– सुरेन्द्र कार्की
ऊ मेरो लोग्ने हैन
ऊ मेरो सन्तान हैन
उ मेरो ईश्वर हैन
ऊ मेरो कोही हैन
तर पनि उस्लाई सम्झिए पछि सम्झिन बाँकी केही रहदैन
सायद उही हो मेरो रित्तोपन
सायद उही हो मेरो शुन्यता
सायद उही हो मेरो भ्रम
सायद उही हो मेरो सबथोक
र
ऊ अरु केही हैन कोही हैन
ऊ मेरो फगत प्रेमी हो
आत्मा हो
मन हो ।
नेपाल हाउसको सभाहलमा उपस्थित दर्शक दिर्घाबाट गड्गडाहट् तालीको फोहोरा छुट्यो ।
कवि बाग्मतीका वाचाल आँखाहरूले भिडलाई वारपार छिचोल्यो । केही दर्शक दिर्घाबाट निस्केको वान्स मोर वान्स मोरको ध्वनी तरङ्ग सभाहलको कैदी हावामा घोलीयो ।
म वर्तमान नेपाली कविताको फाँटमा कवि बग्मतीको नाम बाट पुरै कोल्टे रहेछु । ड्यासबाट सिधा नजर मलाई छुन आइ पुग्दैनन म सभाहलको अदृष्य कुनामा छु । मलाई तन्काएर मेरा नजरले उनी सम्म पुर्याए । बाह्र बर्ष पहिले उनको नाम बाग्मती थिएन ।
केही बेरमा मेरो नाम उद्घोष भयो । गल्तीले उपस्थिति लिस्टमा नाम टिपाउनु पर्ने कविता वाचकको लिस्टमा नाम चढेछ । अदृश्य कुनाबाट मेरो आवाज भिडको बुई चढ्दै अगाडि पुग्यो – म संग कविता छैन । त्यो भिडमा मेरो मुहारको उपस्थिति बिलकुल नौलो र अपरिचित थियो ।
कोरियामा नाम चलेको साहित्यिक संस्थाबाट कार्यक्रम आयोजना गरिएको भए पनि माया, प्रेम, कुन्ठा, आवेश र प्रवासीका होलसेल दु:ख सिवाय उल्लेख्य कविताहरू कमै मात्रामा सुनिए । प्रवासमा कविहरुको बौद्धिक चेत निकै खुम्चिएको आभास भयो या त तेस्ता कविताहरूले त्यहाँ स्थान नजमाएको पाएँ । वाचित कविताहरूमा तपस्या कम र जानकारीहरूको सिलसिला ज्यादा भेटिनु खासै नौलो कुरा थिएन सायद ।
मेरा कोही साथीहरू थिएनन्, हत्तपत्त साथीहरू बनाई हाल्ने मेरो आदत छैन यो नै मेरो सबैभन्दा घातक रोग हो । एक्लै एक्लै हिँडीदिन्छु जता जता मन लाग्छ उतै उतै । म जम्मै भिडहरूको अपरिचीत अनुहार हूँ । राजधानी सौल सहरले नबागन्तुक मेरा पाइला बोकेर उभिएको छ ।
नेपाल हाउसको कार्यक्रम छिचोलेर आफुलाई तोङ्देमुनको खुल्ला सडकमा छोड्दीन्छु । नेपाली भाषी साथीहरूको कब्जामा छिल्लएको छ यो सहर । जता छोडे पनि नजर नेपाली अनुहारमा टाँसी हाल्छ । सिटीबस कुर्ने ठाउँको एउटा बेन्चले मेरो भार बोकेको छ । नेपाली मजदुरहरुको उन्मुक्त पुस्ता उन्मुक्त छ भिडहरूमा । गल्लि गल्लिमा बिभिन्न आयोजकहरु कार्यक्रमको बिज्ञापनमा तल्लिन छन । कतै डान्स पार्टी कतै नाइट क्लब कतै एकल साँझ कतै जिल्लाबासीहरूको छलफल कतै बिभिन्न जातीहरूको जातिय सम्मेलन कतै रेमिटहरूको ग्राहक लोभ्याउने अफरहरु । सबै आ-आफ्नै ध्याउन्नमा तल्लिन भएर भिडको शोभा बढाइ रहेछन । यो सब दृष्यबाट बेन्चको मेरो मानव आकृति गदगद छ ।
लुम्बिनी रेस्टुरेन्टले खोलेको मौसमी च्याँखे खाजा घरमा मलाई बोकेर मेरा खुट्टाहरु पुग्छन् । कुनामा दुइजना मात्रै बस्न मिल्ने एउटा टेबलले मलाई नकुरे पनि एउटा कुर्सीमा आफुलाई बिसाएँ । त्यो अभागी कुर्सीमा यदि आत्मा हुँदो हो त त्यस्को हाय मलाई लागी सक्ने थियो । खाली टेबलमा मेरा तामसी स्वादहरुको तामसी परिकारहरुले स्थान जमाउन थाले । दुइवटा टेबलको हल्लाले १६/२४ को त्यो हल गुन्जयमान छ । ठिक मेरो बिपरीत टेबलमा दिउसो कार्यक्रमको एक टुक्रो भिड उच्छिट्टिएर आई पुग्यो । दुइटा टेबल जोडेर १२ जनाले टेबल घेरे । उनीहरुको घेरा बन्दीमा साहुको आत्मा बुरुक्क उफ्रेर आइ पुग्यो अगि सम्म उजाड टेबलमा बसन्त मग्मगायो ।
टेबलमा चियर्सको झंकार गुन्जिनु अघि गजल कविताको फोहोरा छुट्यो । सबैको आग्रहमा बाग्मतीको पूर्ववाचित कविता फेरि नविकरण भयो दारु अखडामा । मलाई उति प्रिय लाग्दैन कवितालाई दारुसंग घोलेको तर मलाई लाग्नु र नलाग्नुले त्यहाँ कुनै अर्थ राख्दैन । चुपचाप मैले पनि मेरा मौन तपस्यामा लिन रएक जोडी कानहरुलाई अगाडिको टेबलमा लगेर चर्न छोडिदीएँ ।
लोडगरेको तामसी रस अनलोड गर्न सानो अँध्यारो छिंडीको बाटो हुदै पछाडीपटीको ट्वाइलेट गएर फर्किदै गर्दा त्यही अँध्यारो गल्लीमा हामी छोइन पुग्यौँ । त्यो एक जना मात्रै हिंड्न मिल्ने गल्ली थियो । अँध्यारो गल्लीमा मैले छोइन पुगेकोमा माफी मागेँ । ‘इट्स ओके’ भन्दै उनि एक कदम अगाडी बढिन् र भनिन सुन्नुस त म तपाईको आवाजसँग परिचीत छु झैं लाग्यो । एकछिन बाहिर कुर्नुस ल म आइ हाल्छु ।
उनी आएपछि हल भरि पोखिए उनका आखाँ । आफू बसेकै कुर्सी पछाडि मलाई भेटेर उनका नजरले ढुक्कको अनुभूती गरे । साथीहरू म एक्छिन उहाँको टेबलमा ज्वाइन हुन्छु डन्ट माइन्ड है । उनका साहित्यिक साथीहरूका नजरमा इर्ष्याको राग प्रस्टै उडेको देखिन्थ्यो । अगाडीको त्यो अभागी कुर्सीले पूण्य प्राप्त गर्यो ।
कवि बाग्मतीको मुहारमा अचानक सूर्यनै आएर टाँसिए जस्तो चमक आयो ।
तपाँइले मलाई चिन्नु भएन ?
मेरो मौनता उस्तै लम्बी रह्यो ।
अर्को प्रश्न, -फेरि तपाई पशुपति नै हो नी ?
मैले ‘हो’ को जवाफमा टाउको हल्लाएँ ।
तेही पशुपति हो त ?
कुन तेही ?
जो हामी बाह्र बर्ष पहिले एउटै कक्षा कोठाको छतमुनी थियौँ ।
हल्का हाँस्दै मैले भने तपाईलाई भ्रम भयो होला कुनै बाग्मतीसँग एउटै छत मुनी बसेको मलाई त सम्झना छैन ।
उनको सूर्यमा एकचोक्टा बादल मडारियो । मलाई चिन्नु भएन ।
चिन्नु गौण कुरा हो र सुन्नु या देख्नु मुल कुरा । मैले बाग्मतीलाई आजै सुनेको हूँ र उनका कविता पनि आजै सुनेको हूँ ।
नाममा नजानु न मान्छेमा जानुस् ।
मैले भने अब ति पूराना कुराहरू/ दिनहरूतिर फर्किएर बिनाअर्थ आफ्नो उज्यालो नष्ट गर्नु बेवकुफी सिवाय अरु केही नहोला ।
भनेपछि चिन्नु भयो तपाईँले ।
मैले भने कोही पात्रहरू भूल्नको लागी बनेकै हुदैनन् ।
उनको चेहरामा पुन: एक चोक्टो बादल बिलायो तर आँखाहरूमा अनयासै बाग्मती रसायो ।
कविता कतिको मन पर्छ कतिको पढ्नु हुन्छ ?
साह्रै धेरै हैन
एउटा कविता सुन्नु हुन्छ ?
मेरा कानहरु तयारै छन् ।
केही सोचेझैँ गरेर अन्तिमका केही अँश मात्रै ल तर यो कविता मेरो हैन है हुन चाही यो कविता आज मेरो जीवनमा अतिनै सार्थक भयो –
……….
बाटो साँघुरो भएरै
हजुरलाई छुन पाइयो
यस्सो पन्छिएर …. हजुरको यात्रालाई
बाटो दिन पाइयो !
बाटो साँघुरो भएरै हजुरसँग एक क्षण
सँगै उभिन पाइयो
हजुरलाई भेट्ने कत्रो रहर मेरो
पूरा गर्न पाइयो ।
जीवनमा चौडा सडक नै
जम्मै यात्रा होइन
जीवनमा खुला मैदान मात्रै
खुसीको परिभाषा होइन !
जस्तो कि पहराको साँघुरो बाटोमा
हजुरसित भेट भएथ्यो ……
अनेक फराक संसारमा जो
कहिल्यै सम्भव भएन !
मैले कवितामाथी बोल्नु अगावै अघिल्लो टेबलबाट एकै लयमा आहा सारै राम्रो भन्दै एक लय देउसी भट्याए एक घान ताली पड्काए । उनले बोल्नु अगावै उतैबाट आवाज आयो यस्तो खतरा कविता चैँ लुकाएर राख्ने तपाई ? भिडले बाग्मतीलाई यो म द्वारा लेखिएको कविता हैन भन्ने अवसरनै दिएन । एकोहोरो तारिफको बेलुनमा हावा भरि सकेपछि एक नव कविको आवाज प्रश्नको रुपमा आयो उहाँचाहिँ को हो ? हामीलाई चिनाउनु हुन्न ? उनले निर्धक्क साथ जवाफमा अघि सुरुकै कविता उठाउदै त्यही कविताको आत्मा हो भनिन भिडको आवाजमा एक डोज ब्रेक लाग्यो ।
⁃कविता कस्तो लाग्यो ?
⁃उत्कृष्ट । तर मैले यो पुरै कविता पढेको छु ।
⁃हो, मनु मन्जिल दाइले यो कविता आजैको दिनको लागि मेरै निम्ति लेखिदीनु भएझैँ लागेको छ । उनले अग्रज दाइ कविलाई मनैबाट नमन गरिन ।
⁃भने पछि कविताप्रति रुची छ तपाईको ?
⁃त्यस्तो धेरै हैन । तर बजारले फिल्टर गरेका केही किताबहरु लहड चलेका बेला पढिदीन्छु । यस्तै लहड चलेपछि सुन्न पनि निस्कीदिन्छु ।
⁃बियर लिनु हुन्छ ?
⁃आज सम्म लिएको छैन तर आज तपाईले बिषै दिए पनि म नाई भन्दिन ।
लाग्छ उनि मेरो परिक्षा लिदै छिन् । मैले एक गिलास बियर सारेँ र उनि तिर बढाएँ । सुरुप्प पारिन र मुख बिगारीन कस्तो तितो ।
यस्को मिठासनै यहि हो ।
तपाई कहाँ बस्नु भएको छ ?
म यो सहरको नयाँ पर्यटक हूँ । अर्थात नयाँ ग्रहाक ।
रुम लिनु भएको छैन ?
छैन ।
तपाई एक्लै ?
हैन आज यो सहर पुरै मेरो हो
उसो भए म पनि ?
हुन सक्छ हामी दुइमा एकले सहर छोडेर नजाउन्जेल ।
तपाई नी ?
हामी सबै साथीहरू एकै मोटेलमा बस्ने कुरा भएको छ ।
के म तपाईलाई हामी संगै बस्नको लागी कर गर्न सक्छु ?
सक्नु हुन्न (कागको हुलमा बकुल्लो) एक्लै रातभरि हातमा बियरको बोतल बोकेर यो सहर घुम्ने मुडमा छु आज ।
उसो भए म पनि मिसिन सक्छु त ?
सक्नु हुन्न, मेरो योजनामा म एक्लै छु आज । फेरि तपाई अर्कै योजनाका साथ यहाँ हुनुहुन्छ । म तपाईलाई आफू सँगै हिंडाएर दिग्दार बनाउन चाहन्न ।
बाह्र बर्षमा खोलो फर्किएको छ बगाए बगाओस म तपाई सँगै हुन्छु आज । यो भेट र तपस्यालाई खाली जान दिने छुइन ।
तपाई होसमा आउनुस् भावनाले मान्छेलाई यथार्थबाट अलग्याउँछ । हामी हाम्रा पूर्व तयारी अनुसारै चल्नु पर्छ । तपाईँ समुहमा हुनुहुन्छ मलाई त्यो समुहको आभा खोस्ने हक छैन ।
उनले अघि एक सुरुप पारेको गिलास एकै सासमा चट पारिन ।
ठिक छ महोदय म तपाईको शान्ति भङ्ग गर्दिन । जय होस् हजुरको । उनि अघिल्लो टेबलमा जोडिन पुगिन । मैले हेरी रहेँ जुसको गिलास पर सारेर बियर उठाइन । समुह अवाक बन्यो ।
वास्वमा कुनै मोडहरू भाग्नका लागिनै बनाइएका हुन्छन । त्यहाँ तपस्या गर्न मेरो अन्तर्मनले दिएन । टेबलको सौन्दर्यलाई अर्धमुर्छित छाडेर काउन्टरमा हिसाब बुझाँए र फटाफट तोङ्देमुनको सडकमा आफुलाई छोडिदीएँ । सडकमा ल्याम्पोस्टहरु बाट एक एक वटा जून चुहिन सुरु गरि सकेका छन् ।
***
(कवि तथा कथाकार सुरेन्द्र कार्की हाल द. कोरिया छन्।)
प्रतिक्रिया
-
४