✍️ ऋषि सापकोटा

मुक्तक – एक

राम्रैसँग जानियो बुझियो मेरी श्रीमतीलाई पनि।
लाग्छ समयले धोका दियो मेरी श्रीमतीलाई पनि ।
मैले मेरो अतीत सुनाउदा बर्बर आँसु खसाल्छिन्।
सायद कसैले छोडेको थियो मेरी श्रीमतीलाई पनि ।

मुक्तक – दुई

प्राध्यापक अनि शिक्षक आई कक्षाबाट निकाले।
जबर्जस्ति मेरो हात खुट्टा समाई कक्षाबाट निकाले।
हिजो धन भन्दा विद्या ठूलो हो भन्ने शिक्षकले।
मैले शुल्क तिर्न नसक्दा मलाई कक्षाबाट निकाले।

मुक्तक – तीन

उच्च स्तरको पत्रकार थियो बनाईदियो।
अनि हातमा क्यामरा लियो बनाईदियो।
बुवा भिर बाट पल्टिँदाको दुखद् दृश्य ।
मुस्कुराउदै छोराले भिडियो बनाईदियो।

मुक्तक – चार

म अझै पागल प्रेमी बनी तिमीलाई सम्झन्छु।
कुनै समय मेरै त थियौ भनी तिमीलाई सम्झन्छु।
तिमी त अविवाहित हुदा पनि मलाई बिर्सेकी हौ।
मेरो त घरमा श्रीमती हुदा पनि तिमीलाई सम्झन्छु।

मुक्तक – पाँच

मलाई कहाँ अफ्ट्यारो कहाँ सजिलो चिन्नु परेन।
अरुको खुट्टा तान्नु परेन अरुलाई उछिन्नु परेन।
अझ म यसकारण मेरो खुट्टा भाँचिदा पनि खुशी छु।
अब म गरिबलार्इ जिन्दगीभर चप्पल किन्नु परेन।

प्रतिक्रिया

सम्बन्धित खवर