– प्रकाश रम्घाली

हिँड्दा हिँड्दै
भेटिन सक्छन् यिनै बाटाका छेऊछाऊ
अनुशासित सैनिक जवानहरू झैं
सतर्क उभिरहेका वर-पीपलका रूखहरू
वा फुसर्दको मानिसझै सखारै भेटिन सक्छ
दैलोमा ठिङ्ग उभिएर नमस्कार टक्राईरहेको भूईकुहिरो

भेटिन सक्छ—
रातभर जुन-तारासँग निदाएर
उठ्दा— बिहान एक्लै ब्यूँझिएको आकाश
सुनको दाँत राखेर खित्.. खित्…हाँसिरहने हिमाल

नचिनेर पनि चिनेझैं लाग्ने
त्यो गाउँको निर्जन गोरेटोमा भेटिन सक्छन्
साँझ टनेलबाट काँधमा कोदाली बोकेर फर्किरहेका जोशिला ठिटाहरू

पर्खिरहेको देउराली— भेटिनेछ फेरि पनि !
बगिरहेको नदी— देखिनेछ फेरि पनि !

—सृष्टीले बुनेको रेशमी धागोका स्वीटरजस्ता हुन् मानिसहरू !

भेटिन सक्छौ—
सहरको कुनै प्रचलित न्यानो क्याफेमा
जुलुसले खाएर फ्याँकेको बदामका खोस्टाहरूमा
वा बिर्सने रोग लागेझैं आफैलाई बिर्सिरहेको
पुरानो सहरको पुरानै गल्लिहरूमा

अहिले कतै नभेटिदा नलिनू चिन्ता, मेरो मित्र !
भेटिदा हाम्रा हात-हातमा हुनेछन्—
फेरी अर्को नयाँ आकाश/ फेरि अर्को नयाँ क्षितिज ।

***

प्रतिक्रिया

सम्बन्धित खवर