलवाट निस्किन लागेको आसुँ भित्रै दवाएर) आफ्नो ख्याल गर्नुहोला।
आकाश बोल्नै सक्दैनन्। दुवै वाहिर निस्किन्छन्। बा आमाले छोरालाई टिका लगाई दिन्छन्। ट्याक्सीले हर्न बजाए लगत्तै सबै जना ट्याक्सीमा बस्छन्, ट्याक्सी गुड्छ। आकाश पुलुक्क फर्किएर घरतिर हेर्छन्।
*****

एक घण्टापछि…
केही जाम छिचोलेर ट्याक्सी एयरपोर्ट पुग्छ। परदेश जाने र आउनेहरूको जमातले सीमाको मन असाध्यै खिन्न हुन्छ। डिग्री पास गरेका सर्टिफिकेट दराजमा राखेर भविष्य खोज्दै श्रीमान् परदेशिएको दिन कुन श्रीमती खुशी होली र? मन विचलित हुन्छ, देसको अवस्था, परिवेश र राजनीतिसँग वितृष्णा जाग्छ, यो अवस्थामा नेपाली भएकोमा आँफैमाथि घृणा जाग्नु अस्वभाविक त हुँदै होइन। फेरि स्वदेशमै वसेर काम गर्ने वातावरण पनि छैन। वन्द, हड्ताल,चक्का जाम यी त नेपालमा सामान्य भईसकेका छन्। यतिकैमा सीमाका माइतिपटिका दाइहरू आउँछन्, आकाशका मामा माइजूहरु पनि आउँछन्।

सबै भेला हुँदा पनि आमाको आँखा रोकिएको छैन। म भने जबरजस्ती मन बाधिरहेकि छु ता कि उहाँलाई कमजोर भएको देख्न नपरोस्। अब छुट्टिने बेला भएकोले सबैले फोटो खिच्छन्। यस लगत्तै भित्र छिर्ने बेला भएको आदेश आउँछ। एक हुल युवा जमात हातमा राहदानी बोकेर लाइन बस्छन्, त्यसमध्येको एक आकाश।

आकाश र सीमा एकअर्कासँग आँखा जुधाउन पनि सकेका छैनन्। अँगालोमा कस्सिएर वेस्सरी रुन मन लागेको छ, मलाई पनि लिएर जानुस् भन्न मन लागेको छ, यतिकैमा लाइन अगाडि बढ्छ। सीमाका आँखा टिलपिल छन्, आमाका पनि त्यस्तै। भित्र पुगेर रातो पिरो अनुहार लगाएर आकाश बिदाईको हात हल्लाउँछन्। यता वाहिरवाट सीमा भने हात हल्लाउँनै सक्दिनन् र मुन्टोेले इसारा गर्छिन्। हे्दाहेर्दै आकाश भित्र पसेको ढोका बन्द हुन्छ। अनि पो सीमाको होसै हराउछ। शरिरमा उभिने शक्ति छैन। उनी थुचुक्क बस्छिन् र भक्कानिएर रुन्छिन्। दाइले सम्झाउँछन्, सबैले सम्झाउँछन्। रुनु मात्र पनि त समाधान होइन भन्ने सोचेर मन वलियो बनाउँछिन्। घर फर्किने बेला भएको छ सवै जना ट्याक्सी चढ्छन्। ट्याक्सी घरको गेटमा पुगेर रोकिन्छ। सीमा ढोका खोल्छिन्। पुजा कोठामा दियो बलिरहेको छ। बलिरहेको दियोले केही सान्त्वना दिएको आभाष हुन्छ।
*****

आकाश धुम्मिरहेकै छ। गड्याङ्गुडुङ् गर्दै विजुली चम्किरहेको छ। आकाशबाट फाट्टफुट्ट पानीका थोपाहरू पनि खस्न थाल्छन्। यतिमात्र कहाँ हो र! यही वेला हवाइजहाज उडेको आवाज हुइ………. अ गरेर कानमा ठोकिन्छ। सीमा घरको छतबाट आकाश नियाल्छिन्। बादलले ढाकेको आकाशमा केही देखिँदैन। आवाज मात्र कानभरी गुन्जिन्छ। मनमा अनेकौं कुराहरू खेल्छन्। “हे भगवान् भविष्य खोज्दै परदेशीएका मेरा श्रीमान् सकुसल पुगेको खबर पठाऊ। हिड्दा ठेस नलागोस्, पराइको गाली कहिल्यै सुन्न नपरोस्, उहाँ अत्यन्त सोझो र इमान्दार मान्छे, पढेलेखेको हुनुहुन्छ, सहयोगी र प्रतिवद्ध मान्छे, पाखुराभरि बल भएको एक कर्मठ योद्धा, देशले चिनेर पनि बुचपचाएको यस्ता युवालाई परदेशले सम्मान गरोस्।”

सबै आ-आफ्नो कोठातिर जान्छन्। सीमा ऐनाको अगाडि उभिएका आफ्नो यौवन नियाल्छिन्। उनलाई यो सबै बेकार लाग्छ। जसोतसो दिन त वित्छ तर रात काट्नै गार्हो हुन्छ। भोलिपल्ट लगत्तै गाउँ फर्कनु छ, गाउँमा केटाकेटीलाई अङग्रेजी पढाउने, गाउँमै राम्रो विद्यालय खोल्ने सिमाको बच्चा बेला देखिको रहर हो। भोलिपल्ट सीमा गाउँ फर्किन्छन्। सोही दिन बेलुका मोवाइलको घण्टि बज्छ, उत्साहित भएर फोन हेर्छिन्। साउथ कोरियाबाट श्रीमानको फोन आएको हुन्छ। सकुसल पुगेको र भोलिदेखि काम गर्ने खबरले उनको खुशीले सीमा नाँघ्छ,आफू लाई पनि काम गर्ने उत्साह बढ्छ। दिन र महिनाहरू एवम् रितले वित्दै जान्छन्।

***** चार महिनापछि…………

विस्तारै विस्तारै आकाशको फोन पातलिँदै गएको छ। यता सीमा हिड्न नसक्ने भएकि छिन्। विद्यालय छुट्टि लिएर उनि काठमाडौं जान्छिन्। मिति नाघेको पनि एक हप्ता भैसकेको छ। ढाडपेट सहिनसक्नु गरी दुख्छ। सीमा आफूलाई जति गार्हो हुन्छ उति श्रीमानलाई सम्झिन्छन्। एक्कासि बच्चा नचलेको अनुभव हुन्छ। सीमा झल्यास्स हुन्छिन्। डाक्टरले भनेकि थिईन्, बच्चा नचल्ने बित्तिकै आउनुहोला। सीमा फेरि एस . एस. क्लिनिक जान्छिन् डाक्टरको सल्लाह बमोजिम भर्ना भएर बस्नुपर्ने हुन्छ। लगत्तै आमालाई साथी लिएर मध्यपुर हस्पिटल जान्छिन् र भर्ना हुन्छिन्।

डाक्टर अमिला सीमाको निरन्तर गर्भ जाँच गर्ने डाक्टर हुन्। उनका अनुसार तत्कालै सल्यक्रिया नगरे आमा र बच्चा दुबैको स्थिति खराब हुन्छ। आफ्नो श्रीमानलाई यो खवर सुनाउन सीमा अत्यन्तै आतुर छिन्। फोन गरुँ भने आकाश कोरिया पुगेर सिमकार्ड किनेकै छैन। सीमा म्यासेन्जरमा म्यासेज छोड्छिन्।

“हजुरसँग कुरा नभएको पनि एक हप्ता बितिसक्यो। डाक्टरको सल्लाह वमोजिम अहिले नौ बजेभित्र सल्यक्रिया नगरे आमा र बच्चा दुवैको स्थिति खराब हुने भएकाले म अपरेसन थिएटरमा छिर्दै छु। भित्र मोवाइल चलाउन मिल्दैन। यो बेलामा जति धेरै हजुरको याद त निमोनियाले सताएर दुई महिना थलिँदा पनि आएको थिएन। परदेशमा हुनुहुन्छ, चिन्ता नलिनुस्, हजुरलाई सम्झेर मात्र पनि म दुनियाँ जित्ने उर्जा सङ्गाल्न सक्छु। यो पीडालाई छिचोलिसकेपछि हामी दुई बाट तीन हुनेछौं। खर्च कति लाग्छ थाहा छैन बरु हजुरसँग छ भने मेरो खातामा थोरै पैसा पठाउनु होला। लभ यू सो मच!”यसरी म्यासेज छोडेर सीमा अपरेसन थिएटरमा पस्छिन्।

ठ्याक्कै नौ वजे सल्यक्रिया शुरू हुन्छ। उता म्यासेज हेरेर आकाश छट्पटाउन थाल्छन्। रातको वार्ह बजिसकेको छ, खाना खान मन लाग्दैन,सँगै हुँदा सधैं आमा वन्न रहर गर्ने सीमा यो पीडाको घडिमा आफुलाई कसरी सम्हालेकि होलिन्। आँखामा झल्झली सीमाको रुन्चे अनुहार आइरहन्छ। यत्तिकैमा म्यासेन्जरमा घण्टी बज्छ। तुल्सी दाई(सीमाको आफ्नै दाई)को म्यासेज आएको हुन्छ। म्यासेजमा छोरीको फोटोसहित लेखिएको छ,दुवैजना लाई ठिक छ, चिन्ता नलिनुहोला। आकाशलाई लाग्छ कतिबेला उडेर नेपाल पुगुँ र आफ्नी छोरीलाई काखमा राखौं, कतिबेला सीमासँग कुरा गरौं र उनको घाउमा मल्हम लगाउँ। यता सिमालाइ बढि ब्लिडिङ भएकोले आइसियुमा राखिएको छ। छोरी हजुरआमासँग छिन्। पाँच दिनपछि डिस्चार्ज हुन्छ अनि घर जान्छन्। कहिलेकाहीं यसैगरी म्यासेन्जरमा कुरा हुन्छ, होइन भने खासै कुरा हुँदैन। अलि सक्ने भएपछि सीमा पनि विद्यालय जान्छिन्। दुवै आ- आफ्नो काममा व्यस्त हुन्छन्।
*****

दुई वर्षपछि

आकाश सधैं झैं काम गरिरहन्छन्। परदेशीको जिन्दगी अत्यन्तै पीडादायी छ। न भोक लागेको बेला खान पाउनु, न निन्द्रा लाग्दा सुत्न पाउनु, न त गार्हो भयो भनरे थकाई मार्न पाउनु। नेपालमा भनिने गगनचुम्बी मलजत्रा त यहाँ गाडी गुड्छन्,आफुले दिनभरि त्यहि गाडिमा सामान लोड गर्नुपर्छ। दिनरात साहुको गाली सहेर काम गर्नुपर्छ। यतिसम्म कि मिल्ने भए पशुलाई पिटेजसरी पिटेर काम लगाउन पनि पछि पर्दैनन् साहु। मेसिन जसरी काम गर्न सक्नेलाई माया नगर्ने पनि होइनन्। आकाश जो दिनरात मेसिन झैं काम गर्छन् र धेरथोर पैसा पनि कमाउछन्। उनलाई लाग्छ,आखिर म नेपालमै वसेको भए पनि केहि गर्न सक्दैन थिए। उहि साथीभाईहरूसँगको रमझम, हल्लाखल्ला,वन्द हड्ताल गरेरै फुर्सद हुदैन थियो।

पैसाको मुखै देख्न पाईदैनथ्यो। अझै पनि उता नेपालमा साथीहरू त्यसै गरेर दिन बिताईरहेका छन्,पार्टी पार्टी भन्दै कुदेका छन्,घरमा चुल्हो बाल्ने मट्टितेल छैन,वालबच्चा भोकले तड्पिएका छन्। धन्न भगवानले डोर्याएर मलाई यता ल्याएछन्। अब एक वर्ष जति यसरी दुख गर्न सके भने काठमाडौंमा एउटा घर बनाउन सकिन्छ होला। श्रीमती, छोरी र बा आमालाई सुख सँग राख्न पाए, सीमाको गाउँमा विध्यालय खोलेर अङ्रेजी सिकाउने रहरमा साथ दिन पाए यो जिन्दगी सार्थक हुने थियो यस्तै कुराहरु मनमा खेल्छन्।
विगतबाट केहि हौसला बटुलेर आकाश रात बिहान नभनी काम गर्छन्।
*****

नेपालमा
आज पनि सीमा सधैं जसरी विद्यालय निस्किन्छिन्। बाटोमा सँगै स्कुल पढेकि साथी मिठु भेट हुन्छ।
मिठु, विद्यालय जान लागे कि?
सीमा, अँ त। के छ तिम्रो खबर?
मिठु, मेरो त सबै ठिकठाक छ नि बरु तिम्रो पो ठिक छैन भन्ने हल्ला छ गाउँभरी।
सीमा, कस्ले के सुनाए फेरि तिम्लाई? मलाई त केहि पनि थाहा छैन्।
मिठु, परदेशमा तिम्रा श्रीमान अर्कि बिहे गरेर बसेका छन्, बालबच्चा पनि भईसके, त्यसैले नेपाल नआएको भन्ने हल्ला छ। ल है मलाई त हतार छ गएँ, तिमी चाही विचार गर।

म झसङ्ग हुन्छु, जिउ थरथर काम्न थाल्छ, लागेको जाँगर पनि मरेर आउछ, दिनभरी मनमा कुरा खेल्छन्। एक मनले सोच्छु, उहाँ त्यस्तो मान्छे फिटिक्कै होईन, यी गाउँलेलाई नानाभाँती कुरा कस्ले सुनाउदो हो, आफ्नो खेतबारी बाँझै छोडेका छन्, चामल किनेर जिविका चलाउँछन्, दिनभरी अरुको कुरा काटेर बस्नुभन्दा खेतबारीको काम गरे कति गज्जब हुन्थ्यो। आखिर अर्को बिहे नै गर्नुपर्ने मैले कुनै गल्ती गरेकी छैन। उहाँले मलाई विश्वासघात गर्न सक्नुहुन्न। अर्को मनले सोच्छु,आखिर यो सन्सारमा कस्को भर छ र ?

संसारमा हामीले असल मानेका प्राय मान्छेको पनि त पारिवारिक अवस्था हेर्ने हो भने डामाडोल नै देखिन्छ, मान्छेको मन त हो परिवर्तन नहोला भन्न पनि सकिन्न, अझै यी पुरूष जातिको मन कस्तो खालको हुदो हो? मेरो श्रीमानको मनको सबै कुरा थाहा पाउन पाए कति खुशी मिल्थ्यो मलाई, म भन्दा राम्री पाउनु पो भयो कि, कुरा पनि हुन छोडेको छ,उहाँले मलाई विर्सिए पनि छोरीको मायाँले तानेर अवस्य ल्याउने छ। म आफ्नो छोरीलाई बाबाको फोटो देखाउछु। बाबा भन्न सिकाउछु।छोरी तोतेबोली बोल्ने भएकि छिन्। उनले बाबा भन्दा मलाई आफु संसारकै भाग्यमानी आमा लाग्छ।
*****

बेलुकाको नौ बजेको छ। खाना खाएर म छोरीलाई सुताउने तरखरमा छु। छोरी सुत्ने छाँटकाँट देखाउदिनन्,म लोरी गाउदै सुत्न फकाइरहन्छु। बाले रेडियो बजाउनुहुन्छ। समाचार बज्नुपहिले रेडियोमा हेमन्त राणाको गीत वज्छ…..
सुन साइली साइली परदेसवाट म आउला
सुन साइली साइली चालिस कटेसी रमौला।

दियोमा वत्ती भरर…………………….
वास्तवमा नेपाली गीतहरू कति चोटिला छन्, मर्मस्पर्शी छन्, लेख्नेले कसरी कल्पना गर्न सकेको होला, हुन त यो गीत सुन्दा कल्पनामा मात्र लेखेको हो जस्तो लाग्दैन, आफुले नभोगेको कुरालाई यसरी घाम जस्तै छर्लङ्ग सँग लेख्नु चानचुने कुरा होइन। फेरि गाउनेले पनि त उस्तै मिठासपूर्ण ढङ्गले गाईदिएको भएर त आज म जस्ता हजारौं परदेशीका श्रीमतिहरुलाई बाँच्ने रहर जागेको छ, आसाको वत्ती वलेको छ। छोरी भुसुक्क निदाईन् आफुलाई भने निन्द्रै लागेको छैन। मनभरी कुरा खेल्दा खेल्दै कुन वेला निदाएछु पत्तै पाईन।

*******
आकाश सम्पर्कविहिन भएको पनि वर्षौ भयो।छोरीलाई विद्यालय भर्ना गर्नु पर्ने,उहाँले देश छोडे लगत्तै थलिनु भएकि आमाको स्थिति झन् झन् नाजुक बन्दै छ, जति उपचार गरे पनि रोग पत्ता लागेको होईन। सीमाको तलवले घरखर्च चलाएर आमाको उपचार गर्न धौ धौ भएको छ। अव त बा पनि भित्र बाहिर गर्न नसक्ने भैसक्नु भयो। भन्न त सन्तानहरु बुढेसकालका लाठी हुन भनिन्छ तर देशको परिस्थिति, वाध्यता र राजनीतिले लाठी बन्ने अवसर नै कहाँ दियो र? आज सनिवारको दिन। गोठभरि गाई बाख्राहरु छन्। पिठो सकिएको पनि चार दिन भैसक्यो। ब्याउने दिन नजिक आएको गाईलाई सधैं सङ्लो पानी मात्र दिएर पनि त भएन।घरको काम सकेर सीमा मकैको पोको वोकेर घट्ट जान्छिन्। गाऊँमा अझैपनि पानीघट्ट छँदै छ, गाउँका अरु पनि आएका छन् तर उनिहरुको पालो छिटो आउछ र छिटै फर्किन्छन्। सीमा घर फर्किदा भने झमक्क साँझ परेको छ,जंगलको उकालो बाटोमा प्रकाशसँग(जमिनदारको छोरा) भेट हुन्छ।

प्रकाश, होईन यो झम्के साँझमा पोको वोकेर कहाँबाट आएकि सीमा ?
सीमा, हेर्नुस् न घट्ट गएकि थिए, पालो नपाएर साँझ परिहाल्यो।
प्रकाश, आकाश उतै घरजम गरेर बसेको यत्रो कुरा थाहा हुदाँ हुदै यी डाँडाका घाम भएका सासु ससुरा कुरेर आफ्नो यौवनलाई किन लत्याएकि सीमा? आफ्नो खुशीलाई क7न मारेको? वरु केहि सहयोग चाहिए मलाई भन, तिम्री छोरीलाई पनि राम्रो विद्यालयमा पढाईदिउला। वैंश मान्छेको जिन्दगीमा घरीघरी आउँदैन(ऊ जिस्किएको पारामा भन्छ)।

सीमाले केहि प्रतिउत्तर दिन्नन। घरको आगनभरि मान्छेहरु परैबाट देखिन्छन्। उनि हतार हतार आउछिन्। पुरेत पढिरहेका छन्,छेवैमा गाईको बाछो पनि बाँधिएको छ,बा पुर्पुरोमा हात लगाएर थाममा अढेसिएर बस्नुभएको छ, आमा आकाश आकाश भन्दै बर्बराईरहनुभएको छ,छोरी पल्ला घरकि काकिलाई तोतेवोलीमा सोधिरहेकि छे, “मेलो हदुलआमालार्इ ते भएतो अन्ति?” सीमा छाँगावाट खसे जस्तै हुन्छिन्। आखाँहरू रोकिदैनन्। मन भक्कानिएर आउँछ,रात वित्छ आमालाई निको हुदैन। यहि वेला प…….. रबाट गीत गाएको आवाज सबैको कानभरी गुन्जिन्छ।
“उकाली ओराली गर्दै
……………………..

आफ्नै गाऊँ फर्कि आएँ।”
आकाश घरको आगनमा टुप्लुक्क आईपुग्छन्, छोरालाई भेटेर देहत्याग गर्ने आमाको रहन पुरा हुन्छ, सीमाको श्रीमान प्रतिको विश्वास अझै झाङ्गिएर आउछ, खरको छानामा घामले लाली पोतेलगत्तै छोरी विद्यालयको पोशाक लगाएर विद्यालय जान्छिन्।

प्रतिक्रिया

सम्बन्धित खवर