✍️ विष्णु पादुका
मलाई भुनभुनाउन मन छ
कसैले मौरी भनुन् या झुसे बारुलो
बतासको गतिमा
जङ्गली फूल भएर स्वच्छन्द
नाच्नु छ
उठ्नु छ फैलिनु छु बढ्नु छ
लहरिनु छ
कसैको हात नपरोस् काँट छाँटको
बग्नु छ
आफैले भत्काउँदै कमजोर
कानुन जस्ता किनारा
कसैले बाँध र तटबन्ध गर्न नसकोस्
उड्नु छ
गुँड समेत बिर्सने त्यो चरी झैँ
जसले रात पनि रातै जस्तो गरि बिताओस्
ताकी उसले देख्ने उज्यालोमा
हठात्
बचेराको भोक र
अण्डा कोरल्ने पोथी माथीको
जिम्मेवारीबाट निबृत्त हुनु नपरोस्
बिभाजित आकाश छिचोलेर
कतै
मान्छेले आर्जेका
ती पिञ्जडामा बन्दी हुन नपरोस्
फैलिउँ आकाशभरी
बेवारिसे बादल भएर
ता कि
कसैले बनाएको आकृति मेरो
क्षणिक भै जाओस्
कसैको स्मृतिमा स्थायी हुनुको बिकल्प
स्मरणीय मात्रै भै रहुँ शितलताको
यसरी फैलिउँ कि
हरियो यो गोलोको जुनसुकै कुनामा भएपनि
तिमीले फेर्ने सासमा पुगुँ पर्याप्त भएर
हुन त मलाई
अरु धेरै धेरै थोक हुन मन छ
तर कसलाई स्वीकार छ र
मलाई म बनेको हेर्न ।
प्रतिक्रिया
-
४
